+
+
बाइकर्स :

जसले काठमाडौंबाट कन्याकुमारीसम्म मोटरसाइकल कुदाए

अंगद सिंह अंगद सिंह
२०७८ फागुन २१ गते १९:३०

२१ फागुन, काठमाडौं । फ्रेब्रुअरी ११ मध्यान्ह ३ बजे । घामका किरण छिप्पिंदै थिए । त्यही छिप्पिंदै गएका किरणसँगै उनीहरु हिंड्ने तयारी गरिरहेका थिए ।

घामका किरण अस्ताउन थालेपनि उनीहरुका आशा भने बिहानीपखको न्यानो अनि रापिलो घामजस्तै थिए ।

तीन नबज्दै उनीहरुले केटीएम ड्युक बाइकमा सामानको पोका बाँधिसकेका थिए । उनीहरुको स्वप्ननगरी काठमाडौंबाट धेरै टाढा थियो । त्यही स्वप्ननगरी पुग्न उनीहरुले १५ दिनको चरणबद्ध योजना बनाएका थिए ।

यात्रा सोचेजस्तो सहज पक्कै थिएन । बाइकमा काठमाडौंदेखि दक्षिण भारतको कन्याकुमारीसम्मको यात्रा तय गर्नु थियो । पहिलोपटक बाइक राइड गरिरहेका थिए उनीहरु । मनमा थोरै सन्त्रास थोरै रोमाञ्चकता र कौतूहलताको पोका बोकेर उनीहरु लामो यात्रामा निस्किए ।

१५ दिनको लामो यात्रामा उनीहरु मानसिक रुपमा तयार भएपनि एक देशबाट अर्को देशमा जादा केही डर भने लागेको थियो । तर रोमाञ्चकता र कौतूहलताकाबीच डर टिक्न सकेनन् ।

याद बनाउनु थियो उनलाई कहिल्यै नमेटिने । यादहरु संगाल्नु थियो, जसले जिन्दगीका बाँकी दिनहरु बिताउनमा समेत उत्साह थपुन् । सहज थिएन, दुई जना काठमाडौंबाट बाइकमा दक्षिण भारतको कन्याकुमारी अर्थात् ‘के टु के’  पुग्न ।

तर उनीहरुले हिम्मत हारेनन् । ‘डरके आगे जित हे’ भनेझैं उनीहरु हिंडिरहे यादहरु संगाल्न । बाइकमा काठमाडौंबाट कन्याकुमारी जाने पहिलो नेपाली भएका छन् आवाशिषप्रसाद ओझा र विजयराज कसजु ।

‘हामीलाई यादहरु बनाउनु थियो केही नयाँ गरौं भन्ने थियो,’ राइडर ओझा भन्छन्, ‘हामीले डेस्टिनेसन नभई जर्नी इन्जोय गर्‍यौं, ट्राभल मेमोरी जिन्दगीको गज्जबको मेमोरी बन्दो रहेछ ।’

भैरहवाबाट उत्तरप्रदेश हुँदै उनीहरुले कन्याकुमारी पुग्ने अठोट गरे । भारतीयले लुट्छन् ठग्छन् भन्ने सुनेका थिए तर उनीहरुसँग त्यस्तो भएन । केही ठाउँमा भने उनीहरुलाई खानाको चर्को मूल्य तिर्नुपर्‍यो ।

भारतको उत्तरप्रदेशसहित नौ प्रान्त हुँदै ओझा र कसजु कन्याकुमारी पुगेका थिए ।

बाटोमा प्रहरी प्रशासनले सोधपुछ गर्न सक्ने दुःख दिन सक्ने भन्दै उनीहरुले आवश्यक पर्ने सम्पूर्ण कागजात बोकेका थिए ।

बाटोमा बाइक बिग्रिन सक्ने भन्दै उनीहरुले डोरी र चोरी हुन सक्ने भन्दै चेनसमेत लगेका थिए ।

