+
+
कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतसँग अन्तर्वार्ता :

‘टिकट नपाएपछि अन्तर्घात गर्नेको रिपोर्ट जिल्ला-जिल्लाबाट आएको छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १८:१३

२ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मत गणनामा नेपाली कांग्रेस पहिलो स्थानमा देखिएको छ । अन्तिम नतिजा आएका पालिका र अग्रता लिइरहेको स्थानलाई आधार मान्दा निर्वाचनमा कांग्रेस पहिलो दल हुने संकेत देखिएको छ ।

सत्ता गठबन्धनका दलहरु तालमेल गरेर निर्वाचनमा सहभागी भएका थिए । गठबन्धनको बलले कांग्रेस पहिलो दल बन्न लागेको, तर तालमेलको मूल मर्म कांग्रेसले अंगीकार नगरेको सहयात्री अरु दलका नेताले आरोप लगाउन थालिसकेका छन् ।

जारी मत परिणाममा कांग्रेसको बुझाइ, सत्ताघटक अन्य दलको असन्तुष्टि तथा गठबन्धनको भावी अवस्थाबारे कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतसँग अनलाइनखबरकर्मी लिलु डुम्रेले गरेको कुराकानी :

स्थानीय तहको मत परिणाम आएका स्थान र अग्रतामा पनि कांग्रेस अघि देखिएको छ । अपेक्षाकृत सफलता नै हो कि योभन्दा बढी आँकलन गर्नुभएको थियो ?

अग्रता भएका सबै स्थान हेर्दा नेपाली कांग्रेसको पक्षमा जनमत देखियो । समग्रमा गठबन्धनको पक्षमा पनि मत देखिएको छ ।

कांग्रेस सबैभन्दा ठूलो दल हुने र एमाले भन्दा अघि हुने त हामीलाई लागेकै थियो । हामीलाई सोचे अनुसारकै नतिजा आएको छ । कतिपय ठाउँमा अन्तर्घात पनि देखिएको छ । तालमेलका कारण असन्तुष्टि पनि भएकाले परिणाममा थोरै तलमाथि हुनसक्छ । तर समग्रमा कांग्रेस र गठबन्धनको पक्षमा परिणाम आएको छ । सन्तोषजनक परिणाम कांग्रेसका लागि आएको छ ।

जहाँ तालमेल भएको छ, त्यहाँ कांग्रेस इमान्दार देखिएको छ । तालमेलको भावना ग्रासरुटमा प्रवाह हुन समस्या पनि भयो होला । मतपत्रमा तालमेल गरेका दलको चिन्ह खोज्नुपर्ने अन्योल पनि थियो ।

तपाईंहरुको अपेक्षा एमालेभन्दा धेरै अघि नै हुन्छौं भन्ने थियो ?

अन्तर त अग्रतामा निकै फरक परिसकेकै छ नि । हामी दुई सय भन्दा माथिमा अग्रता लिइरहेका छौं । उहाँहरु (नेकपा एमाले) १४० को वरपरमा अघि देखिनुभएको छ । त्यसबाट पनि धेरै अन्तर हुने देखिन्छ नि । गठबन्धनमा माओवादी केन्द्रले निकै राम्रो परिणाम ल्याएको छ ।

गठबन्धनका अरु दलले पनि राम्रो नतिजा ल्याएको तपाईं भनिरहनुभएको छ । तर गठबन्धनका अन्य दलले कांग्रेसले मत दिएन भन्ने आरोप लगाउन थालेका छन् नि ?

विल्कुलै त्यो होइन । तालमेलको कहाँ कहाँ गर्ने अन्तिम समयमा निर्णय भयो । नामावली फिर्ता लिने समय सकिएपछि पनि समर्थन गरेको विज्ञप्ति मार्फत फलानो दललाई समर्थन गर्ने भन्ने कुराहरु आए । एक प्रकारको लयमा गएको निर्वाचन प्रक्रियालाई अर्कोतिर लानुपर्ने पनि भयो । त्यस्तो हुँदा जुनसुकै दलमा कठिनाइ आउनु स्वभाविक हो । ती कारण केही ठाउँमा समस्या आएको थियो ।

