+
+
विचार :

प्रदेश नं. १ : उपयुक्त नाम र विकल्प

जहाँको इतिहास, भूगोल, सभ्यता र संस्कृति सहित सबै जाति, जनजाति तथा समुदायको अनुसूची प्रस्तुत गर्दै कोशी प्रदेशभित्र बसोबास गर्ने सबै जनताको साझा थलो भएको उल्लेख गर्नुपर्दछ । यसो भएमा आफूलाई बेवास्ता गरिएको वा छोडिएको भन्ने मनोवैज्ञानिक असुरक्षाको भावना कसैलाई हुने छैन ।

रघुनाथ अधिकारी 'निलमशेखर' रघुनाथ अधिकारी 'निलमशेखर'
२०७९ असार ८ गते १२:४०

प्रदेश नं. १ बाहेक अन्य प्रदेशहरूले आफ्नो नामकरण गरिसकेका छन् । प्रदेश नं. १ ले पनि यही बर्खे अधिवेशनको अवधिभित्र आफ्नो प्रदेशको नाम राख्ने जमर्को गरिरहेको छ । ढिलै भए पनि यो दायित्व पूरा गर्नु आफैंमा एक सकारात्मक कुरा हो । यो लेखक पनि सोही प्रदेशको माटोमा उम्रिएको हुँदा प्रदेशको उपयुक्त नाम के हुनसक्ला भन्ने सेरोफेरो भित्र रहेर आफ्ना सोच, दृष्टिकोण र विचार पस्कने जमर्को गरेको छु ।

इतिहासका आरोह–अवरोहहरूमा राज्यका सिमानाहरू नाच्ने गरे तापनि उत्तरमा ब्रह्मपुत्र (यारलुङ साम्पो), पूर्वमा टिष्टा, दक्षिणमा गङ्गा, र पश्चिममा सतलजसम्मकोे भूभाग ऐतिहासिक निरन्तरता सहितको तुलनात्मक रूपमा स्थायी भौगोलिक थलो हो नेपालमण्डल । यो मण्डलमा साना र अल्पकालीन प्रकृतिका केही राज्यहरू उदाए तापनि किराँत, मल्ल, सेन र खस साम्राज्य बाहेक अन्य राज्यहरूले हिमाल, पहाड र तराईको अधिकांश भूभागसम्म आफ्नो प्रभुत्व जमाउन सकेको पाइँदैन ।

पृथ्वीनारायण शाहको पछिल्लो पुनः एकीकरण अभियान अघि नै यस नेपालमण्डलमा टिष्टादेखि पश्चिम गण्डकीसम्म र उत्तरमा हिमालयदेखि दक्षिणमा गंगासम्म शक्तिशाली किराँत साम्राज्य रहेको ऐतिहासिक तथ्यहरूले देखाउँछन् । महाभारतका द्रोणाचार्यको गंगावारिका किराँतहरूसँगको लडाईंले यसै तथ्यतर्फ संकेत गर्दछ ।

किराँतपछिको मल्लकालीन साम्राज्य त अझ पश्चिम कर्णालीसम्म र पूर्वमा पनि बंगाल र आसामका केही भूभागसम्म फैलिएको देखिन्छ । सेन कालमा कर्णाली पूर्वदेखि टिष्टासम्म र उत्तरमा हिमालयदेखि दक्षिणमा गंगासम्मको भूभाग उक्त साम्राज्यको हिस्सा रहेको देखिन्छ । पछिल्लो गोरखा साम्राज्य भने खस साम्राज्यकै निरन्तरता रहेको र यसको विस्तार टिष्टादेखि काँगडा अनि हिमालय र गंगा वारिका थुप्रै भूभाग रहेको इतिहास हाम्रासामु छ ।

यसरी हेर्दा वर्तमान नेपालको एकीकरण मूलतः किराँतकालबाट सुरु भई पुनः त्यसको विघटन भयो । पुनः त्यसको एकीकरण मल्लकालमा भयो र विघटन भयो अनि, पुनः सेनकालमा एकीकरण भएर विघटन भयो । यसैगरी खस साम्राज्य पनि बाईसे र चौबीसे राज्यहरूमा विभाजित हुँदै विघटन भयो भने गोर्खा साम्राज्यद्वारा त्यसको पुनः एकीकरण गर्ने कार्यले वर्तमानको स्वरूपमा नेपाल आइपुगेको छ ।

यसरी वर्तमान नेपाल राज्यभित्र नेपाल, किराँत, विदेह, शाक्य, लिच्छवि, मल्ल, खस, सेन, तिरहुत लगायत राज्य र विशेषगरी किराँत, मल्ल, सेन र खस भने साम्राज्यका रूपमा समेत उदय भएको देखिन्छ । एकीकरण र विघटनका प्रक्रिया हेर्दा यस क्षेत्रको भौगोलिक विषमता र वैविध्यतामा मानव प्रविधि र संस्कृतिको पछौटे अवस्थाले गर्दा अगाडिका एकीकरणहरू शीघ्र विघटनमा परिणत हुनपुगे ।

