३ चैत, काठमाडौं । विश्वविख्यात ज्ञानकोश इन्साइक्लोपिडिया ब्रिटानिका र शब्दकोश मेरियम–वेबस्टरले आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपन एआईविरुद्ध प्रतिलिपि अधिकार उल्लंघनको मुद्दा दायर गरेका छन् ।
ब्रिटानिकाले आफ्नो स्वामित्वमा रहेका करिब १ लाख अनलाइन लेखहरू ओपनएआईले अनुमति बिना नै आफ्नो एआई मोडेलहरूलाई तालिम दिन प्रयोग गरेको आरोप लगाएको छ ।
ओपनएआईले ’च्याटजीपीटी’ मार्फत दिने उत्तरहरूमा ब्रिटानिकाका सामग्रीहरू हुबहु प्रयोग गर्ने गरेको र यसले गर्दा प्रकाशकहरूको आम्दानीमा प्रत्यक्ष असर परेको दाबी उजुरीमा गरिएको छ ।
यसका साथै, ब्रिटानिकाले ओपनएआईमाथि ’ह्यालुसिनेसन’ (गलत सूचना दिने) मार्फत आफ्नो ब्रान्डको बदनाम गरेको आरोप समेत लगाएको छ। ओपनएआईले आफ्ना लेखहरूलाई आरएजी प्रविधिमार्फत स्क्यान गर्दा लेखक र प्रकाशकहरूको अधिकार हनन भएको ब्रिटानिकाको तर्क छ ।
यसअघि द न्युयोर्क टाइम्स र टोरन्टो स्टार लगायतका ठूला सञ्चार माध्यमहरूले पनि ओपनएआईविरुद्ध यस्तै मुद्दा दायर गरिसकेका छन् ।
यो मुद्दाले भविष्यमा एआई कम्पनीहरूले अनलाइन सामग्री प्रयोग गर्दा भुक्तानी गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा महत्त्वपूर्ण कानुनी नजिर स्थापना गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4