पञ्चायतकालमा तत्कालीन धवलागिरि अञ्चलसँगै छिमेकी स्याङ्गजा, पाल्पा, रुपन्देही, नवलवरासीमा कम्युनिष्ट विचार प्रवाह गर्न र संगठन निर्माणमा नेतृत्वदायी भूमिका खेल्नु भएका अग्रज राजनीतिज्ञ रामप्रसाद भूसालको यही २०७८ साल पुस ८ गते बिहान काठमाडौमा निधन भएको छ । पर्वतको उराम पोखरामा विक्रम सम्वत २००० साल जेठ ३२ गते जन्मिनु भएका चर्चित कम्युनिष्ट विचारक तथा संगठक भूसाल झण्डै ३० वर्षदेखि मधुमेहलगायतका विभिन्न रोगसँग लड्दै आउनु भएको थियो । उहाँले पञ्चायती कठोर शासनका बेला कम्युनिष्ट विचार विस्तार गर्न र संगठन निर्माण गर्न उनीहरुसँगै संघर्ष गर्नुपर्यो भने बहुदल आएपछि सजिलो राजनीतिक अवस्थाका बेला रोगसँग लड्नु पर्यो ।
यस अर्थले उहाँ राजनीतिक रुपमा अभागी नेता बन्नुभयो । उहाँले कम्युनिष्टको बिरुवा रोप्नुभयो, तर फल खाने बेलामा भने बिरामी भएर पाउनु भएन । उहाँले कम्युनिष्ट पार्टीमा प्रवेश गराएका दर्जनौं नेताहरु संसद, मन्त्रीलगायतका राज्यका महत्वपूर्ण जिम्मेवारीमा पटक पटक पुगेका छन् । उनीहरु अहिले पनि उहाँलाई आफ्नो राजनीतिक गुरुको रुपमा स्मरण र श्रद्धा गर्छन् । उहाँको निधनले परिवारजनमा ठूलो क्षति भएको त छ नै नेपालको कम्युनिष्ट आन्दोलनले समेत एक हक्की, स्पष्ट र अदभूत क्षमतावान विचारक गुमाएको छ।
उहाँ आफूलाई लागेको कुरा निर्धक्क भन्ने स्वभावको हुनुहुन्थ्यो । धार्मिक, दार्शनिक, राजनीतिक, आर्थिकलगायतका धेरै विषयका पुस्तकहरु उहाँले गहिरोसँग अध्ययन गर्नुभएको थियो । उहाँसँगका हरेक छलफल र कुराकानीमा उहाँको अध्ययनको झल्को देखिन्थ्यो । आफ्ना हरेक निष्कर्ष र मान्यताका पछाडि उहाँसँग केही न केही अध्ययनको आधार हुन्थ्यो । कोही रिसाउला, कोही खुशी होला, केही फाइदा वा बेफाइदा होला भनेर उहाँले कुनै निणर्य लिएको वा निष्कर्षमा पुगेको पाइँदैन’थ्यो । अति अप्रिय लागेपनि उहाँले आफ्नो बुझाइ र आफ्नो मत दृढताका साथ राख्नुहुन्थ्यो । यस्तै विविध मान्यतामध्ये उहाँमा कठोर एउटा मान्यता देखिन्थ्यो — नास्तिकता ।
उहाँ आफैं भन्नुहुन्थ्यो — “कम्युनिष्ट भएकाले मात्रै नास्तिक भएको होइन ।” हिन्दु धर्मप्रति उहाँको उच्च सम्मान थियो, तर तर्क र आधार नभेटिएका मूल्य मान्यता र प्रथा प्रचलनहरुप्रति उहाँलाई पटक्कै मन जादैन’थ्यो । धार्मिक कार्यक्रमहरुमा उहाँ सहभागी नहुने होइन । धार्मिक पण्डित तथा विद्धानहरुसँग उहाँ जिज्ञासु र समीक्षकको रुपमा प्रस्तुत हुने गर्नुहुन्थ्यो । चित्त बुझ्दो तर्क र आधार पाएमा उहाँ पक्षधरता लिन पनि तयार हुनुहुन्थ्यो । नत्र उहाँ आफ्नो मान्यतामा डगमगाउनु हुन्थ्येन । यतिसम्मकी देवी देवताका नाममा गरिने भजन कीर्तनलाई उहाँ मनोरन्जनको माध्यम मात्र मान्नुहुन्थ्यो ।
उहाँले निधन हुनुभन्दा झण्डै दुई महिना अगाडि आफ्नै घरमा परिवारजनले आयोजना गरेको लाखबत्ति बाल्ने कार्यक्रमका बेलामा पनि भित्र भजन कृतन हुँदा बाहिर बस्ने र बाहिर भजनकृतन हुँदा भित्र बस्ने गर्नु भएको उहाँका कान्छा छोरा डा. निर्मल भूसाल सुनाउनुहुन्छ । छोटकरीमा भन्नुपर्दा, उहाँमा पूर्वाग्रहको हैन, तार्किकता सहितको नास्तिकता थियो ।
