+
+

अन्धविश्वासको अवशेष : भाइरल बाँदरसँग ‘आशीर्वाद’ लिनेको घुँइचो

अंगद सिंह अंगद सिंह
२०७९ वैशाख ७ गते १४:४५

७ वैशाख, काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा पशुपतिनाथ मन्दिर छेउमा रहेको सानो कुटीमा बाँदरबाट मानिसहरुले आशीर्वाद लिइरहेको देखिन्छ ।

फलामको पिंजडामा थुनिएको बाँदरलाई त्यसको हेरचाह गर्नेले ‘पवन’ नाम दिएका छन् । त्यहाँ जाने सर्वसाधारणले ‘पवन’को ‘आशीर्वाद’ लिइरहेका छन् । बाँदरलाई पवन अर्थात् देवताको रुपमा लिइरहेका छन् ।

मंगलबार बाँदर राखिएको पशुपतिनाथ मन्दिर छेउमा पुग्दा त्यहाँ बादर हेर्न आउने र आशीर्वाद लिनेको भीड थियो । हरेकले हातमा मोबाइल बोकेका छन् । हरेक मोबाइलको क्यामेरा खुला छ । कसैले फोटो खिचिरहेका छन् । कसैले भिडियो बनाइरहेका छन् ।

बाँदर हेर्न स-साना बालबालिकादेखि अधवैंसेसम्म छन् । त्यहाँ पुग्ने उनीहरुको एउटै चाहना हुन्छ, बाँदरको आशीर्वाद लिने र भिडियो बनाउने ।

बाँदरको आशीर्वाद लिन बिहान सात बजेदेखि ११ बजेसम्म र दिउँसो २ देखि ५ बजेसम्मको समयतालिका निर्धारण गरिएको छ । बाँदर थुन्नेहरुले समयतालिका नै टाँसेका छन् । तर बाँदर हेर्ने र आशीर्वाद लिन चाहनेहरुलाई भने समयतालिकाले कुनै असर गर्दैन । बिहानदेखि साँझसम्मै त्यहाँ भीड जम्मा हुन्छ ।

पशुपति मन्दिर छेउमा रहेको भीरमा सानो कटेरो छ । त्यहाँ फलामको तारजाली लगाएर बाँदरलाई राखिएको छ । बाँदर थुन्नेहरुले सहयोगका लागि भन्दै दुईवटा सहयोग बाकस राखिएको छ । जसमा त्यहाँ आउने सर्वसाधारणले आफुखुसी पैसा राखिदिन्छन् ।

बाँदरको आशीर्वाद लिनेहरु लाइनमा बस्छन् र फलामको डण्डीमाथि चढेर पालैपालो बाँदरका अगाडि टाउको राख्छन् । बाँदर कहिले पिंजडाको वल्लो छेउ पुग्छ त, कहिले पल्लो छेउ । कसैको टाउकोमा हात नराख्दा, कसैलाई नमुसार्दा, नझम्टिंदा त्यसको रेखदेख गर्नेले ‘पवन’लाई आशीर्वाद लिन मन नलागेको भन्छन् ।

हामी त्यहाँ पुग्दा बाँदर थकाइ मार्न पल्टिरहेको थियो । कुटीमा बस्ने एक जनाले बाँदरलाई सुम्सुम्याइरहेका थिए । करिब २० मिनेटसम्म सुम्सुम्याएपनि बाँदर उठेन, बरु अर्कोपट्टि फर्कियो । धेरैले सुमसुम्याए बाँदर धेरै सुत्ने भन्दै छिटो उठाउन आग्रह गरिरहेका थिए ।

‘आशीर्वाद दिन मन नलागे सुत्छ, कसरी उठाउनु । यो त साक्षात्कार पवन सूत्र हो यसले त को धर्मात्मा ? को कस्तो मान्छे भनेर चिन्छ,’ रेखदेख गर्ने व्यक्ति भन्दैथिए ।

बाँदर धेरै समयसम्म नउठेपछि त्यहाँ भएकाहरुले उठाउन आग्रह गरिरहँदा उनी आफैं बोलाउनुस् भनेर भनिरहेका थिए । कसैको स्वर मनपरे बाँदर आफैं उठ्ने उनले बताए ।

हामी गएको केहीबेरपछि बाँदर उठ्यो । सबैले मोबाइल ठड्याए । कोही भिडियो बनाउन थाले भने कोही फोटो खिच्न ।

मंगलबार मोरङ उर्लाबारीका कृष्ण पनि बाँदरको आशीर्वाद लिन भन्दै पशुपति पुगे । कामको सिलसिलामा काठमाडौं आएका उनी दर्शन गर्न भन्दै त्यहाँ पुगेका थिए ।

‘बाँदरले आशीर्वाद दिएको भिडियो देखेर आएको हुँ,’ कृष्ण भन्छन्, ‘आशीर्वादले केही पाइएला भनेर आएको त होइन तैपनि मनले मानेन ।’

तर उनी २०-२५ मिनेटसम्म पनि बाँदर नउठेपछि त्यहाँबाट फर्के । हतार हुनेहरु सुतेकै भएपनि छोएर फकिन्छन् भने अरु बाँदर उठ्दासम्म नै पर्खिन्छन् ।

केही समयपछि बाँदर उठ्यो र यताउति गर्न थाल्यो । पालैपालो मानिसहरु फलामको डण्डीमा टाउको राखेर आशीर्वादका पर्खिरहे । बाँदरले कहिले उनीहरुको टाउकोमा हात राख्छ भने कहिले हातखुट्टा दुवै राख्छ ।

बेलाबेला बाँदर रिसाउँछ । उसको अनुहारमा रिस झल्किन्छ । उ दाह्रा देखाउँछ । कहिले कसैलाई झम्टेजस्तो गर्छ । कसैले टाउको दिंदा कपाल तान्छ । तैपनि सर्वसाधारण उसलाई छाड्दैनन् ।