‘काठमाडौं टु कन्याकुमारी सुपर जर्नी भयो,’ कसजु भन्छन्, ‘काठमाडौंबाट बाइकमा कन्याकुमारी जान सहज नभएपनि यात्रामा भोगेका पलहरुले पछि सम्झिंदा खुसी दिलाउँदा रहेछन् ।’

‘लामो दूरीमा बाइक राइडिङ गर्दा शारीरिक तन्दुरुस्तीका साथै मानसिक रुपमा फिट हुन जरुरी छ, यात्रामा सोचेभन्दा फरक समस्या चुनौती आउँदा रहेछन्,’ उनी सुनाउँछन्

दिनभर बाइक चलाउँदा निकै थाक्थे उनीहरु । तर पनि सपनाका खातिर उनीहरुले थकानलाई जित्न दिएनन् । रातो नम्बर प्लेटको बाइक देख्दा भारतीयहरुले नियालेर हेर्थे । र, भन्थे ‘कहाँ से आए हो आप’।

बाइकमा रहेको बागमती प्रदेश देखेर उनीहरु प्रश्न नसोधी छाड्दैनथे । ‘उत्तरप्रदेश सुना है मध्यप्रदेश सुना है ए बागमती प्रदेश किदर हैं भन्थे उनीहरु,’ ओझा सुनाउँछन्, ‘यसबाट नेपालको पर्यटनसम्बन्धी पनि केही फाइदा पक्कै पुगेको होला ।’

नेपालबाट बाइकमा कन्याकुमारी जाने भन्दा बाटोमा भेटिएका कतिपयले जिब्रो काट्थे । कारण उनीहरु आफैं त्यहाँसम्म पुग्न सकेका थिएनन् । बाइकमा नेपालबाट त्यहाँसम्म जाने कुरा निकै साहसी भएको बताउँथे उनीहरु ।

बाटोमा राम्रो खान नपाइ, सुत्न नपाइ राति साढे एक बजेसम्म पनि होटल नपाउँदा उनीहरुले बाइक चलाइरहे । रातो नम्बर प्लेट गाडी देख्दा अन्य ठाउँमा भारतीय प्रहरीले खासै वास्ता नगरेपनि गोवा र इन्दौरमा प्रहरीले रोक्यो । उनीहरुले आफूहरु कन्याकुमारी जाने भन्दै नेपालबाट आएको र आफूसँग भएका सबै कागजात देखाएपछि प्रहरीले जान दियो ।

इन्दौर पुग्दा ओझाको बाइकमा केही समस्या देखियो । इन्दौर पुग्दा त्यहाँ बिदाको दिन थियो । बिदाको दिन भएकाले उनीहरुले बाइक सर्भिस गर्न अर्को दिनको १० बजेसम्म कुर्नुपर्‍यो । बाटोमा बाइक बिग्रिन सक्छ भनेर उनीहरुले केटीएम नेपालसँग सहकार्य गरेका थिए । केटीएम नेपालले केटीएम भारतसँग समन्वय गर्दा उनीहरुलाई सहज भयो ।

बाइक सर्भिसिङ गर्ने दिन उनीहरु इन्दौर, केरला र गोवा घुमे ।

बाटोमा खाना खान बस्दा उनीहरुलाई देख्नेहरु नेपालमा केटीएमको मूल्यबारे सोधपुछ गर्थे । केटीएमको सात-साढे सात लाख हेल्मेटको २२ हजार पर्ने बताएपछि उनीहरु छक्क पर्थे । कारण छ-सात लाखमा भारतमा राम्रो कार चढ्न सकिन्छ ।

दक्षिण भारतको हैदराबाद सहर पुगेपछि उनीहरुलाई बाटो खोज्न निकै समस्या भयो । उनले बाटोमा भेटिएका अधिकांशलाई बाटो सोधे तर कसैले त्यहाँ त कसैले यहाँ जाऊ भने । उनीहरुले बताए अनुसार ओझा र कसजु गएपनि तर बाटो पत्ता लगाउन सकेनन् ।