तर पछिल्ला एकीकरणहरू उन्नत प्रविधिको पहुँच एवं आर्थिक तथा सांस्कृतिक आदानप्रदानको निरन्तरताका कारण दूरवर्ती क्षेत्रहरूमा समेत आफ्नो नियन्त्रण कायम राख्न सक्षम भएको हुँदा विघटनका प्रक्रियाहरूको पुनरावृत्ति भएको छैन । यही पृष्ठभूमिमा नेपाल राज्य एकीकृत रहन पुग्यो र हाल संघीय ढाँचामा रूपान्तरित भइरहेको छ ।

वर्तमान संविधानले निर्दिष्ट गरेको संघीयता यथार्थतामा बहुपहिचानमा आधारित भएको हुँदा यसको स्वरूप र सार दुवै नै मूलतः भौगोलिक संघीयतातर्फ झुकेको छ । जुन नेपालजस्तो सानो तर विषम भूगोल र संस्कृतिको जगमा निर्मित मुलुकका लागि साझा भ्रातृत्वसहितको एक राष्ट्रका रूपमा रहने आकाङ्क्षाले सिर्जिएको एक बाध्यता र चुनौती पनि हो ।

मधेश, कर्णली र अंशतः गण्डकी प्रदेशको निर्माणमा सभ्यता र सांस्कृतिक पहिचानको पक्ष केही हदसम्म प्रतिविम्बित भए तापनि सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, वागमती प्रदेश र प्रदेश नं. १ भने मूलतः सांस्कृतिक पहिचानको पक्ष गौण रही भौगोलिक संघीयता मुखरित भई निर्माण भएका प्रदेश हुन् । यसर्थ प्रदेशको नामकरणभित्र सांस्कृतिक पहिचानको अन्तर्वस्तुको स्थान कसरी सुनिश्चित गर्ने भन्ने कुरा यहाँ चुनौतीपूर्ण छ ।

अब प्रदेश नं. १ को नामकरणबारे चर्चा गरौं । सुदूरपश्चिम प्रदेश नेपालको पश्चिमी प्रान्त भएझैं प्रदेश नं. १ नेपालको पूर्वी प्रान्त पनि हो । यस अर्थमा यस प्रदेशले पूर्वी नेपालको गुरुत्व ग्रहण गरेको छ । यहाँको हिमाली भूभाग मूलतः बोन (पोन) संस्कृतिसँग सम्बन्धित छ ।

यो संस्कृति तिब्बतको पठारमा केन्द्रित भई समयक्रममा हिमालवारि ओर्लिएको सीमा वारपार संस्कृति हो । बोन संस्कृतिबाट तल झर्दा मध्यपहाडी क्षेत्रमा किराँत संस्कृतिको पेटी पश्चिम सुनकोशी क्षेत्रबाट पूर्व सिक्किमसम्म फैलिएको छ ।

किराँत संस्कृतिभित्र मूलतः राई र लिम्बू गरी दुईवटा सांस्कृतिक उपतह छन् र राई उपतह अन्तर्गत दुई दर्जन बढी भाषा र भाषिकाहरू पनि छन् । सानो आकारको भूगोलमा केन्द्रित भएको यो ठूलो विविधता हो । अर्कापट्टि लिम्बू सांस्कृतिक उपतहमा भने भाषिकागत विविधता भए तापनि राईको झैं भाषिक विविधता छैन ।

यहाँको किराँत संस्कृतिको उपतहको समानान्तर भएर मध्यपहाडी क्षेत्रमा खस नेपाली भाषी सवर्ण र असवर्ण जातीय संस्कृतिको अर्को पेटी पनि रहेको छ । वल्लो र पल्लो किराँतको पहाडी क्षेत्रमा खस नेपाली भाषीहरूको आगमन सेन राज्यकालबाट सुरु भएको पाइन्छ । पछिल्लो कालखण्डमा पश्चिमबाट पूर्वतर्फको बसाइँसराइको प्रक्रिया अझै सघन हुँदै जाँदा सवर्ण समाज, अनि असवर्ण समाजका तर नेपाली भाषीहरूको यहाँ बाक्लै उपस्थिति हुनपुग्यो ।

पूर्वी नेपालको मध्यपहाडी पेटीमा सबैभन्दा पहिले आएर विचरण गर्ने आदिमानवहरू को थिए भन्ने कुरा अझै अनुसन्धेय भए तापनि सवर्ण समाजका मानिसहरूको आगमन पूर्व यहाँ किराँतहरूको बसोबास भएको कुरामा कुनै सन्देह छैन ।

पुरातात्विक महत्वका चिहानहरूमा फेला परेका पत्थर तथा बस्तुहरू वर्तमानका किराँत जातिको संस्कृतिसँग नमिल्ने भन्ने देखिएकोले किराँतहरूका पुर्खा काठमाडौंको राज्यबाट पूर्वतर्फ जानुअघि अर्को जाति संभवतः नागा जो लाप्चे वा लेप्चा जातिको संस्कृतिसँग केही हदसम्म निकट संस्कृति भएको थियो कि भनेर अनुमान गरिएको छ ।

