+
+

प्रचण्डले जे सुन्न चाहन्थे, देउवाले त्यही बोले

देउवाले प्रचण्ड एउटा बहादुर नेता हो भनेको स्मरण गर्दै उनले भने, ‘म युद्ध गरिराखेको छु । उहाँ प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्रीले विद्रोहीलाई बहादुर नेता भनिदिनुभयो ।’ देउवाले सहज ढंगले भनेको, तर जबरजस्त प्रभाव परेको उनले सुनाए ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते २०:३९

११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाहीदेखि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासम्मले शुभकामना मन्तव्य दिए ।

नेताहरुले दिएका शुभकामना मन्तव्य सुनिरहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पछिल्ला समय तितो लाग्ने गरेको नेकपा मालेका महासचिव सीपी मैनालीको अभिव्यक्ति पनि खासै तितो लागेन । बरु गम्भीर लाग्यो । त्यसैले मैनाली सम्बोधन सकेर मञ्चमा आउनासाथ सोधे, ‘तपाईंको नोट रहेछ, मलाई दिनुहुन्छ ?’

नेकपा एमालेका महासचिव शंकर पोखरेलको ‘हिजो पार्टी एकता गरेर गल्ती गरेका थिएनौं’ भन्ने अभिव्यक्ति पनि मनन योग्य लागेको प्रचण्डले सुनाए ।

प्रचण्डलाई सबभन्दा मन परेको अभिव्यक्ति चाहिँ प्रधानमन्त्री शेरबहादुर देउवाको रह्यो । प्रचण्डले भनेका छन्, ‘बडो संक्षिप्त बोल्ने प्रधानमन्त्रीजी आज बडो सुन्दर बोल्नुभएको लाग्यो । कस्तो मिठो बोल्न सकेको जस्तो लाग्यो ।’

के भनेका थिए देउवाले ?

कार्यक्रम सञ्चालक जनार्दन शर्माले प्रचण्डभन्दा ठीक अगाडि देउवालाई मञ्चमा बोलाएका थिए ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले सुरुमै प्रचण्डको प्रशंसा गरे । नेपालको राजनीतिमा प्रचण्डको ठूलो योगदान छ भन्दै सम्बोधन शुरु गरेका उनले भने, ‘उहाँको बलले संविधानसभामा हामीहरु गएका हौं । पुष्पकमलजीकै अगुवाइमा संविधानसभाको चुनाव भएर संविधानसभाबाट संविधान बनेको छ ।’

प्रचण्डकै जोडबलमा आफूहरु संविधानसभा निर्वाचनमा गएको र संविधान बनाउन पनि प्रचण्डको सबभन्दा महत्वपूर्ण योगदान रहेको सबैले मान्नुपर्ने देउवाको तर्क छ ।

त्यसपछि देउवाले पाँचदलीय गठबन्धनबारे बोले । संविधान र संसद बचाउन गठबन्धन गरेको भन्दै उनले भने, ‘ओलीजीहरुलाई पनि हाम्रो खिलापमा गठबन्धन गर्‍यो भने नलागोस् । कसैको खिलाप होइन, यो सविधानका साथसाथै संसद बचाउने गठबन्धन हो । त्यसमानेमा यो गठबन्धन पुरा समयसम्म चल्नेछ । म त के चाहन्छु, भने अझ अगाडि जाओस् ।’

गदगद् प्रचण्ड

प्रधानमन्त्री देउवाको अभिव्यक्तिले प्रचण्ड निकै खुसी देखिए । देउवाले खासखास समयमा ठूलो स्टमेटन्ट दिएको र आज पनि त्यही भएको भन्दै भन्दै प्रशंसा गरे ।

शान्ति प्रक्रियमा आउने तयारी गरिरहँदा तत्कालीन प्रधानमन्त्री देउवाले प्रचण्ड एउटा बहादुर नेता हो भनेको स्मरण गर्दै उनले भने, ‘म युद्ध गरिराखेको छु । उहाँ प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्रीले विद्रोहीलाई बहादुर नेता भनिदिनुभयो ।’ देउवाले सहज ढंगले भनेको, तर जबरजस्त प्रभाव परेको उनले सुनाए ।

