+
+

गगन र शेखरको कानेखुशी : कस्तो बिडम्बना ! अर्को पार्टीलाई भोट हाल्नुपर्ने भयो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १९:०१

७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा पार्टीले अन्य दलहरुसँग गरेको गठबन्धनको विरोध जनाएका छन् ।

बुधबार नेपाल विद्यार्थी संघको उपत्यकाका क्याम्पस इकाइहरुको संयुक्त कार्यक्रममा उनीहरुले पार्टीले केन्द्रीय समितिको निर्णय विपरीत केन्द्रबाटै गठबन्धन गरेको भन्दै असन्तुष्टि जनाए ।

कार्यक्रममा महामन्त्री थापाले नेता कोइरालालाई अर्को पार्टीको चुनाव चिह्नमा भोट हाल्नुपर्ने अवस्था आउनु विडम्बना भएको बताएका थिए ।

‘…अघि हामीले कानेखुशी गर्दै थियौँ गगनजीले मलाई भन्नुभयो दाइ, कस्तो बिडम्बना भयो हामीहरुलाई, हामीहरुले त अर्को पार्टीको छापमा स्वस्तिक चिह्न लगाउनुपर्ने भो’ शेखरले कार्यक्रममा भने । उनले यस्तो अवस्था किन आयो भन्ने विषयमा निर्वाचन पछि छलफल गर्ने बताए ।

३६ लाख नयाँ मतदाता थपिएको उल्लेख गर्दै नेता कोइरालाले नयाँ मतदातालाई कांग्रेस बनाउन नसकेमा कांग्रेस कमजोर हुने बताए । के कति कारणले कम्युनिस्टसँग मिल्नुपर्ने अवस्था आयो भन्ने विषयमा नेतृत्वले जवाफ दिनुपर्ने उनको भनाइ छ ।

‘आज के, कति कारणले, किन, हामीहरु कम्युनिष्टहरुसित मिलेर, गठबन्धन गरेर, अगाडि गइराख्या छौं ? के कारणले नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयलाई पन्छाएर शीर्ष नेताहरु गठबन्धनको बैठकमा निर्णयहरु गरेर जिल्ला–जिल्लामा पठाइरहनु भएको छ ? के हामी कमजोर छौं ? मलाई लाग्दैन नेपाली कांग्रेस कमजोर छ’ उनले भने ।

महामन्त्री गगन थापाले कांग्रेसले आफ्नै बलमा निर्वाचन लड्नुपर्ने पक्षमा रहेको बताए । केन्द्रीय समिति बैठकले तालमेल गर्ने अधिकार तल्लो तहलाई दिएको भए पनि नेतृत्वले केन्द्रीय समितिकै निर्णय अवज्ञा गरेर केन्द्रबाटै गठबन्धन गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?