+
+

वीरगञ्ज महानगरपालिकाले श्वेतपत्र जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते २१:२१

२३ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले महानगरको अवस्थाबारे श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको नगर कार्यपालिकाको बैठकले नगर प्रमुख राजेशमान सिंहले पदभार ग्रहण गर्दा गरेका निर्णय अनुमोदन गर्दै श्वेतपत्र जारी गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख सहित नव निर्वाचित जनप्रतिनिधिले वीरगञ्जको नेतृत्व लिंदाको अवस्थाबारे नगरवासीलाई जानकारी गराउने उद्देश्यले श्वेतपत्र जारी गर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिए ।

वीरगञ्ज महानगरको आर्थिक, शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्र तथा विभिन्न परियोजनाहरुको वर्तमान अवस्था लगायत विषयलाई समेटेर श्वेतपत्र जारी हुने नगर प्रमुख सिंहले जानकारी दिए ।

‘वीरगञ्जको वर्तमान अवस्था कस्तो छ ? भनेर हामी नगरवासीलाई श्वेतपत्र मार्फत बताउन चाहन्छौं’ उनले भने । पद तथा गोपनीयताको शपथ लिएको दिन जेठ १२ गते नगर प्रमुख सिंहले गरेको तीन वटा निर्णयलाई पनि अनुमोदन गरेको छ ।

उनले वीरगञ्जको घण्टाघर तथा पावरहाउस क्षेत्रको जीर्ण सडक मर्मत गर्ने निर्णय गरेका थिए । सडक विभागसँग अनुमति लिएर महानगरले त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगञ्जको मुख्य सडकको घण्टाघरदेखि दक्षिण र पावरहाउस क्षेत्रको सडक मर्मत गरिसकेको छ । कालोपत्रे गर्ने तयारी भइरहेको छ ।

बैठकले असार १० गतेभित्र महानगरको बजेट ल्याउन आवश्यक तयारीका लागि दुईवटा समिति समेत गठन गरेको छ । नगर प्रमुखको संयोजकत्वमा स्रोत अनुमान तथा बजेट निर्धारण समिति र उप–प्रमुख संयोजक रहने राजश्व परामर्श समिति समेत गठन गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे नवनिर्वाचित नगर प्रमुख एवं उप प्रमुखलाई पदभार ग्रहण गराएपछि विदामा छन् । प्रमुख प्रशासकीय अधिकृत नआउँदासम्म शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन बोर्ड सहमत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?