+
+

क्याफेमै लाइब्रेरी : कफी पिउँदै, पुस्तक पढ्दै

अन्यत्र कफी केवल आफ्नो तलतल मेट्न वा लत पूरा गर्न पिइन्छ । तर यहाँ कफी पिउन आउनेको मक्सद अलिक फरक हुन्छ । यहाँ केही त कफी मात्रै पिउन पनि आउँछन् ।

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ फागुन १४ गते १२:४१

१४ फागुन, काठमाडौं । अपरान्ह ४ बजेपछि बिस्तारै कफी सपका कुर्सी भरिन थाल्छन् । पुस्तक राखिएका र्‍याकबाट विस्तारै पुस्तकहरु निथ्रिँदै जान्छन् । कफी सपको माहोल एकाएक पुस्तकालयमा जस्तो बन्न पुग्छ । दिनभर आकलझुकल ग्राहक आउने क्याफेमा एकाएक पुस्तकप्रेमीहरुको भीड हुन सुरु हुन्छ । बहस विमर्शको थालनी हुन्छ ।

यो शंखमूलको उजामा कफी सप एण्ड रेस्टुरेन्ट हो । शंखमूल टावरको बायाँपट्टि सानो गल्ली छिरेपछि पहिलो घरमा छ यो क्याफे । बौद्ध गुम्बाहरुमा पाइने लुंगदरले कम्पाउन्डमाथि राखेको छानोलाई छोपेको छ । भित्तामा ध्यानी बुद्धको तस्वीर छ । हरेक टेबलको छेउमा पुस्तक राख्ने र्‍याक छ । भित्रपट्टि एउटा पुस्तकालय छ । दोस्रो तलामा रिडिङ रुम छुट्टै छ ।

‘पुस्तक र शान्ति एकापसमा अपरिहार्य कुरा हो । त्यसैले हामीले क्याफे बनाउँदाको सोचअनुसार नै तस्वीर र अरु सामग्री राखेका हौं,’ उजामाका सन्चालक लिलाराम खड्का भन्छन्, ‘एकपटक आएपछि फेरि पनि दोहोरिनेहरु धेरै छन् ।’

कफी र लाइब्रेरीको बीचमा घनिष्ठ सम्बन्ध छ । धेरै साहित्यकारमा कफीको लत हुन्छ । त्यसैले साहित्य वा साहित्यसँग सम्बन्धित व्यक्ति पनि कफीप्रेमी हुन्छन् । तर यो कफी सप सामान्य कफीसपभन्दा अलिक भिन्न छ ।

उजामा भन्ने शब्द तान्जानियामा बोलिने भाषाबाट ल्याइएको शब्द हो । आफ्नो कफी सपको योजनासँग मिलेकाले सोही शब्द छनोट गरिएको खड्का बताउँछन् ।

सन् १९६१ मा बेलायतबाट छुटकारा पाएपछि तान्जानियाको तत्कालीन सरकारले व्यवसायलाई कसरी अघि बढाउने भन्ने बारेमा अध्ययन गराएको थियो । त्यहाँका एक व्यवसायी जुलियसले यसबारेमा प्रतिवेदन तयार पारेर अर्थतन्त्र अघि बढाउन परिवारका सबैले सानो सानो व्यवसाय गर्नुपर्ने उल्लेख गरेका थिए । यसो गर्दा कमाइ हुने र परिवार, समाज हुँदै राष्ट्रसम्मको आर्थिक योगदानमा यसले भूमिका खेल्छ भन्ने प्रतिवेदनमा उल्लेख थियो । उनको सो प्रोजेक्टको नाम ‘उजामा’ थियो । सोही प्रोजेक्टसँग मिल्दाजुल्दो भएकाले आफ्नो प्रोजेक्टको नाम पनि उजामा राखिएको उनी बताउँछन् ।

निःशुल्क कफी र पपकर्न

अन्यत्र कफी केवल आफ्नो तलतल मेट्न वा लत पूरा गर्न पिइन्छ । तर यहाँ कफी पिउन आउनेको मक्सद अलिक फरक हुन्छ । यहाँ केही त कफी मात्रै पिउन पनि आउँछन् । तर धेरै ग्राहकहरु पुस्तक पढ्नकै लागि आउने गरेको खड्का बताउँछन् ।

क्याफेमा एउटा कफी खान जाने व्यक्तिलाई क्याफेमा पुगेर बस्ने बित्तिकै पानी र पपकर्न दिइन्छ । यो किन ? क्याफेका सञ्चालक खड्का भन्छन्, ‘सामान्यतया ग्राहक आएपछि कफी तयार भएर दिन केही समय लाग्छ । त्यतिबेलासम्म ग्राहकहरुले छिटो तयार हुने कुरा लिंदै गर्न सकून् भन्ने उद्देश्यले पपकर्न दिने गरिएको हो । पपकर्नको हामीले अतिरिक्त पैसा लिंदैनौं ।’ सामान्यतया कफी खालीपेटमा खानु उचित मानिंदैन । त्यसैले पनि कफी खान आउनेलाई पपकर्न दिने गरिएको उनी बताउँछन् ।

पपकर्न मात्रै होइन, यहाँ ४/५ घण्टा बसेर अध्ययन गर्ने विद्यार्थीहरुलाई क्याफेकै तर्फबाट दिनको एक कप कफी निःशुल्क पनि दिने गरिएको उनी बताउँछन् । ‘यो क्याफेमा आएपछि कफी वा अरु परिकार खानैपर्छ भन्ने छैन । दिनभरि बसेर अध्ययन गर्ने कोही आउनुभयो भने उहाँहरुलाई दिनको एक कप कफी निःशुल्क प्रदान गर्छौं,’ उनले भने ।

