+
+
कभर स्टोरी :

मुटु, दम, किड्नी र क्यान्सर : मुलुकमा नसर्ने रोगको सुषुप्त महामारी

नेपालीले भोगिरहेका प्रमुख स्वास्थ्य समस्या थाहा पाउन हामीले सर्वसाधारण बिरामीको चाप हुने वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएको एक वर्षमा उपचार गर्न गएका करिब ६० हजार बिरामीको तथ्यांक केलाएका छौं ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ जेठ ६ गते १६:३३

६ जेठ, काठमाडौं । जनस्वास्थ्यविद् र उपचारमा संलग्न चिकित्सकहरूका अनुसार, पछिल्ला केही वर्षयता नेपालमा परम्परागत सरुवा रोगहरूबाट भन्दा नसर्ने प्रकृतिका रोगबाट प्रभावितहरूको संख्या उकालो लाग्न थालेको छ । जसले हाम्रो जनस्वास्थ्य प्रणालीलाई नै चुनौती दिंदैछ ।

नेपालीले भोगिरहेका प्रमुख स्वास्थ्य समस्या थाहा पाउन हामीले सर्वसाधारण बिरामीको चाप हुने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल), त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, शिक्षण अस्पताल महाराजगञ्ज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएको एक वर्षमा उपचार गर्न गएका करिब ६० हजार बिरामीको तथ्यांक केलाएका छौं ।

विवरणहरूले ठूलो संख्यामा निमोनिया भएर सर्वसाधारण अस्पताल जाने गरेको देखायो । दोस्रोमा उच्च रक्तचाप, तेस्रोमा श्वास-प्रश्वास समस्या भएका बिरामीहरू देखिए । त्यसपछि, क्रमशः मिर्गाैला र पिसाबसम्बन्धी समस्या, पित्तथैलीको पत्थरी, आमाशय तथा आन्द्राको संक्रमण जस्ता समस्या लिएर अस्पताल जाने धेरै देखिए । ६० हजार बिरामीको विवरणबाट उच्च संख्याका १० वटा रोग पहिचान गर्दा निमोनियाबाहेक बाँकी सबै नसर्ने प्रकृतिका रोग भेटिए ।

हामीले अस्पतालमै गएर यस्ता केही बिरामी पनि भेट्यौं । ललितपुरको धापाखेल -अस्थायी रूपमा) बस्ने ४५ वर्षीया जनमाया तामाङलाई आजभोलि हिंडडुल गर्न अरूको सहायता चाहिन्छ । उनले १५-१६ वर्षको उमेरदेखि इँटाभट्टामा धुवाँ-धुलोमा काम गरिन्, श्वास-प्रश्वासमा समस्या देखियो ।

समयमै उपचार पाइनन् । विस्तारै समस्या बढ्दै गयो । दम, खोकी तथा निमोनिया देखियो । करिब दुई वर्षदेखि उपचारमा छिन् उनी । २२ वैशाख २०७९ मा त्रिवि शिक्षण अस्पतालमा भेटिएकी तामाङले अनलाइनखबरसँग भनिन्, ‘सास फेर्न अप्ठेरो हुने, खोकी लाग्ने, खुट्टा गल्ने, स्वाँ-स्वाँ हुने, छाती कस्सिने, पोल्ने हुन्छ । केही काम गर्न सक्दिनँ ।’

अर्को उदाहरण छ काभ्रेका एक युवाको । रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका हरि ढकाल बीचमै घर फर्किनुपर्‍यो । कारण थियो, उच्च रक्तचाप । कामको चापले अनिन्द्रासँगै तनाव पनि बढ्दै गयो । प्रेसर कन्ट्रोल नै भएन । अनि नेपाल नै फर्किनुपर्‍यो । काठमाडौंको निजामती अस्पतालमा ‘फलोअप’ मा आउँदा २६ वैशाख २०७९ मा भेटिएका ढकालले भने, ‘बेला-बेला प्रेसर तल-माथि हुने गर्छ । अहिले पनि नियमित औषधि खाइरहेको छु ।’

