+
+

रवीन्द्र मिश्र : शक्तिको आशले विसर्जनको बाटोतिर

ठूला राजनीतिक दलहरूभित्र कतिपय नेताले बेलाबखत वकालत गर्दै आए पनि व्यवहारमा अस्वीकृत दक्षिणपन्थी मत तान्दै आगामी चुनावबाट ‘शक्ति’ आर्जन गर्ने सुरमा रवीन्द्र मिश्र गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विरोधी खेमामा उभिन पुगेका छन् ।

राजकुमार श्रेष्ठ सइन्द्र राई राजकुमार श्रेष्ठ, सइन्द्र राई
२०७८ पुष २५ गते २०:३०

२५ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणा १६ पुसमा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको निवास, भैंसेपाटी पुगे । मिश्रले लिङ्देन र राणालाई दायाँबायाँ राखेर खिचेको तस्वीर ‘बिहानको पाहुना’ भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरे ।

भेटमा लिङ्देन र राणाले राखेको पार्टी एकताको प्रस्तावमा आफूले एउटा पार्टी अर्कोमा मिल्नेभन्दा दुवै मिलाएर नयाँ पार्टी बनाउन विकल्प दिएको मिश्रले सुनाए । यसले विवेकशील साझा पार्टीमा विवाद मात्रै चर्काएको छैन, रवीन्द्र मिश्रले वैकल्पिक राजनीतिको नारालाई राप्रपामा लगेर विसर्जन गर्ने त होइनन् भन्ने प्रश्न समेत उठाएको छ ।

विवेकशील साझाका प्रवक्ता शरदराज पाठक भने राप्रपासँग पार्टी एकताबारे छलफल नभएको बताउँछन् । ‘राप्रपासँग सहकार्यबारे पार्टीमा छलफल भएकै छैन । मिश्रले नयाँ शक्ति निर्माण गर्ने ढोका खुला छ भन्ने सन्देश मात्र दिनुभएको हो’, पाठकले अनलाइनखबरसँग भने ।

राप्रपासँग एकताबारे पार्टीमा छलफल नभए पनि अध्यक्ष मिश्रले हिन्दूअधिराज्य र एकात्मक शासन व्यवस्थाप्रति आफ्नो झुकाव लुकाएका छैनन् । लिङ्देन र राणासँग भेट्नुभन्दा दुईदिन पहिले सामाजिक सञ्जालमा उनले स्वर्गीय वीरेन्द्र शाहको प्रशंसा गरेका थिए । ‘मेरो न लेना, न देना । तर यिनका कैयौं कमजोरीका बाबजूद यिनको फोटो देख्नेवित्तिकै श्रद्धाले हृदय भरिन्छ… ।’

राजतन्त्रप्रति मिश्रको झुकाव, प्रस्ताव र गतिविधिकै कारण उनको दल दोस्रो पटक विभाजित बनेको छ । मिलन पाण्डे सहितको समूहले समानान्तर गतिविधि गर्दै आएको छ । मिश्रले असन्तुष्ट आवाज सम्बोधन गर्ने हैन, निषेधको बाटो रोजेका छन् ।

‘रवीन्द्र मिश्र मेरा लागि एक पात्र मात्र हो, माफी दिउँला । आन्दोलन र इतिहासले भने माफ गर्ने छैन’, गत वर्ष एकता गरेर विवेकशील साझाका संयोजक बनेका, अहिले पार्टी कारबाहीमा परेका मिलन पाण्डे भन्छन् । मिश्रले रोजेको लाइन टिप्पणी गर्न समेत लायक नरहेको उनी बताउँछन् ।