तर जीवनको अन्तिम प्रहरमा उहाँले फरक सन्देश दिएर जानु भएको छ । त्यो नै निधन पूर्व उहाँले दिएको एउटा मुख्य सन्देश हो । उहाँले निधन हुनुभन्दा झण्डै १० घण्टा अगाडि पुस ७ गते बेलुका ६ बजेतिर आफ्ना जेठा ज्वाई पिताम्बर तिवारी (काम विषेशले त्यसदिन ससुराली पुगेको) लाई भजन गर्ने टोली बोलाएर भजन सुन्न मन लागेको ‘अनौंठो र अस्वाभाविक’ प्रस्ताव राख्नु भएछ । झण्डै २५ वर्षदेखि नजिकबाट उहाँलाई चिन्नु भएका तिवारीले कठोर नास्तिक आफ्ना ससुराको इच्छा बारे सुरूमा त पत्याउनु भएन ।
तर उहाँले भजनियाँ टोली बोलाएर भजन सुन्न मन छ ज्वाइँ भनेर पटक पटक भनेपछि उहाँ थप अचम्मित हुनुभयो । रात परिसकेकाले आज भजन गराउने टोली ल्याउन गाह्रो छ भन्दै उहाँले दुई चार दिनपछि गराउने आश्वासन दिदै आफ्नै मोबाइलमा युट्युवमा भएका भजन कीर्तन बजाइ दिनुभयो । त्यसैमा पनि उहाँ मस्तले झुल्न र रमाउन थाल्नुभयो । यो देखेर तिवारी अझ चकित हुनुभयो । अनि सम्झनु भयो, लक्ष्मीप्रसाद देवकोटालाई । महाकवी देवकोटाले पनि जीवनभर कठोर नास्तीक भएपनि जीवनको अन्त्यमा “आखिर रहेछ श्रीकृष्ण एक” भनेको स्मरण गर्नुभयो ।
यसबाट के पुनर्पुष्टि हुन्छ भने,— मानिस जीवनभर जति नास्तिक, जति भौतिकवादी र जति विद्धान भएपनि मर्ने बेलामा भगवान सम्झदोरहेछ । यो सत्य महाकवि देवकोटासँगै अरु दर्जनौं दृष्टान्तबाट पुष्टि भएकै थियो । अहिले कम्युनिष्ट नेता भूसालबाट पुनर्पुष्टि भएको छ । त्यसैले उहाँले निधन अघि देखाएको व्यवहार र विगतका अनेकौँ दृष्टान्तहरुलाई आधार मानेर हेर्दा मानिसले जीवनको अन्त्यमा भएपनि भगवानप्रति विश्वास गर्दोरहेछ भन्ने देखिएको छ । उहाँको त्यस व्यवहारले मलाई पनि भगवानप्रतिको विश्वास बढाएको छ । भगवान मान्दिनँ भन्ने घमण्डलाई कमजोर बनाएको छ । यो नै उहाँले निधन अघि दिएको एउटा मुख्य सन्देश हो ।
उहाँले निधन अघि दिएको अर्को मुख्य सन्देश हो — मृत्यु बारे पूर्व जानकारी । उहाँको व्यवहारबाट कुनै दुर्घटनाका कारण आकस्मीक मृत्यु भएका बाहेक अन्य मृतकलाई मृत्यु बारे केही समय अगाडि नै पूर्व जानकारी हुन्छ भन्ने मलाई लाग्न थालेको छ । उहाँले मृत्यु हुनु अगाडि आफु आकाशमा उडिरहेको, आफुलाई घुमाइरहेको बताउनु भएको थियो । त्यसैगरी निधन हुनु केही दिन अगाडि उहाँले आफ्ना छोरीहरुलाई भेट्न चाहेको बताउनु भएको थियो । एक जना छोरीलाई त “म मरेपछि मात्रै भेट्न आउने हैछ क्या” भन्ने सम्मको बचन प्रयोग गर्नु भएको थियो ।
त्यो थाहा पाएपछि ती छोरी वुवालाई भेट्न तत्कालै आउनु भयो । दुई दिन वुवासँगै बसेपछि वुवाले नै “भयो जाउ आफ्नै घर” भनेपछि आफ्नो घर फर्किनु भएको थियो । त्यसको भोलीपल्ट वुवाको निधन भयो । यस्ता भनाई र व्यवहार उहाँबाट मात्रै होईन, अरु पनि धेरै बृद्धबृद्धाहरुबाट सुनिने गरिएको थियो । तर त्यसलाई हामीले गम्भीरतापूर्वक मनन गरिएको थिएन । तर अहिले उहाँले पनि त्यस्तै व्यवहार गरेकाले मृत्युको पूर्व जानकारी हुदो रहेछ भन्ने पुनर्पुष्टि भएको छ ।
यसरी एक जना धुरन्धर, कठोर, विद्धान र नास्तीक कम्युनिष्ट नेताले मृत्युको पूर्व सन्ध्यामा देखाएका व्यवहारले मानिस आस्तीक प्राणी हो भन्ने एउटा सन्देश र मानिसलाई निधन वारे पुर्व जानकारी हुन्छ भन्ने अर्को सन्देश पुनर्पुष्टि भएको छ । यो सन्देशलाई मनन गर्दै स्वर्गिय रामप्रसाद भूसालप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु । उहाँको आत्मालाई सधैँ शान्ति मिलोस भन्ने कामना गर्दछु ।
प्रतिक्रिया 4