+
+

मैले अप्ठ्यारो बाटो रोजें : बैंकर ढकाल

रोयल आचार्य रोयल आचार्य
२०७९ वैशाख २० गते ९:४४

२० वैशाख, काठमाडौं । महेश ढकाल, मुलुकको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंक हाँक्ने टिमका प्रमुख व्यक्तिमध्ये एक हुन् । बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका उनी वरीयताले कार्यकारी पदको दोस्रो तहका नेतृत्वकर्ता हुन् ।

उनले यसअघि मुलुककै जेठो बैंक नेपाल बैंक र तत्कालीन नेपाल कमर्ज एण्ड ट्रष्ट बैंकको कार्यवाहक कार्यकारी पदमा काम गरिसकेका छन् । मेगा बैंकमा पनि कार्यकारी पदमा ‘सेकेण्ड म्यान’का रुपमा समेत काम गरिसकेका ढकालसँग बैंकिङ क्षेत्रमा मात्रै २० वर्षको अनुभव छ । सरकारी बैंक, निजी बैंक, विकास बैंक र वाणिज्य बैंक सबैमा उनको कार्यानुभव छ ।

दिप्ती नारायण ढकालका छोरा महेशले स्याङ्जाको सदरमुकाममा रहेको त्रिभुवन आदर्श मावि विद्यालयबाट वि.सं. २०४७ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । उच्च शिक्षाका लागि भने गाउँमा क्याम्पस थिएनन् । उनी उच्च शिक्षाका लागि कास्की आए । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसबाट आइकम अध्ययन गरे ।

गाउँमा छँदा महेशको पढाइ मध्यमस्तरीय थियो, पीएन क्याम्पसमा भने उनले निकै मिहिनेत गरी पढे । आईकममा क्याम्पस टपर बने । बीकम (स्नातक तह) मा पनि उनी कलेजकै दोस्रो बने । स्नातकोत्तर तहमा कुन विषय पढ्ने भन्ने अन्योल थियो ।

आईकम र बिकममा राम्रो विद्यार्थी भएका कारण धेरैले उनलाई चार्टर्ड एकाउन्टेन्ट (सीए) पढ्न सुझाव दिएका थिए । तर उनलाई कता-कता शंका थियो, पास गर्न सकिन्छ त !

धेरैले सीए पढ्न सुझाए पनि उनले सहजै निर्णय लिन सकेनन् । के पढ्ने भन्ने निर्णय लिन नै उनलाई ३/४ महिना कुर्नुपर्यो । ‘स्याङ्जाकै एक जना दाइले सीए पढेर आउनु भएको थियो, उहाँसँग सल्लाह लिएँ,’ उनी सम्झन्छन्, ‘उहाँले पढ्न सकिने सल्लाह दिएपछि भने मैले पढ्ने निर्णय गरें ।’

सीए अध्ययनका लागि उनी भारतको दिल्ली पुगे । सन् १९९७ मा दिल्ली पुगेका उनी सन् २००० मा सिए फाइनलको परीक्षा दिएर नेपाल फर्किए ।

सन् २००१ देखि भने उनले जागिरे जीवन पनि सुरु गरे । करिअरको सुरुवातमा उनले एक हाइड्रो पावर कम्पनीमा पनि काम गरे । तर, पछि उनले नेपाल बैंकमा जागिरको अवसर पाए । कुरो सन् २००२ को हो, जतिबेला नेपाल बैंकमा विदेशी व्यवस्थापन आएको थियो । नेपाल बैंक समस्यामा परेपछि विदेशी व्यवस्थापनको जिम्मा लगाइएको थियो ।

त्यो टिममा बसेर उनले विदेशी व्यवस्थापनसँग काम गर्ने अवसर जुर्‍यो । त्यसबेला अमेरिकन सीईओ थिए । विदेशी व्यवस्थापनसँग बसेर निकै राम्रो काम सिक्ने अवसर पाएको उनी बताउँछन् । त्यसबेला सीए पढेका कमै हुन्थे । ढकालका अनुसार चार्टर्ड एकाउन्टेन्सी गरेपछि त्यसबेला सिधै उच्च तहमा अवसर पाइन्थ्यो । त्यो बेला सीए गरेकाहरुलाई १०औं तहमा चिफ म्यानेजरको रुपमा नेपाल बैंकले कर्मचारी मागेको थियो । २९ वषर्ीय ढकाल प्रतिस्पर्धा गर्दा छनोट पनि भए र उच्च तहमा जागिर खान थाले ।