मिश्रले २०७२ को संविधानले सुनिश्चित गरेको व्यवस्था उल्ट्याउनुपर्ने वकालत पाँच महीनायता निरन्तर गरिरहेका छन् । राजतन्त्रप्रति जनविश्वास बढेको तर्क गर्दै उनले संघीयता र धर्मनिरपेक्षता जस्ता संविधानको अन्तरवस्तुलाई ‘आयातित’ भनिरहेका छन् । १९ मंसीरमा राप्रपाको अध्यक्ष निर्वाचित लिङ्देनलाई बधाई दिंदै मिश्रले लेखे, ‘नरम परम्परावादी समाजलाई विथोल्ने र त्यसमा विग्रह ल्याउने विदेशी तथा विकृत वामवादको चाल चिर्नुपर्नेछ ।’ मिश्रले भनेको नरम परम्परावादी समाजको अर्थ राजा सहितको व्यवस्था भन्ने बुझ्न गाह्रो पर्दैन ।

मिश्र नेतृत्वको पार्टीले २० पुसमा पूर्वपञ्चहरूको राप्रपालाई समेत पछि पार्ने गरी राजावादी झुकाव प्रस्तुत गर्‍यो । उनी निकट नेता एवं पार्टी प्रवक्ता पाठकले जारी गरेको मागपत्रले पञ्चायती व्यवस्था सम्झाएको छ । पृथ्वीनारायण शाहको जन्मदिनलाई ‘नेपाल दिवस’ मनाउने तयारी गरेका मिश्रले त्यसदिन सार्वजनिक विदाको माग गरेका छन् । हरेक सरकारी कार्यालयको भित्ता र नेपाली रुपैयाँमा समेत पृथ्वीनारायण शाहको तस्वीर राख्नुपर्ने उनको माग छ । पञ्चायती व्यवस्थामा नेपाली रुपैयाँमा पृथ्वीनारायणको नभएर तत्कालीन राजाको तस्वीर राख्ने गरिएको थियो ।

‘अनावश्यक रुपमा अनेकौं विदा दिएर राष्ट्रिय एकताको दिवसमा दिइने सार्वजनिक विदा कटौती गर्नु अत्यन्तै खेदजनक विषय हो’,वक्तव्यमा उल्लेख छ । अर्थात्, गणतन्त्रको अनुभूति दिलाउन सरकारले विभिन्न जातजातिको सांस्कृतिक पर्वमा दिइएको सार्वजनिक विदालाई मिश्रको पार्टीले अनावश्यक भनेको छ ।

केही वर्ष अगाडि राप्रपाले अपनाएको शैलीमा ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ शुरु गर्ने तयारीमा थिए मिश्र । पृथ्वी जयन्तीबाट शुरु हुने यो अभियान १६ माघसम्म चल्ने योजना थियो । तर, कोरोना संक्रमण एक्कासी बढेपछि हाललाई यो अभियान स्थगित गरिएको छ ।

‘वैकल्पिक राजनीतिक शक्ति बनाउने अभियानले राप्रपाको एजेण्डा बोक्न पुग्नु र तिनै पार्टीका नेताहरूसँग उठबस देखिनु दुखद् हो’, साझा पार्टीका संस्थापक नेता डा. सूर्यराज आचार्य भन्छन् । विवेकशील साझाबाट अलग भइसकेका आचार्य, मिश्रको यो झुकाव शक्तिमा पुग्ने हतारोको उपज हुनसक्ने अनुमान गर्छन् ।

नेता दरिने हतार, निरन्तर छटपटी

रवीन्द्र मिश्रहरूले साझा पार्टी खोल्नुअघि वैकल्पिक राजनीतिको नारा दिएका दुई पार्टी थिए, उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति । साझा पार्टीका संस्थापकहरूका अनुसार, विवेकशील नेपाली दलमा पवित्र मन भएका उर्जावान युवा थिए । नयाँ शक्ति पार्टीमा पनि डा. बाबुराम भट्टराईको व्यक्तित्व मात्र देखेपछि विश्वसनीय शक्ति बनाउनुपर्छ भनेर नयाँ दल खोल्ने निष्कर्षमा पुगे ।

त्यसपछि मिश्र २०७३ फागुनमा पत्रकारिता छोडेर राजनीतिमा होमिएका थिए । त्यसबेला पत्रकारिता पृष्ठभूमिका कारण मिश्र आकर्षक पनि बने । फरक पृष्ठभूमिबाट आएका डा. आचार्य, डा. सरोज धिताल, डा. दिनेश प्रसाई, मुमाराम खनाल, रेशु अर्याल, किशोर थापा, केशव दाहाल लगायतकाे साथ पाएका मिश्रले साझा पार्टी बनाए ।