पहाडबाट तल ओर्लंदा वर्तमानको सुनसरी, मोरङ र झापा जिल्लाको जनसंख्यामा विविध संस्कृतिको सम्मिश्रण भएको देखिन्छ । यहाँ औलो उल्मूलन पश्चात् उत्तरबाट झरेका पर्वतीय संस्कृति भएका सवर्ण र असवर्ण जातिहरू एवं नेपालको सुगौली सन्धि पूर्वको नेपाल भूभागबाट उत्तरतर्फ आएका जातिहरू भन्दा अगाडिदेखि नै बसोबास गर्ने राजवंशी, थारू, धिमाल लगायत जनजातीय समूहको एक विशिष्ट सांस्कृतिक पहिचान छ । समयक्रममा जनसांख्यिक गतिको प्रकृति र प्रवृत्ति अनुरूप यहाँ विभिन्न भाषा र संस्कृतिका मानिसको बसोबास भएको छ ।

हाल प्रदेश नं. १ को तराई क्षेत्र सम्पूर्ण रूपमा बहुसांस्कृतिक क्षेत्रका रूपमा देखापरेको छ भने मधेशी संस्कृतिका केही पेटीहरूमा अहिले पनि केही विशिष्ट झलकसहितको एकरूपताको संस्कृति छ । अहिले भाषिक परिवारको हिसाबले भन्नु पर्दा प्रदेश नं. १ मा भारोपेली, भोटबर्मेली, आग्नेय र द्रविड भाषा परिवारका चार वटा मूल भाषिक परिवारका जाति, जनजातिहरूको बसोबास रहेको छ ।

यसरी भाषिक तथा सांस्कृतिक एवं भौगोलिक वैविध्यबीच प्रदेश नं. १ को निर्माण हुनगएको छ । प्रदेशको नामाङ्कनमा निश्चित संस्कृति सम्बद्ध समुदायहरूले आआफ्नो पहिचान स्थापित होस् भन्ने चाहना राख्नु र सोको प्राप्तिका लागि लागिपर्नु स्वाभाविक नै हो ।

सो आधारमा प्रदेशको नामाङ्कनका लागि केही नामहरू चर्चामा आएका छन्, ल्याइएका छन् । यस्ता नामहरूमा किराँत–प्रदेश, कोचिला–प्रदेश, कोशी–प्रदेश, खम्बुवान–प्रदेश, बराह–प्रदेश, लिम्बुवान–प्रदेश, विजयपुर–प्रदेश, विराट–प्रदेश र सगरमाथा–प्रदेश आदि छन् ।

कतिपयले युग्म नाम पनि सुझाएका छन्– जस्तो किराँत–कोशी प्रदेश, लिम्बुवान–खम्बुवान प्रदेश, र कोशी–सगरमाथा प्रदेश आदि । यसरी नाम प्रस्तावित गर्नु आफैंमा सकारात्मक कुरा हो । आफ्नो प्रदेश निर्माणको प्रक्रियामा अपनत्व र स्वामित्व भावको अभिव्यक्ति पनि हो । यहाँ प्रस्ताव गरिएका सबै नाम महत्वपूर्ण छन् र निश्चित पहिचान र क्षेत्रको गुरुत्व ग्रहण पनि गरेका छन् । माथि उल्लेखित नामहरूको नेपाली वर्णक्रमानुसार प्रस्तुत गरी यहाँ संक्षेपमा चर्चा गरिएको छ ।

१. किराँत प्रदेश

‘किराँत प्रदेश’ सम्भावित नाम बारे चर्चा गर्दा पहिले किराँत (किरात) शब्दसँग परिचित हुनुपर्ने हुन्छ । व्युत्पत्तिगत र परवर्ती अर्थलाई छोडेर संस्कृत शब्दकोशको परिभाषा अनुसार किराँत पहाडमा बसोबास गर्ने एक जाति हो भन्नुपर्ने हुन्छ । किराँत शब्द वेद, पुराण र महाभारत जस्ता ग्रन्थहरूमा पनि वर्णित छ ।

दक्षिणएशियाको सन्दर्भमा भन्नु पर्दा किराँत हिमाल पर्वतको दक्षिण पाटोमा बसोबास गर्ने एक जाति हो भन्ने जनाउँदछ । नेपालमा मूलतः राई र लिम्बू जातिका मानिसले आफूलाई किराँतका रूपमा परिचित गराउने गरेको पाइन्छ जसको परम्परागत बसोबास सुनकोशीदेखि सिक्किमसम्मको मध्यपहाडी भूभाग हो ।

हालैको बसाइँसराइको क्रममा किराँतहरूको ठूलो जनसंख्या प्रदेश नं. १ को तराई मधेश र काठमाडौं हुँदै देश र विदेशका विभिन्न स्थानमा फैलिएको छ । किराँत जाति उत्पत्तिगत हिसाबले भोटबर्मेली भाषा परिवार भित्र पर्ने जातिहरू हुन् । किराँतको समष्टि भित्र भाषा बाहेक कतिपय सांस्कारिक भिन्नतासहितका समुदाय भए तापनि समष्टिमा त्यो किराँत संस्कृतिको बृहत्तर परिधि भित्र पर्दछ ।

किराँतहरूको सन्दर्भमा चर्चा गर्दा मध्य एशियाका ओइलात, किर्गिस्तानका किर, भारत गढवालको किरग्राम, नेपाल काठमाडौं राजधानी भएको किराँत राज्य, महाभारतमा द्रोणाचार्यसँग युद्ध गर्ने किराँत जाति भनी उल्लेख गरिएका प्रसंग पाइन्छन् ।