कांग्रेसको जनाधार धेरै छ । आफ्नै जनाधार भएको स्थानमा किन अरु दललाई दिइयो भनी स्थानीय तहबाट गुनासा आएका थिए । त्यसले पनि परिणाममा केही फरक पारेको छ । राष्ट्रिय हितका लागि वृहत्तर रुपमा हामीले सोचेर तालमेल गरेका हौं । तालमेल भएका अधिकांश ठाउँमा साथीहरुले मनन् पनि गर्नुभएको छ । समयमा निर्णय नहुँदा केही ठाउँमा सामञ्जस्यता हुन सकेन । यो समस्या कांग्रेसमा मात्रै होइन, अरु दलमा पनि थियो । केही ठाउँमा समस्या भएको छ । समग्र तस्वीर हामीले हेर्नुपर्‍यो । वृहत्तर तस्वीर हेर्दाखेरि एकअर्कालाई सहयोग गरकै हामीले पाएका छौं ।

गठबन्धनका अरु दलको सहयोगबाट कांग्रेसले सिट बढाउने भयो । तर कांग्रेसले त्यही अनुपातमा अरु दललाई सहयोग गरेन भनी गुनासो सुनिन थालेको विषयमा के भन्नुहुन्छ ?

मलाई त्यस्तो लाग्दैन । धेरै स्थानमा त हामी आफू-आफू मित्रवत् प्रतिस्पर्धामा छौं । गठबन्धनले तालमेल सबै ठाउँमा गरेको छैन । तालमेल धेरै कम ठाउँमा भएको छ ।

जहाँ तालमेल भएको छ, त्यहाँ कांग्रेस इमान्दार देखिएको छ । तालमेलको भावना ग्रासरुटमा प्रवाह हुन समस्या पनि भयो होला । मतपत्रमा तालमेल गरेका दलको चिन्ह खोज्नुपर्ने अन्योल पनि थियो । हामीले अरु दललाई मत दिने, तर अरुले हामीलाई दिनेमा कहीं कहीं समस्या देखिएको छ ।

गठबन्धनका अन्य दलले अपेक्षा गरे अनुसार तालमेलबाट परिणाम आएन भने सत्ता गठबन्धन नै धरापमा पर्छ कि भन्ने बुझाइ पनि छ । यसैकारण गठबन्धनमा संकट त आउँदैन ?

माओवादी केन्द्रको राम्रो परिणाम आएको छ । एकअर्काले सहयोग नगरेको भए उहाँहरुको पनि त्यति परिणाम आउने थिएन । माधवजी (एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल)को पार्टी संगठन विस्तार नै भर्खर हुँदैछ । त्यसले गर्दा उहाँहरुको सिट नआउनु उहाँहरुको समस्या हो, हाम्रो कारणले होइन । पार्टी निर्माणको समस्या माधवजीहरुलाई यतिबेला छ ।

देशव्यापी रुपमा उहाँहरुले पार्टीको स्वरुप नै दिन सक्नुभएको छैन । छोटो समयमा पार्टी निर्माण तथा संगठन विस्तार देशभर सम्भव पनि थिएन । समग्र संरचना खडा गर्नु सजिलो कुरा थिएन । त्यसले गर्दा उहाँलाई केही अप्ठ्यारो पक्कै परेको छ । हाम्रो कारणले भन्दा पनि उहाँहरुको आफ्नै समस्याले परिणाम सोचे जस्तो नआएको हो ।

स्थानीय तहको निर्वाचनको मत परिणामकै कारणले गठबन्धनमा समस्या आउने म देख्दिन । जहाँ सघाउनुपर्ने हो हामीले इमान्दारिताले सहयोग गरेका छौं । गठबन्धन बचाउन प्रतिवद्ध छौं ।

विगतका निर्वाचन हेर्दा कांग्रेसकै कार्यकर्ताले आफ्नै उम्मेदवारलाई अन्तर्घात गरेर पराजित भएको सुनिंदै आएको हो । यसपटक अन्तर्घात भएको स्थानको पहिचान गरिसक्नुभएको छ ?

निर्वाचन भएको दिनमा ओलीजीले एकदमै राम्रोसँग चुनाव भयो भनेर उहाँले नै धन्यवाद दिनुभएको थियो । परिणाम उहाँहरुको अनुकूल नआएपछि धाँधली भयो, सरकारले यसो गर्‍यो, उसो गर्‍यो भन्नुभएको छ । आफ्नै कुरोमा विरोधाभास छ ।

आफूबीचको समस्या अहिले पनि छ । आफूले टिकट नपाउने बित्तिकै असहयोग भएको कतिपय ठाउँ छन् । यही काठमाडौंमा पनि देखिरहेको छु । जिल्ला-जिल्लाबाट पनि अन्तर्घात गरेको रिपोर्ट आइरहेका छन् ।

