+
+

हुम्लामा डाक्टरसमेत निर्वाचनमा खटिए, प्रयोगशाला सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते १८:५४

२९ वैशाख, सिमकोट । स्वास्थ्यकर्मीसमेत निर्वाचनमा खटिँदा हुम्ला जिल्ला अस्पतालको सेवा प्रभावित भएको छ । एक चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मी ३० वैशाखको निर्वाचनका लागि विभिन्न मतदान केन्द्रमा खटिएका छन् ।

जिल्ला अस्पतालका चिकित्सक डा. कैलाश लामा नाम्खा गाउँपालिका– १ हेप्का मतदान केन्द्रमा निर्वाचन अधिकृत भएर खटिएका छन् ।

अस्पतालकी सिनियर अनमी सरिता बोहरा नाम्खा गाउँपालिका–३ को खगालगाउँमा मतदान अधिकृत भएर खटिएकी छन् ।

हेल्थ असिस्टेन्ट प्रेम भण्डारी हेप्का, प्रजित भण्डारी मेल्छाम, स्टाफ नर्स अञ्जु मल्ल डाडाँफाया, सुर्ति रोकाय, सिमकोट, पूजा चन्द, छिप्रा, निकिता बिसी, लालीस्थित मतदान केन्द्रमा खटिएका छन् ।

जिल्ला अस्पताल हुम्लामा तीन जना मेडिकल अफिसर, एक जना डेण्टल डाक्टर, दुई जना पारामेडिक्स कर्मचारी र पाँच जना नर्सिङ स्टाफ मात्रै रहेका छन् ।

प्रयोगशालामा काम गर्ने ७ जना कर्मचारी पनि निर्वाचनमा खटिएपछि प्रयोगशाला सेवा बन्द भएको छ । चार दिनदेखि अस्पतालको प्रयोगशाला बन्द भएपछि बिरामी समस्यामा परेका छन् ।

प्रयोगशालामा काम गर्ने स्वास्थयकर्मी भक्ति फडेरा रोडिकोट, रवीन्द्र देवकोटा, अदानचुली, सुनिता तामाङ बराई र शोभा रोकाया सर्केगार्ड, रामराज शाही ताजाँकोट, बलिराज भण्डारी लिमी, र दिपेन्द्र शाही सर्केगार्डमा मतदान गराउन खटिएका छन् ।

अस्पतालमा दैनिक २० जनासम्म बिरामी प्रयोगशाला सेवा लिन आउने गरेका छन् । स्वास्थ्यकर्मीसमेत निर्वाचनमा खटिएपछि अस्पतालले आकस्मिक सेवामात्र दिँदै आएको छ ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले स्वास्थ्यको कर्मचारी नखटाउन भने पनि निर्वाचन अधिकृतको कार्यालयले खटाएको गुनासो गरे । ‘नखटाउनु भनेको, कर्मचारी नपुगेर हो वा के भएर हो, खटाएछन्, दुई–तीन दिनलाई ग्याप भइहाल्यो’ उनले भने ।

प्रयोगशालाका सबै कर्मचारी चुनावमा खटिएको उनले स्वीकार गरे । एक जना नजिकैको केन्द्रमा खटिएकाले आकस्मिक काम नरोकिने सिंहले दावी गरे ।

निर्वाचनको पर्यवेक्षण गर्न हुम्ला आएका राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त सुदीप पाठकले स्वास्थ्य जस्तो अतिसंवेदनशील क्षेत्रका कर्मचारीलाई निर्वाचनमा खटाउनु बेठीक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?