अर्कोतर्फ किराँतहरूलाई शारीरिक रूपमा वृतमुण्ड र आयतमुण्ड गरी दुई भागमा बाँडिएको पाइन्छ भने कतिपय विद्वानहरूले लासा (ल्हासा) र काशी गोत्रका किराँतहरू भनी दुई गोत्रमा विभक्त गर्ने गरेको पाइन्छ । किराँतहरू नेपालमा पश्चिम, उत्तर र उत्तर–पूर्वबाट प्रवेश गरेको देखिन्छ ।

अफ्रिकाबाट नै आधुनिक मानवको उत्पत्ति भएको मानिंदा किराँतहरू पनि सम्भवतः नवपाषाण युगको पछिल्लो चरणमा यतातर्फ आएर बसेको हुनुपर्ने देखिन्छ । तर मोरङको बैजनाथपुर गाविस (हाल विमनपा १९) र संखुवासभा लगायतका क्षेत्रमा भेटिएको दशहजार वर्ष पूर्वका नवपाषाणकालीन ढुङ्गाका हतियारहरू किराँतकै थिए वा अन्य भ्रमणशील कविलाका थिए यकिन भएको छैन ।

यसरी प्रस्ताव गरिएका नामहरूभित्र जाति र समुदाय, राजनीतिक दल र समूहको अपनत्वभाव, आकांक्षा र स्वामित्व जोडिएका छन् । ती कुराहरू राम्रोसँग झल्कने गरी प्रस्तावनामा व्याख्यात्मक अभिलेखन हुन आवश्यक छ ।

जेहोस् किराँत जाति कोशी नदीको उत्तरी जलाधार क्षेत्रदेखि तराई मधेशका भूभागसम्म फैलिएको एक प्राचीन एवं पौराणिकदेखि वर्तमानसम्म निरन्तरता बोकेको जातिका रूपमा रहिआएको छ । यही किराँत संस्कृति र सभ्यताको पृष्ठभूमिबाट किराँत प्रदेशको नाम प्रस्तावित गरिएको पाइन्छ ।

(२) कोचिला प्रदेश

कोचिला प्रदेशको नाम केही दल र समूहद्वारा खासगरिकन संविधानसभा पूर्वको अवस्थामा प्रस्तावित गरिएको थियो । यो प्रस्तावित गरिरहँदा मूलतः हालको झापा, मोरङ र सुनसरी जिल्लाले समेटेको भूभागतर्फ मात्र लक्षित थियो । यो नाम उक्त क्षेत्रमा बसोबास गर्ने राजवंशी एवं ताजपुरिया जाति लगायत कोच संस्कृतिसँग सम्बद्ध अन्य जाति एवं उक्त ऐतिहासिक संस्कृतितर्फ लक्षित गरिएको थियो ।

नेपालका राजवंशीहरू सीमा वारपार बसोबास भएका जातिहरू पनि हुन्, जो पश्चिम बंगालमा पर्ने कोचबिहार (कुचबिहार) क्षेत्रका प्राचीन जातिका रूपमा पनि परिचित छन् । तर ध्वनि विज्ञानको दृष्टिबाट हेर्दा कोच र कोस (कोश) उच्चारणमा ‘च’र ‘स’का बीचमा ध्वनि परिवर्तन भई ‘कोस’ र ‘कोच’ पर्यायवाची शब्द बन्न सक्ने देखिन्छ ।

यसरी हेर्दा कोचे कोशी नदी आसपासका बासिन्दा हुन् भनेर हेर्ने हो भने यसको उच्चारण भेद कोसे पनि हो । अर्थात् कोशी नदी जो पहिले पूर्व टिष्टा हुँदै ब्रह्मपुत्रमा गएर मिल्दथ्यो त्यो नदीको प्रश्रवण क्षेत्रमा बसोबास गर्ने जाति भएको हुँदा उनीहरू कोसे वा कोचे भनिएको हुने सम्भावना पनि उत्तिकै छ । यसो हुँदा झापा र मोरङमा बाक्लो बसोबास भएका राजवंशी लगायत जाति र उनीहरूको ऐतिहासिक सभ्यतालाई आधार मानी यो प्रदेशको नाम प्रस्ताव गर्न खोजेको देखिन्छ ।

(३) कोशी–प्रदेश

कोशी प्रदेश नामकरणको सम्भावनामाथि चर्चा गर्दा यो कोशी नदीसँग सम्बन्धित छ । कोशी शब्दको व्युत्पत्ति मूलरूपमा भोट–बर्मेली भाषाबाट भएको देखिन्छ । नेवार र किराँत भाषामा नदीका विभिन्न पर्यायवाची शब्दहरू मध्ये ‘खुसि’ शब्द पनि रहेको छ । पछि खुसिमा ‘सि’ वर्ण लोप भएर ‘खु’ मात्र भएको नदीको अर्को पर्यायवाची शब्द बन्न पुगेको देखिन्छ ।

