+
+
अन्तर्वार्ता :

‘बुस्टर डोज लगाउन सुरु गर्ने सल्लाह भएको छ’

गाउँमा खोप लगाउने प्रतिशत कम छ भने शहरमा बढी छ । त्यसैले अब १६ हजार केन्द्रबाट खोप अभियान सञ्चालन गर्छौं । यसले पनि भएन भने जनगणना गरे जसरी घरघरमा पुगेको जसरी खोप अभियान सञ्चालन गर्छौं । आवश्यक परे राजनीतिक दललाई पनि दुई जना स्वास्थ्यकर्मीलाई साथमा लिएर जनताको घरघरमा खोप लिएर जान आहृवान गर्छौं ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १५:१०

१९ मंसिर, काठमाडौं । पहिलो पटक दक्षिण अफि्रकामा देखिएको कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट ओमिक्रोन छिमेकी मुलुक भारतसम्म आइपुगेको छ । सरकारले केही देशबाट नेपाल आउन रोक लगाएको छ भने सीमा नाकाहरुमा कडाई गरेको बताएको छ ।

तर जनस्वास्थ्य विद्हरु भने नयाँ भेरियन्टबारे धेरै जानकारी आइनसकेकाले यो समय पूर्व तयारीमा खर्चिनुपर्ने बताउँछन् । सरकारको पूर्व तयारी कस्तो छ ? आगामी कदमहरु के हुनसक्छन् ? स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

कोरोना भाइरस ९कोभिड-१९) को नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि  विश्वभर एकखालको त्रास देखिएको छ । पछिल्लो अवस्थालाई स्वास्थ्य मन्त्रालयले कसरी हेरिरहेको छ ?

आवश्यक परे जनगणना गरे जसरी, पार्टीहरुले चुनावमा भोट माग्न घरघरमा पुगेको जसरी खोप अभियान सञ्चालन गर्छौं । राजनीतिक दललाई पनि दुई जना स्वास्थ्यकर्मीलाई साथमा लिएर जनताको घरघरमा खोप लिएर जान आहृवान गर्छौं

नयाँ भेरियन्ट ओमिक्रोन आएको छ । तर यसको साँचिकै स्थिति के हो ? अहिले देखिरहेको भेरियन्टभन्दा पावरफूल हो कि कमजोर हो ? निष्कर्ष नआउँदासम्म हल्लाको कुनै अर्थ हुँदैन । कोरोनाको शुरुआती अवस्थामा काभ्रेपलाञ्चोकको एउटा भागमा कोरोना देखियो भने काठमाडौंमा हामी घरबाट बाहिर ननिस्कने त्यस्तो डर थियो । बानेश्वरमा एउटालाई भो भनेपछि थानकोटमा निद्रा पर्दैनथ्यो । अहिले त्यो स्थिति छैन, मानिसहरुको मनोबल बढ्दै गएको छ ।

तर मास्क लगाउने, दुरी कायम गर्ने, जस्ता विज्ञहरुले भनेको सुरक्षाका उपायहरु अपनाउनुपर्छ । एयरपोर्टमा होसियारी अपनाएका छौं । कैयौं देशका पर्यटकलाई आउन प्रतिवन्ध लगाएका छौं, अनअराइभल भिसा बन्द गरेका छौं । प्रतिवन्धित लगाएका देशका मात्र होइन, त्यो देश घुमेर वा ट्रान्जिटबाट आउनेलाई पनि क्वारेन्टिनमा राख्ने र परीक्षण गराएर पठाउने व्यवस्था मिलाएका छौं ।

भारततर्फका सबै नाका खुला छ । त्यसमा पनि बढी ओहोरदोहोर हुने १६ वटा नाकामा हेल्थ डेक्स राखेका छौं । एन्टीजेन परीक्षण गर्ने, बिरामीको शंका लागेमा क्वारेन्टिनमा लैजाने, उपचारको व्यवस्था मिलाउने तयारी गरेका छौं । अलर्ट सबैतिर राखेका छौं । कारणवश संक्रमण बढे तयारी अवस्थामा छौं ।

यसअघि पनि सरकारले गरेका छौं, गरेका छौं भन्दाभन्दा संक्रमण भित्रियो र दोस्रो लहरमा धेरै क्षति भयो । पहिले पनि निर्णय मात्र भएको हो कि कार्यान्वयन पनि भएको छ ?

