+
+

रकम हत्याएर राज्य बेखबर नबनोस्

राजु पौडेल राजु पौडेल
२०७८ माघ १९ गते १०:०१

सबेरै बिस्तरामा फोन आयो– ‘बाबु मेरो औषधि सकियो, लिएर आइज है !’ मैले महीनाको एकपटक प्रायः सुन्दै आएको नियमित आवाज हो यो । ‘ओपन हर्ट सर्जरी’ बाट जसोतसो तङ्ग्रिएकी मेरी आमा महीनैपिच्छे औषधिको पीर बोलिरहनुहुन्छ । तथापि म आफैं पनि औषधि सकिए/नसकिएकोे ख्याल गरिरहेकै हुन्छु । महीनैपिच्छे खानुपर्ने औषधि अलिक लामो समयको लागि लगे पनि हुन्थ्यो तर म त्यसो पनि गर्न सकिरहेको छैन ।

मुटुमा प्लाष्टिकको भल्भ बोकेर मेरी बूढी आमा तङ्ग्रिएको पनि ७/८ वर्ष भइसक्यो । तर आज पनि आमालाई औषधिको पिरले चिमोटिरहेको हुन्छ । हुन त यो सानो प्रतिनिधि समस्या हो राज्यका लागि तर आमा यसलाई महत्त्वका साथ मनमा लिइरहनुहुन्छ । मेरी आमा र स्वयं मेरा लागि भने यो प्रधान विषय बनिरहेको छ । नबनोस् पनि कसरी ? आमाको जीवन नै यिनै गोटी (वार्फ/फारिन र मायोक्सिन-औषधि)मा अडेको वर्षौं वर्ष भइसक्यो ।

पहिले–पहिले थुप्रै मानिस मुटुको भल्भ साँघुरिने र त्यो खालको समस्याको उपचार वा प्रविधि नेपालमा नभित्रिएकै कारण मृत्युवरण गर्नुपरेको घटना मेरो दिमागमा ताजै छन् । तर भाग्य भनौं, मेरी आमाको मुटुको भल्भ साँघुरिने बेलासम्म नेपालमै प्लाष्टिकको भल्भ फेर्न सकिने प्रविधि भित्रियो । त्यो किसिमको विज्ञता, सीप र क्षमता नेपालकै चिकित्सकमा रह्यो । परिमाणतः अरू धेरैको प्राण लिएको रोगबाट मेरी आमाले बाँच्ने अवसर प्राप्त गर्नुभयो । शायद त्यो बेला धेरैको उपचार भइरहेको थिएन नेपालमा । भर्खर–भर्खर स्वास्थ्यमा फड्को मार्दै गरेको नेपालमा यो सुविधा प्राप्त हुनु आफैंमा खुशीको पल थियो मेरा लागि ।

धेरैको मन मुटुमा बस्न सफल डा. भगवान कोइरालाको नेतृत्वमा कुशल मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई सहितको टीमको सफल प्रयासपछि आजसम्म पनि आमा यिनै गोटीको भरथेगमा बाँचिरहनुभएको छ, हाँसिरहनुभएको छ ।

त्यसैले मूल्यमा साना होलान् तर यी गोटी मेरो आमाका लागि अथाह छन्, मूल्यवान् छन् । यिनको अभावमा जीवन वास्तवमा जीवन रहँदैन र त आमा यिनको जोहोको लागि पिरोलिइनुहुन्छ । त्यसो हुनुमा पनि मेरी बूढी आमाका आफ्नै कथाव्यथा होलान् । र, मैले पनि थुप्रै महीनालाई जोहो हुने गरी औषधि (गोटी) नकिन्नुमा आफ्नै कथाव्यथा पक्कै होलान् ।

राज्यले सर्वसाधारणको लागि भन्दै शुरू गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रायः सबै जिल्लामा लागू भइसकेको छ । म एक सचेत नागरिक भएको नाताले मेरो परिवारको पनि स्वास्थ्य बीमा गर्न म चुकेको छैन ।

जनतालाई निःशुल्क औषधोपचार गर्नुपर्ने अभिभावकीय जिम्मेवारीमा रहेको राज्यप्रणाली किन रकम लिएका औषधि समेत समयमा दिन सकिरहेको छैन ? यो समग्र प्रणालीमा को–कहाँ–कति दोषी छ ?