किराँत राज्यकाल जतिबेला काठमाडौं लगायत देशको पूर्वी भागसम्म फैलिएको थियो त्यतिबेलाका किराँत जातिहरूले सामाखुसि, टेखुसि (टेकु), खुसि (कोशी), त्यसैगरी बल्खु, बेल्खु, मलेखु, तांखुवा, शंखुवा आदि जस्ता नदी नाम राखेका थिए ।

यसैगरी भोटबर्मेली भाषामा ती, दी, र वा शब्द र प्रत्ययहरूले पनि नदी वा पानी बुझाउने गर्दछन् । अझ हालै सुनकोशी, अरुण र तमोरका त्रिवेणीको बीचमा चर्चित बन्न पुगेको खुवालुङ पनि यसै अर्थमा नदी ढुङ्गो हो । यस्ता शब्द र प्रत्ययहरू नेपालका पूर्वतिर रहेका अरू भोटबर्मेली भाषीसहित मिजोहरूसँग समेत मिल्ने देखिन्छ ।

अर्कोतर्फ वैदिक वाङ्मयहरू जस्तो कि, रामायण (बालकाण्ड), महाभारत, स्कन्धपुराण, हिमवत्खण्ड, ब्रह्मपुराण, वराहपुराण आदिमा कोशी नदीबारे थुप्रै प्रसंग उल्लेख गरेको पाइन्छ । संस्कृत वाङ्मयमा कोशी नदीलाई कौशीकी नदीको रूपमा उल्लेख गरिएको छ । मूलतः कौशिक ऋषिले यस नदीको किनारमा तपस्या गरेको हुँदा यो नदीको नाम कौशिकीबाट कोशी बन्न पुगेको हो भनिन्छ ।

पश्चिमबाट पूर्वतर्फको बसाइँसराइको दृष्टि र पुरातात्विक प्रमाणहरू समेत हेर्दा कतिपय ग्रन्थहरूमा गंगा तरेर पूर्व नजान, पछि गण्डकी तरेर पूर्व नजान र त्यसपछि कोशी तरेर पूर्व नजान भनिएका कतिपय प्रसंग पनि पाइने भएको हुँदा उनीहरू किराँत भन्दा केही पछि नै यो क्षेत्रमा आइपुगेका र कोशी नाम खुसिबाट संस्कृत भाषीकरणको प्रक्रिया स्वरूप राखिन पुगेको हुनसक्ने देखिन्छ ।

त्यसोहुँदा खुसिबाट कोसी ध्वनि परिवर्तनको प्रक्रियामा अल्पप्राणिकरण र उकार ओकारमा परिवर्तन हुँदै तालव्यकरण भएर कोशी बन्न पुगेको देखिन्छ । यदि यो कौशिक ऋषिकै नामबाट भएको हो भने पनि पौराणिक जाति किराँत र आर्यहरूबीचको अत्यन्त अर्थपूर्ण संयोगै भएको भनेर मान्नुपर्दछ । यसरी हेर्दा कोशी नदीको इतिहास हजारौं वर्ष पुरानो देखिन्छ ।

कोशी नदीको उत्तरवर्ती मूल तिब्बतका श्रोतहरूबाट उत्पन्न भई नेपालमा आएर सात वटा शाखा भई बराहक्षेत्र नजिक गएर मिसिंदै भारतमा पुगी गंगा नदीमा मिल्न पुग्दछ । भौगर्भिक र पृथ्वीको भौतिक परिवर्तनका प्रक्रियामा कोशी नदी मूलतः गण्डकी जलाधारदेखि ब्रह्मपुत्र जलाधारका बीचमा पर्ने समथर भूभागको निर्माता पनि हो । कोशी नदीको इतिहासले के देखाउँदछ भने यो नदी कहिले पश्चिमतर्फ डोलायमान भई गण्डकी नदीमा मिल्न पुग्दथ्यो भने कहिले पूर्व गएर टिष्टाहुँदै ब्रह्मपुत्रमा मिसिन्थ्यो ।

यो नदीको रसिलो बेंसी पहाडी क्षेत्रको समाज र सभ्यताको पृष्ठपोषक हो भने यसभन्दा दक्षिणतर्फ गई रसिलो मैदानको जगमा मिथिला सभ्यताको अभ्युदय भएको थियो । अहिलेको प्रदेशको भूभागको दृष्टिमा हेर्नुपर्दा इलाम र झापा जिल्लालाई छोड्ने हो भने प्रदेश नं १ का अरू सबै जिल्ला कोशीको प्रश्रवण क्षेत्रमा पर्दछन् ।

तर भौगर्भिक इतिहास हेर्ने हो भने झापा जिल्लाको संग्रहकर्ता पनि कोशी नदी नै भएको र इलाम जिल्लाको पानी पनि पहिले कोशीमै मिसिने भएको हुँदा कोशी नदी यहाँको प्रमुख जलप्रवाह हो । यही पृष्ठभूमिका आधारमा कोशी प्रदेशको नाम प्रस्तावित गरिएको पाइन्छ ।

(४) खम्बुवान–प्रदेश

खम्बुवान भनिएको प्रदेश संविधानसभाअघिको सन्दर्भमा कतिपय राजनीतिक दल तथा समूहद्वारा प्रस्तावित भएको थियो । यसले मूलरूपमा किराँत प्रदेशभित्र तमोर पश्चिमको भूभाग र राई जातिको संस्कृतिको प्रतिनिधित्व गर्दछ ।