त्यो बेलाको सरकारले कसरी बुझ्यो थाहा भएन । मैले आफूले बुझेको हिसाबले साँग्लो बाँधेर, तार जाली राखेर रोकिने होइन । यसलाई रोक्न अपनाउने होसियारी नै हो । नाकामा हामीले हेल्थ डेक्स राखेका छौं, चेक गरेका छौं । हामीले लकडाउन गर्ने मनस्थितिमा छैनौं । जनजीवनलाई सामान्य पार्दै होसियारी पनि अपनाउने हो । योसँग लड्नका लागि विज्ञानले दिएको उपलब्धि जे छ, त्यसलाई अधिकतम प्रयोग गर्ने हो । सरकारले त्यही नै गरिरहेको छ ।

तर दलहरुले हजारौं मानिस जम्मा पारेर अधिवेशनहरु गरिरहेका छन्, मानिसहरुले पनि मास्क लगाउने, सामाजिक दुरी पालना गर्ने जस्ता सुरक्षा उपाय अपनाएको देखिँदैन । हामी सबैको बोली र व्यवहारमा तालमेल देखिएन नि ?

हामीले त एउटा मापदण्ड तय गरेर सचेत गराउने हो, पालना गर्न आहृवान गर्ने हो । पालना गर्नुस् भनेर राजनीतिक जुलुसहरुमा जस्तो डण्डा लगाउन मिलेन । त्यसो भनेर बेवास्ता गरेका पनि छैनौं । मेलापात, सप्ताह-पूराण, राजनीतिक भेला तथा सभा स्थलमा डेक्स राखेर पीसीआर टेस्ट गर्न र खोप लगाउन आहृवान गरेका छौं । जसरी हुन्छ बढीभन्दा बढी जनतामा खोपसँगै चेतना पुगोस् भन्ने सोचका साथ सरकारले काम गरिरहेको छ ।

खोपको उपलब्धताको कमी छैन । १८ वर्षमाथिको लक्षित समूहका ५१ प्रतिशतले एक डोज लगाइसके, जसमध्ये ४६ प्रतिशतले दुबै डोज पुरा गरेका छन् । ३०/४० लाख स्टोरहरुमा छन् । करिब ३ करोड डोज पाइपलाइनमै छ । १२ वर्षदेखि १८ वर्षमुनीका बालबालिकालाई १ करोड डोज खोप सुरक्षित गरिसकेका छौं । नमूनाका रुपमा एक लाख डोज ल्याएर दीर्घरोगी लगायतलाई दिइसक्यौं । बाँकी खोप पनि डिसेम्बर अन्तिमसम्म आइपुग्छ । मलाई लाग्छ, यो खोप आएपछि १२ देखि १८ वर्षका सबैलाई पर्याप्त हुन्छ ।

त्यसैले मैले हरेक ठाउँमा भन्ने गरेको छु, खोप लाइदिनुस् । आएनन् भनेर नागरिकसँग झोक देखाउन पनि मिलेन । गाउँमा खोप लगाउने प्रतिशत कम छ भने शहरमा बढी छ । गाउँमा ३० प्रतिशतको हाराहारीमा छ भने शहरमा ८० प्रतिशतमाथि छ । त्यसैले अब मंसिर अन्तिमबाट वा पुसको शुरुबाट १६ हजार केन्द्रबाट खोप अभियान सञ्चालन गर्दैछौं । अहिलेभन्दा तीन गुणा बढी जनताको पहुँचको नजिकमा पुग्छौं ।

यसले पनि भएन भने जनगणना गरे जसरी, पार्टीहरुले चुनावमा भोट माग्न घरघरमा पुगेको जसरी खोप अभियान सञ्चालन गर्छौं । आवश्यक परे राजनीतिक दललाई पनि दुई जना स्वास्थ्यकर्मीलाई साथमा लिएर जनताको घरघरमा खोप लिएर जान आहृवान गर्छौं । जसरी हुन्छ छिटोभन्दा छिटो धेरै जनतामा खोप पुग्नु पर्‍यो ।

यो आहृवान तपाईंको व्यक्तिगत हो कि कि सरकारकै आधिकारिक ?