बीमाबाट प्राप्त हुने सेवा–सुविधा र उपलब्ध हुने औषधिको लामो सूची मैले पनि घोकेको छु । त्यसैले त आमाको बीमाबाट प्राप्त हुने औषधि भरसक बीमा कार्यक्रमबाटै लिनका लागि निजी क्लिनिक नधाउने कोशिश गरेको छु । शायद म जत्तिकै पनि सूची नघोक्नेहरू कति आमा–बुवा हुनुहुन्छ होला ? कति बिरामी बुवाआमाको परिवार हुनुहुन्छ होला । उपलब्ध गराउँछौं भनी किटान गरिएका औषधिहरू किन समयमा प्राप्त भइरहेका छैनन् ?

यो विषयले मलाई मात्र होइन म जस्तै थुप्रै वृद्ध बुवाआमाका छोराछोरी, नाति–नातिनाहरूलाई पिरोलिरहेको हुनुपर्छ ।

स्वास्थ्य बीमा गरेको मैले पाएसम्म बाहिर औषधि किन्दिनँ । बिग्रिहाल्ने बाहेकको हकमा बिहानै चाहिने औषधि पनि सकेसम्म १० बजोस् र बीमा कार्यक्रमबाटै लिउँला भनेर कुरेर बस्ने बानी पारेको छु । १० बज्न नपाउँदै कार्यालय पुग्दा म जस्तै थुप्रै सेवाग्राहीको लामै लाइन बनिसकेको हुन्छ । कोरोनाको महामारीका बीच आफ्ना अरू महत्वपूर्ण कामहरू थाती राखेर घडी हेर्दै लाइनमा बस्नुको पीडा आफ्नो ठाउँमा कति छ कति । सबैले सामाजिक दूरी कायम नगरिदिंदा हुने जोखिम उत्तिकै हुने नै भयो । जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि अटेरी गर्ने हाम्रो मनोवृत्ति त्यहाँ पनि हावी छ । हामी जबसम्म आफूलाई पर्दैन, तबसम्म सचेत हुँदैनौं अर्थात् चेत्दैनौं । भीडभाड र हूलका बीच बीमा कार्ड देखाएर सानो स्लिप प्राप्त गर्नु नै औषधि प्राप्त गरे वा सो सरह लाग्छ । यति भइसकेपछि डाक्टरलाई भेट्नु र औषधि लेखाउनका लागि पुनः लाइनमा बस्नु अर्को भारी समय हो । यी सबै प्रक्रिया पूरा गर्न दुई÷तीन÷चार घण्टासम्मको समय त लाग्ने नै भयो ।

म सदरमुकाममा बस्नेका लागि हो यो समय तर गाउँबाट आउनेहरूका लागि त दिन नै बित्छ । यतिका प्रक्रिया पूरा गरेपछि पुनः औषधि लिने ठाउँमा लाइन बसिरहनुपर्ने हुन्छ । सामाजिक दूरी कायम गर्ने भनिए पनि सो अनुसारको मापदण्ड कसैले पूरा गरेको हुँदैन त्यहाँ । तथापि म आफूले सकेजति मापदण्ड पूरा गरेर बसिरहेको हुन्छु । लामो प्रतीक्षापछि हत्तनपत्त डाक्टर सा’पले लेखिदिएको औषधिको लिष्ट भित्र दिन्छु । एकाध पटक बाहेक औषधि पाउन सकिरहेको हुन्नँ ।

भित्रबाट आवाज आउँछ– ‘ओहो ! यो औषधि त आएको छैन नि !’