काठमाडौंको इन्द्रचोक बस्ने राधा देवी (४४) लाई दुई वर्ष यता छिटो-छिटो पिसाब लाग्ने, बढी भोक लाग्ने, आँखा तिरमिराउने र थकाइ महसुस हुने समस्या छ । उपचारको क्रममा मधुमेह अनियन्त्रित भएको थाहा भयो । उनलाई मधुमेहका साथै दमको पनि समस्या छ । ‘पहिला जस्तो काम गर्न सक्दिनँ । अलिकति काम गर्‍यो कि थकान महसुस हुन्छ’ २२ वैशाख २०७९ मा वीर अस्पतालमा भेटिएकी राधाले भनिन्, ‘रक्तचाप नियन्त्रण गर्न खानपानमा ध्यान दिन थालेकी छु ।’

पछिल्लो एक वर्षमा अस्पताल गएका बिरामीमध्ये यी प्रतिनिधि उदाहरण मात्रै हुन् । वीर अस्पतालमा गत वर्ष उपचार गर्न गएका १३ हजार ९३१ को तथ्यांक केलाउँदा सबैभन्दा बढी निमोनिया (फोक्सोको संक्रमण) र पित्तथैलीको पत्थरी (९०४) का बिरामीले उपचार लिएको देखियो । त्यसैगरी, उच्च रक्तचाप (६६७), दीर्घकालीन फोक्सो साँघुरिने रोग (५८६), कलेजो सम्बन्धी रोग (५८१), मधुमेह (४५०), मलद्वारमा घातक मासु पलाएको (४४९), हर्निया (४२१), फोक्सो र श्वासनलीमा घातक मासु पलाएको (क्यान्सर) (४१५) र मिर्गौलाको पत्थरी (३४९) जना बिरामी त्यहाँ उपचार गर्न गएको भेटियो ।

त्रिवि शिक्षण अस्पतालको तथ्यांकले चाहिं उपचार गर्न गएकामध्ये उच्च रक्तचापका (१२५१) बिरामी सबभन्दा धेरै देखाएको छ । यसपछि मधुमेह (१०५३), निमोनिया (७८४), दीर्घकालीन फोक्सो साँघुरिने रोग (दम) (७७१), रक्तअल्पता (७६२), मिर्गौला र पिसाबसम्बन्धी समस्या (६४१), हाइपोथाराइडिज्म (५६४), शरीरको आधा भाग नचल्नु (प्रकार नखुलेको) (४८७), पक्षघात (४७८), दीर्घकालीन मिर्गौलासम्बन्धी समस्या (४७३) जना बिरामी छन् । गत वर्ष यहाँ २७ हजार १८१ बिरामीले उपचार गराएका थिए ।

त्यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने कीटाणुको संक्रमण (५३२) ले सबैभन्दा धेरै बिरामी उपचार गर्न गएको पाइएको छ । यसपछि निमोनिया (३५२), एपेन्डिक्स (३४६), मिर्गौलाको रोग (२२५), दीर्घकालीन फोक्सो साँघुरिने रोग (१९०), पित्तथैलीको पत्थरी (१७८), हर्निया (१५४), आमाशय तथा आन्द्राको संक्रमण (१४५), नवजात शिशुमा कमलपित्त (१३९) बिरामीले उपचार गराएको देखिन्छ । गएको वर्ष कुल २१ हजार २२४ संख्याका बिरामीले यो अस्पतालमा उपचार गराएका थिए ।

यी विवरणले के बताउँछन् ? जनस्वास्थ्यविद् डा. केदार बरालका भनाइमा, ‘रहनसहन र जीवनशैलीमा आएका परिवर्तन, प्रकृतिको दोहन जस्ता कारणले नसर्ने रोगको संख्या बढिरहेको देखाउँछ ।’

सबभन्दा धेरैलाई समस्यामा पारिरहेको निमोनिया चाहिं एक संक्रामक रोग हो । चिकित्सकका अनुसार, निमोनियाको मुख्य कारण ब्याक्टेरिया, भाइरस, ढुसी र परजीवीहरूको संक्रमणबाट हुने गर्छ । कमजोर रोग प्रतिरक्षा प्रणाली भएका मानिस र ज्येष्ठ नागरिक, कम उमेरका बच्चा निमोनियाबाट ग्रसित हुने सम्भावना बढी हुने छाती रोग तथा सघन उपचार विशेषज्ञ डा.राजु पंगेनी बताउँछन् ।