उनीहरुले बताएको बाटो गएपनि फेरि त्यही ठाउँमा पुगिरहेका थिए । हैदराबाद सहर बाहिर चक्रपथ बनिरहेको थियो जसमा बाइक चलाउन अनुमति थिएन । तर उनीहरु बारम्बर त्यही बाटो पुगिरहेका थिए ।

‘बाटो पहिल्याउन नसकेर तीन-चार घण्टा हैदराबाद सहरलाई फन्को मारिरह्यौं,’ कसजु भन्छन्, ‘बाटो थाहा पाएपछि झन् मन चिसो भयो ।’

थुप्रै पटक बाटो पहिल्याउन नसकेका उनीहरुले एक जना ट्रक ड्राइभरलाई हैदराबादबाट बाहिर निस्किने बाटो सोधे । ड्राइभरकै निर्देशन अनुसार उनीहरु अगाडि बढे ।

हैदराबादबाट बाहिर गएपछि उनीहरु सुनसान डरलाग्दो जंगल छिरे । जंगल वरिपरि कुनै बस्ती थिएन । रातिको साढे १० बजिसकेको भएपनि बासको कुनै ठेगान थिएन ।

दिनभर बाइक चलाएका उनीहरु थाकिसकेका थिए । दुवै एकअर्काको जीउमा स्प्रे छर्किएरै भए पनि हिंडिरहे ।

गाउँबस्ती केही नभेटिएपछि उनीहरु केही निराश भए । तर हिम्मत भने हारेनन् । उनीहरु होटल नपाएपछि रातभर पनि बाइक चलाइरहने मानसिकता बनाउन थाले ।

तीन-चार घण्टापछि पनि बस्ती नपाइएपछि उनीहरु गुगलको सहारामा लगातार हिंडिरहे । सुनसान, सानो साँघुरो बाटो त्यो जंगलले त निकै डराइसकेको थियो,’ कसजू भन्छन्, ‘अर्को साइडबाट केही आयो भनेपनि बाइक सडकभन्दा पर लैजानुपर्ने अवस्था थियो ।’

बिहानदेखि बाइक चलाएका उनीहरु निकै थाकिसकेका थिए । रातको करिब डेढ बजे उनीहरुले होटल पाए, अनि त्यहीं सुते ।

भारतका चौडा चिल्ला सडकले निकै मन लोभ्यायो उनीहरुको । ‘दक्षिण भारतका सडकमा बाइक चलाउन पाउँदा निकै रोमाञ्चित भयौं,’ कसजुले सुनाए ।

एक दिनमा ७२० किलोेमिटरसम्म बाइक कुदाएका थिए उनीहरुले । उनीहरु १५ दिनको बिदा लिएर बाइक राइडिङ गर्न गएका थिए ।

कन्याकुमारी पुगेर १५ दिनभित्र उनीहरुलाई जसरी पनि नेपाल फर्किनु थियो । ‘सुरुमा अहिलेसम्म कसैले नगरेको काम दोस्रोमा कन्याकुमारीको मोह,’ ओझा भन्छन्, ‘कन्याकुमारी पुग्नु नै मेरा लागि ठूलो उपलब्धि र याद बनाउनु हो ।’

यात्रा आफैंमा चुनौतीपूर्ण भएपनि हरेक किलोमिटरमा रोमाञ्चकता महसुस गरेको कसजु बताउँछन् ।

काठमाडौंबाट कन्याकुमारीसम्म करिब ६ हजार ८०० किलोमिटरको दूरी तय गरेका थिए उनीहरुले । आवाशिष कक्षा सातदेखि दक्षिण भारतमै पढेकाले उनीहरुलाई दक्षिण भारतमा भाषाको समस्या भएन । आवाशिषलाई तमिल, मलयालम भाषा आउँथ्यो ।