२०७४ वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा साझा पार्टीले काठमाडौं र ललितपुरमा उम्मेदवार उठायो । काठमाडौं महानगरपालिकामा मिश्रको पार्टीबाट किशोर थापा मेयर पदको उम्मेद‍वार बने । नेकपा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मतसहित निर्वाचित हुँदा थापाले १८ हजार ४९६ मत पाए । पार्टी स्थापना भएको तीन महीनामै चुनाव लडेका थापाले पाएको मत सम्मानजनक थियो ।

थापाले भन्दा बढी मत विवेकशील नेपाली दलकी उम्मेद‍्वार रञ्जु दर्शनाले ल्याइन् । मेयर पदको प्रत्यासी रञ्जुले २३ हजार ४३९ मत ल्याएकी थिइन् । सामाजिक गतिविधिबाट प्रशंसा पाउँदै उज्वल थापाको नेतृत्वमा २०७१ मा विवेकशील नेपाल दल बनेको थियो ।

२०६५ सालतिरै ‘नेपाल खुला छ’, ‘ज्याला पूरा लियौ, अब संविधान देऊ’ जस्ता नारा र सामाजिक विकृति विरुद्धको अभियानमा संलग्न युवाहरूको विवेकशील दल मिश्रको साझा पार्टीभन्दा बलियो र स्थापित थियो । काठमाडौं महानगरपालिकाको चुनावमा पनि त्यो देखियो ।

मिश्रले विवेकशील नेपाली दलसँग एकताको हात अघि बढाए । किनकि, मिलेर चुनाव लड्दा जित्ने सम्भावना रहने काठमाडौंको मेयरका उम्मेदवारले पाएको मतले देखियो । ११ साउन २०७४ मा पार्टी एकता पनि भयो । एकीकरणपछि बनेको विवेकशील साझामा मिश्र र थापा दुवै संयोजक रहे । चार महीनापछि मंसीरमा भएको आम चुनावमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा राम्रै नतिजा पनि ल्यायो ।

शक्तिशाली पार्टी संरचना रहेको एमालेसँग सहकार्य गरेको राप्रपाभन्दा विवेकशील साझाले धेरै मत पायो । बागमती प्रदेशमा तीन प्रदेशसभा सदस्य जितेको विवेकशील साझाले प्रतिनिधिसभामा लोकप्रिय मत (समानुपातिकतर्फ) दुई लाख १२ हजार ३६६ (२.२२ प्रतिशत) मत पायो । जबकि, सत्ता र शक्तिको स्वाद पटकपटक अनुभव गरेका नेता–कार्यकर्ता रहेको राप्रपाले एक लाख ९६ हजार ७८२ (२.०६ प्रतिशत) मत पायो ।

प्रत्यक्षतर्फ पनि विवेकशील साझाका उम्मेदवारले सम्मानजनक मत पाए । जेठो र बलियो पार्टी नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग मिश्र थोरै मतान्तरले पराजित भए । कांग्रेसभित्र विरासतको राजनीतिक लाभ समेत पाएका सिंह १० हजार ९३६ मत ल्याएर काठमाडौं–१ बाट विजयी हुँदा मिश्रले १० हजार ११८ मत ल्याए । भर्खरै राजनीतिमा होमिएका मिश्रका लागि त्यो सम्मानजनक मत थियो ।

विवेकशील साझाका अन्य उम्मेदवारले पनि राम्रै मत पाए । वाम गठबन्धनका उम्मेदवार रहेका एमालेका तत्कालीन महासचिव ईश्वर पोखरेललाई काठमाडौं–५ मा राम्रै चुनौती दिएका उज्वल थापाले ६ हजार ८१३ मत पाए । काठमाडौं–२ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध डा. सूर्यराज आचार्य प्रतिस्पर्धामा थिए । आचार्यले ७ हजार ४३७ मत पाए । थोरै मत बढाउन नसक्दा विवेकशील साझाले राष्ट्रिय पार्टीको मान्यता नपाए पनि राम्रै प्रभाव जमाउन सफल भयो ।

तर, शहरी क्षेत्रमा प्रभाव जमाएको विवेकशील साझाको एकता टिक्न सकेन । मिश्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एकताको १७ महीनापछि उज्वल थापा सहित १६ केन्द्रीय सदस्यले २७ पुस २०७५ मा विवेकशील नेपाली दल ब्यूँताए । ‘नेतृत्वले विधान विपरीत कामहरू गरिरहने, कोटको खल्तीबाट नामहरू ल्याएर केन्द्रीय सदस्य भर्ति गर्न खोज्ने, अपारदर्शी एवम् अलोकतान्त्रिक तरिकाले विभागहरू विघटन गर्ने, परम्परागत राजनीतिक दलहरूकै अनुसरण गर्दै विभिन्न भ्रातृ संगठन गर्ने तर्फ’ मिश्र लागेको आरोप लाग्यो ।

एकता नटुंगिदै विभाजन हुनुमा भने दुई पूर्वपार्टीको मनोविज्ञान र उमेरगत समस्या देखिएको थियो । थापासँग युवा थिए भने मिश्रसँग पुराना नेताहरूको पंक्ति थियो । कार्यशैली र पार्टी निर्णयहरूमा निरन्तर विवाद देखिने क्रममा बागमती प्रदेशको जिम्मेवारी बाँडफाँटलाई लिएर १९ साउन २०७५ मा नयाँबानेश्वरको एक कार्यक्रममा हुलदङ्गा नै भयो । ‘वैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा त्यो एउटा दुखद् घटना थियो । त्यहींबाट जनभावनामाथि ठेस लाग्न पुग्यो’, त्यसबेला पार्टी प्रवक्ता रहेका आचार्य भन्छन् ।

उमेरले समेत पाका मिश्रले राजनीतिक व्यवस्थापनको सीप देखाउन सकेको भए एकता जोगिनसक्ने कतिपय नेताहरूको बुझाइ छ । पार्टीबाट अलग हुनु एक महीना पहिले थापाले बुझाएको १८ पृष्ठ लामो समीक्षा प्रतिवेदनमा विवेकशील तर्फका नेताहरूलाई भूमिकाविहीन बनाइएकोदेखि सामाजिक अभियानलाई हेर्ने दृष्टिकोणमा समस्या देखिएको बताएका थिए । मिश्रले त्यो असन्तुष्टि सम्बोधन नगर्दा पार्टी फुट्यो ।

विभाजनको असर दुवै पार्टीमा पर्‍यो, संगठनप्रति आकर्षण घट्यो । २०७६ मंसीरमा भएको उपनिर्वाचनको नजिताले त्यही देखायो । शहरी क्षेत्रमा पकड भएको साझा र विवेकशील दुवैले कास्की–२ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार तय गरेका थिए । २४ हजार ३९४ मत ल्याएर एमालेकी विद्या भट्टराई निर्वाचित हुँदा साझा पार्टीकी रजनी केसीले ९४२ मत मात्र पाइन् । विवेकशील नेपाली दलकी जमुना शर्माले त १०० पनि कटाइनन् । जबकि राप्रपाका उम्मेदवार रोमबहादुर भण्डारीले एक हजार १५३ ल्याएका थिए ।

यसपछि मिश्र फेरि एकता गर्ने मनस्थितिमा पुगे । २९ असोज २०७६ मा थापाको नेतृत्व परिवर्तन गरी मिलन पाण्डे संयोजक बनेको विवेकशीलले पनि एकतामा जोड दियो । विवेकशीलले २८ चैत २०७६ मा सम्वादको प्रस्ताव गरे भने २१–२८ वैशाख ०७७ मा एकताको निर्णय अनुमोदन गर्‍यो । साझा पार्टीले भने २८ असार २०७७ मा एकीकरण गर्ने निर्णय गर्‍यो । दुवै दलले सम्वाद समिति बनाए ।

विवेकशीलबाट संयोजक निर्देश सिलवाल, सदस्यहरू रञ्जु दर्शना र रमेश पौड्याल रहे भने साझा पार्टीबाट संयोजक समीक्षा बास्कोटा, सदस्यहरू किरणकृष्ण श्रेष्ठ र केशव दाहाल रहेको सम्वाद समिति बन्यो । २९ असोज २०७७ मा एकता गर्ने निर्णय भयो, जसले २४ मंसीर २०७७ मा औपचारिकता पायो । मिश्र अध्यक्ष र पाण्डे संयोजक रहे । ६५–६५ जना रहने गरी १३० सदस्यीय केन्द्रीय कार्य समिति बन्यो । पार्टी एकता गर्दा ६ महीनाभित्र एकताको महाधिवेशन गर्ने घोषणा समेत गरियो ।

तर, ६ महीनापछि एकताको महाधिवेशन नभएर विभाजनको कारण बन्ने गरी मिश्रले राजनीतिक दस्तावेज सार्वजनिक गरे । ‘एउटा पक्षले राजावादी, हिन्दूवादीको वकालत गर्नु र अर्को पक्षले आफूलाई संविधान रक्षक ठान्नुले वैकल्पिक राजनीतिको पूँजी गुम्ने खतरा देखिएको छ’, पार्टीका पूर्वनेता आचार्य भन्छन् ।

मिश्रसहित पुराना नेताहरूको अनुभव र पाण्डेतर्फका युवाको उर्जालाई संयोजन गर्न नसक्दा समस्या देखिएको उनको बुझाइ छ । पाण्डे पनि उमेरगत मनोविज्ञान पार्टीमा संकट देखिनुको महत्त्वपूर्ण कारण रहेको स्वीकार्छन् । ‘म ३३ वर्षको भएँ, रवीन्द्र मिश्र ५७ वर्षको हुनुभयो । जे गरेर हुन्छ, तत्काल सांसद्, मन्त्रीको चाहना उहाँमा देखियो’, पाण्डे भन्छन् ।

दक्षिणपन्थको सहारा

लामो समय पत्रकारिता गरेका मिश्रमाथि राजनीतिमा आउनु अघि पनि ‘राजावादी’को आरोप नलागेको होइन । तर, साझा पार्टी स्थापना गर्दासम्म उनले त्यो विचार अँगाल्ने कुनै संकेत गरेका थिएनन् । राजावादी पार्टी बनाउने सम्भावना नदेखेर कतिपयले उनको साथ छाडेका थिए ।

नेताहरूका अनुसार मिश्रले हिन्दू राज्य र राजतन्त्रप्रति मोह प्रष्ट पार्न थालेको करीब दुई वर्ष भयो । उनीहरूका अनुसार, २०७६ मंसीरको उपचुनावमा पार्टीले कास्कीमा सम्मानजनक मत नपाएपछि वैकल्पिक राजनीतिबाट थाकेको जस्ता देखिएका मिश्रले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता विषय समाएर राजनीतिक तरङ्ग ल्याउन सजिलो हुने देखेका छन् । पार्टीमा जति संकटमा पर्दै गए त्यतित्यति उनले पुरातनवादी लाइन लिंदै गएको विवेकशील साझाका नेताहरू बताउँछन् ।

त्यसको शुरुआती प्रकट फागुन २०७६ को साझा पार्टीको लुम्बिनी भेलामा भएको थियो । ‘वैकल्पिक शक्ति निर्माणको थालनीमा रवीन्द्र मिश्रमा त्यस्तो संकेत थिएन । लुम्बिनी भेलापछि परिवर्तन देखिन थाल्यो’, विवेकशील साझाका एक नेता भन्छन् ।

मिश्रसँगै गोपी हमाल, किशोर थापा, अनुपमान सैंजुहरूको जोडबलमा भेलाले धर्मनिरपेक्षता र संघीयता जनमत संग्रहको विषय बन्नुपर्ने निर्णय गरेको थियो । ‘जनताको भावना सुन्ने’ नाममा हिन्दूराज्य भनेर हिंड्न नहुने मत पनि पार्टीमा बलियो थियो । लुम्बिनी भेलाबाट शुरु भएको असन्तुष्टिमा पार्टी संगठन निमार्णका मुद्दाहरू थपिए र डा. सूर्यराज आचार्य, मुमाराम खनालहरूले पार्टी छाडे ।

मिश्रले फेरि विवेकशील नेपाली दलसँग एकता चाहे । एकताका लागि धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रहको पक्षमा उभिने निर्णयलाई थाती राख्न तयार भए । तर, राजाको स्वीकार्यता उच्च देखिएको निष्कर्ष सहित गएको ११ साउनमा ४४ पृष्ठ लामो दस्तावेज सार्वजनिक गरे । उनको दस्तावेजमा गणतन्त्र र धर्मनिरपेक्षता आयातित विषय भएको अनि सात दल र माओवादी निमित्त पात्र मात्रै रहेको आरोपहरू छन् । पूर्वराजा ज्ञानेन्द्रको प्रशंसा गर्दै मिश्रले लेखेका छन्, ‘उनको लोकप्रियता कुनै नेताको भन्दा कम देखिंदैन ।’

ज्ञानेन्द्र शाहका लागि कुनै पनि पार्टीका कार्यकर्ता ‘प्रतिगामी’को बिल्ला भिर्न तयार रहेको मिश्रको दाबी छ । गणतन्त्र र नेताहरूप्रति भने मिश्रले वितृष्णा जगाउने प्रयत्न गरेका छन् । जस्तो–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फरक प्रसंगमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरेको आलोचनालाई मिश्रले अपव्याख्या गरेका छन् । प्रतिनिधिसभा विघटनको असंवैधानिक निर्णयलाई साथ दिएर राष्ट्रपति भण्डारीले पदीय गरिमा नराखेको आशय सहित प्रचण्डले राजाहरूको उदाहरण दिएका थिए । तर, मिश्रले प्रचण्डको त्यो भनाइलाई गणतन्त्रकै शान, मान र इज्जत नरहेको जस्तो गरी प्रस्तुत गरेका छन् ।

मिश्रले राजनीतिक कार्यदिशा बदल्न खोजेपछि विवेकशील नेपाली दलसँग दोस्रोपटक भएको एकता सात महीनामै धर्मराउन पुग्यो । १९ साउनमा संयोजक पाण्डे, सचिवालय सदस्यहरू केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाले ‘काउण्टर’ दस्तावेज लेखे । वैकल्पिक शक्तिलाई मिश्रले उल्टो दिशामा लगेको भन्दै उनीहरूले गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा र संघीयतामा सुधारको विकल्प नरहेको बताए ।

यो असन्तुष्टिले मिश्रलाई रोकेन । ११ कात्तिकमा आफू निकट केन्द्रीय सदस्यहरूको भर्चुअल बैठक राखेर संघीयताको खारेजी र धर्मनिरपेक्षतामाथि जनसंग्रहको ‘मार्ग परिवर्तन’ दस्तावेज पारित गरे । भोलिपल्टै, १२ कात्तिकमा पाण्डेले पनि आफूनिकट नेताहरूको बैठक राखेर मिश्रको निर्णय अमान्य हुने निर्णय गरे ।

पाण्डेको असहमतिका बाबजूद १३० मध्ये ९१ जनाको साथ समर्थन रहेको दावी सहित मिश्रले निर्वाचन आयोगमा विधान अद्यावधिकको निवेदन दिए । पाण्डेले मिश्रको निवेदनलाई वैधानिकता नदिन अर्को पत्र आयोगमा पेश गरे । तर, आयोगले १२ पुसमा पाण्डेको निवेदन खारेज गरिदिएको छ । ‘हामी सर्वोच्च अदालत जान्छौं । बहुमत जुटाउन त्यहाँबाट चेतावनी दिन्छौं’, पाण्डे भन्छन् ।