त्यतिबेला उनले लोकसेवामार्फत नेपाल सरकारको सहसचिवमा सीधै प्रतिस्पर्धा गर्ने अवसर पनि थियो, तर उनले बैंकमै काम गर्ने निर्णय गरे ।

त्यसको करिब ४ वर्षपछि नेपाल बैंकमा विदेशी व्यवस्थापनको समयावधि सकियो । विदेशी व्यवस्थापन हुँदा नै नेपाल बैंकले स्वेच्छिक अवकास योजना ल्याएको थियो । उनका लागि एउटा निकै रमाइलो संयोग जुर्‍यो । धेरैले स्वेच्छिक अवकास रोजेर बैंकबाट बिदा भए । यसको फाइदा भने ढकाललाई पुग्यो ।

आफूभन्दा धेरै सिनियर कर्मचारीहरुले स्वेच्छिक अवकास योजनामा सहभागी हुँदा विदेशी व्यवस्थापनको समयावधि सकिएपछि ३३ वर्षको उमेरमा नै उनले बैंकको ‘व्यवस्थापन को-अर्डिनेटर’को रुपमा काम गर्न पाए । अर्थात् उनले केही समय कायम मुकायम (कामु) सीईओको रुपमा नै बैंक चलाउने अवसर पाए । त्यसपछि बैंकमा नेपाल राष्ट्र बैंकबाट टिम आयो । करिब ७ वर्ष उनले नेपाल बैंकमा बिताए ।

‘सेकेण्ड म्यानमा रहेको हुनाले नेपाल बैंक छाडौं कि नछाडौं भन्ने धेरै कन्फ्युजन भयो, केही व्यक्तिसँग मैले सल्लाह गरें,’ उनी सम्झन्छन्, ‘धेरैले नेपाल बैंकको जस्तो जागिर नछोड्न भनेका थिए, राष्ट्र बैंकमा एक जना दाइ जस्तो व्यक्ति हुनुहुन्थ्यो, उहाँले भने छाडे राम्रो हुन्छ भन्ने सल्लाह दिनु भएपछि मैले बैंक छाडें ।’

उमेरले ४० वर्ष पनि नपुगेका उनलाई अवसरहरु अरु पाउने सम्भावनाहरु प्रशस्त थिए । नेपाल बैंक सरकारी भएका कारण सेवा सुविधा धेरै थिएन । ‘भएको क्षमता देखाउन पनि गाह्रो थियो, कर्मचारी युनियनहरुको प्रभाव धेरै थियो,’ ढकाल भन्छन्, ‘छाड्ने निर्णय गर्न मलाई निकै गाह्रो भएको थियो, तर त्यसपछिको माथिल्लो तह सीईओ भएकाले इच्छा भएमा सीईओ बनेर पछि कुनै समयमा पुनः आउन पनि सकिन्छ भनेर म त्यहाँबाट बाहिरिएँ ।’

नेपाल बैंक छाडेर उनी तत्कालीन नेपाल कमर्ज एण्ड ट्रष्ट बैंकमा गए । तत्कालीन वाणिज्य बैंकको रुपमा रहेको कमर्ज एण्ड ट्रष्ट बैंकपछि ग्लोबल आइएमई बैंकमै मर्जर भएको थियो । कमर्ज एण्ड ट्रष्ट पछि उनी सिद्धार्थ डेभलपमेन्ट बैंक तथा टुरिजम डेभलपमेन्ट बैंकमा सीईओको रुपमा गए ।

सीईओको कार्यकालको अन्तिम समयमा टुरिजम बैंक मेगा बैंकमा मर्ज भयो । मेगा बैंकमा केही समय काम गरेपछि उनलाई ग्लोबल आइएमई बैंकमा अफर आयो । सिनियर डेपुटी सीईओको रुपमा ग्लोबल आइएमई बैंक पुगेका ढकालले करिव एक वर्ष कायम मुकायम सीईओको रुपमा बैंकको नेतृत्व समेत गरे ।

