+
+

फेरि आक्रमण नहोला भनेर कसरी विश्वास गर्ने ?

निर्घात कुटपिट भएको एक वर्षपछि त्रिभुवन विश्वविद्यालयमा पढाउन जान थालेको छु । तर मनमा एक किसिमको डर भइरहन्छ ।

प्रेमबहादुर चलाउने प्रेमबहादुर चलाउने
२०७८ फागुन २९ गते २०:००
अनलाइनखबरसँग कुराकानीका क्रममा उपप्राध्यापक प्रेमबहादुर चलाउने । तस्वीर : चन्द्रबहादुर आले ।

ममाथि निर्घात कुटपिट भएको एक वर्षपछि अहिले त्रिभुवन विश्वविद्यालयमा पढाउन जान थालेको छु । पढाउन जानु हुँदैनथ्यो कि भन्ने पनि लागिरहन्छ, मनमा एककिसिमको डर भइरहन्छ ।

मैले १५ वर्षदेखि गरिरहेको काम यही हो, आफ्नो जिम्मेवारी त निर्वाह गर्नुपर्‍यो भन्ने लागेर पढाउन फर्केर पढाउन थालेँ । तर, पहिले नयाँ पुस्तालाई ‘ग्रुम’ गरौं भनेर कक्षा कोठामा जाँदा जुन जोश–जाँगर हुन्थ्यो, त्यो अहिले ममा छैन ।

मनमा हरपल एउटै प्रश्न उब्जिन्छ– मेरो सुरक्षा खोइ ? फेरि आक्रामण नहोला भनेर कसरी विश्वास गर्ने ? त्यतिबेलाका आक्रमणकारीहरु त खुलेआम हिँडिरहेका छन् !

यो मनस्थितिमा म त्रिविमा पढाउँदैछु । पहिले पढाउँदा मैले जे भोगेँ, त्यो घरिघरि मानसपटलमा आइरहन्छ । मलाई त्यसरी सांघातिक आक्रमण गर्नुको पछाडि कुनै कारण थिएन । मसंग रिस उठ्यो, योजनाबद्ध आक्रमण गर्‍यो । नत्र, आक्रमणको योजनाकार हरि आचार्य र योगेन्द्र रावलको के कुरामा म बाधक बनेको थिएँ ?

उनीहरुले मलाई लगाएको आरोप चाहिं हामीले लगाएको ताला फोड्यो भन्छन् । तर विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा ताला किन लगाउनुपर्‍यो ? ताला लगाउनु हुँदैन भन्ने लाइनमा म उभिएकै हो, तर ताला मैले फोडेको थिइनँ ।

विश्वविद्यालयमा जसलाई चाह्यो त्यसलाई हान्न, मार्न पाउनुपर्छ । तालाबन्दी गरेर नियुक्ति, सम्बन्धन, सरुवा बढुवा र आफ्ना मान्छेलाई जागिर खुवाउन पाइरहनुपर्छ । गुण्डाराज कायम गर्न पाउनु पर्छ । हामीलाई कारबाही भयो भने विश्वविद्यालयमा शान्ति र अमनचयन खलबलिन्छ ! दुनियाँमा यस्तो कहिं हुन्छ ?

ताला खोल्नुपर्छ भन्ने सबै प्राध्यापकको मत थियो । विश्वविद्यालय बन्द गर्नुपर्छ भनेर कसले सोच्छ होला र ? मैले ताला खोल्नुपर्छ भनेर अलि बढी जोड गरेको थिएँ । त्यसैको परिणाम मैले आक्रमण भोग्नुपर्‍यो ।

म अझै पनि भन्छु, विद्यार्थीका मुद्दाका लागि भन्दा पनि निहीत स्वार्थ राखेर विश्वविद्यालयमा ताला लगाइन्छ । उनीहरुको देखाउने र चपाउने दाँत फरक–फरक छ ।

अहिलेको भाइस चान्सलरको टोली आएपछि समाजशास्त्र, अर्थशास्त्र, जनसंख्या लगायतका विभागका प्रमुख वरिष्ठताको आधारमा नियुक्त गर्‍यो । समाजशास्त्र विभागमा उनीहरुले दुई महिनादेखि ताला लगाएका थिए । उनीहरुको उद्देश्य नयाँ विभागीय प्रमुखलाई हटाउने र पहिलेको काम चलाउ विभागीय प्रमुखलाई निरन्तरता दिने थियो ।

सोच्दै नसोचेको घटना

विद्यार्थी राजनीतिमा संरचनागत हिंसा पहिल्यैदेखि थियो । त्यसलाई हामीले सहँदै आएका थियौं । विभागमा धकेलाधकेल, सामान्य तोडफोड हुन्थ्यो, हामी चुपचाप बस्थ्यौं । कार्यालय समयमा संस्थाको मुख्य व्यक्तिसँग चर्काचर्की र गालीगलौज हुन्थ्यो, त्यसलाई सहेका थियौं ।