दक्षिण भारतमा उनीहरुले सोचेभन्दा फरक दृश्य देख्न पाए । केराको पातमा थरीथरीका परिकार खाएको चलचित्रमा मात्रै देखेका कसजु आफैंले केराको पातमा खाना खाए । नेपाली भएका कारण भारतका केही ठाउँमा खानाको महंगो शुल्क तिर्न बाध्य भएका उनीहरुले १०० भारुमा केराको पातमा थरीथरीका परिकार खाए ।

‘उत्तर भारतको तुलनामा साउथका मान्छे निकै शिक्षित, सभ्य र सिधा रहेछन् । साउथको वातावरण र समाज निकै राम्रो रहेछ,’ कसजु भन्छन् ।

यात्रा सोचेजति सहज सरल नभएपनि यात्रामा भोगेका देखेका र महसुस गरेका कुराले कहीं कतै छुने ओझा बताउँछन् ।

‘काठमाडौंबाट बाइकमा कन्याकुमारी जान्छौं भन्दा कसैले पत्याएनन् । तर हामीले गरेर देखाउनु थियो, अरुभन्दा केही पृथक गर्नु थियो,’ ओझाले अनलाइनखबरसँग भने । लामो समयसम्म बाइक चलाउनु पर्दा ओझाको स्वास्थ्यमा समस्या देखियो ।

दक्षिण भारतमा पढेका ओझाका धेरै साथी डाक्टर छन् । उनले उनीहरुसँग सुझाव लिए र औषधि खाए ।

घरपरिवारले समेत जाने बेलासम्म घुम्न मन लागे प्लेनमा जाऊ भने । तर उनीहरुले आफ्नो खुसीका लागि बाइकमै जाने बताएर कन्भिन्स गरे । काठमाडौंदेखि कन्याकुमारीसम्म जानका लागि ओझाले योजना बनाएका थिए । उनको योजनामा जोडिए कसजु । योजना बनाएपनि उनीहरुसँग बाइक थिएन । जाने पक्का योजना बनेपछि उनीहरुले बाइक किने ।

ओझाले सुरुमै केटीएम किनेपनि कसजुले एमटी किनेका थिए ।

कन्याकुमारी लामो दूरी भएकाले उनीहरु दुवै जना बाइक किनेर काठमाडौं सिन्धुली बर्दिबाससम्म पुगेर अभ्यास गर्न थाले ।

काठमाडौंमा दैनिक करिब पाँच-साढे पाँच सय किलोमिटर बाइक कुदाउने गरेका थिए उनीहरुले । लामो समयसम्म एमटी कुदाउँदा घाँटी दुख्ने समस्या आएपछि कसजुले पनि केटीएम ड्युक किने । बाइक किनेपनि उनीहरुसँग क्यामेरा थिएन । ओझाका दाइले उनीहरुलाई क्यामेरा उपलब्ध गराए ।

ओझालाई फेरि एकपटक काठमाडौंबाट कोलकाता जान मन छ । यसका लागि उनी आफ्नो परिवारलाई समेत ‘कन्भिन्स’ गरिरहेका छन् । ओझा र कसजुले नेपालमा पनि बाइक राइडिङ गर्ने योजना बनाएका छन् । उनीहरुले केही समयपछि बिदा मिलाएर मनाङ, मुस्ताङ हुँदै रारा जाने योजना बनाएका छन् ।

‘केहीले सुरुमै नेपालभित्रै किन नघुमेको पनि भने तर हामीलाई केही फरक गर्नु थियो, कसैले नगरेको गर्नु थियो,’ ओझा भन्छन् ।

‘लामो दूरीमा बाइक राइडिङ गर्दा शारीरिक तन्दुरुस्तीका साथै मानसिक रुपमा फिट हुन जरुरी छ, यात्रामा सोचेभन्दा फरक समस्या चुनौती आउँदा रहेछन्,’ उनी सुनाउँछन् ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?