मेरो आहृवान भनेको सरकारको योजनाभित्रै पर्छ । मेरो आशय के हो भने जसरी हुन्छ बढीभन्दा बढी जनतामा खोप पुग्नु पर्‍यो । यसमा पार्टीहरु पनि खोप लिनुस्, जानुस, म खोप उपलब्ध गराउँछु । नागरिक कहाँ खोप पुर्‍याउन पुण्य काममा जो सुकै जानसक्छन्, यसको लागि निर्णय गर्नुपर्दैन ।

बाहिर बुस्टर डोज भन्ने अलि बढी चर्चामा छ । यस विषयमा केही छलफल भएको छ ?

शुरुमा २ डोज नै काफी छ भन्ने भयो । अहिले तेस्रो डोज लगाउने र त्यसलाई बुस्टर भनिएको हो । मन्त्रिपरिषदले निर्णय नगरे पनि प्रधानमन्त्री र मेरो बीचमा बुस्टरडोज लगाउन अब सुरु गर्ने भन्ने सल्लाह भएको छ । आवश्यक पर्छ भने तेस्रो डोज लगाउन तयारी गर्नुस् भनेर प्रधानमन्त्रीबाट निर्देशन भएको छ । दुई डोज लगाउँदा ६ करोडले हामीलाई पुग्ने अवस्था थियो, बुस्टरका रुपमा अर्को एक डोज लगाउनुपर्ने भनेपछि फेरि ३ करोड चाहिन सक्छ ।

यो ल्याउन पनि काम सुरु भइसक्यो ?

छलफलै भइसक्यो, गर्छौं । अहिले त बुस्टरले दुबै डोज लगाएका त्यही ४६ वटा ५० प्रतिशतले लगाउने हो । उनीहरुले तेस्रो डोज लगाउँदै गर्छन, अर्कातिर एक वा दुई डोज लगाउने प्रतिशत पनि बढ्दै जान्छ । बुस्टर सकिँदै जान्छ, यता पालो आउँदै जान्छ ।

सरकारले चैतभरी सबै लक्षित समूहलाई खोप दिन्छौं भनेको थियो, त्यो चाहिँ पुरा हुन्छ ?

लक्षित समूह भनेर हामीले ७२-८० प्रतिशतलाई मानेका हौं । किनकी कयौं मानिसहरु बाहिर छन्, सबैलाई तपाईले खोजेर सम्भव हुन्न । अहिले हामी मंसिरमा छौं र ४ महिना बाँकी छ । हामीसँग खोप पनि पर्याप्त छ । त्यसैले अब हामी खोप अभियानमा सम्पूर्ण जनशक्ति खटाउँछौं र लक्षित समूहसम्म पुग्छौं ।

१ करोड डोज खोप आएपछि १२ देखि १८ वर्षका लागि पुग्छ । हामी हरेक स्कुल, क्याम्पसमा जाँन्छौं । बाँकी १६ हजार केन्द्रबाट त जतिबेला पनि खोप लगाइहाल्छौं ।

कोरोना महामारीको पहिलो र दोस्रो लहर आउँदा सरकारले पूर्वतयारी नगरेको भनेर धेरै प्रश्न उठ्यो । प्रश्न उठाउने सांसदमा तपाईं पनि पर्नुहुन्थ्यो । अहिले तपाईं आफैँ स्वास्थ्य मन्त्रालय गएपछि के पाउनुभयो ? पूर्वाधारमा के तयारी गर्नु भएको छ ?