गठबन्धनको कारण मात्रै समस्या होइन । आफ्नै दलभित्र पनि एकअर्कालाई स्वीकार नगर्ने प्रवृत्ति अझै विद्यमान छ । धेरै असन्तुष्टि त हामीले उम्मेदवार चयन गर्दा नै समाधान गरेका थियौं । कतिपय ठाउँमा विद्रोह नै गरेर निर्वाचन लडे । विद्रोह नगरेका ठाउँमा पनि भित्रभित्रै असहयोग गरेको प्रशस्त उदाहरण छन् ।

सबैले चासोपूर्वक हेरेको काठमाडौं महानगरको जुन तरिकाले मत परिणाम आइरहेको छ । कांग्रेस उम्मेदवार सुरुदेखि नै तेस्रो स्थानमा हुनुहुन्छ । कांग्रेसले जित निकाल्न सक्दैन भनी प्रक्षेपण भइरहेका छन् । यसलाई स्वीकार्नु हुन्छ ?

महानगरपालिका बाहेकका जति पनि उपमहानगरपालिका र नगरपालिका छन्, तिनीहरुमा शतप्रतिशत गठबन्धनको पक्षमा आउन पनि सक्छ ।

काठमाडौंमा लाखौं मतदाता भएको ठाउँ हो । धेरै मत गणना हुनै बाँकी छ । अहिले आएकै मतको आधार बनाएर निष्कर्षमा पुग्न सकिंदैन । सहरको भित्री वडाको मतगणना अझै सुरु भएको छैन । काठमाडौं महानगरपालिकामा हामी अझै आशावादी छौं ।

निर्वाचन सकिएको तीन दिनपछि प्रमुख प्रतिपक्ष दल एमालेले चुनावमा धाँधली र आर्थिक चलखेल भएको सत्ता पक्षलाई आरोप लगाएको छ । एमालेको आरोपबारे सत्ताघटकको प्रमुख दलको नाताले के भन्नुहुन्छ ?

निर्वाचन भएको दिनमा ओलीजीले एकदमै राम्रोसँग चुनाव भयो भनेर उहाँले नै धन्यवाद दिनुभएको थियो । परिणाम उहाँहरुको अनुकूल नआएपछि धाँधली भयो, सरकारले यसो गर्‍यो, उसो गर्‍यो भन्नुभएको छ । आफ्नै कुरोमा विरोधाभास छ ।

नतिजा आफ्नो पक्षमा नआएपछि उहाँहरुले यस्ता अभिव्यक्ति दिनुभएको हो । धाँधली भएको भन्नुमा कुनै आधार छैन । कांग्रेसले निर्वाचन गर्दा जहिले पनि सबै पार्टी ढुक्क हुन्छन् । कांग्रेसले धाँधली र बदमासी गर्न जान्दै जान्दैन । धाँधली गर्ने कांग्रेसको मानसिकतामै आउँदैन । कांग्रेसले गरेकै निर्वाचनबाट बहुमत पाएर उहाँ सत्तामा जानुभएको होइन ? स्थानीय तहको निर्वाचन पनि कांग्रेसको नेतृत्वमा भएको छ । एमालेको नेतृत्वमा चुनाव भएको भए पुलिस प्रशासनमा कत्रो ठूलो चलखेल भइसक्थ्यो । एउटा मात्रै लक्ष्य राखेर शरम नमानी हाम्रो पक्षमा नतिजा आउनुपर्‍यो भनेर लाग्नुहुन्थ्यो । सामदाम दण्डभेद सबै गर्नुहुन्थ्यो ।

कांग्रेस धाँधलीमा विश्वास गर्दैन । सबै मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई निर्धक्क भोट दिन पाउँछन् । कांग्रेस नेतृत्वको सरकारले निर्धक्क भएर मतदान गर्ने अवसर जनतालाई दिएको छ ।

तपाईंहरु विजयी भएका केही स्थान यसपटक एमालेले खोसेको छ । आफू विजयी भएको ठाउँ बचाउन नसक्नु कांग्रेसले नेतृत्व गरेका ती स्थानीय तहका सरकार प्रभावकारी नभएर त होला नि ?

एकाध ठाउँमा त्यस्तो भयो होला । एमालेले जितेका ठाउँमा पनि हामीले जितेका छौं, अरु पनि जित्छौं । हामीले जितेको ठाउँमा शतप्रतिशत कांग्रेसले नै जित्छ भन्ने पनि हुँदैन । विविध परिवेशले पनि मत परिणाम फरक आउनसक्छ । त्यसमा आन्तरिक तथा बाह्य कारण पनि हुन्छ ।

पहिले जितेको धेरै ठाउँमा हामीले नै जित्छौं । कांग्रेसले नजितेका ठाउँमा त अझ धेरै जित्छौं । समग्रमा हामीले धेरै जित्नेमा ढुक्क छौं ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?