+
+
कभर स्टोरी :

मधेशका ९ लाख विपन्न शीतलहरको त्रासमा : बल्ल दाउरा खोज्दै प्रदेश सरकार

प्रदेश नीति तथा योजना आयोगको भनाइमा सुरक्षित घर, न्यानो लुगा र बाक्लो सिरकको अभावमा प्रदेश–२ मा शीतलहरले झण्डै ९ लाख विपन्न बिचल्लीको अवस्थामा छन् । तर, नजिकको प्रदेश सरकार बल्ल दाउरा खोज्न हतारिंदैछ ।

श्रवण देव श्रवण देव
२०७८ पुष ९ गते २०:२०

९ पुस, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–६ सोनिगामा गाउँमा एउटा टहरो छ । टहरोको माथि छत खुला जस्तै छ । माटोले लिपेका टाटीहरू भत्किसकेका छन् । वर्षामा घरभित्र राखेको सबै थोक भिज्छ; हिउँदको चिसो चारैतिरबाट टहरामा पस्छ । यही टहरामा पाँच जनाको परिवार बस्छ— रामकरण मण्डल, उनकी पत्नी संजु र तीन छोरा ।

टहरा भित्र बाँस ठड्याएर एउटा मचान (अस्थायी खाट) बनाइएको छ । मचानमा पराल थुपारिएको छ । मचानको तलपट्टि अर्काेतर्फ भुइँमै पराल थुपारेर ओछ्यान बनाइएको छ । मचान र त्यसको तलको गरेर दुई ओछ्यानमा यी पाँच जनाले हिउँदको चिसो रात कटाउँछन् ।

उनीहरूको आफ्नो भन्नु केही थोत्रा भाडा बाहेक अरूले दिएका केही पुराना कपडा छन् । यसपालि एउटा ओढ्ने पनि मागेर ल्याएका छन् । ‘सुतेको बेला त्यही मागेर ल्याएको कपडा ओढे पनि चारैतिरबाट हावा पस्छ । चिसोले रातभरि निद्रा आउँदैन’ संजु भन्छिन्, ‘छानो पनि भत्किएको छ, माथिबाट पनि हावा पस्छ ।’

तीन वर्षअघिसम्म यो परिवारको दुई धुर जग्गामा आफ्नै सानो घर थियो । मजदूरी गरेर परिवारको पेट पाल्ने काम गर्थे संजुका पति । अकस्मात् उनलाई पेटमा समस्या भयो । ‘धेरै दुख्न थालेपछि जनकपुरमा जँचाउन जाँदा लिभरको अप्रेसन गर्नुपरेको थियो’ संजु भन्छिन्, ‘त्यसबेला त्यही दुई धुर घडेरी राखेर ऋण लिई श्रीमान्को अप्रेसन गराएका थियौं । पछि ऋण दिने व्यक्तिले पैसा माग्दै कुटपिट गर्न थालेपछि त्यही घडेरी बिक्री गरेर ऋण चुक्ता गर्‍यौं।’

अहिले उनीहरू भाडामा जग्गा लिएर त्यहीं छाप्रो हालेर बसेका छन् । प्रत्येक महीना ५०० रुपैयाँ भाडा तिर्नुपर्छ । यही भाडाको झुपडीमा उनीहरू पुस, माघको यो कठ्याङ्ग्रिंदो जाडो काटिरहेका छन् । ‘श्रीमान् बिरामी परेपछि गाउँमा मजदूरी गर्न म जान्छु’ संजु भन्छिन्, ‘त्यो कमाइले छाक टार्न समस्या छ, जाडोको कपडा कसरी जोहो गर्नु ?’

१०, ७ र ४ वर्षका तीन छोराकी आमा संजु आफू त जसोतसो रात काट्ने तर छोराहरूले जाडो भयो भन्दा आफ्नो आत्मा रुने बताउँछिन् । उनी भन्छिन्, ‘के गर्नु हाम्रो भाग्य नै यस्तै छ । जहिलेसम्म बाँचिन्छ, बाँच्नै पर्‍यो ।’

