+
+
महिला-स्वास्थ्य :

‘अविवाहित युवती असुरक्षित गर्भपतन गराउँछन्’

डा. बाल कृष्ण साह डा. बाल कृष्ण साह
२०७८ फागुन २६ गते ७:००

विवाह नगरेका कुनै युवतीले गर्भपतन गरेको कुरामा समाजले बढी नै चियोचर्चा गर्छ । विवाहअघि यौन सम्बन्ध राख्नुहुँदैन भन्ने पुरातन धारणाले गर्दा पनि यस्तो भएको हो ।

विवाहअघि यौन सम्बन्ध बनाइरहँदा भुलवश गर्भ रहन जान्छ । अब के गर्ने त ? उपाय हुँदैन । तब उनीहरु गर्भपतन गराउने यत्नमा लाग्छन् । तर, विवाहित महिलालाई जस्तो उनीहरुलाई सहज हुँदैन । किनभने कुनै अविवाहित युवतीले गर्भपतन गराउँदैछ भने उनीमाथि अनेक शंका-उपशंका गर्न थालिन्छ । कोसँग, किन, कहाँ, कहिले ? यावत् प्रश्न सोधिन्छ ।

त्यसैले यी प्रश्नहरुबाट उम्कनका लागि अविवाहित युवतीले गर्भपतनको वैकल्पिक बाटो खोज्न थाल्छन् । कसरी गोपनीयता अपनाउने भन्नेमा उनीहरु केन्दि्रत हुन्छन् । यही चक्करमा परेर अधिकांश युवती आधिकारिक स्वास्थ्य केन्द्रमा जाँदैनन्, जहाँ सुरक्षित गर्भपतन गराइन्छ ।

जबकि सरकारले गर्भपतन सेवालाई व्यापक मात्र बनाएको छैन, सुविधाजनक र निःशुल्क पनि गरिदिएको छ । भुलवश रहने गर्भलाई सुरक्षित रूपमा पतन गराउनका लागि यस्तो व्यवस्था गरिएको हो । यसका लागि निश्चित अवधि र तौर-तरिका हुन्छ ।

गर्भपतन सेवा पूर्ण गोपनीयता अपनाइन्छ

सरकारले आफ्नो मातहात र निजी दुवैलाई सुरक्षित गर्भपतनको लागि मान्यता दिएको छ, साथसाथै सेवा-सुविधालाई सुलभ पनि बनाएको छ । त्यहाँ आधिकारिक चिकित्सक वा स्वास्थ्यकर्मीले गर्भपतन गराउने व्यवस्था हुन्छ ।

तर, युवतीहरु यस्ता ठाउँमा पुग्दैनन् । उनीहरुलाई के डर लाग्छ भने, त्यहाँ जाँदा आफ्नो कुरा सबैले थाहा पाउन सक्छन् । जबकि यस्ता स्वास्थ्य केन्द्रहरुमा उनीहरुको पूर्ण गोपनीयता अपनाउने गरिन्छ । कतिसम्म भने उनीहरुको नाम समेत उल्लेख गरिँदैन । नाम थर कुनै उल्लेख हुँदैन । त्यसैले गर्भपतनका लागि ती स्थानहरु सुरक्षित र भरपर्दो मात्र होइन, गोपनीय पनि हुन्छ ।

यसको अर्थ के भने गर्भपतनका लागि आत्तिनु, डराउनु जरुरी छैन । लुकेर, भागेर, चोरेर गर्भपतन गराउँदा असुरक्षित हुनसक्छ भन्ने कुराको हेक्का हुनुपर्छ । मकहाँ पनि त्यस्ता थुप्रै बिरामी आइपुग्छन्, जसले असुरक्षित गर्भपतन गराएका हुन्छन् । पछि बढी वा लामो समय रक्तस्राव जस्तो समस्या भएपछि उनीहरु अस्पताल आउनुपर्ने बाध्यता हुन्छ ।

