+
+

सकसमा अर्थतन्त्र : घटेन विदेशी मुद्रा सञ्चितीमाथिको खतरा 

शोधनान्तर र रेमिट्यान्स ऋणात्मक अवस्थामै, सुधारका सरकारी कदम निष्प्रभावी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते २१:३५

२८ वैशाख, काठमाडौं । अहिले सरकार र केन्द्रीय बैंक विदेशी मुद्राको सञ्चिति जोगाउँदै त्यसको भण्डार बढाउने रणनीतिसहित काम गरिरहेका छन् । त्यसकै लागि चैतसम्म चालिएका नीतिगत कदमहरुले विदेशी मुद्राको सञ्चितिमा गइरहेको ‘पहिरो’ केही थामिएको त छ, तर संकट भने टरिनसकेको देखिएको छ ।

आयात घटाउन र रेमिट्यान्सको आप्रवाह बढाउन सके शोधनान्तर घाटा पनि बचततर्फ उन्मुख हुने तथा विदेशी मुद्राको सञ्चिति पनि बढ्ने सरकारी अपेक्षा छ । त्यसैअनुसार आयात निरुत्साहनका लागि नगद मार्जिन मात्रै नभएर चैत महिनामा एलसी रोक्नेसम्मका अभ्यास भएका थिए । तर, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैत महिनाको तथ्यांकले अर्थतन्त्रमाथि परिरहेको वाह्य क्षेत्रको दबाव कम नभएको देखाएको छ ।

सरकारले चालेका २ दिने साप्ताहिक विदासहित सरकारी निकायको इन्धन खर्च कटौतीसम्मका निर्णयको प्रभाव आगामी महिनाहरुमा कस्तो देखिन्छन् भन्ने स्पष्ट छैन । तर, चैतसम्मका सरकारी प्रयत्नहरूले संकट हटाउन भन्दा पनि रोक्न मात्रै काम गरेको देखिएको छ ।

सरकारको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को ९ महिना (साउन-चैत)सम्म आइपुग्दा व्यापार घाटाको आकडा १३ खर्ब ६ अर्बभन्दा माथि पुगिसकेको छ । जबकी २०७७ चैतसम्म ११ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

गत चैत महिनामा मात्र १ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको आयात भएको थयो । चैतससम्ममा कुल वस्तु आयात १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ बराबरको भएको छ । सोही अवधिमा निर्यात भने मात्र १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ बराबरको भएको छ । नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.१३ प्रतिशत र निर्यातको हिस्सा ९.८७ प्रतिशत रहेको छ । निर्यातको हिस्सा बढेपनि आयातको तुलनामा नगण्य छ ।

माघ महिनासम्म ४२.७८ प्रतिशतले बढेको आयातको दर चैतमा आइपुग्दा ३१.९७ प्रतिशतमा झरे पनि ठूलो दरको आयातका कारण सरकारी प्रयासहरु प्रभावकारी देखिन सकेको छैन  ।

सरकारले आयात निरुत्साहनका लागि चैत महिनाबाटै बिलासी वस्तुको आयातको एलसी नखोल्न बैंकहरुलाई निर्देशन दिएको थियो । आयात निरुत्साहन गर्न विभिन्न वस्तुमा एलसी खोल्दा नगद मार्जिन राख्ने व्यवस्था पनि त्यसअघि नै गरिएको नै थियो ।

तर, पनि चैतमा  सरकारको अपेक्षाअनुसार आयातको दर घट्न सकेन । जसले विदेशी मुद्राको सञ्चितिमाथिको दबाव कम हुन पाएन । विदेशी मुद्राको सञ्चिति बढाउन मुख्य भूमिका खेल्ने रेटि्यान्सको वृद्धिदर अझै गत वर्षको तुलनामा ऋणात्मक छ । पछिल्ला महिनामा केही सुध्रिएपनि रेमिट्यान्समार्फ बढ्दो आयात धान्ने गरी विदेशी मुद्रा भित्रिएको छैन ।

राष्ट्र बैंकका गभर्नर अधिकारीले पनि ११ खर्बसम्म रेमिट्यान्स आउने र करिब २ खर्बको निर्यात हुने अवस्थामा आयातका लागि करिब ९-१० खर्ब रुपैयाँको विदेशी मुद्राको सञ्चितिमा अन्तर बस्ने अवस्था आएको बताउँदै आएका छन् । गत हप्ता काठमाडौंमा भएको एक सार्वजनिक कार्यक्रममा उनले उनले विश्वव्यापी रुपमा भएको मूल्यवृद्धि र इन्धनको मूल्यामा आएको वृद्धिले महँगी र आयात बढ्ने अवस्था आएको बताएका थिए ।

‘आजलाई भोलिलाई चिन्ता हो । रातारात आयात बढाउने आधार बनाएको छैनौं,’ उनले भनेका थिए ,’हिजोको विदेशी मुद्रा सञ्चिति छ, त्यहीबाट धानरहेका छौं, सजग हुनुछ, सतर्क हुनुछ ।’ उनले विदेशी मुद्राको स्रोतमा रहेको वाषिर्क ९-१० खर्बको खाडलबारे भोलिका लागि सोच्नैपर्ने बताएका थिए ।