निमोनियाको ब्याक्टेरिया जब रगतमार्फत फोक्सोमा पुग्छ, यसले शरीरका अन्य अंगलाई पनि संक्रमित गर्ने कारण ती अंगले काम गर्न बन्द गर्ने त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा.निरज बम बताउँछन् । उनी भन्छन्, ‘भौगोलिक अवस्थाले पनि जीवाणुलाई चाँडै सर्न मद्दत गर्छ । निमोनिया समयमै उपचार पाएको खण्डमा पूर्ण रूपमा निको पनि हुन्छ ।’

उकालो लाग्दै नसर्ने रोग

पछिल्लो समयमा खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको विशेषज्ञहरूको भनाइ छ । केही समय अगाडिसम्म मृत्युको प्रमुख कारण सरुवा रोग हुने गथ्र्यो । उनीहरूका भनाइमा अहिले श्वास-प्रश्वास सम्बन्धी समस्या, मुटु, उच्च रक्तचाप, मधुमेह, क्यान्सर तथा मिर्गौला रोगहरू प्रमुख कारण बन्न पुग्नु चिन्ताको विषय बनेको छ ।

विज्ञहरूका अनुसार, नसर्ने रोगको मुख्य कारण बदलिंदो खानपान र आधुनिक जीवनशैली हो । छाती रोग विशेषज्ञ डा. बम जीवनशैलीमा आएको विकृतिका कारण नसर्ने रोगको भार बढिरहेको बताउँछन् ।

पछिल्लो समय विकासोन्मुख राष्ट्रहरूमा नसर्ने रोग ‘सुषुप्त’ प्रकोपको रूपमा बढिरहेको विशेषज्ञहरू बताउँछन् । त्यसैको अनुपातमा मृत्युदर पनि बढिरहेको विभिन्न अध्ययनले देखाएका छन् ।

विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१६ देखि २०१८ सम्म समुदायकेन्द्रित सर्वेक्षण गरेको थियो । सन् २०१९ मा प्रकाशित सो सर्वेक्षण अनुसार, नेपालमा ७१ प्रतिशत मृत्युको भार नसर्ने रोगले लिएको छ ।

७२ जिल्लाका १३ हजारभन्दा बढी मानिसमा गरिएको अनुसन्धानमा श्वासप्रश्वास सम्बन्धी दीर्घकालीन रोग ११.७ प्रतिशत, मधुमेह ८.५ प्रतिशत, मिर्गौलासम्बन्धी रोग ६ प्रतिशत र मुटुसम्बन्धी रोग ३ प्रतिशतमा रहेको पाइएको थियो ।

यस्तै स्वास्थ्य मन्त्रालयले २०७६/७७ मा तयार गरेको तथ्यांकले, देशका सरकारी अस्पतालहरूमा ९० प्रतिशत नसर्ने रोग र १० प्रतिशत सरुवा रोगका बिरामीले ओपीडी -बहिरंग) सेवा लिएको देखाएको थियो ।

छाती रोग विशेषज्ञ डा.बम भन्छन्, ‘पहिलाका मानिस घरमै बनेका अर्गानिक खानेकुरा खान्थे । काम गर्ने बानी थियो । तर, आजभोलि अस्वस्थकर खानपान, अल्छीपना, मानसिक तनाव, धूमपान तथा मद्यपान सेवनले गर्दा नसर्ने रोगबाट मानिस ग्रसित हुँदै गएका छन् ।’

यसका साथै वायु प्रदूषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ । प्रदूषणको तत्काल असर दीर्घरोगी, बच्चा तथा वृद्धवृद्धामा देखिए पनि दीर्घकालीन रूपमा यसको असर सबैमा पर्ने छातीरोग विशेषज्ञहरू बताउँछन् ।