अहिले भाइरल भइरहेको बाँदर पशुपतिमा भर्खर ल्याइएको भने होइन । यो बाँदर १३ वर्षदेखि त्यहीं छ । जसलाई एक बाबाले भारतबाट ल्याएका थिए । तर टिकटक बनाउनेहरुका कारण यो बाँदर अहिले भाइरल भएको हो ।

बाँदर हेर्न आउनेहरुले पैसा नदिए बाँदरलाई थुन्नेहरु रिसाउने र झर्कने गर्ने गरेको गुनासो छ । पैसा दिनेलाई हात तानेर भएपनि बाँदर छुन दिने र नदिनेलाई बाँदरलाई मन छैन भन्ने गरेको सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।

अन्धविश्वास र पशुअधिकार

बाँदर भगवान हो र उसले आशीर्वाद दिन्छ भन्ने अन्धविश्वास बोकेर सर्वसाधारण त्यहाँसम्म पुगेका हुन् । एउटा निरीह र अवोध जनावरलाई पिंजडामा थुनेर बन्धक बनाइएको छ र उसको प्रकृतिमा रमाएर बाँच्न पाउने अधिकार खोसिएको छ ।

बाँदरबाट आशीर्वाद लिएको दृश्यले एकातिर समाजमा व्याप्त अन्धविश्वासलाई झल्काउँछ भने अर्कोतिर सामाजिक सञ्जालमा भाइरल हुने मोह देखाउँछ ।

बाँदरको आशीर्वाद लिन आउनेमध्ये भक्तपुर सल्लाघारीकी सम्झना पनि हुन् । मंगलबार सम्झना त्यहाँ आएको आधा घण्टा बढी भइसकेको थियो । उनी पनि बाँदरको आशीर्वाद लिन पर्खिरहेकी थिइन् । ‘टिकटकमा बाँदरले आशीर्वाद दिएको देखेर आएकी हुँ,’ उनी भन्छिन्, ‘केही पाइन्छ भनेर त आएकी होइन, तर पनि आएपछि लिनैपर्‍यो ।’

बाँदर उठेपछि आफ्नो टाउको फलामको डण्डीमा राखिन्, बाँदरले उनको टाउको हातले छोयो । उनले आशीर्वाद पाएको महसुस गरिन् ।

यसरी बाँदरबाट आशीर्वाद लिनेहरुको भीड देख्दा नेपाली समाजमा अझै पनि परम्परागत सोच र अन्धविश्वास व्याप्त देखिएको बाँदरविज्ञ मुकेश चालिसे बताउँछन् ।

‘हामीले जति आधुनिकताका कुरा गरेपनि समाज परम्परागत सोच र अन्धविश्वासमै चलिरहेको छ । समाज क्षणिक वाहवाही बटुल्ने र देखावटीतर्फ गइरहेको छ,’ उनी भन्छन् ।

बाँदर मानव जाति पछिको सबैभन्दा बढी चेतना भएको प्राणी भएकाले यसले मानिसको नक्कल गर्न सक्ने उनी बताउँछन् । बाँदरले टाउकोमा हात राख्दा, छुँदा आशीर्वाद दिएको भन्ने नभएपनि मानिसका हरेक क्रियाकलाप उसले सिक्ने चालिसेको भनाइ छ ।

घरमा बाँदर पाल्दा कसैले कसैलाई ढोगेको, आशीर्वाद दिएको देखेर पनि सिकेको हुन सक्ने चालिसेको तर्क छ । ‘हामीले सही, वैज्ञानिक र समाजलाई फाइदा हुने कुरा गर्नुपर्छ । लहडमा भीडको पछि कुद्नु हुँदैन,’ उनी भन्छन् । जनचेतनाको कमीका कारण यस्ता व्यवहार देखिने गरेको उनको तर्क छ ।

समाजशास्त्री विमला ज्ञवाली पनि समाजमा अन्धविश्वास हावी हुँदै जाँदा यस्ता घटना हुने  गरेको बताउँछिन् ।

‘बाँदरले टाउकोमा हात राख्दा वा छुँदा के के न चमत्कार हुन्छ भनेर मान्छे त्यहाँ गएका हुन सक्छन्,’ उनी भन्छिन्, ‘यस्ता व्यवहारले समाजमा कर्म नगरी सफल हुने मोह विकसित भएको देखिन्छ ।’

बाँदरलाई पिंजडामा थुनेर आशीर्वाद लिने-दिने कुरा अशोभनीय भएकोे भन्दै रमाइलोका लागि हेर्न गएपनि आशा बोकेर जानु राम्रो नभएको उनी बताउँछिन् । ‘वास्तविकता नबुझी समाज लहडका पछि दौडिरहेको छ । समाजमा जनचेतनाको कमीका कारण अन्धविश्वास कायमै छ,’ ज्ञवाली भन्छिन् ।

मनोविद् मधुविलास खनाल वास्तविकता नबुझी समाज भीडले भनेका र देखाएका कुराको पछाडि दौडिनुले यस्ता व्यवहार देखिने गरेको बताउँछन् ।

‘समाजका हरेकलाई भाइरल हुनु छ । हरेकलाई सबैले चिनुन् भन्ने चाहना छ,’ खनाल भन्छन्, ‘समाज पुरातनवादी सोच र लहडमा छ, वास्तविकताको कुनै सोधखोज नै छैन ।’

समाजले अझै पनि विज्ञानलाई स्वीकार गर्न नसकेको र चर्चा कमाउने मोहमा यस्ता कार्य गर्दा चिन्तित बनाएको उनको भनाइ छ ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?