पछिल्लो पटक प्रधानमन्त्रीमा आलोपालो गरेको र सहमतिअनुसार आफूले देउवालाई हस्तान्तरण गरेको प्रचण्डले बताए । ‘उहाँले संसदको मञ्चबाट भन्नुभयो प्रचण्ड राजनेता नै रहेछन्,’ उनले भने, ‘सजिलै भन्नुभयो, तर ठूलो स्टेटमेन्ट भन्नुभयो ।’

आफ्नो पार्टीको महाधिवेशन उद्घाटन समारोहमा पनि संविधानसभा चुनाव गर्न, संविधानसभाबाट गणतन्त्र, संघीयता, समानुपातिक समावेशी संविधान बनाउन माओवादी र त्यसको नेतृत्वका रुपमा आफूले खेलेको भूमिबारे इमान्दारिपूर्वक बोलेको भन्दै प्रचण्डले प्रधानमन्त्री देउवाको प्रशंसा गरेका छन् ।

उनले अघि भने, ‘उहाँले सजिलैसँग भनिदिनुभयो, गठबन्धन त कुनै हालतमा … (टुट्दैन) । म त चाहन्छु परैसम्म लैजाने, चुनावपछि पनि भनिदिनुभयो । तपाईं हामीले सुन्न चाहेको कुरा त्यही थियो उहाँको मुखबाट ।’

एमसीसी अब प्रचण्डको कोर्टमा

प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा प्रचण्डले चाहेजस्ता मात्र बोलेनन्, आफूले चाहेको पनि सत्तारुढ माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुलाई सुनाएका छन् ।

उनी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पास गर्न चाहन्छन् । तर सत्तारुढ गठबन्धनमै यसबारे सहमति जुटेको छैन । माओवादी केन्द्रमै पनि एमसीसीबारे चर्को मतभेद छ । प्रचण्डले एमसीसी संसदमा टेबल गर्नसम्म सहमति दिएपनि यथास्थितिमा अनुमोदन गर्न नहुने मत बलियो छ ।

त्यसलाई बुझेका प्रधानमन्त्री देउवाले भनेका छन्, ‘राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन ? पहिले पढ्नुपर्‍यो एमसीसी, कहाँ छ राष्ट्रघाती ? मैले त कहिँ देखेको छैन ।’

उनले अघि भने, ‘म पनि नेपालको प्रधानमन्त्री हुँ । म नेपाल राष्ट्रको खिलापमा जाउँला ? म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ, म किन राष्ट्रघात गरौंला ?’

एमसीसी नेपालको हितमा रहेको भन्दै उनले सित्तै आएको पैसा चाहिन्न भन्न नहुने बताए । ‘वर्ल्ड बैंक, एडीबीजस्ता दातृ निकासयसँग ऋण लिँदा अन्तर्राष्ट्रिय कानुन लागू हुने भन्दै उनले भने, ‘एमसीसी सित्तै आएको छ, नेपालको कानुन मान्छु भन्या छ, तैपनि मान्दैन । राम्रोसँग बुझ्नुपर्‍यो क्या !’

प्रचण्ड र अरु नेताहरुसँग छलफल भइरहेको भन्दै प्रधानमन्त्रीले सहमतिकै आधारमा एमसीसीलाई संसदबाट पास गर्ने विश्वास व्यक्त गर्दै आफ्नो सम्बोधन टुंग्याए ।

माओवादी अध्यक्ष प्रचण्डले भने त्यसलाई प्रधानमन्त्रीको निजी विचार भन्दै पन्छाउने प्रयास गरेका छन् । तर प्रधानमन्त्री देउवाले राष्ट्रघात भए देखाउन, नभए पास गर्न सहयोग गर्नुपर्ने दबाव प्रचण्डमाथि दिएको नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?