‘अहिले मानिसमा जीवनशैलीकै कारण रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गएको छ । यसो हुनुमा मिसावटयुक्त हावापानी, अस्वस्थकर खानेकुराले प्रभाव पारेको छ’ डा.बमले भने, ‘वातावरणमा भएका जीवाणु वा कीटाणुले श्वास-प्रश्वासको माध्यमबाट फोक्सोमा संक्रमण गर्छ । जसका कारण दम, उच्च रक्तचाप, मिर्गौला बिग्रने जस्ता रोग चाँडै लाग्ने गरेका छन् ।’

धूम्रपान गर्नेहरूमा पनि श्वास-प्रश्वासजन्य समस्याको खतरा बढी हुने उनको भनाइ छ । ‘धूम्रपान तथा सुर्तीजन्य पदार्थले शरीरको ब्याक्टेरिया वा भाइरस विरुद्ध प्राकृतिक सुरक्षालाई क्षति पुर्‍याउँछ जसका कारण श्वास-प्रश्वासको समस्या गराउँछ । यस्ता वस्तुको प्रयोग र जीवनशैलीमा सुधार गरेर मात्रै नसर्ने रोगलाई कम गर्न सकिन्छ’, डा.बम भन्छन् ।

चिकित्सकका अनुसार नेपालमा श्वासप्रश्वास सम्बन्धी समस्या गराउने सबैभन्दा प्रमुख कारण दमरोग हो । छाती रोग विशेषज्ञ डा. पंगेनीका अनुसार वंशाणुगत, वातावरणीय प्रदूषण, मौसमी परिवर्तनका कारण दम रोग लाग्न सक्छ ।

‘वायु प्रदूषणका कारणले एलर्जी हुन्छ । यसको जोखिममा केटा-केटी र वयस्कहरू पर्न सक्छन् । धुलो, धुवाँ, प्रदूषणका कारण उत्पन्न हुने एलर्जीको समयमै उपचार नगरेको खण्डमा त्यसले स्वाँ-स्वाँ सहितको दम, खोकी निम्त्याउने गर्दछ’, डा. पंगेनी भन्छन् । उनका भनाइमा विशेषगरी ४० वर्ष उमेर समूहका प्रायः मानिसमा वंशाणुगत दम देखापर्छ ।

‘चुरोट, बिंडी सेवन, धुवाँ-धुलो, प्रदूषणको कारणले वृद्धवृद्धाहरू ‘सिओपिडी’ (बुढयौलीमा देखिने श्वास-प्रश्वासको समस्या) को धेरै जोखिममा रहने गर्दछन् । हाम्रो जस्तो देशमा सबैभन्दा धेरै मृत्यु गराउने कारण दीर्घकालीन सिओपिडी हो’ डा. पंगेनी भन्छन्, ‘सिओपिडीमा लामो श्वास-प्रश्वासमा समस्या-स्वाँस्वाँ हुने, छाती घ्यार-घ्यार कराउने, औंला वा जिब्रो निलो हुने तथा निमोनिया भइरहने हुन्छ ।’ समयमा उपचार गरे पनि यो रोग निर्मूल नहुने तर, नियन्त्रण भने गर्न सकिने पंगेनीले बताए ।

‘बढ्दो वायु प्रदूषणको तत्कालै समाधानको उपाय खोजेनौं भने भोलिका दिनमा दीर्घ रूपमा असर पार्ने पक्कापक्की नै छ’ डा. पंगेनी भन्छन्, ‘अहिले तुरुन्तै देखिने कुनै समस्या हुँदैन । तर यसले गर्भमा रहने बच्चालाई समेत असर गरेको हुन्छ ।’ उनका अनुसार पश्चिमा मुलुकमा जन्मिने बच्चामा हुने ‘सर्भाइभर रेट’ को तुलनामा नेपाल जस्ता कम विकसित मुलुकमा जन्मिने बच्चामा दुई वर्षले कमी हुनुको प्रमुख कारण वायु प्रदूषण हो ।