तर ममाथिको आक्रामण न कार्यालय समयमा भएको हो न त म त्यहाँको विभागीय प्रमुख हो । विभागको एउटा मामुली शिक्षक ताला खोल्नुपर्छ भनेर उभिदा सुनियोजित रुपमा आक्रमण गरेका हुन् ।

म त्रिविकै प्राध्यापक आवास गृहमा बस्छु । २० असोज २०७७ को बिहान ९ बजे कोठाबाट निस्किँएको थिएँ । चप्पल, टिसर्ट र ट्राउजर लगाएर नेपाल बैंकसम्म पुगेर फर्किँदै गर्दा पछाडिबाट कसैले एक्कासी आक्रमण गर्‍यो । म त्यहीँ ढले ।

चार जनाले मलाई फलामे रड र बाँसको भाटाले हाने । मलाई भाटाले घोच्दै, रडले हान्दै गरे । ज्यान बचाउन उठेर भाग्न लाग्दा मेरो खुट्टा भाँचियो । मैले कति हारगुहार गरे, तर कोही प्रतिवाद गर्न आएनन् । ‘लौ न मलाई मार्न लागे, बचाउनुस्’ भनेर कराउँदा हेर्छन्, गइहाल्छन् । अन्तिममा एक जना साहसी चिच्याए अनि क्रिकेट ग्राउण्डबाट मान्छेहरु आए अनि आक्रामणकारीहरु भागे ।

पछि सीसी टीभीको फुटेजले बुलेट बाइक र स्कुटरमा को–को थिए भन्ने देखायो । त्यही आधारमा प्रहरीले आक्रमणकारीको मोटरसाइकल र स्कुटर बरामद गर्‍यो । समातिएकाहरुले हरि आचार्य र योगेन्द्र रावलको निर्देशनमा आक्रमण गरेको बयान दिए । उनीहरुले ‘त्यसलाई मारिदिनु, संगठनले जिम्मा लिन्छ’ भनेका रहेछन् ।

मेरो शरीरमा कुनै ठाउँ छैन, जहाँ नहानिएको होस् । २१ औं शताब्दीमा यसरी जनावरलाई पनि हानिँदैन । मेरो खुट्टामा अहिले पनि तीन वटा रड छ । मेरो बायाँ खुट्टा पनि भाँच्न खोजेका थिए । टाउकोमा पटकपटक हाने ।

यस्तो घटना विश्वविद्यालयभित्रै हुनु एकदमै डरलाग्दो कुरा थियो । मैले शिक्षकको रुपमा त्यस्तो कहिल्यै कल्पना गरेको थिइनँ । यो मेरो रोजाइको जागिर थियो । शिक्षण भनेको दुःख गरेरै खाने पेशा हो । पढ्न, लेख्न पाइन्छ, अपडेट भइन्छ । कमसेकम एउटा पुस्तालाई ‘ग्रुम’ गर्न पाइन्छ भनेर मैले यो पेशा रोजेको थिएँ । त्यसरी सामान्य कुरामा मलाई मार्ने तहमा आक्रमण गरिन्छ, संगठित अपराध हुन्छ भन्ने कहिल्यै सोचेको थिइनँ ।

म भाग्यले मात्र बाँचेको हुँ । मेरो ज्यान बच्यो, मेरो परिवार, छोराछोरी जोगिए ।

त्यो आक्रमणको योजना साउथ इण्डियन फिल्मको झल्को दिने गरी बुनिएको थियो । कस्तो फिल्मी छ भने बेलुका हरि आचार्य भन्नेले मलाई आक्रमण गर्नेमध्येको एक रुपेश शाहलाई फोन गर्छ । मलाई आक्रमण गर्ने अन्यलाई ल्याउने मान्छे पनि रुपेश रहेछ । फोनको सबै डिटेल प्रहरीले निकालेको छ । उनीहरुबीच पटक–पटक फोनमा कुरा भएको छ । फोनमा हरि आचार्यले ‘भोलि तिमीले एउटा मान्छेलाई ठीक पार्नुपर्ने भयो, त्यसलाई मारिदिनु, संगठनले जिम्मा लिन्छ’ भनेको रहेछ ।

‘भोलि त्रिविको चिया पसलमा गएर योगेन्द्र रावललाई भेट्नु’ पनि भनेको रहेछ । मलाई आक्रमण गर्नेहरुले २० हजार रुपैयाँमा हान्न आएको भनेका छन् ।

रुपेशले आफ्ना ३ साथी रविनकुमार लामा, सयुष श्रेष्ठ र निरज राना मगरलाई बोलाएको रहेछ । मलाई हान्नुभन्दा अगाडि उनीहरुले रावललाई भेटेका रहेछन् । हरि आचार्यले पनि चिया पसलमा टोलीलाई पर्खेको रहेछ ।

रुपेशले सयुषलाई स्कुटरमा लिएर गएको रहेछ । रविनकुमार र निरज उनीहरुभन्दा अगाडि पुगेका रहेछन् । म सडकमा निस्किँदा अघिपछि आठ–दश वटा मोटरसाइकल गुडिरहेका थिए । त्यसमध्ये मेरो पिछा गर्ने टोली पनि रहेछन्, जुन मलाई थाहा हुने कुरै भएन । ममाथि त्यस्तो अपराध हुँदैछ भन्ने भेउ पाएको भए म त्यसरी निस्किने नै थिइन ।

गुण्डागर्दीलाई चोख्याउने संरचना

‘त्यसलाई मार, संगठनले जिम्मा लिन्छ’ भनेको संगठन भनेको पेशेवर अपराधी ओत लाग्ने ठाउँ हो ?