****

धनुषाकै सबैला नगरपालिका–७ मठीमा मुसहर समुदायको बसोबास छ । यसमध्येका लक्ष्मण सदाको परिवारलाई यसपालिको जाडो कसरी कटाउने भन्ने चिन्ता छ । ‘आफू एउटा हाफ प्यान्टका भरमा छु’ उनी भन्छन्, ‘छोराहरूलाई परालको ओछ्यानमा सुताउनु परेको छ । हामीसँग अरू लुगा, कपडा छैनन् ।’

यही टोलका शिवजी सदाको अवस्था पनि उस्तै छ । प्रत्येक वर्ष आउने जाडोले आफूहरूलाई धेरै पिरोल्ने बताउँछन् उनी । ६० वर्षको उमेरसम्म आफूले जाडोमा कहिल्यै न्यानो कपडा लगाउन नपाएको सुनाउँदै शिवजी भन्छन्, ‘घरपरिवारको पेट पाल्नै समस्या हुन्छ, न्यानो कपडा कसरी किन्ने र ?’ लुगा त कहिल्यै हुँदैनथ्यो, शिवजी सदालाई यसपालिको जाडोमा चिन्ता दाउराको छ । उनी भन्छन्, ‘यसपालि त आगो बाल्ने दाउरा समेत छैन । कसरी धान्ने हो ?’ मठी टोलका धेरैजसोको अवस्था यस्तै छ ।

****

सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर ४ मा मुसहर समुदायको बसोबास छ । उनीहरू ऐलानी जग्गामा घर बनाएर बस्दै आएका छन् । यही टोलमा बस्छिन् चनरदेवी सदा । उनी भन्छिन्, ‘परालको ओछ्यान बनाएर सुतेका छौं । हामीले यसरी नै जाडो कटाउनुपर्छ ।’

हुन पनि यो टोलका सबैजसो घरमा परालको ओछ्यान छ तर ओढ्ने सिरकको अभाव छ । हामीले यो गाउँका ६० वर्षीय अमृत सदालाई भेटेर यसपालिको जाडो कसरी कटाउने होला ? भनेर सोध्यौ ! उनले दाउरा खोजेर आगो बाल्ने सामग्री जोहो गरिरहेको बताए । भने, ‘न्यानो कपडा किनेर लगाउने अनि बाक्लो सिरक ओढ्ने कुरा हाम्रा लागि सपना हो, हामी पराल ओछ्याएर सुत्ने र सकेसम्म दाउरा बालेर जाडो कटाउने प्रयास गर्छौं ।’

शीतलहरबाट मृत्यु : यकिन तथ्यांक छैन

शीतलहर प्रत्येक वर्ष जसो आउँछ । यसले जनजीवन कष्टकर बनाउने मात्रै होइन कि व्यक्तिको ज्यानै लिने गर्दछ । प्रदेशको पछिल्लो पाँच वर्षको विवरण हेर्ने हो भने शीतलहरका कारण ७५ जनाको ज्यान गएको देखिन्छ ।

सबैभन्दा बढी २०७४ सालमा धेरैको मृत्यु भएको थियो । २०७४ सालमा सबैभन्दा धेरै रौतहटमा २८, सप्तरीमा १८, महोत्तरीमा तीन, सिरहा र धनुषामा दुई/दुई तथा पर्सा र सर्लाहीमा एक/एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

पछिल्लो पटक २०७७ सालमा शीतलहरकै कारण १० जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । २०७७ सालमा सिरहा र पर्सामा चार/चार र सर्लाहीमा दुई जनाको मृत्यु भएको थियो ।

२०७५ सालमा रौतहटमा चार जनाले शीतलहरका कारण ज्यान गुमाएका थिए भने सिरहा, धनुषा र बारामा एक/एक जनाको ज्यान गएको थियो । २०७५ सालमा धनुषा र पर्सामा एक/एक जना अनि २०७३ सालमा पर्सामा एक जनाको मृत्यु भएको प्रहरीको तथ्यांकले देखाउँछ ।

तर, यो त प्रहरीले शीतलहरका कारण भएको मृत्यु भनेर राखेको तथ्यांक हो । चिसोको असरले हुने विभिन्न रोगबाट धेरैको मृत्यु भइरहेको हुन्छ । यसको तथ्यांक कोहीसँग हुँदैन । दलित अगुवा भोला पासवान भन्छन्, ‘जाडोले बिरामी भएपछि उपचार पाउन नसकेर धेरैको ज्यान गइरहेको हुन्छ । तर यस सम्बन्धी विवरण कोहीसँग हुँदैन ।’