बैंकिङ करिअरमा सन्तुष्ट

सरकारी बैंक नेपाल बैंकको उच्च तहको जागिर छाड्दै गर्दा ढकालको मनमा अनेकन कुराहरु नउब्जिएका होइनन् । सरकारी जागिर आनन्दको थियो । जति अहिले उनले मिहिनेत गर्छन्, नेपाल बैंकमा त्यति नगरे पनि हुन्थ्यो होला । तर, उनले सरकारी बैंकको जागिर छाडेर निजी बैंकतर्फ पाइला अघि बढाए अर्थात् उनले सजिलो बाटो छाडेर अप्ठ्यारो बाटो रोजे ।

‘जहाँ अप्ठ्यारो त्यहीँ त छ सफलता, सफल हुनका लागि त मिहिनेत गर्नैपर्छ नि !’ ढकाल भन्छन्, ‘म सुरुको बैंकमै रहेको भए मैले मेरो क्षमता चाहे जति देखाउन सायदै सक्थें होला ।’ उनले बैंकिङ करिअर सुरु गरेकै दुई दशक पुगेको छ । पेशाबाट उनी सन्तुष्ट छन् । ‘जहाँ भइन्छ, त्यहाँ सन्तुष्ट हुन सक्नुपर्छ, सबै क्षेत्र राम्रै छ,’ उनी भन्छन् ।

कामकै सिलसिलामा कहिलेकाहिँ उनलाई लाग्छ, ‘बैंकिङ क्षेत्रमा केही जोखिमहरु अझै पनि छन् ।’ ऋण लगानीको मुद्दामा बैंकका सीईओ नै जेल गएका घटनाहरु पनि छन् ।

‘ऋण लगानीको सबै निर्णय गर्दा नेतृत्वलाई सधैं थाहा हुँदैन । बैंकका शाखाहरु देशभर छरिएका हुन्छन् । थाहा नभएका कुराहरुमा समेत नेतृत्व समस्यामा पर्न सक्ने, बदमासी एउटाले गर्ने र कोही अन्जानमा नै फस्ने जस्ता घटनाहरु हामीले देखेका छौं,’ उनी भन्छन्, ‘आफ्नो नियत सफा हुँदाहुँदै पनि समस्यामा पर्न सकिन्छ कि भन्ने लाग्छ, हाम्रा कानूनहरु पो सुधार्नु पर्छ कि जस्तो लाग्छ ।’

अर्थतन्त्रका सन्दर्भमा

कोरोना महामारी र रुस-युक्रेन युद्ध सुरु भएपछि अर्थतन्त्रसहित बैंकिङ क्षेत्रमा चुनौतीहरु थपिएका छन् । ढकालका अनुसार बैंकहरुले चाहे अनुसारको व्यवसाय गर्न सकेका छैनन् । लगानीयोग्य रकम अभावले ऋण लिन आएका ग्राहकहरुलाई फर्काउनु पर्ने बाध्यता छ । यस्तो समस्या कहिले समाधान हुन्छ भन्ने यकीन छैन ।

दुई वर्षदेखिको कोभिड महामारी, विदेशमा श्रम गर्न जानेहरुको संख्या र रेमिट्यान्सको आप्रवाहमा आएको कमी, सुस्ताएको आर्थिक गतिविधि, बढ्दो आयात जस्ता समस्याले सिर्जना गरेका समस्या लामो समयसम्म नरहने ढकालको विश्वास छ ।

‘आयात जब बढ्छ अनौपचारिक क्षेत्रमा पैसा गएको जस्तो देखिन्छ । आयात बढ्ने र रेमिट्यान्स घट्ने किन हुन्छ । यहाँ कतै पारदर्शी भएको छैन कि ?’ उनी भन्छन्, ‘अनौपचारिक ढंगबाट पैसा बाहिर गएको हो वा नेपाल नआईर् उतैबाट पैसा आयातका लागि गएको हो भन्ने शंका गर्न सक्ने ठाउँ देखाउँछ ।’

सरकार परिवर्तन भएर प्रतिस्थापन विधेयक ल्याउनुपर्ने अवस्थाले पनि अर्थतन्त्रलाई असर गरेको उनको ठम्याइ छ । सरकारको खर्च गर्ने गति रोकिने र सुस्ताउने गर्दा पुँजीगत खर्चहरु हुन नसकेको ढकालको विश्लेषण छ ।