आपतकालीन चक्की हप्तैपिच्छे खाने होइन

सन्तानको योजना नभएको अवस्थामा त्यसो त गर्भ नै रहन नदिनु सर्वोत्तम उपाय हो । यसका लागि थुप्रै विधि छन् । दीर्घकालीन, अल्पकालीन विधिहरु अपनाएर ढुक्कले यौन सम्बन्ध राख्न सकिन्छ । त्यसैगरी यौन सम्पर्क भइरहँदा आक्कलझुक्कल सुरक्षाको विधिहरु अपनाउन सकिँदैन । यस्तो अवस्थामा आपतकालीन गर्भनिरोधक चक्की सेवन गर्न सकिन्छ ।

सुरक्षित यौन सम्बन्धका लागि डिपो, कपर टी जस्ता विधिहरु अपनाउन सकिन्छ । नरप्लान्ट जस्ता विधिहरु अपनाउन सकिन्छ । यी विधिहरु सस्तो, सहज र सुरक्षित हुन्छन् । पाखुरामा नरप्लान्ट लगाएपछि पाँच वर्षसम्म कुनै साधन प्रयोग गर्नुपर्दैन ।

सुरक्षित, सस्तो र भरपर्दो उपाय

नेपाल सरकारले परिवार नियोजनका साधनहरु निःशुल्क उपलब्ध गराएको छ । यदि खरिद गर्नुपरेमा पनि त्यति महँगो पर्दैन । नेपालमा पाइने गर्भनिरोधका साधनहरुमा एक हजार १५ सय रुपैयाँ खर्च गर्नुपर्ने आवश्यकता छैन ।
डिपो लगाउनु परेमा ३०-४० रुपैयाँ पर्छ, कपर टी लगाउनु परेमा ४८-५०रुपैयाँ पर्छ ।

नव-दम्पतीलाई चिकित्सकले पिल्स खान सुझाव दिन्छन् । यस्तो अवस्थामा उनीहरुले चाहेको क्षणमा गर्भधारण गर्न र चाहेको अवस्थामा गर्भ रहनबाट बच्न सक्छन् । पिल्स खाइरहेकाहरुले त्यो खान छाड्नसाथ गर्भ रहन सक्छ । तर अन्य साधन प्रयोग गर्दा त्यसको समयसीमा हुन्छ ।

यदि साताको एक वा दुई पटक मात्र यौन सम्बन्ध राख्ने हो भने कन्डमको प्रयोग गर्नु उत्तम हुन्छ । तर, कन्डमलाई परिवार नियोजनको साधनको रूपमा भन्दापनि यौन रोगबाट बच्ने उपायको रुपमा लिन सक्छौं ।

बजारमा गर्भनिरोधको हर्मोनल र ननहर्मोनल दुवै उपलब्ध छन् । कपर टीमा कुनै हर्मोनको प्रयोग हुँदैन । कपर टी पाठेघरमा लगाउने हो । पाठेघरमा लगाउनु र नलगाउनुको पनि फाइदा तथा बेफाइदा छन् । आफ्नो आवश्यकतालाई हेरेर यस्ता साधनको प्रयोग गर्न सकिन्छ । यसका लागि उपयुक्त लागेको साधनबारे स्वास्थ्यकर्मीसँग परामर्श लिन सकिन्छ ।

महिलाले बच्चा जन्माउने उपयुक्त उमेर

बिहेबारि बीस वर्ष पारि भनिन्छ नि । यसको खास अर्थ छ । २० वर्ष पूरा गरिसकेपछि मात्र कुनै युवती सामाजिक, शारीरिक र मानसिक रुपले आमा बन्न सक्षम हुन्छिन् ।

कानुनी हिसाबले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न अनुमति दिँदैन । तर, हामीकहाँ कम उमेरमै विवाह गर्ने, बालबच्चा जन्माउने प्रवृत्ति व्यापक छ । यसले आमाको स्वास्थ्यमा निकै नराम्रो असर पर्छ ।

