Expand
+
+

१० वर्षपछि घर फर्केर व्यावसायिक बाख्रापालन 

रासस रासस
२०७८ माघ १३ गते १९:२३

१३ माघ, बागलुङ । गाउँको घर रुग्ण र बारी बञ्जर भइसकेको थियो । कुशल राना परिवारसहित काठमाडौं बस्थे । भविष्य खोज्दै १० वर्षअघि शहर पसेका थिए उनी । काठमाडौंबाट वैदेशिक रोजगारीका लागि कतार पुगेका उनी दुई वर्षमा फर्के । चार वर्ष म्याग्दीको जलविद्युत् परियोजनामा काम गरे । त्यसपछि भने रानाले जागिरे मनस्थिति त्यागे ।

जैमिनी नगरपालिका-७ जैदी बोरका रानाले गाउँ फर्कने निधो गरे । १० वर्षपछि थातथलो फिर्दा घर बस्न लायक थिएन । बारी घाँस र झाडीले ढाकिएको थियो । तैपनि रानाको मन मरेन । आफ्नै जन्मथलोमा केही गरी छाड्ने हुटहुटीले रानालाई घच्घचाइरह्यो । जीर्ण बनेको घरगोठ सिँगारे । बाँझो पल्टिएको बारीलाई हराभरा पारे । अब कतै नभौँतारिई गाउँमै आयआर्जनको बाटो समात्ने अठोट उनले लिए । रानाले बाख्रापालन व्यवसाय सुरु गरे । ३७ वर्षीय रानाले व्यावसायिक रुपमा बाख्रापालन थालेको वर्ष दिन बित्यो । उनले चलाएको ‘राना कृषि तथा पशुपछी फार्म’ मा अहिले २२ वटा बोयर जातका बाख्रा छन् ।

उनको फार्ममा तीन लाख पर्ने ९० किलोको बोका पनि रहेको उनी बताउँछन् । १६ महिने त्यो बोकालाई अर्को वर्षसम्म पालेर चार लाखसम्म पार्ने योजनामा उनी छन् । प्रजनन र नश्ल सुधारका लागि बोका पालेको उनको भनाइ छ । फार्ममा बोयर बोका र स्थानीय खरी जातका पाठीबाट नश्ल सुधार गर्ने गरिएको छ । बाहिरका किसानले पाठीलाई प्रजननका लागि बोकासँग ल्याउँदा उनले एक हजार ५०० सम्म शुल्क लिन्छन् ।

खोर निर्माणदेखि फार्मको संरचना तयार पार्दा अहिलेसम्म १० लाख लगानी भइसकेको रानाले बताए । ‘अहिले लगानीकै चरणमा छु, ऋणधन गरेर भए पनि फार्मलाई अझ विस्तार गर्ने सोचमा छु’, उनले भने, ‘आउँदो वर्षदेखि बल्ल आम्दानी आउन सुरु होला ।’ बोयर बाख्राको बजार माग र मूल्य बढी छ । व्यावसायिक पालनका लागि पाठापाठीको पनि उत्तिकै खोजी हुन्छ ।

रानाले बोयरपालनमा जिल्लाकै ‘नमूना फार्म’ बनाउने लक्ष्य लिएको बताए । घर वरपरको बारी र खाली जग्गामा उनले बाख्रपालनलाई चाहिने उन्नत घाँस खेती गरेका छन् । बोयर बाख्रालाई उच्च प्रोटिनयुक्त घाँस चाहिने भएकाले २५ रोपनी क्षेत्रफलमा उन्नत जातको घाँसखेती गरेको उनको भनाइ छ ।

जैमिनी नगरपालिकाका पशु प्राविधिक नेत्र आचार्यका अनुसार बोयरको तौल र शारीरिक वृद्धि छिटो हुन्छ । ‘बोयर बाख्रा दिनमा एक सय ५० देखि दुई सय ग्रामसम्म बढ्छ, दुई वर्षमा 1२० किलोसम्म हुन्छ’,उनले भने । पशु प्राविधिक आचार्यले पहाडी हावापानीमा बोयर जातको बाख्रापालन फस्टाउने गरेको बताए । बाख्रापालक किसानलाई खोर सुधार, घाँस, औषधिलगायत अनुदान दिएर नगरपालिकाले सघाउँदै आएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?