+
+

प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीले मागे बजेट

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १४:१६

१७ माघ, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ ।

आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवासँग भेट गरेको हो ।

मुख्यमन्त्री पोखरेलका अनुसार अघिल्लो सरकारले धेरै आयोजना बहुवर्षीय ठेक्कामा लगाएको र कतिपय योजनाको स्रोत सुनिश्चित नगरेका कारण अहिलेको सरकारमाथि १६ अर्ब रुपैयाँ भन्दा बढीको दायित्व थपिएको छ ।

त्यस्तै चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले घोषणा गरेका कार्यक्रम अघि बढाउन कम्तीमा ५ अर्ब चाहिने भएकाले प्रधानमन्त्रीलाई जानकारी गराइएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीजीलाई भेटेर हाम्रो प्रदेशको आर्थिक अवस्था र केन्द्रबाट हामीले गरेका अपेक्षाहरु सबै लिखित रुपमा बुझायौँ’ उनले भने ।

मुख्यमन्त्री पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठलाई भेटेर जग्गा प्राप्तिको कानूनी जटिलताका विषयमा छलफल गरेको थियो । प्रदेश स्तरका योजना अघि बढाउन जग्गा प्राप्ति हुन नसकेको विषयमा पनि भूमि, व्यवस्था मन्त्रीसँग कुराकानी भएको मुख्यमन्त्री पोखरेलले बताए ।

ठूला आयोजनामा वन क्षेत्र प्रयोगको अधिकार पनि केन्द्र सरकारसँग जोडिने भएकाले पनि छलफल गरेको उनले बताए । ‘वनका समस्याहरु पनि समाधान गर्ने उद्देश्यका साथ हामी काठमाडौं आएका हौँ’ मुख्यमन्त्री पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?