+
+

राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा सत्तारुढ गठबन्धनलाई सहज

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १९:५५

२० पुस, सुर्खेत । कर्णालीमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागिसत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बीच प्रतिस्पर्धा हुने भएको छ ।

माघ १२ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त उम्मेदवार तय गरेका छन् । नेकपा एमाले एक्लै प्रतिस्पर्धामा छ ।

सत्तारुढ गठबन्धनका तर्फबाट अल्पसंख्यक वा अपांगमा नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट, महिलामा नेपाली कांग्रेसकी दुर्गा गुरुङ र अन्यमा एकीकृत समाजवादीका उदय बोहोराले उम्मेदवारी दर्ता गराएका छन् ।

एक्लै प्रतिस्पर्धामा रहेको नेकपा एमालेले अल्पसंख्यक वा अपांगमा दैलेखका पदम माझी, महिलामा जुम्लाकी गङ्गा महत र अन्यमा सुर्खेतका चुडामणि शर्मा उम्मेदवार बनेका छन् ।

कर्णालीमा रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (हाल समाजवादी), हुम्लाकी कविता वोगटी (एमाले) र कालीकोटका जीवन बुढा (माओवादी)को पदावधि सकिँदैछ ।

कर्णालीमा सत्तारुढ गठबन्धनको जित सुनिश्चित रहेको मुख्यमन्त्रीसमेत रहेका कांग्रेस सांसद जीवनबहादुर शाहीले बताए । ‘गठबन्धनकोे जित शतप्रतिशत सुनिश्चित छ । बेइमानी हुने कुरा पनि भएन’ उनले भने ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य मतदाता हुन्छन् । स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ हुन्छ भने प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ ।

कर्णालीमा माओवादी केन्द्रसँग स्थानीय तहमा ५२ पदाधिकारी छन् भने प्रदेशसभामा १२ जना सांसद रहेका छन् । माओवादीसँग स्थानीय तहबाट ९३६ र प्रदेशबाट ५७६ गरी १ हजार ५१२ मतभार छ ।

नेपाली कांग्रेससँग स्थानीय तहमा ७२० र प्रदेसभामा ६ सांसदको २८८ गरी कुल एक हजार ८ मतभार छ । त्यस्तै एकीकृत समाजवादीका तीन जना प्रदेश सांसदको १४४ र स्थानीय तहका १३ जना पदाधिकारीको २ सय ३४ गरी कुल ३७८ मतभार छ ।

विपक्षी दल नेकपा एमालेको भने प्रदेशसभामा १३ सांसद छन् । उनीहरुको मतभार ६२४ र स्थानीय तहका ४५ पदाधिकारीको ८१० गरी कुल एक हजार ४३४ मतभार छ ।

सतारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको कुल मतभार दुई हजार ८९८ हुन्छ भने एमालेको एक हजार ४३४ मत हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?