+
+

हिमाली क्षेत्रका विद्यालयमा आइतबार बिदा असम्भव !

नुनुता राई नुनुता राई
२०७९ जेठ ५ गते २०:३२
फाइल तस्वीर

५ जेठ, काठमाडौं । सरकारले हप्ताको दुई दिन बिदा दिने निर्णय हिमाली भेगका विद्यालयमा लागु गर्न सम्भव नहुने शिक्षक तथा कर्मचारीहरुले बताएका छन् ।

मुगु र कालीकोट जिल्लाको केही क्षेत्र र हुम्ला, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङ जिल्लामा हिउँदमा हिमपातका कारण विद्यालयमा प्रतिकूल प्रभाव पर्ने भएकाले पुस र माघ महिनामा विद्यालय बन्द हुने गर्छ । त्यसैले यी क्षेत्रका विद्यालयमा फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरु भई मंसिरमा सकिने गर्छ ।

तर कोरोना महामारीका कारण पठनपाठनमा असर परेकाले शैक्षिक सत्र २०७७ देखि सबैतिर एउटै समयमा शैक्षिक सत्र अन्त्य र सुरु गर्ने शिक्षा मन्त्रालयले निर्णय गरेको थियो ।

पुस र माघ दुई महिना विद्यालय बन्द हुने र त्यसमा पनि हरेक आइतबार बिदा थप्दा पढाइ हुने दिन घट्ने डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानु गुरुङ बताउँछन् ।

‘हाम्रोमा पुस र माघमा विद्यालय खोल्न सकिने अवस्था हुँदैन । आइतबार पनि बिदा दिंदा कार्यघण्टा पूरा हुँदैन त्यसैले लागु गर्न सम्भव छैन,’ उनले भने । अहिले पालिकाले निर्णय गरिनसकेको, तर बिदा नदिने गरी नै निर्णय हुने उनको भनाइ छ ।

सरकारले कार्यघण्टा पूरा नभएको अवस्थामा पालिकाले अनुकूलतामा विद्यालय खोल्न सक्ने अधिकार दिएकाले त्यही अधिकारमा रहेर निर्णय हुने उनले बताए । स्थानीय तहको निर्वाचनको कारण निर्णय गर्न ढिलाइ भएको र अब तत्काल सम्बन्धित सरोकारवालाको बैठक बसेर निर्णय गर्ने बताए ।

यता मुस्ताङको थसाङ गाउँपालिकामा पनि आइतबार बिदा दिंदा कार्यघण्टा पूरा नहुने भएकाले बैठक बसेर निर्णय गर्ने पालिकाका शिक्षा प्रमुख नरेन्द्रबहादुर क्षेत्रीले बताए । निर्वाचनमा खटिनुपरेकाले निर्णय गर्न ढिलाइ भएको र अब बैठक बसेर सबैको सुझाव अनुसार निर्णय गर्ने बताए ।

धादिङको नीलकण्ठ नगरपालिकामा पनि विद्यालयहरुले कार्यघण्टा पूरा गर्न गाह्रो हुने गुनासो गरिरहेको पालिकाको शिक्षा शाखा स्रोत व्यक्ति मेघनाथ कोइरालाले बताए । ‘सरकारले गरेको निर्णय अनुसार विद्यालय बिदा दिंदा कार्यभार पुर्‍याउन गाह्रो हुन्छ भन्ने आइरहेको छ । तर अहिले जनप्रतिनिधि पनि नभएकोले सरकारको निर्णयलाई नै कार्यान्वयन गरौं । बाँकी जनप्रतिनिधि आएपछि सबै बसेर उचित निर्णय गरौंला भनेका छौं,’ उनले भने ।

विद्यालयहरुले भने जस्तै समस्या हुने भयो भने सरकारले पालिकालाई दिएको अधिकार उपयोग गर्दै बिदा कटाउने गरी निर्णय हुनसक्ने उनले बताए ।

शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रमा २२० दिन विद्यालय खुल्नुपर्ने र १८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ । त्यस्तै एक शैक्षिक सत्रमा एक हजार २४ घण्टा पाठ्यभार हुनुपर्ने व्यवस्था छ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?