खम्बुवान शब्दावली भोट–बर्मेली परिवार अन्तर्गतको खम्बु अर्थात् राई भाषासँग सम्बन्धित छ । यो आधारभूत रूपमा किराँत संस्कृति र किराँत प्रदेशभित्रकै एक पृथक् अवधारणासहितको प्रस्तावना हो ।

(५) वराह–प्रदेश

वराह (वराहः) प्रदेशको प्रस्तावित नाम खासगरी वराहक्षेत्रको धार्मिक तीर्थस्थल र यसको महत्ता वरिपरिबाट स्थापित छ । वराह शब्द संस्कृत भाषाको वराहः शब्दबाट बनेको हो जसको अर्थहरू हुन्छन्– बँदेल, भगवान विष्णुको तेस्रो अवतार अर्थात् वराहः अवतार, अनि वराहः पुराण आदि । वराह शब्दको अंग्रेजी कग्नेट हो ‘बोर’ । जुन ध्वनि विज्ञान र अर्थ विज्ञानका आधारमा पनि संस्कृतसँग समान छ त्यसले पनि एक प्रकारको सुँगुरलाई जनाउँदछ ।

अठार वटा पुराणमध्ये वराहः पुराण विल्कुलै नेपाली भूमि केन्द्रित र नेपाली भूमिमा रचित पुराण हो । भारत विहार दिनाजपुरको अभिलेख अनुसार छैटौं शताब्दीका गुप्त सम्राट बुध गुप्तले वराहक्षेत्रस्थित भगवान वराहको मूर्तिको जीर्णोद्धार गरी मन्दिर निर्माण गर्न रकम प्रदान गरेका थिए ।

यसले के देखाउँदछ भने वराहक्षेत्र छैटौं शताब्दी अघि नै एक तीर्थका रूपमा स्थापित भइसकेको थियो । वैदिक धारको वराह पुराण र किराँतको धर्मग्रन्थ मुन्धुममा उल्लेखित खुवालुङ तीर्थस्थलको प्रसंगले यो स्थान किराँत र आर्य शाखाका सनातन धर्मावलम्बीहरूको एक साझा तीर्थस्थलका रूपमा पौराणिक कालमा नै स्थापित भइसकेको थियो ।

केही मानवशास्त्रीहरूले पहाडी तथा हिमाली क्षेत्रका मानिसहरूलाई गौसंस्कृति र वराहसंस्कृति सम्बद्ध समूहका रूपमा पनि छुट्याउने गरेका छन् । वराह भगवानको भनिएको मूर्तिमा चित्रित गरिएको नर–वराहको स्वरूपले एउटा पाटो वराह संस्कृतिको प्रतिनिधित्व गर्दछ ।

बंगुर पालन गर्ने किराँत जातिहरूमा त्यसको विविध आयाम रहेको अर्थतन्त्र र एक उन्नत संस्कृति छ । यस विपरित गौसंस्कृतिका हिमाली जाति र तलका आर्यहरूमा त्यसैगरी गौ अर्थ संस्कृति रहेको देखिन्छ । यस अर्थमा वराह क्षेत्र दुई संस्कृतिको विशिष्ट मिलनविन्दु पनि हो । वराह प्रदेशको प्रस्तावित नामले यही सांस्कृतिक महत्तातर्फ इङ्गित गर्दछ ।

(६) लिम्बुवान–प्रदेश

लिम्बुवान प्रदेशको नाम खासगरिकन किराँत संस्कृतिभित्रकै एक उप सांस्कृतिक तहका रूपमा प्रस्तावित गरिएको हो । मूलतः तमोर जलाधार क्षेत्रमा बसोबास गर्ने लिम्बू जाति र संस्कृतिका अभियन्ता र त्यस क्षेत्रमा आधारित राजनीतिक दलहरूले यो अवधारणामा आधारित प्रदेश नाम प्रस्ताव गरेका छन् । यो खम्बुवान क्षेत्र पूर्वको त्यही किराँत संस्कृतिको बृहत्तर क्षेत्रभित्र पर्ने लिम्बू पृष्ठभूमिमा आधारित प्रस्तावित नाम हो ।

(७) विजयपुर–प्रदेश

विजयपुर प्रदेशको प्रस्तावित नाम धरानको पुरानो सदरमुकाम रहेको विजयपुरगढीसँग सम्बन्धित छ । विजयपुर सेन वंशको राज्यकालमा प्रशासनिक राजधानीका रूपमा स्थापना गरिएको थियो । यो स्थानबाट कोशी पूर्वको हालको झापा, मोरङ र सुनसरीलगायत मूलतः कोशी र मेची अञ्चल अन्तर्गत रहेका पहाडी जिल्लाहरू समेत प्रशासित हुन्थे ।

पछि यहाँबाट सदरमुकाम छोटो समयको लागि लेटाङ हुँदै झापाको झापा बजार अनि मोरङको रंगेली बजारमा सर्‍यो । रंगेलीमा लामो समयसम्म रहेको यो सदरमुकाम त्यतिबेला गोग्राहा बजार भनिने हालको विराटनगरमा सर्न पुग्यो । गोग्राहा बजारबाट विराटनगर बन्नु अघि करिब दुई दशकसम्म यसको नाम ‘नेपालगञ्ज’ रहेको थियो ।

विराटनगर सदरमुकाम सर्नुपर्ने कारण भने फारविसगञ्जमा रेल आएको र त्यसको निकट विन्दु जोगमनी भएको हुँदा नेपाल–भारत व्यापार आयात–निर्यातको सहजताका लागि यो स्थानको चयन गरिएको थियो ।

यो विजयपुरगढी र विजयपुरको नाम एक ऐतिहासिक प्रशासनिक केन्द्रसँग सम्बन्धित छ तर कुनै प्रकारको सांस्कृतिक निरन्तरतासँग छैन । तर, त्यो ऐतिहासिक तथ्यका आधारमा यस प्रदेशको नाम विजयपुर भनेर प्रस्तावित गरिएको देखिन्छ ।

(८) विराट–प्रदेश

विराट प्रदेश नामको प्रस्तावनाले महाभारतकालीन विराट राजाको पौराणिक राज्यको आधारलाई अघि सारेको देखिन्छ । यसका प्रस्तावकहरूको आशय विराटनगर नै महाभारतकालीन विराट राजाको राजधानी हो भन्ने रहेको छ ।

मोरङका केही भित्री क्षेत्र र झापामा पनि कीचक शब्दसँग जोडिएका केही गाउँहरू भएको प्रमाण अघि सार्दै यो नै प्राचीन विराट राज्य हो भन्ने गरिएको छ । तर, ऐतिहासिक तथा पुरातात्विक यथार्थताहरू यसका लागि प्रतिकूल छन् ।

क त विराटनगरको नामकरण एकराट, वैराट, सम्राटको अवधारणा अन्तर्गत अर्थात् एउटा भन्दा धेरै राज्यको राजा अर्थात् ठूलो राज्यको राजा भन्ने कोणबाट विराटनगर नाम राखिएको हो ।

खासमा विराटनगरमा भेटिएको ठूलो (अढाइ टनको) ताल्चाको अवशेषका आधारमा यो ठूला राजाको हुनुपर्दछ भन्ने अर्थमा केशरशमशेरको वि.सं. १९७३ मा भएको दौडाहापछि उनैबाट सरकारी स्वीकृति गराएर विराटनगरको नामकरण हुन गएको हो । उता विराट राजाको दरबार भनिएको भेडारीको पुरातात्विक उत्खनन्ले पनि उक्त दरबार भन्ने कुराको कुनै पुष्टि गरेको छैन ।

यहाँ इसापूर्व २०० देखि १०० शताब्दी अघि निर्मित अण्डाकार स्वरूपको मन्दिर अरू केही संरचना र पुराना मुद्राहरू भेटिएका छन् । राजा विराटको उपस्थिति पुष्टि हुने अन्य प्रमाणहरू भेटिएका छैनन् । यसको कुनै सांस्कृतिक निरन्तरता देखिंदैन । यो नामको प्रस्ताव गरिनु पछिको ऐतिहासिक कारण यही पौराणिक कथन र आंशिक ऐतिहासिक पक्ष हो ।

(९) सगरमाथा–प्रदेश

सगरमाथा प्रदेशको नाम प्रस्ताव गरिनुपछिको मूल कारण सगरमाथा विश्वको सर्वोच्च शिखर हुनाले हो । सगरमाथा वर्तमानको विश्वको सर्वोच्च शिखर भएको यथार्थ हो । पं. बाबुराम आचार्यले इ.सं. १९५६ मा यो नाम प्रस्तावित गरी सरकारी अभिलेख सुरु भएपछि यस शिखरको नाम सगरमाथा रहन गएको हो ।

अझ यसको नाम प्रस्ताव गरिंदाका बखत सागरमाथा वा सगरमाथा दुवै नै गरिएको थियो भनिन्छ । सागरमाथा सागरको शिर र सगरमाथा सगर अर्थात् आकाशको शिर भन्ने अर्थ लगाइन्छ । तर हिमाली जाति र तिब्बततर्फ यसको नाम चोमोलोङ्मा भन्ने गर्दथे ।

हिन्दु वैदिक ग्रन्थहरूमा सगरमाथा नभएर सुमेरु (पामिरनट) र कैलाशलाई विश्वको उच्च पर्वत हिमालयराज भनिएको हुँदा र भूगर्भले पनि सगरमाथालाई कैलाश र पामिरको तुलनामा नयाँ भनेको र यसको उचाइ पनि बढिरहेको भन्ने देखाएको हुँदा यसको सांस्कृतिक विरासत भने नयाँ छ ।

यो नामको अवधारणाका प्रस्तोताहरूको तर्कमा सगरमाथा यही प्रदेशमा पर्ने हुनाले यो नाम उपयुक्त हुनेछ । जेहोस् यसको वर्तमान यथार्थताका आधारमा यो नाम प्रस्तावित गरिएको देखिन्छ । तर यसको छुट्टै सांस्कृतिक विरासत भने छैन ।

