+

चिसोमा हात-खुट्टाको जोर्नी दुख्छ ? हेलचेक्रयाइँ नगरौं

२०७८ मंसिर  १ गते १८:१३ २०७८ मंसिर १ गते १८:१३
चिसोमा हात-खुट्टाको जोर्नी दुख्छ ? हेलचेक्रयाइँ नगरौं

१ मंसिर, काठमाडौं । चिसो मौसम शुरु भइसकेको छ । यसबेला अनेकथरी शारीरिक समस्याले मानिसहरुलाई सताउने गर्दछ । तीमध्ये एउटा साझा समस्या हो, आर्थराइटिस वा गठिया रोग ।

सामान्यतया जोर्नी दुख्ने समस्या सबै लिंग र उमेर समूहमा देखिने गर्छ । तर ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरुमा यसको दुखाइ बढी हुने गरेको चिकित्सकहरु बताउँछन् ।

दुईपाङ्ग्रे सवारीका चालक हुन् वा बिहान-बेलुका घरबाहिरको काममा खटिने विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिमा हातखुट्टाको जोर्नी दुख्ने र सुन्निने समस्याबाट बढी पीडित हुने गरेको हाडजोर्नी विशेषज्ञहरु बताउँछन् ।

कति प्रकारको हुन्छ आर्थराइटिस ?

सामान्यतया आर्थराइटिस दुई किसिमको हुन्छ । एउटालाई अस्टियो आर्थराइटिस भनिन्छ भने अर्काेलाई रूमेटाइड आर्थराइटिस नाम दिइएको छ ।

घुँडा, कुहिनो, काँध, हात वा पूरै शरीरको कुनै पनि जोर्नीमा यो समस्या देख्न सकिन्छ । रुमेटाइड आर्थराइटिसमा थकान महसुस हुने एवं रोग प्रतिरोध क्षमता कमजोर हुँदै जाने गरेको देखिन्छ । साथै, भोक नलाग्ने जस्ता समस्या पनि देखिन्छ ।

जाडोमा किन बढ्छ आर्थराइटिस ?

हाडजोर्नी विशेषज्ञ डा. श्रीकृष्ण गिरी जाडो मौसममा जोर्नीमा हुने तन्तुहरुमा दबाब सिर्जना हुने भएकोले जोर्नीको दुखाइ महसुस हुने बताउँछन् । यसको मुख्य समाधान नै चिसोबाट शरीरलाई जोगाउनु हो । वीर अस्पतालका हाडजोर्नी विभागका पूर्वप्रमुख समेत रहेका डा. गिरीका अनुसार यस मौसममा जोर्नीका तन्तुहरू फुल्छन्, जसले स्नायुमा दबाब सिर्जना गर्छ र दुखाइको महसुस हुन्छ ।

आर्थराइटिसको लक्षण केके हुन्छ ?

डा. गिरीका अनुसार आर्थराइटिस भएमा जोर्नी सुन्निनुका साथै हातखुट्टा चलाउन समेत समस्या हुने गर्छ । शरीरको कुनै अंगमा यो समस्या देखियो भने त्यसले शरीरको अरू अंगलाई पनि प्रभावित गराउने जोखिम बढी हुन्छ ।

हड्डीको जोर्नीमा हुने दुखाइ, जकडिएको जस्तो हुनु एवं सुन्निनु नै आर्थराइटिसको मुख्य लक्षण हो । साथै, जोर्नी आसपासको अंग रातो हुँदै जानु, हिँडाइको गतिमा कमी आउनु जस्ता लक्षण पनि देखिने गर्छ । आर्थराइटिसको लक्षण बिहानको समयमा बढी देखिन्छ ।

जोर्नी सुनिनुलाई सामान्य नसम्झौं

धेरै मानिस चिसो मौसममा जोर्नी सुन्निनुलाई सामान्य मानेर ढुक्क भएर बस्छन् । तर, चिसो मौसममा जोर्नी सुन्निएको वा दुखेको छ भने ढुक्क भएर बस्न नहुने हाडजोर्नी विशेषज्ञ डा. गिरी बताउँछन् । मुटुमा समस्या हुँदा र चिसोले तन्तु सुनिँदा उस्तै समस्या देखिने भएकाले  चिसोको कारणले नै जोर्नी सुनियो भनेर ढुक्क हुनसक्ने अवस्था नरहेको उनको भनाइ छ ।

चिसोका कारण जोर्नी दुखेको हो भने न्यानो कपडा लगाउने र तातो तेल लगाएर सेक्दा दुखाइ कम हुन्छ । अन्यथा दुखाइ यथावत् रहन्छ । चिसोमा यस्तो समस्या लामो समयसम्म देखियो भने मुटुको परीक्षण पनि गर्नु उपयुक्त हुन्छ ।

जीवनशैली परिवर्तनबाट जोर्नीको दुखाइ नियन्त्रण

यो समस्या चिसो, वंशाणुगत वा अन्य दीर्घरोगको कारण पनि निम्तिने गर्दछ । जोर्नीको दुखाइबाट बच्न भिटामिन डी आवश्यक पर्छ । यसका लागि जतिसक्दो धेरै समय घाममा बस्नुपर्ने चिकित्सकहरुको सुझाव छ । घाममा बस्दा शरीर न्यानो हुने मात्र नभई शरीरलाई आवश्यक भिटामिन डीको मात्रा पनि पाउन सकिन्छ ।

भिटामिन डी प्राप्त गर्नका लागि अन्य पूरक खानेकुरा पनि खान सकिन्छ । जाडोमा मानिसहरु प्रायः हाइड्रेटेड रहन बिर्सन्छन् र शरीरमा पानीको मात्रा कम हुँदा स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या देखा पर्छ । विशेषगरी शरीर दुख्ने समस्या कम पानी पिउँदा निम्तिने समस्या हो ।

जाडो मौसममा घरभित्र बस्दा पनि मोटोपन बढ्न सक्छ । बढी तौलले घुँडा र खुट्टामा समस्या पैदा गर्छ । चिसोमा व्यायाम र काम गर्न चुनौतीपूर्ण भएपनि सक्रिय भइरहनुपर्छ ।

जाडोमा बाथ रोगबाट पीडितहरुले तातोपानीले नुहाउनु उपयोगी हुने चिकित्सकहरु सुझाउँछन् । तातोपानीमा पौडी वा स्टिम बाथ गर्नु शरीरका लागि फाइदाजनक हुन्छ । माछाको तेलमा ओमेगा ३ फ्याटी एसिड हुन्छ । हड्डीको समस्या भएकाहरूको लागि यो उपयोगी मानिन्छ ।

चिसो मौसम जोर्नीको दुखाइ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय