+
+

कर्णालीमा बढ्यो संक्रमण, तर बढेन परीक्षण 

यज्ञ खत्री यज्ञ खत्री
२०७८ पुष ३० गते १८:३१

३० पुस, सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना संक्रमण (कोभिड–१९) बढ्दो छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक बुधबार कर्णालीमा २१ जनाको पीसीआर परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको छ । अर्थात संक्रमण दर ७६ प्रतिशत छ ।

सोही दिन ११२ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनालाई पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ । त्यस्तै बिहीबार ७ जनाको पीसीआर गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर पोजेटिभ दर ५७ प्रतिशत देखिएको हो । सोही दिन ७९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा १२ जनामा संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा ११३ जना संक्रमितहरु होमआसोलेसनमा छन् । जस्मा सुर्खेतमा ७७ जना, सल्यानमा २६ जना, कालिकोटमा ६ जना, दैलेखमा २ जना, रुकुमपश्चिम र जाजरकोटमा एक/एकजना छन् ।
पछिल्लो समय बढ्दै गएको संक्रमण दरले कोभिडको तेस्रो लहरको संकेत गरेकोे प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्का बताउँछन् । आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरे गत वर्ष जेठ–असारको नियति दोहोरिन सक्ने उनले बताए ।

‘संक्रमण दर ह्वात्तै बढेको छ, जनस्वास्थ्यको मापदण्ड पालनामा हेलचेक्र्याइँ भइरहे हामीले गत जेठ–असारमा भोगेको नियती फेरि नआउँला भन्न सकिन्न’ डा. खड्काले भने ‘पछिल्लो तथ्यांक केलाउँदा भयावह स्थिति आउन सक्ने आंकलन सहजै गर्न सकिन्छ ।’

गत वर्ष जेठ–असार महिनामा कर्णालीमा कोरोना संक्रमण दर उच्च थियो । संक्रमणदर ९० प्रतिशतभन्दा माथि पुगेको निर्देशनालयको तथ्यांक छ । मेडिकल अक्सिजनको हाहाकार हुँदा कोरोना विशेष अस्पतालहरूलाई नै संक्रमित बिरामीको उपचार गर्न हम्मेहम्मे भएको थियो ।
समयमै सतर्कता नअपनाए सोही अवस्था यो पटक पनि आउन सक्ने स्वास्थ्य क्षेत्रका जानकारहरूको भनाइ छ । प्रदेशका प्रवेशद्वारमा विशेष सतर्कता अपनाउनु पर्ने उनीहरुको सुझाव छ ।

ओमिक्रोन पहिचान गर्ने प्रयोगशाला नहुँदा जोखिम बढ्दो

कार्णालीमा कोरोना संक्रमण उच्च दरमा वृद्धि भइरहेका बेला प्रदेशमा हालसम्म ओमिक्रोन संक्रमण छ/छैन भन्नेर पत्ता लगाउने क्षमताको एउटा पनि प्रयोगशाला छैन । ओमिक्रोन हो हाइन भनेर पत्ता लगाउन राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला काठमाडौंमा नमुना पठाउनु पर्ने बाध्यता रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो समय भेटिएका संक्रमितमा पहिलाको भन्दा फरक लक्षण देखिने गरेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदमबहादुुर केसीले बताए । ‘अहिलेका संक्रमितहरुमा विगतको भन्दा भिन्न लक्षण देखिएको छ, कुन भेरियन्ट हो त्यस्को पनि पुष्टि हुन सकेको छैन् । ओमिक्रोनको परीक्षण राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा मात्रै हुने गरेकोे छ’ उनले भने ।

बाँकेको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा ओमिक्रोनको परीक्षण गर्ने भनिए पनि शुरु हुन नसकेको उनले बताए । ‘भेरीमा परीक्षण शुरु भए कर्णालीलाई पनि सहज हुन्थ्यो, केन्द्रमा लोड बढी भएकाले अहिलेसम्मा हामीले नमुना पनि पठाएका छैनौं’ सूचना अधिकारी केसीले भने ।

उनका अनुसार पछिल्लो समय भेटिएका संक्रमितहरुमा निरन्तर खोकी, ज्वरो, स्वाद वा गन्ध परिवर्तन हुने र हराउने, शरीरको पछिल्लो भागका जोर्नीहरू दुख्नेजस्ता लक्षण देखिएको छ ।

पीसीआर ल्याबमा ताला

निर्देशक खड्काका अनुसार प्रदेशमा चारवटा पीसीआर परीक्षण प्रयोगशाला छन् । चारमध्ये हाल प्रदेश अस्पताल/पशुपन्छी रोग अनवेषन प्रयोगशाला सुर्खेत मात्रै सञ्चालनमा छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पीसीआर प्रयोगशाला जुम्ला, दैलेख अस्पताल र चौरजहारी नगरपालिका रुकुम पश्चिम प्रयोगशाला सञ्चालनमा आउन सकेको छैनन् ।

कोरोनाको दोस्रो लहर कम भएपछि बन्द गरिएका उक्त प्रयोशालाहरु सञ्चालनमा ल्याउन नसकिएको प्रदेश प्रयोगशाला प्रमुख वृर्षबहादुर शाहीले जानकारी दिए । ‘अझै स्याम्पल कलेकशन गर्न थालिएको छैन, स्याम्पल नभएपछि परीक्षण हुने कुरा पनि भएन,’ उनले भने, ‘मेसिनहरु बिग्रिएका छैनन्, परीक्षण नै गर्नु नपरेपछि ताला लगाइएको हो ।’

नमुना संकलन भए तीनवटौ प्रयोगशालाहरु सञ्चालन गर्न सकिने शाहीले बताए । उनका अनुसार लक्षण भएका मानिस मात्रै परीक्षणको दायरामा आएका छन् । ‘कोरोना परीक्षणको दायरा बढाउने तयारीमा छौं । अब सजिलो र सुलभ तरिकाले परीक्षण गर्नुपर्छ र संक्रमणको चक्र रोक्नेगरी काम गर्नुपर्छ’ उनले भने ।

कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार मानिने बाँकेको जमुनाहा नाकाबाट दैनिक हजार बढी नेपाली दैनिक घर फर्किरहेका छन् । उनीहरुलाई स्थानीय तहको समन्वयमा सिधै घर पठाउन थालिएको छ ।

संक्रमित गाउँ गाउँमा पुगेपनि परीक्षणको दायरा निकै साँघुरो छ । अस्पतालमा आएको संकास्पद व्यक्तिहरुलाई मात्रै परीक्षण गर्ने गरिएको प्रदेश स्वास्थ्य निर्देशक डा. खड्का बताउछन् । ‘पर्याप्त परीक्षण भएको अवस्थामा यो संख्या तीन–चार गुणाले बढ्नसक्छ’ उनी भन्छन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?