सुरुको बेलामा केही लापरबाही थियो । प्रधानमन्त्रीका अनावश्यक ख्याल ठट्टा, अवैज्ञानिक, अप्रमाणित तर्कले  पनि काम गरेका थिए । जसरी गाउँमा मास्टरले भनेको पत्याउँछन्, देशमा प्रधानमन्त्री जस्तो मान्छेले बेसार पानी खाइदेऊ, हिमालको चिसो हावामा ठोक्किन्छ, फर्केर आउनै पाउँदैन भन्ने जस्ता उटपट्याङ तर्क गर्दा केही लापरबाही भए । त्यसले जे सिकायो, त्यसका आधारमा आवश्यक तयारी गरेका छौं ।

यसअघि अपग्रेड गरेका अस्पतालका बेड छन्, आईसीयू छन्, भेन्टिलेटर छन् । अक्सिजनका प्लान्टहरु कति खडा भए कति । कारणवश संक्रमण बढेको अवस्थामा पनि हामी तयारी अवस्थामा छौं । महामारी आउँदा कि पहिला भन्दापनि डबल भएर आउनपर्‍यो, त्यो सरह वा आसपासको लागि हामी सक्षम छौं । हामीसंग स्वास्थ्य जनशक्ति, भौत्तिक संरचना र हाम्रो तयारी प्रयाप्त छ ।

पहिला स्वास्थ्य मन्त्रालय र अरु सरकारी निकायबीच समन्वयको पनि अभाव देखिएको थियो । अहिले तपाइर्ँले चाहिँ त्यस्तो समस्या सामाना गर्नु परेको छ कि छैन ?

एकदम ठीक हो, सुरुवातमा समन्वय भएन । अपरझट भएकोे के गर्ने, लुकाउने कि छिपाउनेे ? कति पर बस्नुपर्ने ? जस्तो अवस्था भएकाले सबै आ-आफ्ना हिसाबमा हिँडे । सामाग्रीहरु पनि अत्याधिक महंगोमा किन्नुपर्‍यो । गर्न नसक्नेहरुले पनि म गर्न सक्छु भनेर फूर्ति लगाए । जब सरकारले १० प्रतिशत नाफा खाएर ल्याउ भनेर भन्यो, कसैले पनि ल्याएनन् । स्यालको सिंह हराए जस्तो भाषण गर्नेहरु सबै गायब भए ।

तर अहिले गोलीगठ्ठा र ट्रेनिङप्राप्त जनशक्ति सम्भावित खतराबाट होसियार भएकाले हिजो अस्तिभन्दा ५० प्रतिशत बढी तयार छौं । यो यो निकायलाई यसरी सक्रिय गराउनुपर्दो रहेछ भन्ने अनुभव छ । मन्त्रिपरिषदमा एजेण्डा राखेर छलफल सुरु गरिसकेका छौं ।

तर, कोरोनाकालमा राम्रो गरेका डाक्टरहरुको सरुवा गरेको भनेर पनि आलोचना भयो नि ?

आलोचना होइन, प्रोपोगाण्डा हो । एउटा सीडीओले मकवानपुरमा राम्रो काम गर्‍यो वा एउटा एसपीले राम्रो काम गर्‍यो भने पेन्सन नपाक्दासम्म त्यही राख्ने भन्ने हुन्छ र ? होइन, सकारात्मक रुपमा हेर्ने हो भने अर्को ठाउँमा पनि गएर राम्रो गरोस्, त्यसपछि अर्को बिग्रिएको ठाउँको पनि जिम्मेवारी दिउँला नि ।

तर, कोभिडमा राम्रो अनुभव ज्ञान हासिल गरेको डाक्टरलाई अन्यत्र सरुवा गर्ने बेला होइन कि भन्ने मात्र चासो होला नि त ?

कोभिडमा काम गर्ने अरु डाक्टर छैनन् ? कोशीमा कसरी उपचार भइरहेको छ ? नेपालगञ्जमा कसरी भइरहेको छ ? जहाँसम्म अन्यत्र सरुवा गरियो भन्ने छ, राष्ट्रसेवक कर्मचारीको तोकिएको सेवा भन्दा अन्यत्र सरुवा हुँदै हुँदैन नि ! स्वास्थ्य क्षेत्रमा भनेर काम गर्न आउनु भएको हो, स्वास्थ्य क्षेत्रमा नियुक्त हुन्छ ।

प्रसुती अस्पतालमा डा. संगीता मिश्राले राम्रै काम गर्नुभएको थियो, उहाँको पनि सरुवा भयो । तर मैले कतै समाचार पढ्न पाइनँ । त्यसैले कयौं फ्याक्टर हुन्छ । सबभन्दा राम्रो एउटा कर्मचारीले जहाँ नियुक्ति पाउँछ, त्यही पेन्सन पाक्ने होइन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?