हुन पनि शीतलहरकै कारण कसैको मृत्यु भएको भनेर प्रमाणित गर्न सजिलो छैन । यसका लागि कसैको मृत्यु भएपछि पोस्ट–मोर्टम गर्नुपर्ने हुन्छ । सरकारले सहयोग गर्ने कुनै ग्यारेन्टी नभएका कारण धेरै व्यक्ति यो झन्झटमा अल्झिन नचाहने पासवान बताउँछन् ।

‘१५ प्रतिशत जनता समस्यामा’ : प्रदेश नीति तथा योजना आयोग

रामकरण मण्डल, लक्ष्मण सदा, अमृत सदा, शिवजी सदा र उनको परिवार मात्रै होइन; चिसोबाट सुरक्षित घर, न्यानो लुगा कपडा र बाक्लो सिरकको अभावमा प्रदेश–२ मा अहिले ठूलो संख्या विचल्लीमा छ । उनीहरू यो हिउँद कसरी कटाउने भन्ने चिन्तामा छन् । प्रदेश नीति तथा योजना आयोगका भनाइमा प्रदेश–२ को जनसंख्याको करीब १५ प्रतिशतमा यो समस्या छ ।

आयोगले दिएको विवरण अनुसार, यो प्रदेशमा झण्डै ६० लाख जनसंख्या छ । यसको १८ प्रतिशत बढी दलित छन् । त्यसमध्ये ५० प्रतिशत दलित त अति नै विपन्न छन् । दलित बाहेकको पनि ५ प्रतिशत जनसंख्या अत्यन्त गरीब छ ।

आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा भन्छन् ‘हुन त शीतलहरबाट सबै प्रभावित हुन्छन् । तर, प्रदेशका १५ प्रतिशत अर्थात् ९ लाख जनता असाध्यै धेरै पीडित छन् । उनीहरूसँग राम्ररी ओछ्याउने पराल समेत हुँदैन ।’

दलित र विपन्नलाई जाडोले पिरोल्ने समस्या प्रदेश–२ को आठ वटै जिल्लामा चर्को छ । प्रदेशका सबै जिल्लामा विपन्न र दलितको संख्या उल्लेख्य छ । शीतलहरका कारण मानिसको मृत्यु भएको वा दुःख पाएको देखिए पनि यथार्थमा यो गरीब हुनुका कारणले भएको हो ।

त्यसो त प्रदेश–२ ले अरू पनि विपद्को सामना गर्नुपर्ने हुन्छ । गर्मीमा आगलागी, बेहोश भएर मृत्यु हुने, वर्षाको समयमा डुबान र कटान तथा डुबेर मृत्यु हुने समस्या सामना गर्नुपर्छ । अनि जाडोमा शीतलहरले उत्तिकै पिरोल्ने गर्दछ । अरू विपद्मा भन्दा पनि शीतलहरले गरीब परिवारमा असाध्यै ठूलो समस्या ल्याउने स्थानीय बासिन्दाको भनाइ छ ।

शीतलहरको प्रभाव गरीब र विपन्न परिवारमा चर्को रहेको सरकारी अधिकारीहरू पनि स्वीकार गर्छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला गरीबीको रेखामुनि रहेकाहरू नै शीतलहरबाट धेरै प्रभावित हुने बताउँछन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा त ‘प्रदेश–२ मा गरीबीको तथ्यांक भनेकै शीतलहरले पारेको असरको तथ्यांक हो’ समेत भन्छन् ।

प्रदेश–२ मा शीतलहरबाट को प्रभावित भइरहेको छ भन्ने प्रश्नमा रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही जाडोले कसैलाई गम्भीर असर पुर्‍यायो भने त्यो विपन्न र गरीब वर्ग हो भनेर पहिचान हुने बताउँछन् ।

प्रदेश सरकारको तथ्यांकले पनि यहाँ ४८ प्रतिशत बहुआयामिक गरीबी रहेको देखाएको छ । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष झा भन्छन्, ‘विपद्को दृष्टिकोणले प्रदेश–२ अति नै जोखिमयुक्त प्रदेश हो । सरकारले पर्याप्त तयारी गरेको हुँदैन । अनि अवस्था धेरै बिग्रिएपछि सम्हाल्न पनि गाह्रो हुन्छ । स्थानीय, प्रदेश र संघीय सरकारले यसतर्फ ध्यान दिनुपर्छ ।’