‘बैंकबाट बाहिर गएको पैसा बैंकमा फर्किन समय लाग्यो । अनौपचारिक क्षेत्रमा बढी पैसा रह्यो कि भन्ने पनि छ । अहिले मात्रै होइन, यसअघि पनि हरेक वर्ष जस्तै लगानीयोग्य रकम (तरलता) समस्या देखिने गरेकै थियो,’ उनी भन्छन् । तर कोभिड पनि जोडिएकाले होला आफ्नो करिअरकै सबैभन्दा धेरै समस्या अहिले देखिएको ढकालले बताए ।

अहिले मुलुक स्थानीय तहको निर्वाचनमा होमिएको छ । यो चुनावले पनि अर्थतन्त्रलाई सकारात्मक नै असर गर्ने उनले बताए । रेमिट्यान्स भित्र्याउनका लागि भने सरकारले केही समयका लागि भए पनि विशेष अफरहरु ल्याउनु पर्ने ढकालको सुझाव छ ।
‘समस्या देखिएकै हो, तर अब दुई महिना जतिमा अर्थतन्त्र सुधार हुन्छ भन्ने लाग्छ, राष्ट्र बैंकले विभिन्न प्रयासहरु गरेको छ,’ उनले भने, ‘यो आर्थिक वर्षको अन्तिममा सुधार हुन्छ भन्ने लाग्छ ।’

टिमवर्कमा विश्वास

ग्लोबल बैंक ‘क’ वर्गको बैंकको रूपमा २००७ मा स्थापना भएको हो । त्यसबेला एक अर्ब रुपैयाँ चुक्ता पुँजी लिएर स्थापना भएको ग्लोबल बैंक अन्य संस्थालाई मर्ज गर्दै, पूँजी बढाउँदै अघि बढिरहेको थियो ।

अहिले भने धेरै सूचकका आधारमा देशको ठूलो वाणिज्य बैंक बन्न सफल बनेको छ, ग्लोबल आईएमई बैंक । स्थापनाको १५ वर्षमा यो बैंकमा आईएमई बाहेककै १७ संस्था विलय भइसकेका छन् । देशको ठूलो वाणिज्य बैंक ग्लोबल आइएमई बन्नुअघि दुई वाणिज्य बैंकसहित १७ बैंक तथा वित्तीय संस्थाको अस्तित्व यसले आफूमा समाहित गरेको छ । कमर्ज एण्ड ट्रष्ट बैंक र जनता बैंक यसमा गाभिए । बाँकी १५ वटा विकास बैंक तथा फाइनान्स कम्पनी यसमा विलय भए ।

गुल्मी विकास बैंक, सोसल डेभलपमेन्ट बैंक, रिलायबल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, कन्जुमर डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक यसमा मिसिएका छन् । यस्तै, ब्राइट डेभलपमेन्ट, पब्लिक डेभलपमेन्ट र सिद्धार्थ डेभलपमेन्ट बैंक पनि ग्लोबलमा मिलेका छन् । आईएमई फाइनान्स, लर्ड बुद्ध फाइनान्स, हाथ वे फाइनान्स, शुभलक्ष्मी फाइनान्स र नेपाल आवास फाइनान्स पनि ग्लोबलमा अटाएका छन् । १८ वटा बैंक तथा वित्तीय संस्थाको संगम बनेको ग्लोबल आइएमई बैैंकको वित्तीय अवस्था पनि राम्रो छ ।

ग्लोबल आइएमई बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकले अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी ३ अर्ब ७२ करोड ६२ लाख रूपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिमा ३ अर्ब ५७ करोड ८२ लाख खुद नाफा गरेको थियो ।

बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ४.१३ प्रतिशतले बढेको हो । बैंकको खुद व्याज आम्दानी ७ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ९१ लाख रुपैयाँ छ । बैंकको यो सफलतासँग बैंकका हरेक कर्मचारी र सबै ग्राहकहरुको भूमिका महत्वपूर्ण रहेको ढकाल बताउँछन् । ‘हामी अहिले जुन स्थानमा छौं, यसमा हाम्रा विभिन्न शाखामा छरिएर रहनु भएका सबै स्टाफ र हाम्रा ग्राहकहरुका कारण हो,’ उनी भन्छन्, ‘टिमवर्कले संस्था बलियो बनेको हो ।’

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?