+
+

म्यादी प्रहरीका लागि सुदूरपश्चिममा ३ गुणा बढीको आवेदन

रामहरि ओझा रामहरि ओझा
२०७८ चैत १५ गते ८:५१

१५ चैत्र, डोटी । सुदूरपश्चिम प्रदेशमा म्यादी प्रहरीका लागि आवश्यकभन्दा तीन गुणा बढीले दर्खास्त दिएका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्ना गर्नका लागि प्रहरी प्रधानकार्यालयले चैत्र ६ गतेदेखि ११ गतेसम्म दर्खास्त आह्वान गरेको थियो । जसअनुसार सुदूरपश्चिममा २९ हजार ७१४ जनाले आवेदन लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले जानकारी दिए । उनका अनुसार आवेदन दिनेहरूमा सात हजार ६६ जना महिला रहेका छन् ।

प्रदेशका नौवटै जिल्लाका जिल्ला प्रहरी कार्यालयबाट संकलन गरिएको दर्खास्तअनुसार कैलालीमा सबैभन्दा बढी ११ हजार २२२ जनाले आवेदन दिएको रावलले बताए । यो संख्या माग गरिएको संख्याभन्दा धेरैले बढी हो । यस जिल्लामा दुई हजार ४५७ जना म्यादी प्रहरी भर्ना गरिनेछ ।

यस्तै कञ्चनपुरमा पनि माग संख्याको चार सय प्रतिशत बढीले दर्खास्त दिएका छन् । यस जिल्लामा एक हजार ४६९ को आवश्यकता रहेकोमा पाँच हजार ९३५ जनाले आवेदन दिएका छन् ।

डोटी जिल्लामा ८१० जना म्यादी प्रहरी भर्ना गरिनेछ । जिल्लामा एक हजार ४४५ जनाले दर्खास्त दिएका छन् । यस्तै अछाममा म्यादी प्रहरीमा भर्ना हुनका लागि दुई हजार १५ जनाले आवेदन दिएका छन् । यस जिल्लामा एक हजार २३१ जना म्यादीको कोटा छ । बाजुरामा आवेदन दिनेहरूको संख्या एक हजार ६४७ रहेको छ । यस जिल्लामा ६६८ जना भर्ना गरिने प्रहरी वरिष्ठ उपरीक्षक रावलले जानकारी दिए ।

बझाङ्ग जिल्लामा एक हजार ६५६ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । अन्य जिल्लाको तुलनामा यस जिल्लामा कम प्रतिस्पर्धी छन् । यस जिल्लामा एक हजार ९३ जना भर्ना हुनेछन् ।

म्यादी प्रहरीका लागि गरिएको सूचनामा बैतडी जिल्लामा दुई हजार २४ जनाले आवेदन दिएका छन् । यस जिल्लामा ८१५ जना म्यादी भर्ना गरिनेछ । डडेल्धुरा जिल्लामा पनि आवेदन दिनेको संख्या धेरै रहेको छ । यस जिल्लामा एक हजार ७७१ जनाले आवेदन दिएका छन् । डडेल्धुराका लागि आवश्यक संख्या ६५२ हो ।

यस्तै, दार्चुलामा पनि चाहिने भन्दा झण्डै तीन गुणा बढीले आवेदन दिएका छन् । यस जिल्लामा ७४२ जना चाहिनेमा एक हजार ९९९ जनाको  आवेदन परेको छ ।

चाहिने भन्दा तीन गुणा बढीले आवेदन दिनुको कारण बेरोजगारी भएको प्रदेश प्रहरी प्रवक्ता रावल बताउँछन् । ‘जम्मा ४० दिनको मात्रै काम हो, रोजगारमा लागेकाहरू त आफ्नो काम छोडेर त्यता जाँदैनन्’ रावलले भने, ‘रोजगार केही नभएपछि थोरै दिन भए पनि काम पाइने आशमाआवेदन गरेका छन् ।’

म्यादी प्रहरीको छनोट प्रक्रिया मंगलबारदेखि सुरु हुनेछ । छनोटमा परेकाहरूको अन्तिम नतिजा चैत्र २२ गते प्रकाशन गर्ने प्रहरी प्रधानकार्यालयले जनाएको छ । छनोट भएका म्यादी प्रहरीको प्रशिक्षण २८ गतेदेखि सुरु हुने प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ ।

कति पाउँछन् म्यादी प्रहरीले सेवा सुविधा !

स्थानीय तह निर्वाचन, २०७९ को प्रयोजनका लागि भर्ना हुने म्यादी प्रहरीले प्रहरी जवानको मासिक तलवको हिसावले ४० दिनको तलव तथा अन्य सेवा सुविधा पाउनेछन् । प्रहरी जवानको आधारभूत मासिक तलब २२ हजार ६८० रहेको छ । यस आधारमा म्यादी प्रहरीको ४० दिनको तलब ३० हजार २४० हुनेछ ।

यस्तै, खाद्यान्नवापत प्रतिव्यक्ति सात हजार दुई सय र पोसाक तथा अन्य सामान खरिद गर्ने गरी प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले उपलब्ध गराइनेछ । तोकिएको मतदान स्थलसम्म आउजाउ गर्नका लागि एकपटक एक हजार रुपैयाँका दरले उपलब्ध गराइने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?