लिलाराम खड्का

क्याफेमा विद्यार्थीकै माग

पुस्तकालयमा र क्याफेमा अहिले १० जनाले काम गरिरहेका छन् । उनले यहाँ आवश्यक कामका लागि पनि सकेसम्म विद्यार्थीलाई नै पारिश्रमिक दिएर राख्ने तयारी गरिरहेको सुनाए । ‘हामीले विभिन्न कलेजहरुसँग समन्वयको प्रयास पनि गरिरहेका छौं,’ उनी भन्छन्, ‘अहिले अल्पकालीन कामदारको रुपमा स्नातक तह पहिलो वर्षका विद्यार्थीहरुको खोजी गरिरहेका छौं । ताकि उहाँहरुले ब्याचलर सक्नेबेलासम्म अरु केही काम गर्न नसके पनि एउटा कफी सप आफैं चलाउन सकून् भन्ने हाम्रो सोच हो ।’

केके पाइन्छन् परिकार ?

पुस्तकालयसँगै क्याफे पनि सञ्चालनमा रहेको उजामामा खानेकुरा भने के-के पाइन्छ त ? पछिल्लो पाँच महिनामा क्याफेमा धेरै परिकार थपिए । सुरुमा कफी मात्रै बेच्ने भनेर सुरु गरेको क्याफेमा बिस्तारै अन्य परिकारहरु पनि थपिंदै गए । अहिले अन्य रेस्टुरेन्टमा जस्तै मःमः बेकरी आइटम र चिकेन आइटम पनि राखिएको छ ।

‘पछिल्लो ५/६ महिनाको अनुभवका आधारमा हेर्दा हामी अहिले चलिरहेको मोडालिटीमा घाटा लाग्दैन भन्ने भएको छ । उनी भन्छन्, ‘हामी नाफाको लागि भन्दा पनि एउटा प्रोजेक्ट भएकाले सामान्य मुनाफा लिएर क्याफे चलाइरहेका छौं ।’

क्याफेमा अहिले ५०० भन्दा धेरै पुस्तक छन् । छिट्टै ५०० पुस्तक थप गर्ने तयारीमा रहेको उनी बताउँछन् । अहिले अंग्रेजी र नेपाली भाषाका चर्चित पुस्तकहरु राखिएकोमा अब सदस्यता लिएकाहरुको रोजाइअनुसार पुस्तक थप गर्दै जाने योजना रहेको खड्का बताउँछन् । हालसम्म क्याफेमा १०० जनाले सदस्यता लिएका छन् ।

‘सदस्यता लिएकाहरुले घरमै पुस्तक लिएर जान सक्छन्, एक सातामा पुस्तक नवीकरण गर्नुपर्छ । एकपटक सदस्यता लिएपछि नवीकरण गरिरहनुपर्ने व्यवस्था गरिएको छैन,’ उनी भन्छन् । क्याफेमा सदस्यता लिनेहरुलाई सबै खानेकुरामा १५ प्रतिशतसम्म छुट सुविधाको व्यवस्था गरिएको छ ।

बजारमा क्याफे लाइब्रेरीको बढ्दो ट्रेन्ड

त्यसो त काठमाडौंमा क्याफे लाइब्रेरीको ट्रेन बढ्दै गएको छ । कसैले क्याफेमा बसेर पढ्ने सुविधा मात्रै दिएका छन् भने कतिपयले सदस्यताको सुविधा समेत दिएका छन् ।

स्वयम्भूमा रहेको बिया क्याफेले पनि पछिल्लो एक वर्षदेखि क्याफेमै पुस्तकहरु राख्न सुरु गरेको छ । सन् २०१६ देखि सञ्चालनमा आएको क्याफेले पछि पुस्तक राख्न सुरु गरेको हो । अहिले क्याफेले सदस्यता खुलाउने तयारी गरिरहेको छ । तर अहिले पनि घरमा पुस्तक लैजान चाहनेहरुलाई एक हजार रुपैयाँ धरौटी राखेर सुविधा दिइएको क्याफेका सञ्चालक नावाङ नोर्ब बताउँछन् ।

‘क्याफे विथ लाइब्रेरी’को अर्को उदाहरण वसन्तपुरमा पनि भेटिन्छ । त्यहाँ सञ्चालित फ्रिक स्ट्रिट क्याफेकी सञ्चालक प्रजिना श्रेष्ठले संगीत, पुस्तक र पुरातात्विक सामग्रीलाई एउटै क्याफेमा राखेकी छन् । उनी भन्छिन्, ‘पढ्ने जोश थियो र समयसँगै त्यो जोश अरुलाई पनि बाँड्न मन लाग्यो । त्यसैले मैले संगीत, पुस्तक र पुरातात्विक वस्तुहरू एउटै ठाउँमा ल्याएँ ।’

क्याफेमै लाइब्रेरीको अवधारणालाई भीमसेनगोलास्थित मोःमोला पल्पसा कफीमा पनि भेटिन्छन् । सो कफीकी सञ्चालक तारा गुरुङ भन्छिन्, ‘आजका युवा भीडले किताब कमै पढ्छन् । तर पनि आफ्नो मोबाइल फोन र डिजिटल संसारमा समय बिताउनुको सट्टा मानिसहरू आउन्, सहज महसुस गर्न र पुस्तकहरू पढ्न सकून् भनेर यो खेलिएको हो ।’

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?