+
+

नेपाल प्रहरीमा विवादित एसएसपी र एसपीलाई पुरस्कार !

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १९:४१

२५ पुस, काठमाडौं । नेपाल प्रहरीमा विवादास्पद छविका तीन प्रहरी अधिकृतले ‘पुरस्कार’ पाएका छन् ।

भ्रष्टाचारसम्बन्धी आरोपमा छानबीनमा परेकी एसएसपी पूजा सिंहलाई गृह मन्त्रालयले डीआईजीमा बढुवा सिफारिस गरेको हो । प्रशासनतर्फको दरबन्दी खाली नभएको अवस्थामा प्राविधिकतर्फको दरबन्दी प्रशासनतर्फ ल्याएर उनलाई बढुवा सिफारिस गरिएको हो ।

त्यस्तै, कार्यसम्पादन क्षमतामा पटकपटक प्रश्न उठेका दुई प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी प्रधान कार्यालय, नक्सालले आइतबार संवेदनशील जिल्लाको जिम्मा दिएको छ । एक उच्च प्रहरी अधिकृत भन्छन्, ‘प्रहरी नेतृत्व र गृह मन्त्रालयले किन यस्तो निर्णय गर्‍यो थाहा छैन, तर यसको परिणाम राम्रो देखिने छैन ।’

प्राविधिकको दरबन्दी प्रशासनमा

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई बढुवा गर्न सरकारले प्राविधिकतर्फ रहेको विशिष्ट श्रेणीको दरबन्दी प्रशासनतिर सारेको छ ।

नेपाल प्रहरीमा सञ्चार निर्देशनालयका तत्कालीन प्रमुख डीआईजी राजीव सुब्बाले राजीनामा दिएपछि प्राविधिकतर्फ एक डीआईजीको दरबन्दी रिक्त थियो । सोही रिक्त दरबन्दीलाई प्रशासनतिर ल्याएर एसएसपी सिंहलाई बढुवा गर्न सिफारिस गरिएको हो ।

यदि सिंह अहिले डीआईजीमा बढुवा नभएको भए उनले एसएसपीको ५५ वर्षे उमेर हदका कारण एक महिनापछि अर्थात ६ फागुनमा अवकाश पाउने थिइन् । तर गृह मन्त्रालयले उनलाई डीआईजीमा बढुवा गर्ने भएसँगै उनको जागिर अवधि थप एक वर्ष लम्बिएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्साल स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसँग राम्रो सम्बन्ध भएका कारण प्राविधिकतिरको पद थप गरेर उनी डीआईजीमा बढुवा सिफारिस भएकी हुन् ।

सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि भ्रष्टाचारसम्बन्धी उजुरी छ । काभ्रेमा प्रहरी प्रमुख एसपी हुँदा सिंहले सिपाहीको रासन भत्ता हिनामिना गरेको अभियोग उनीमाथि थियो । लेखापालसँग मिलेमतोमा फर्जी कागज बनाएर उनले हिनामिना गरेको अभियोग थियो ।

विवादित एसपीलाई संवेदनशील जिल्ला

नेपाल प्रहरीले बिहीबार ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गर्दा केही जिल्लाका प्रहरी प्रमुख पनि परिवर्तन भए ।

जिल्लाको प्रहरी नेतृत्व फेरिएकामध्ये झापा र बारामा विवादित छविका एसपीले जिम्मेवारी पाएका छन् । अपराधको दृष्टिकोणले संवेदनशीलमध्ये मानिने झापामा विश्वमणि पोखरेल पठाइएका छन् ।

सर्लाहीमा प्रहरी प्रमुख हुँदा पोखरेलले मातहतका प्रहरी कर्मचारीसँग ‘कुखुरा, चामल, केरा आदि मागेको’ अडियो प्रहरी महानिरीक्षकको सचिवालयसम्म पुगेपछि उनी जिम्मेवारीबाट हटाइएका थिए ।

बाराका प्रहरी प्रमुख बनाइएका दिलिपसिंह देउवा पनि राम्रो अफिसरमा गनिँदैनन् । राष्ट्रिय अनुसन्धान विभागबाट सेवा परिवर्तन गरेर नेपाल प्रहरीमा आएका उनी बालुवाटारको जोडबलमा महत्वपूर्ण पोस्टिङमा गएका हुन् ।

प्रहरीका एक एसपी भन्छन्, ‘दुई जना राजनीतिक दबाबमा आकर्षक पोस्टिङमा गएकोमा विवादै छैन तर विगतको ट्र्याक रेकर्ड हेर्दा उनीहरु नयाँ जिम्मेवारीमा पनि लामो समय टिक्दैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?