‘किन सर ?’ – म प्रश्न गर्छु ।

‘यो त हामीले लिष्ट पठाएको हो, उताबाट पठाइदिएको छैन ।’

म पुनः प्रश्न गर्छु– ‘बीमा गरिएका व्यक्तिहरूले पाउनुपर्ने सेवा सुविधा र औषधिको लिष्टमा भएको यो औषधि यसरी छैन भनेर हुन्छ त ?’

भित्रबाट आवाज आउँछ– ‘हामी के गरौं, उनीहरूले पठाइदिंदैनन् ।’

यो स्वास्थ्य कार्यालयमा सधैं भइरहने सवाल–जवाफ हो । यो पटकसँग दुई वर्ष भयो मेरो परिवारको स्वास्थ्य बीमा गरेको । कोटेशनबाट औषधि आयात हुन्छ भन्ने मात्र बुझेको मैले त्यो बीचमा के–के हुन्छन् ? किन सबै औषधि आउँदैनन् ? यो भित्रको गहिराइ भित्र म छिर्न चाहिनँ । ठेकेदारी प्रथाबाट ल्याइने औषधि आयात हुने बाटो खोतल्न म चाहिनँ । तर स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा राज्यले नै तत्तत् औषधि उपलब्ध गराउँछु भनेर अग्रिम रकम लिएको हकमा उल्लिखित औषधि जसरी पनि उपलब्ध गराइएको हुनुपर्छ भन्ने कुरामा म अडिग छु । म मात्र प्रतिनिधि हुँ यो घटनाको । म जस्तै थुप्रै पीडित हुनुहुन्छ । राज्यले यति गैरजिम्मेवार बनेर दिन्छु भनेको औषधि नदिनु कहाँसम्मको अन्याय हो ?

म जिल्ला सदरमुकाममा बस्ने र सम्बन्धित निकायमा फोन गरेर गुनासोसम्म सुनाउन सक्ने सामथ्र्य राख्छु र त ‘बीमाबाट उपलब्ध गराउने सेवा तथा औषधिको सूचीमा उल्लेख गरिएका’ मेरो आमाको लागि चाहिने औषधि पाउन सकिरहेको छैन भने दूरदराजका बुवा–आमा र उनीहरूको परिवारले के बीमामा उल्लेख गरिएका सबै औषधि समयमा पाइरहेका होलान् ? मलाई यसप्रति गम्भीर संशय छ, शंका छ ।

जनतालाई निःशुल्क औषधोपचार गर्नुपर्ने अभिभावकीय जिम्मेवारीमा रहेको राज्यप्रणाली किन रकम लिएका औषधि समेत समयमा दिन सकिरहेको छैन ? यो समग्र प्रणालीमा को–कहाँ–कति दोषी छ ? यसतर्फ सम्बन्धित सरोकारवालाको ध्यान जाओस् ।

म र म जस्तै आम नागरिकले तिरेको बीमा बापतको रकमबाट तोकिए बमोजिमका सेवा तथा औषधि किन पाइनँ भनेर आवाज उठाउन चाहन्छु । एक सचेत नागरिकको हैसियतले बेलैमा सम्बन्धित पक्षको ध्यानाकर्षण होस् भन्ने चाहन्छु ।

मेरी आमाको औषधिसँग जोडिएको यो सानो प्रतिनिधि घटना मेरो मात्र होइन । यो समाजको साझा घटना हो । अरू थुप्रै बुवा–आमाहरूको साझा प्रतिनिधि सवाल हो । हामी सबै सचेत वर्गले खबरदारी गर्नुपर्ने विषय हो । जनताको जीवन रक्षा गर्ने दायित्व बोकेको राज्य र सम्बन्धित निकाय बीमा बापत अग्रिम रकम हत्याएर सेवा–सुविधा दिनतर्फ बेखबर नबनोस् । एक सेवाग्राही र सचेत नागरिकको तर्फबाट सम्बन्धित सरोकारवालालाई निरन्तर घच्घच्याउन चाहन्छु ।

(कुश्मा नपा–१०, पर्वत)

लेखकको बारेमा
राजु पौडेल

पौडेल पर्वतमा क्रियाशील सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?