
२७ चैत, काठमाडौं । नेकपा एमालेबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा ९ जना र उपमेयरमा ७ जना आकांक्षी देखिएका छन् ।
आइतबार भएको उपमहानगर कमिटीको बैठकमा आंकाक्षीहरुको नाम संकलन गर्दा मेयरमा ९ जना र उपमेयरम ७ जना पुगेका हुन् । प्रदेशस्तरका नेताहरुले सर्वसम्मत उम्मेदवार चयन गर्न प्रयास गरे पनि सफल हुन नसकेको जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले बताए ।
हेटौंडाको मेयरमा संविधान सभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, केन्द्रीय सदस्य रामेश्वर राना, बहालवाला मेयर हरिबहादुर महत, नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला नेताहरु मदन दाहाल, ध्र्रुव चौंलागाईँ, विके महर्जन र गणेशकुमारी प्रधानले आकांक्षा राखेका छन् ।
उपमेयर पदमा अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता विष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपालले आकांक्षा राखेका छन् ।
बागमती प्रदेशको एक मात्र उपमहानगर हेटौंडामा २०७४ को स्थानीय तहको चुनावमा कांग्रेस र माओवादीको गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेको तर्फबाट मेयरमा हरिबहादुर महत र उपमेयरमा मीना लामा विजयी भएका थिए । मेयर महत एमालेमै छन् भने उपमेयर लामा नेकपा एकीकृत समाजवादीकी जिल्ला उपाध्यक्ष भएकी छिन् ।
अध्यक्ष श्रेष्ठका अनुसार आइतबारको बैठकमा आकांक्षीहरुको नाम संकलन गरिएको बताए । यी नाममध्येबाट सर्वसम्मत उम्मेदवार चयनको प्रयास गर्ने र सफल नभए सबैको नाम प्रदेश कमिटीमा पठाउने उनले बताए ।
प्रतिक्रिया 4