मुख्यमन्त्री लालबाबु राउत पनि शीतलहरलाई प्रदेशकै एउटा ठूलो समस्या मान्छन् । तर यति ठूलो समस्यासँग जुध्न प्रदेश सरकार के गरिरहेको छ भन्ने प्रश्नमा मुख्यमन्त्री राउतको जवाफ सतही लाग्छ । उनी भन्छन्, ‘अस्तिको मन्त्रिपरिषद् बैठकले यो मामिला हेर्न आन्तरिक मामिला तथा संचार मन्त्रालयलाई भनेका छौं । मैले कम्बल र दाउरा वितरणका साथै अन्य अति आवश्यक कुरा मिलाउन भनेको छु ।’

मुख्यमन्त्री राउतले भने ‘विगतमा जाडो बढेपछि चोक–चोकमा आगो बाल्न दाउराको व्यवस्था हुँदै आएको र यस पटक पनि स्थानीय प्रशासनसँग छलफल गरेर तयारी गर्न मन्त्रालयलाई निर्देशन दिएको छु ।’

ऐन बनाउन अगाडि, कार्यान्वयन छैन

शीतलहर जस्ता आइपर्ने विपद् व्यवस्थापन गर्न प्रदेश–२ सरकारले २०७५ सालमै ऐन बनाएको छ । ऐनमा ‘उच्च संकटको अवस्थामा रहेका समुदायको पहिचान गरी जोखिम न्यूनीकरण कार्यक्रम संचालन गर्ने/गराउने तथा आपत्कालीन उपचारका लागि सार्वजनिक तथा निजी अस्पताल वा स्वास्थ्य संस्थामा पर्याप्त पूर्वाधार तथा सुविधाको व्यवस्था गरी विपद् प्रभावितलाई तत्काल स्वास्थ्य उपचारको व्यवस्था मिलाउने’ भनिएको छ । तर, ऐन कार्यान्वयन प्रक्रिया अत्यन्त सुस्त छ । शीतलहर आउनै लागिसक्दा पनि प्रदेश सरकारले पूर्व तयारीको काम समेत गरेको छैन ।

‘राज्यले मौलिक हक भित्र नै गाँस, बास र कपासको ग्यारेन्टी गरिसकेपछि वर्षेनि दर्जनौं व्यक्ति शीतलहरबाट मर्नुपर्ने स्थिति आउनु आफैंमा दुर्भाग्यपूर्ण अवस्था हो’ दलित अगुवा पासवान भन्छन्, ‘राज्यले जाडोको समयमा यस्ता विपन्नहरूका लागि खाना, नाना र छानाको व्यवस्था गर्नुपर्नेमा अहिलेसम्म गरेको छैन ।’

शीतलहरबाट प्रभावित भएकालाई बचाउन मानवीय अभियान पनि आवश्यक रहेको बताउँछन् पासवान । उनी भन्छन्, ‘एक जना हुनेले नहुने एक जनालाई सहयोग गरे पनि यो समस्या धेरै हदसम्म समाधान हुन्छ ।’

शीतलहर शुरू हुनै लाग्दा प्रदेश–२ का केही जिल्लाले विपद् व्यवस्थापन समितिको बैठक बोलाउने तयारी भने गरेका छन् । तर कतिले अझै यस्तो बैठक बोलाउने सुरसार गरेका छैनन् । सिरहामा आवश्यक तयारी गरिसकिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कबारी बताउँछन् । सबै स्थानीय तहलाई न्यानो कपडा र कम्बल तयारी अवस्थामा राख्न र दाउरा संकलन गर्न भनिसकेका छौं’ उनले भने, ‘हामी सरोकारवालासँग समन्वय गरेर काम गर्छाैं ।’

तर धनुषामा यस सम्बन्धी बैठक बस्न सकेको छैन । पार्टीहरूको अधिवेशनका कारण बैठक बस्न नसकेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला बताउँछन् । ‘यही हप्ता बैठक बस्ने तयारी गरेका छौं’ उनले भने ।