‘अहिले त विदेशी मुद्राको सञ्चिति प्रयोग गरौं, रिजर्भ निराशाजनक छैन,’ गभर्नर अधिकारीले भनेका थिए,’आयात बढेको बढ्यै गर्दा सञ्चिति पर्याप्तता सूचकमा अप्ठेरो परेको हो । त्यसलाई ठाउँमा राख्न पायौं भने विदेशी मुद्राको स्रोत बढाउने र आयात घटाउने गरी सोच्यौं भने पक्कै ठाउँमा पुग्छौं ।’

शोधनान्तर घाटामा रेकर्ड

तर, कुराअनुसार काम भएको छैन ।  सरकारले आयात कम हुने र विदेशी मुद्रा सञ्चिति बढ्ने गरी चालेका कदमहरु पनि अहिलेसम्म प्रभावकारी नभएको तथ्यांकले देखाएको छ ।  चालु आर्थिक वर्षको ९ महिना (चैत)सम्म पनि अर्थतन्त्रको बाह्य क्षेत्रको दवाव कायमै छ । नेपाल भित्रिने भन्दा बाहिरिने रकमको मात्रा उच्च हुँदा शोधानान्तर घाटा इतिहासकै उच्च विन्दुमा पुगेको छ । चैत महिनासम्मको तथ्यांकअनुसार रेमिट्यान्सको आप्रवाहमा केही सुधार भएपनि आयात उच्च रहेकाले विदेशी मुद्राको सञ्चिति जोगाउने सरकारी लक्ष्य पुरा भएको छैन ।

नेपाल राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको ९ महिनासम्म शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले रुपैयाँले घाटामा छ । यो नेपाली अर्थतन्त्रको इतिहासमै ठूलो घाटा हो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको छ ।

चैतसम्म चालु खाता ५ खर्ब १२ अर्ब ७१ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब १० अर्ब ५१ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब २८ करोडले घाटामा छ ।

एक मुलुकले अर्को मुलुकसँग मौद्रिक कारोबार गर्न सरकारसँग चालु, पूँजीगत र वित्तीय खाता रहेका हुन्छन् । मुलुकको चालु आय र व्ययको विवरण देखाउने खाता नै चालु खाता हो । यो खातामा वस्तु आयात/निर्यात, सेवा आयात/निर्यात, रेमिट्यान्ससहितका रकम ट्रान्सफर भएको रकमसहित मुलुकलाई प्राप्त आय र व्यय दुवैको हिसाब राखिन्छ ।

शोधनान्तर अवस्था चालु खाताभित्रकै एक पक्ष हो । नेपाल भित्रने रकम र नेपालबाट बाहिरिने रकमबीचको अन्तर नै शोधनान्तर स्थिति हो । शोधनान्तर स्थिति घाटामा जानुको मतलव नेपालबाट बढी रकम विदेशिएको छ । त्यसको तुलनामा कम रकम नेपाल आइरहेको छ । बढ्दो आयात र कम निर्यातका कारण यस्तो अवस्था आउने गर्छ ।

विदेशी मुद्रा भण्डारमा खतरा कायमै

सरकारले आयात निरुत्साहनका लागि अनेकौं प्रयास गरे पनि विदेशी मुद्रााको सञ्चिति थप खिइँदै गएको देखिएको छ । चैत महिनामा मात्रै विदेशी मुद्राको सञ्चिति २ अर्ब ८ करोड रुपैयाँले घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा आइपुग्दा विदेशी मुद्राको सञ्चिति ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ बराबरको देखिएको छ । अघिल्लो महिना फागुनसम्म ११ खर्ब ७० अर्ब रुपैयाँको विदेशी मुद्रा सञ्चिति थियो ।

विदेशी मुद्रा पछिल्लो समय लगातार घट्दो क्रममा छ । यद्यपि, घट्ने दरमा भने केही कमी आएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आएर २०७८ चैत्र मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १८.२ प्रतिशतले कमी आई ९ अर्ब ६१ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १७.९ प्रतिशतले कमी आई १० खर्ब २१ अर्ब ४५ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति भने १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा चैत्र मसान्तमा ५.१ प्रतिशतले घटेर १ खर्ब ४६ अर्ब ४८ करोड कायम भएको छ । २०७८ चैत्र मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले बताएको छ ।

रेमिट्यान्स ऋणात्मक अवस्थामै

चैतमा रेमिट्यान्स आउने क्रममा सुधार देखिए पनि वृद्धिदर ऋणात्मक अवस्थामा पुगिसकेको छैन । चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै लगातारजसो रेमिट्यान्स आउने क्रममा गिरावट देखिएको थियो । पछिल्लो पटक फागुन महिनामा केही सुधार भएको रेमिट्यान्स आप्रवाहमा चैतमा पनि सुधार भएको छ ।

तर, समीक्षा अवधिमा अझै पनि रेमिट्यान्स गतवर्षको तहमा अर्थात् धनात्मक अवस्थामा पुगिसकेको छैन ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैतमा मात्रै विदेशबाट ९३ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत फागुन महिनामा ९२ अर्ब रुपैयाँमात्रै रेमिट्यान्स भित्रिएको थियो ।

वाषिर्क विन्दुगत आधारमा भने रेमिट्यान्स घटेको छ । ९ महिनाको अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आई ७ खर्ब २४ अर्ब ७४ करोड कायम भएको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख ५६ हजार ०३१ पुगेको छ ।

अघिल्लो वर्षको यस्तै अवधिमा यस्तो संख्या ७४.९ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई २ लाख ६ हजार ६२९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो । रेमिट्यान्स बढाउने सरकारी योजना पनि  अहिलेसम्म गफमै सीमित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?