+
+

ओलीको प्रष्ट सन्देश : सहमतिका लागि आग्रह गर्दिनँ, चुनाव जितेर आउनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १५:२५

७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयनमा सहमतिका लागि आग्रहसमेत नगर्ने बताएका छन् । मिलेर जानु राम्रो भएको, तर आफूले सहमतिका लागि आग्रह गर्दा दबाव दिएको देखिने भएकाले केही नबोल्ने उनले बताए ।

नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिवेशन यही मंसिर १० गतेदेखि चितवनमा सुरु हुँदैछ । भर्खर पार्टी विभाजन भएको र स्थानीय तहदेखि प्रतिनिधिसभासम्मको निर्वाचन नजिक आएकाले पार्टी एकढिक्का रहेको सन्देश दिन सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने मत चर्को सुनिएको छ, जसका कारण पदाधिकारीका आकांक्षीहरुले समेत उम्मेदवारी घोषणा गर्न सकेका छैनन् । अध्यक्ष ओलीले प्रस्ताव अघि नल्याएको र पार्टीमा छलफल नभएको भन्दै उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे पनि अरु नेताहरु खुल्न सकेका छैनन् ।

मंगलबार स्थायी कमिटी बैठकमा पनि ओलीले यसबारे केही बताएनन् । स्थायी कमिटी बैठक केही घण्टालाई रोकेर सम्पादक तथा सञ्चारकर्मीहरुसँग अन्तर्क्रिया गरेका एमाले अध्यक्ष ओलीले मौनता तोड्दै भनेका छन्, ‘सहमतिका लागि आग्रह गर्दिनँ, नेताहरुको व्यवस्थापन भने चुनाव लडेर भोट ल्याउनुपर्छ ।’

चुनावबाटै नेता व्यवस्थापन

एमाले अध्यक्ष ओलीले नेताहरुले नै सहमति गरे आफूले सहज स्वीकार गर्ने बताए । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवहरुमा कर लगाएर उठिदिनुस् न भन्न पाए झन् राम्रो हुने उनले बताए । तर आफूले आग्रह मात्र गर्दा पनि दबाव पर्न सक्ने भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘लोकतान्त्रिक अभ्यासमा मनोवैज्ञानिक पनि दबाव पुग्ने काम गर्दिन । मैले आग्रह मात्र गर्दा पनि दबाव पर्न सक्छ, त्यसकारण म आग्रह पनि नगरी बस्छु भनेको छु ।’

तर पार्टीमा त पूर्व माओवादी, १० बुँदे सहमति गरेर पार्टीमा बसेकाहरुको व्यवस्थापन गर्नुपर्ने छ होइन र भन्ने प्रश्नमा उनले चुनावले नै व्यवस्थापन गर्ने बताए । ‘एक ठाउँमा भइसकेपछि हामी एक छौं । त्यसकारण यो पक्षको व्यवस्थापन, त्यो पक्षको व्यवस्थापन भन्ने छैन,’ उनले भने, ‘अहिलेको व्यवस्थापन भने चुनाव लडेर भोट ल्याउनुपर्छ । जुन पदमा भोट ल्याएर जित्छ, त्यही हो व्यवस्थापन । भोट ल्याएर जितेन भने त्यही हो व्यवस्थापन ।’ यो पक्ष, त्यो पक्षको व्यवस्थापन भन्न थाले पार्टीमा पक्ष विपक्षको नयाँ श्रृङ्खला सुरु हुने उनले बताए ।

एमाले अध्यक्ष ओलीको भनाइ जस्ताको तस्तै

साथीहरु विना करकाप सहमतिमा जानुहुन्छ भने सबै ठाउँमा सहमति गरे हुन्छ । तर लोकतान्त्रिक अभ्यासमा मनोवैज्ञानिक पनि दबाव पुग्ने काम गर्दिन । मैले आग्रह मात्र गर्दा पनि दबाव पर्न सक्छ, त्यसकारण म आग्रह पनि नगरी बस्छु भनेको छु ।

कसैले मेरो इच्छा सोध्छ भने मिलेर जानु सबभन्दा राम्रो हो । सहमतिका साथ साथीहरु जानुभयो, ठीक छ । अध्यक्षमा लड्नुहुन्छ, लड्नुहुन्छ । लड्नुहुन्न, सहमति हुन्छ, सबभन्दा राम्रो । भरसक कर लगाए उठिदिनुस् न भन्न परोस् । म पनि उठ्छु, म पनि उठ्छु को तँछाडमछाड भन्दा कर लगाए उठिदिनुस् न भन्न परोस् । वरिष्ठ उपाध्यक्षदेखि उपाध्यक्षहरु, महासचिव, उपमहासचिव, सचिवहरु सबै ठाउँमा तपाईं बसिदिनुस् भन्न परोस् न उहाँको कामको मूल्यांकन हेरेर । यो एकदम राम्रो हो । त्यसमा सहमति हुनु राम्रो हो । भएन भने चुनाव हुनु राम्रो हो ।

पदाधिकारीमा पनि त्यही हो, केन्द्रीय कमिटीमा पनि त्यही हो । त्यसकारण म घुमाइ फिराइ कुनै पनि हिसाबले सहमतिका लागि दबावको नीति लिन्नँ । लोकतन्त्र भनेर सहमति हुन नदिने र उक्साउने खालको नीति पनि लिन्नँ । मेरो यसमा सन्तुलित नीति छ । साथीहरुले आफ्नो अधिकार उपभोग उच्चस्तरमा गरुन् ।

हामीहरु पार्टीमा पस्नु अगाडि को पूर्व माओवादी थियो, को के थियो भन्ने होला । एक ठाउँमा भइसकेपछि हामी एकठाउँमा छौं । त्यसकारण यो पक्षको व्यवस्थापन, त्यो पक्षको व्यवस्थापन भन्ने छैन । हाम्रो काम नेताहरुको व्यवस्थापनमा अल्झिने होइन, देश जनताका समस्याहरुको समाधान गर्ने, त्यसका लागि अल्झिने हो । अब कुन नेताको व्यवस्थापन के ? अहिलेको व्यवस्थापन भने चुनाव लडेर भोट ल्याउनुपर्छ । जुन पदमा भोट ल्याएर जित्छ, त्यही हो व्यवस्थापन । भोट ल्याएर जितेन भने त्यही हो व्यवस्थापन । यो पक्षको व्यवस्थापन, त्यो पक्षको व्यवस्थापन गर्न थाल्यो भने पार्टीभित्र पक्षीय विपक्षको निरन्तरता वा नयाँ सृजना हामी गर्दैनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?