अनलाइनखबरकै एउटा रिपोर्टमा काठमाडौंका २०० गुण्डा कुन–कुन दलमा आवद्ध छन् भनेर खुलाइएको छ । उनीहरु यो अथवा त्यो राजनीतिक पार्टीको ओत लागेर बसेका छन् भनिएको छ । पेशेवर गुण्डाहरु यस्ता संगठन वा पार्टीको छातामुनि बसेका छन् । ममाथि भएको आक्रमणको घटनाले पनि त्यही देखायो ।

अब मेरो प्रश्न चाहिं के छ भने नेपाल विद्यार्थी संघ (नेविसंघ) त्यसरी पेशेवर अपराधीले गरेको अपराधको जिम्मा लिने संगठन हो ? मेरो घटनामा नेविसंघले पीडकहरुलाई जोगाउन आन्दोलन गर्‍यो ।

डेमोक्रेटिक लयर्स एशोसिएसनलाई पनि त्यसमा प्रयोग गर्‍यो । एशोसिएसनले ती हाम्रा मान्छे हुन्, तिनलाई बचाउनुपर्छ भनेर बहस–पैरवी गर्‍यो । के गुण्डागर्दीमा संलग्नलाई बचाउन पार्टी संरचनाहरु बनेका हुन् ?

घटनापछि हरि आचार्य र योगेन्द्र रावल दुई महिनासम्म प्रहरीको वारेन्ट छलेर बसे । सुरुमा उनीहरु कांग्रेसका एक जना ठूलै नेताको घरमा बसेका थिए रे ।

म त अस्पतालको बेडमा थिएँ । जिन्दगीमा कहिल्यै नपरेको विपत्ति आइलागेको थियो । मुद्दा भन्ने चिज कहिल्यै परेको थिएन । अड्डा अदालत भनेको बलियो, शक्तिशाली र पैसावाल मान्छेको अपराध चोख्याउनका लागि मात्र बनाइएको रहेछ । न्यायिक निकायहरु हामीजस्ता निरीह मान्छेका लागि होइन रहेछ ।

म त त्यतिबेला अदालत पनि जान सकिन । अम्बिका निरौला भन्ने न्यायाधीश हुनुहुँदो रहेछ, उहाँले आक्रामणकारीहरुलाई २०, २५, ३० र ४० हजार रुपैयाँ धरौटीमा छाडिदिनु भयो । आदेशमा उहाँले ‘प्रतिवादीहरुले कसूर गरेका होइनन्’ भनेको चाहिं देखिँदैन । तर, थुनामुक्त गर्न आदेश दिनुभयो ।

मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहँदासम्म मैले न्याय पाइनसके पनि मुद्दा चलिरहेको छ भन्ने थियो । तर, अहिले गृहमन्त्रीको निर्देशनमा जिल्ला प्रशासन कार्यालयबाट मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाएका छन् । नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय, काठमाडौंको निवेदनको आधारमा त्यो प्रक्रिया अघि बढाइएको छ ।

नेविसंघको केन्द्रीय कार्यालयले पनि मुद्दा फिर्ताको पहल गरिरहेकै छ । त्यही आधारमा गृहमन्त्रीको ठाडो निर्देशनमा जिल्ला प्रशासन कार्यालयमार्फत मुद्दा फिर्ताको प्रक्रियामा अघि बढेको छ । यसमा काठमाडौं प्रहरीका एसएसपी, जिल्ला सरकारी वकिलको कार्यालयको वकिल लगायतले फिर्ता दिनुपर्‍यो भनेर राय दिएका छन् । गृह प्रशासनको दबाबमा उनीहरुले यस्तो राय दिएका हुन् ।

रायमा ‘विश्वविद्यालयमा शान्ति अमनचयन कायम गर्न यो मुद्दा फिर्ता लिने प्रक्रिया अगाडि बढाउनुपर्छ’ भनेर लेखिएको रहेछ ।

यसको अर्थ– विश्वविद्यालयमा जसलाई चाह्यो त्यसलाई हान्न, मार्न पाउनुपर्छ । तालाबन्दी गरेर नियुक्ति, सम्बन्धन, सरुवा बढुवा र आफ्ना मान्छेलाई जागिर खुवाउन पाइरहनुपर्छ । गुण्डाराज कायम गर्न पाउनु पर्छ । हामीलाई कारबाही भयो भने विश्वविद्यालयमा शान्ति र अमनचयन खलबलिन्छ ! दुनियाँमा यस्तो कहिं हुन्छ ?

(त्रिवि समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक चलाउनेसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?