धनुषामा गत वर्ष विपन्न विद्यार्थीलाई एक हजार स्वेटर तथा विभिन्न संघ–संस्थासँग मिलेर विपन्नलाई कम्बल वितरण गरेको भन्दै प्रजिअ बास्तोलाले यो कामका लागि यसपटक पनि समन्वय गरिरहेको बताए । यसैगरी आगो बाल्नका लागि दाउराको प्रबन्ध मिलाउने काम गर्ने उनको भनाइ छ ।

महोत्तरीमा शीतलहरबाट बच्न तयारी थालिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल बताउँछन् । दाहालका अनुसार, दाउरा तयारी अवस्थामा राख्न वन कार्यालयलाई भनिसकिएको छ । अहिलेसम्म विपत् व्यवस्थापन समितिको बैठक बस्न नसकेको र दुई/तीन दिनभित्रै बैठक बसेर यस सम्बन्धी अन्य निर्णय गरिने उनको भनाइ छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा पुस पहिलो साता बैठक बस्ने तयारी गरिएको बताउँछन् ।

रौतहटमा शीतलहरबाट क्षति हुन नदिन दाउरादेखि कम्बल वितरण गर्नेसम्मको तयारी गरिएको सरकारी अधिकारीहरूको दाबी छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जाडोमा बाल्न भनेर सबै स्थानीय तहलाई दुई चट्टा (एक चट्टामा ५०० क्यूबिक फिट हुन्छ)का दरले दाउरा वितरण गर्ने निर्णय भएको जानकारी दिए । ‘सबै स्थानीय तहसँग समन्वय गरेका छौं । तयारी अवस्थामा बस्न भनेका छौं’ शाहीले भने, ‘न्यानो कपडा वितरण गर्न पनि समन्वय गरेका छौं ।’

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल प्रभावितलाई कम्बल र दाउरा वितरण गर्न तयारी अवस्थामा राखिएको बताउँछन् । पर्सामा २ पुसमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले ‘आगो बाल्नका निम्ति गाउँपालिकालाई दुई चट्टा, नगरपालिकालाई चार र महानगरपालिकालाई आठ चट्टा दाउरा उपलब्ध गराउन वन कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेको’ सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

सप्तरीमा शीतलहर आकस्मिक योजना निर्माण गरिएको छ । २० मंसीर २०७८ मा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयमा ‘शीतलहरमा बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, बाढीबाट प्रभावित भई हालसम्म पुनस्र्थापना हुन नसकेका परिवारलाई प्रत्यक्ष प्रभाव पर्न सक्ने हुँदा आवश्यक स्रोतसाधनको प्रबन्ध गर्ने’ भनेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले शीतलहर प्रभावित परिवारलाई उद्धार तथा राहत व्यवस्थित र प्रभावकारी बनाउन योजना निर्माण गरिएको बताए ।

शीतलहरमा मृत्युको कारण : रक्तनली संकुचित

शीतलहरमा व्यक्तिको ज्यानै कसरी जान्छ त ? हामीले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट समेत रहेका फिजिसियन डा.रंजित झासँग बुझ्न खोज्यौं । उनी भन्छन्, ‘जाडोको समयमा मानव शरीरको रक्तनली अत्यन्तै संकुचित हुन्छ । यसले ब्रेन, मुटुमा रक्तसंचारमा समस्या ल्याउँछ । जसले मानिसको मृत्यु समेत हुन्छ ।’

उच्च रक्तचाप, मधुमेहका बिरामीका लागि जाडो एक किसिमको काल नै रहेको डा. झा बताउँछन् । जाडोको समयमा पूरै शरीर न्यानो राख्नुपर्ने, टाउको, हात र खुट्टालाई त पूरै कपडाले ढाक्नुपर्ने उनको सुझाव छ ।

जाडोको समयमा झोल पदार्थ धेरै खानुपर्नेमा नखाएर पनि व्यक्तिको स्वास्थ्यमा समस्या हुने उनको भनाइ छ । ‘जाडोमा हामीले हा… गर्दा मुखबाट वाफ आउँछ नि !’ उनी भन्छन्, ‘यसले पानीको मात्रा शरीरमा कम गराउँछ । त्यही भएर झोल पदार्थ पिउनु आवश्यक हुन्छ ।’ अनि सकेसम्म घरभित्र आगो नताप्ने, ताप्नैपरे झ्याल–ढोका खुल्ला राखेर आगो ताप्नुपर्ने उनको सुझाव छ ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?