खासमा महिलाले २२ वर्षदेखि ३५ वर्षको बीचमा बच्चा जन्माउन सक्षम हुन्छन् । पहिलो बच्चापछि दोस्रो बच्चा कहिले जन्माउने भन्ने उत्सुकता धेरैलाई हुन्छ । महिलाको स्वास्थ्यको कोणबाट कुरा गर्दा तीनदेखि पाँच वर्षको अन्तरमा दोस्रो बच्चा जन्माउनु उपयुक्त हो । भनाइ नै छ नि, दोस्रो सन्तान कहिले, पहिलो स्कुल जान्छ जहिले । यसो गर्दा आमाको स्वास्थ्य पनि राम्रो हुन्छ र पहिलो बच्चाको पनि अधिकार पनि हनन् हुँदैन ।

गर्भपतनको औषधि दुरुपयोगको जोखिम

गर्भपतन दुई किसिमको हुन्छ । एक सुरक्षित गर्भपतन र अर्को गर्भपतन । नेपाल सरकारले तोकेको मापदण्डभित्र रहेर गर्भपतन गराउनेलाई सुरक्षित गर्भपतन र मापदण्डभन्दा बाहिर रहेर गरेकोलाई गर्भपतन भन्न सकिन्छ ।

मापदण्डभन्दा बाहिर रहेर गर्भपतन गराउनेको संख्या दिनदिनै घट्दै गइरहेको छ । मान्छेले स्वास्थ्यका बारेमा शिक्षा पाएका कारण गर्भका जटिलताहरु पनि घट्दै गएका छन् ।

तर पछिल्लो समय मापदण्डभन्दा बाहिर गएर असुरक्षित गर्भपतन गराउनेको संख्या भने बढिरहेको छ । जस्तो स्वास्थ्यकर्मीसँग परामर्श नलिइ स्वास्थ्य परीक्षण नगरी सिधै पसलबाट औषधि किनेर खाने तथा घरपरिवार, आफन्त, साथीभाइ, श्रीमान् तथा प्रेमीले ल्याएर औषधि सेवन गर्नेको संख्या बढिरहेको छ ।

पसलमा सिधै त्यस्ता औषधि पाइने भएकाले यस्तो भएको हो । तर यसका जोखिमका बाटाहरु प्रशस्तै हुन्छन् । यसले रगत बग्ने जस्ता स्वास्थ्यलाई हानि नोक्सानी पुर्‍याउने काम गर्छ । तर अहिले जस्तो जडीबुटीको प्रयोग गरेर तथा अवैधानिक तरिकाले गर्भपतन गर्नेको संख्या घट्दो छ ।

जनसंख्या बढेको हिसाबले तथा स्वास्थ्य सेवा प्रदायक संस्था बढेको हिसाबले पक्कै पनि सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको हुनसक्छ । तर यसको तथ्यांक भने आउन बाँकी छ ।

कस्तो अवस्थामा गर्न सकिन्छ गर्भपतन ?

सुरक्षित गर्भपतनको मापदण्ड आफैंमा स्वास्थ्यको कुरालाई ख्याल गरेर नेपाल सरकारका स्वास्थ्य विज्ञहरु बसेर बनाइएको हो । यसमा सुरुमा गर्भवती महिलाको मञ्जुरीनामा हुनुपर्छ । गर्भवती महिलालाई प्रलोभन देखाएर, डर धम्की दिएर, थर्काएर गराउनै पर्छ भनेर दबाब दिएर गराएको हुनुहुँदैन ।

यसका लागि एउटा १८ वर्ष पूरा भएको बालिग महिलाले मानसिक अवस्था ठीक छ भने आफैंले मञ्जुरीनामा दिन सक्छ । तर उनी नाबालक छ भने नजिकको नातेदारले मञ्जुरी दिन सक्छन् । मञ्जुरीनामा दिनेको उमेर १८ वर्ष पूरा भएको र मानसिक स्वास्थ्य ठीक हुनुपर्छ ।