मिश्रले भने पाण्डेलाई जिम्मेवारीमुक्त गरिसकेका छन् । फरक मत राख्ने अरू नेतालाई पनि निषेध गरेर अगाडि बढेका मिश्रले सिटिजन्स डिस्कसन फोरम, राष्ट्रिय जनता दरबार पार्टीसँग एकता गरे । १६ पुसमा त राप्रपा र विवेकशील पार्टीसँग पनि एकता गरेर नयाँ दल बनाउने प्रस्ताव अघि सारेका छन् ।

अन्य राजनीतिक दलभित्र समेत देखिएको दक्षिणपन्थी मत तान्ने उद्देश्यले वर्तमान व्यवस्था उल्ट्याउने प्रस्ताव राखेका मिश्रले राप्रपासँग एकता गर्नसक्ने बुझेपछि पाण्डे पक्षले पार्टीको नाम दुरुपयोग नगर्न चेतावनी दियो । विवेकशील साझाको नाममा ‘पूर्वपञ्चहरूसँग सहकार्य’ कल्पना समेत गर्न नसकिने पाण्डे बताउँछन् ।

मिश्रमा भने पूर्वपञ्चहरूसँग मिलेर भए पनि नेता भन्ने हतार देखिन्छ । ‘आगामी चुनाव लक्षित भएर रवीन्द्र मिश्रले यो बाटो हिंडेको हुनसक्छ’ विवेकशील साझाका एक पूर्वनेता भन्छन्, ‘जसरी पनि शक्तिमा पुग्ने उहाँमा छटपटी देखिन्छ ।’ उनले आफू नेतृत्वको दललाई राष्ट्रिय बनाएर सरकारमा जाने चाहना लुकाएका पनि छैनन् ।

‘यसपालि राष्ट्रिय पार्टी बन्नेछौं र अर्को चुनावमा सबैभन्दा ठूलो पार्टी बनेर देश हाँक्नेछौं’, ९ कात्तिक २०७४ मा चुनावी अभियानका क्रममा मिश्रले भनेका थिए । राजनीतिमा आउनुको कारणबारे मिश्रको भनाइ थियो, ‘म आकर्षक जागिर छोडेर देश बनाउन लागेको छु । देश सम्पन्न नहुँदासम्म आफू सम्पन्न हुनुको अर्थ हुँदो रहेनछ ।’

त्यो चुनावबाट आफ्नो पार्टीलाई राष्ट्रिय दल बनाउन नसकेका मिश्रले आगामी एक वर्षभित्र अर्को चुनावको सामना गर्नुपर्नेछ । त्यसैका निम्ति हिन्दू र राजावादी मत तान्ने उनको प्रयत्न देखिन्छ । उनले बनेको पार्टी र पाएको साथ भने जोगाउन सकेका छैनन् ।

पार्टी बनाउन साथ दिएका डा. सूर्यराज आचार्य, मुमाराम खनाल, डा.सरोज धिताल, डा. दिनेश प्रसाई, रेशु अर्याल लगायतले मिश्रलाई छोडिसकेका छन् । मिश्र जतिकै राजनीतिक आकर्षण बोकेकी रञ्जु दर्शना ८ पुसमा पार्टी परित्याग गर्दै पाण्डे, केशव दाहालहरूतिर उभिएकी छन् । मिश्र भने बहुदल आएपछिका ८ वटा संसदीय चुनावमा कहिल्यै राम्रो मत ल्याउन नसकेको ‘राप्रपा’कै बाटो समात्न पुगेका छन् ।

‘कांग्रेस, कम्युनिष्ट, मधेसवादी जस्ता दलहरूसँग राजनीतिक एजेण्डामा विवेकशील साझाको केही समानता छन्, तर राप्रपासँग एकता वा सहकार्य भन्नुको अर्थ त ३० वर्ष पछाडि फर्कनु हो’, एक पूर्वनेता भन्छन् । मिश्रको यात्रालाई उनले ‘राजनीतिक विसर्जन’ र वैकल्पिक शक्तिको अवसानका रुपमा अर्थ्याए ।

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?