केही समय अगाडि नेपाली अनुसन्धानकर्ता चिकित्सकहरूद्वारा गरिएको एक अध्ययनले सन् २०२५ भित्र लगभग ४५ प्रतिशत पुरुषमा उच्च रक्तचाप हुनसक्ने सम्भावना देखाएको छ । अनुसन्धानले पछिल्ला दुई दशकमा नेपालमा पुरुषमा उच्च रक्तचाप वृद्धिदर १३ प्रतिशत रहेको देखाएको छ । तर, त्यही समयमा उच्च रक्तचापको उपचार तथा नियन्त्रण वृद्धिदर भने केवल ३ प्रतिशतले मात्रै बढेको अध्ययनले देखिएको छ ।

प्रमुख अनुसन्धानकर्ता डा. राजाराम ढुंगानाका अनुसार, ‘उच्च रक्तचापको समस्या गाउँमा भन्दा शहरमा, महिला भन्दा पुरुषमा, पढेका भन्दा नपढेकामा, कम उमेरका व्यक्ति भन्दा पाको उमेरका व्यक्तिमा र मुलुकका अन्यत्र भन्दा गण्डकी प्रदेशमा उच्च रहेको छ ।’

उच्च रक्तचाप अर्को समस्या

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.हरिहर खनाल पनि अहिले ३५ प्रतिशतभन्दा बढी मानिसमा उच्च रक्तचापको समस्या भएको बताउँछन् । ‘हरेक घरमा उच्च रक्तचापका बिरामी छन् । अधिकतम बहुकारण जस्तै जीवनशैली, तनाव, खानपिन, अल्छीपना, मद्यपानले गर्दा उच्च रक्तचाप हुन्छ’ डा. खनाल भन्छन्, ‘बहुकारणले हुने उच्च रक्तचापलाई औषधि दिएर कम गर्न सकिन्छ । जीवनशैलीमा सुधार एकदमै जरूरी हुन्छ ।’

‘हामीकहाँ रोग लाग्दा मात्रै अस्पताल जाने चलन छ । यो बानी सुधार गर्नुपर्छ । जीवनशैलीजन्य रोगहरू यसअघि विकसित मुलुकमा बढी देखिन्थे । तर, अहिले विकासोन्मुख देशमा पनि यो बढ्दै गएको छ’ डा. खनाल भन्छन्, ‘जसका कारण हृदयघात, मुटुका समस्या, उच्च रक्तचाप, मिर्गौला, कलेजोजन्य रोग बढिरहेका छन् ।’

‘अति व्यस्तता र मानिसको महत्वाकांक्षी सोचका कारण स्वास्थ्यलाई ध्यान नदिने र आम्दानीलाई प्राथमिकतामा राख्ने प्रवृत्ति बढिरहेको छ । सुर्तीसेवन, मदिरापान, अस्वस्थकर खाना, शारीरिक निष्त्रिmयता, जंकफुड र प्रदूषणबाट नसर्ने रोगहरू बढिरहेका छन्’ डा. खनाल भन्छन्, ‘यी कारणमा रक्तचाप, रगतमा ग्लुकोज, कोलेस्ट्रोलको मात्रा बढाउने तथा मोटोपना र तौल बढाउन ठूलो भूमिका हुन्छ ।’

स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) ले नेपालमा गरेको ‘स्टेप सर्भे’ २०१९ को तथ्यांक अनुसार नेपालमा करिब ४७ लाख जनसंख्यामा उच्च रक्तचापको समस्या छ । जसमा २ लाखमा उच्च रक्तचाप नियन्त्रणमा आएको बाँकी ४३ लाखमा नियन्त्रण हुनसकेको छैन ।

उनीहरूमध्ये १० लाखलाई मात्रै आफ्नो उच्च रक्तचापको अवस्थाको बारेमा थाहा भएको र ४ लाखले मात्रै औषधि खाइरहेका छन् । औषधि खाइरहेकामध्ये २ लाखको मात्र उच्च रक्तचाप नियन्त्रणमा रहेको छ ।