नेपाल सरकारले सुरक्षित गर्भपतन सेवाका लागि १२ हप्ता भनेर समयसीमा तोकेको छ । यो समयका लागि कुनै शर्त चाहिँदैन । तर कुनैबेला गर्भलाई निरन्तरता दिँदा आमाको ज्यानलाई नै खतरा हुने, बच्चा विकलांग जन्मिन सक्ने, अर्थात् महिला दीर्घरोगी हुन सक्ने, मानसिक तनाव भएको र जर्बजस्ती करणी भएका सुरक्षित मातृत्व तथा प्रजनन अधिकार ऐन २०७५ ले २८ हप्तासम्मको गर्भपतन गर्ने अधिकार दिएको छ । तर यसमा शर्त खुलेको र चिकित्सकले सिफारिस गरेको हुनुपर्छ ।

१२ हप्ता बढी भयो म गर्भपतन गराउन चाहन्छु भनेर गर्भपतन गराउन पाइँदैन । नेपाल सरकारले गर्भपतन गर्नका लागि स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ । यो अस्पताल नै हुनुपर्छ भन्ने छैन । यो स्वास्थ्य चौकी तथा निजी क्लिनक पनि हुन सक्छ ।

असुरक्षित गर्भपतन गराउन कति समस्या र दुःख झेल्नुपर्छ भन्ने कुरा आमाले मात्रै बुझेकी हुन्छन् । एकातिर आर्थिक समस्या हुन्छ अर्कोतिर घरमा स्याहारसुसार गर्ने मान्छे हुँदैन ।

एकातिर हामी निःशुल्क रुपमा सुरक्षित गर्भपतन सेवा पाइरहेका छौं, अर्कातिर धेरै पैसा तिरेर असुरक्षित गर्भपतन गराइरहेका छौं । यसो गर्दा स्वास्थ्यको भारमा आर्थिक भारसमेत थपिँदै गइरहेको छ ।

हरेक नेपालीले सुरक्षित गर्भपतनबारे जानकारी लिनुपर्छ थाहा पाउन जरुरी छ । गर्भपतन भन्नेबित्तिकै समाजले नराम्रो नजरले हेर्ने यसले काम बिगारेको छ भन्ने, अनैतिक काम गरेको सोच्ने गरेको छ । गर्भपतन गर्नुका आफ्नै समस्या हुन्छन् । एउटी ३० वर्षकी महिलाले गर्भपतनकै कारण ज्यान गुमाउनु पर्‍यो भने त्यो राम्रो होइन ।

स्वास्थ्य क्षेत्र नाफाको व्यवसाय होइन

स्वास्थ्य क्षेत्र नाफाको मात्र व्यवसाय होइन । यो जिम्मेवारीको पेशा हो । कसैले गर्भपतनको औषधि दिनुस् भन्दा केही कुरा नबुझी औषधि दिनु गैरजिम्मेवारीपन हो । यस्तो गैरजिम्मेवारका कारण समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन ।

पढेलेखेकाहरु पनि अस्पताल जान झन्झट मान्ने, औषधि पसलमा गई औषधि खाने र पछि गाह्रोसाह्रो पर्दा अस्पताल आउने गरेका छन् । उनीहरु पछि झन् समस्यामा पर्छन् ।

म काम गर्ने ठाउँमा अनधिकृत रूपमा औषधि खाएर रगत बगिरहेको, १०-१५ दिनसम्म पनि रगत बग्न नरोकिएको समस्या लिएर आउने गरेका छन् । हरेक दुईतीन दिनमा एउटा केस आउँछ । यो हेर्दा बजारमा गैरजिम्मेवार तरिकाले औषधि बिक्री भइरहेको छ भन्ने हो । यसबारे आधिकारिक तथ्यांक भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?