उच्च रक्तचापलाई सामान्य स्वास्थ्य समस्याका रूपमा लिइरहेकाले यसबाट अन्य स्वास्थ्य समस्या थपिरहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिल बताउँछन् । उनी भन्छन्, ‘धेरैले आफूलाई उच्च रक्तचाप भएको थाहै पाउँदैनन्, ढिला थाहा पाएपछि औषधि पनि ढिलै लिन्छन् । कतिले ‘साइड इफेक्ट’ देखिन्छ भनेर औषधि नै लिंदैनन् ।’

अनिलका अनुसार १५ देखि २४ वर्ष उमेर समूहमा १० प्रतिशत र ४० वर्षभन्दा माथिका मानिसमा ५० प्रतिशत उच्च रक्तचापको समस्या छ ।

‘पछिल्लो समय साइलेन्ट किलरका रूपमा रहेको उच्च रक्तचाप मृत्युको प्रमुख कारण बन्दै गएको छ । काठमाडौंमा पेशागत रूपमा काम गर्ने युवामा तनावका कारण बढी उच्च रक्तचापको समस्या थपिंदै गएको छ’, डा. अनिलले भने ।

५० प्रतिशत मानिसले आफूमा उच्च रक्तचाप भएको समेत थाहा नपाउने भएकाले यसको रोकथामका लागि विद्यालय तहदेखि नै पाठ्यक्रममा रक्तचाप र मुटुको रोगसम्बन्धी पठनपाठनको व्यवस्था गर्नुपर्ने उनी बताउँछन् ।

हामीलाई उपलब्ध भएका अस्पतालका तथ्यांकहरूमा पनि उच्च रक्तचाप, श्वास-प्रश्वासको समस्या पहिलो स्थानमा देखिन्छ । मिर्गौला, मुटु तथा क्यान्सरका बिरामी यी अस्पतालहरूमा न्यून देखिन्छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार तर नसर्ने रोगको एक कारकतत्व मुटु सम्बन्धी समस्या हुने गरेको छ ।

त्यसैगरी, क्यान्सर, मिर्गौला रोगी, क्षयरोगको भार पनि उत्तिकै बढ्दो क्रममा छ । ‘रोगसँगै अहिले सडक दुर्घटना, वायु प्रदूषणका कारण धेरैको जीवन गइरहेको छ । यसमा ध्यान जानुपर्छ । त्यस अनुसारको नीति तथा कार्यक्रम ल्याउनुपर्छ’, डा.खनाल सुझाव दिन्छन् ।

नेपालमा सबभन्दा धेरै मृत्यु कुन रोगका कारणले हुन्छ भन्ने विस्तृत विवरण उपलब्ध छैन । तर, विश्व स्वास्थ्य संगठन र स्वास्थ्य सेवा विभागले सन् २०१८ मा तयार गरेको नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना (२०२१-२५) मा उल्लेख भए अनुसार, सबैभन्दा धेरै मृत्यु मुटु सम्बन्धी रोगका कारणले हुने गर्दछ ।

सो विवरण अनुसार, मृत्युमध्ये ३० प्रतिशत मुटु तथा रक्तनलीसम्बन्धी रोगका कारणले हुन्छ । त्यसैगरी, क्यान्सरले ९ प्रतिशत, मधुमेहले ४ प्रतिशत, दीर्घ श्वास-प्रश्वास रोगले १० प्रतिशत र अन्य नसर्ने रोगहरू १३ प्रतिशत मृत्युमा जिम्मेवार छन् । करिब २२ प्रतिशत नेपाली नागरिक नसर्ने रोगका कारण ३० देखि ७० वर्ष बीचमा नै मृत्युको जोखिममा रहेको सो तथ्यांकले देखाउँछ ।

सरकार नीति बनाउँछ कार्यान्वयन गर्दैन

नेपालमा पछिल्ला वर्षमा नसर्ने रोगको प्रकोप बढ्नु चिन्ताको विषय बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.कृष्णप्रसाद पौडेल बताउँछन् ।

‘नसर्ने रोगको जोखिम बढ्दो छ । यो महामारी जसरी नै अगाडि बढिरहेको छ’ डा.पौडेल भन्छन्, ‘हामीले सर्ने रोग नियन्त्रणमा काम गर्‍यौं, अब नसर्ने रोगमा केन्द्रित हुनुपर्छ ।’

सरकारले हालै मात्रै नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना (२०२१-२५) ल्याएको छ । डा. पौडेल भन्छन्, ‘नयाँ कार्ययोजनाको कार्यान्वयनले नसर्ने रोगको प्रकोपलाई कम गर्छ भन्ने आशा छ । तर, यसको रोकथामका लागि सबै तह र निकायहरू जिम्मेवार हुनुपर्छ ।’

कार्ययोजनाले मुटु रोग, क्यान्सर, मधुमेह र वा श्वास-प्रश्वाससम्बन्धी दीर्घ रोगबाट हुने समग्र अल्पायु मृत्युदरमा सन् २०२५ सम्ममा २५ प्रतिशत र सन् २०३० सम्ममा ३३ प्रतिशतले कमी ल्याउने लक्ष्य लिएको छ ।

‘नसर्ने रोगहरू हाम्रो प्रणालीले नधान्ने हिसाबले बढिरहेका छन् । जसको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय नेतृत्व र पैरवी अनि साझेदारको साथ-सहयोग आवश्यक छ’, डा.पौडेल भन्छन् ।

तर, नीति जस्तासुकै बने पनि त्यसको कार्यान्वयन नभइरहेको जनस्वास्थ्यविद्हरूको तर्क छ । ‘नसर्ने रोग नियन्त्रणका लागि केही राम्रा नीति, कार्यक्रम बनेका छन् । तर, त्यसलाई कार्यान्वयन गर्न ठूलो चुनौती छ’ जनस्वास्थ्यविद् डा. शरद वन्त भन्छन्, ‘सार्वजनिक ठाउँमा धूमपान सेवन गर्न निषेध गरिएको छ । तर, कार्यान्वयन हुनसकेको छैन ।’

जनस्वास्थ्यविद् डा.केदार बराल नसर्ने रोग भनेको जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली सुधार गरेर मात्रै त्यसलाई न्यून गर्न सकिने बताउँछन् । ‘सरकार नसर्ने रोगको उपचार केन्दि्रत भएको देखिन्छ । तर, रोकथाममुखी जीवनशैली सुधारका लागि कदम चाल्नुपर्छ’ डा. बरालले भने, ‘जीवनपद्धति, खानपानका तौरतरिकामा परिवर्तन ल्याउन जनस्तरमा चेतना वृद्धि गर्नुपर्छ ।’
‘नसर्ने रोग जस्तो समस्या स्वास्थ्य क्षेत्र एक्लैले मात्रै सम्बोधन गर्न सक्दैन । यसका लागि अन्य थुप्रै क्षेत्रसँग सहकार्य हुन जरूरी छ । यसमा अन्य क्षेत्रको प्रभावकारी संयोजन हुन नसक्दा भयावह अवस्था आइसकेको छ । एक त नीति बन्न सजिलो छैन, अर्को बनिसकेको नीतिलाई पनि कार्यान्वयन गर्न सकिएको छैन’, डा. वन्त थप्छन् ।

हुन पनि विकसित देशमा पुराना सरुवा रोग पूर्ण रूपमा नियन्त्रणमा आएका छन् । उनीहरू अब नसर्ने रोगको रोकथाम तथा उपचारमा केन्दि्रत छन् । तर, नेपालमा सरुवा रोगसँगै नसर्ने रोगको दोहोरो भार बढिरहेको छ ।

‘हामीसँग दशकौंदेखिका सरुवा रोगकै सोचे जस्तो नियन्त्रण हुनसकेको छैन । यही बेला नसर्ने रोगको भार पनि बढिरहेको छ’, डा.वन्तले भने ।

नेपालीले भोग्ने स्वास्थ्य समस्या

वीर अस्पताल
२०७७/७८, बिरामी संख्या १३ हजार ९३१

त्रिवि शिक्षण अस्पताल

२०७७/७८, बिरामी संख्या : २७ हजार १८१

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

२०७७/७८, बिरामी : २१ हजार २२४ संख्या

                                                 स्रोत : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

कभर स्टोरी
लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?