(१०) अन्य नामहरू

किराँत–कोशी प्रदेश वा कोशी–किराँत प्रदेश, कोशी–सगरमाथा प्रदेश, लिम्बुवान–खम्बुवान प्रदेश जस्ता नामहरू युग्म नामका रूपमा आएका छन् । तर यी नामहरू नयाँ नभएर माथि उल्लेखित नामका संयुक्त रूप मात्र हुन् । त्यसो गरिएमा उक्त नाम माथि कम्तीमा दुईवटा सांस्कृतिक एकाइ सम्बद्ध समूहको एकताबद्ध अभिव्यक्ति देखापर्नेछ ।

माथि उल्लेखित नाम र सोको संक्षिप्त व्याख्याले प्रदेश नं. १ का लागि कुन नाम उपयुक्त होला भन्ने कुरा आफैं व्यक्त गरेको छ । यसरी प्रस्तावित नाम एक वा अर्को कोणबाट हेर्दा सबै नै राम्रा छन् र उपयुक्त पनि छन् । तर यी राम्रा र उपयुक्त नामहरूबाट अझ राम्रा थप उपयुक्त नाम चयन गर्नुपर्ने कार्यभार समयले दिएको छ ।

यसरी हेर्दा प्रदेश नं. १ जातीय तथा सांस्कृतिक विविधता र बाहुल्य क्षेत्र हो । यसको आकार र भूगोल पनि विभिन्न जातजातिका परम्परागत इलाकाहरूमा फैलिएको छ । यो आफैंमा सांस्कृतिक भन्दा पनि भौगोलिक संघीयताको परिकल्पनाबाट निर्मित प्रदेश हो । यसर्थ नाम त्यस्तो हुन जरूरी छ जसले भूगोल, संस्कृति र जनसंख्याको बृहत्तर हिस्साको प्रतिनिधित्व गरी अपनत्वको भाव समेत प्रदान गर्न सकोस् ।

निष्कर्षः कोशी प्रदेश

यसरी हेर्दा प्रस्तुत गरिएका नाममा सबैभन्दा बढ्ता ग्राह्य हुने नाम कोशी प्रदेश हुन सक्दछ । किनभने यो नाम भोटबर्मेली वा किराँती उत्पत्तिको खुसिबाट व्युत्पत्ति भएको हुनाले यो माटोको लागि मौलिक पनि छ । अझ भारोपेली परिवारको संस्कृत वाङ्मयमा उल्लेखित कौशिकी शब्द पनि यसैसँग मिल्ने भएको हुँदा र हिन्दु वैदिक सनातन धर्म–संस्कृतिका अनुयायीहरूका निम्ति पनि उत्तिकै ग्राह्य हुने देखिन्छ ।

सांस्कृतिक रूपमा पनि प्रकृतिपूजक किराँतहरूको नदी र जलाशयको महत्ता अनि पञ्चतत्व भित्र पानी महत्वपूर्ण मान्ने वैदिक धारका अनुयायी एवं अन्य प्रकृतिपूजक समुदायका निम्ति समेत कोशी नाममा अपनत्व हुने देखिन्छ । अर्कोतर्फ वराह क्षेत्र दुवै सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र रहेको छ । जुन मुन्धुममा व्याख्या गरिएको एक महत्वपूर्ण स्थान र वराहपुराणको उत्पत्तिस्थल पनि हो । आखिर नेपालमा किराँत, मल्ल, सेन र खस संस्कृति साम्राज्यको उचाइमा विस्तार भएका संस्कृतिहरू हुन् ।

किराँत काठमाडौंदेखि सिक्किम र दक्षिणमा गंगासम्म विस्तार भएको बृहत्तर सभ्यता सम्बद्ध जाति भएको हुँदा यसभित्र भ्रातृत्वको उदार हृदय विद्यमान छ । अर्कोतर्फ नेपालको भूमिमा अभ्यास गरिएको सनातन धर्म आफैंमा प्रकृति र पितृपूजाका अनेक पक्षहरू मिश्रण भएको हुँदा र अहिलेको बसाइसराइ र यातायात तथा सञ्चारसहित विकासका नयाँ पूर्वाधारहरूले गर्दा बदलिएको जनसंख्याको बनोटले कोशी प्रदेशको नाममा अन्ततोगत्वा सबै पक्षहरूको सहमति कायम हुने सम्भावना छ । यो नामले हिमालयको बोन, पहाडको किराँत र सवर्ण संस्कृतिदेखि तराई-मधेशको मिथिला संस्कृतिका सबै जनतालाई एकताको सूत्रमा बाँधेर राख्न सक्दछ ।

अनुसूची र व्याख्यात्मक घोषणा आवश्यक छ

यसरी माथि प्रस्ताव गरिएका नामहरूभित्र जाति र समुदाय, राजनीतिक दल र समूहको अपनत्वभाव, आकांक्षा र स्वामित्व जोडिएका छन् । ती कुराहरू राम्रोसँग झल्कने गरी प्रस्तावनामा व्याख्यात्मक अभिलेखन हुन आवश्यक छ ।

जहाँको इतिहास, भूगोल, सभ्यता र संस्कृति सहित सबै जाति, जनजाति तथा समुदायको अनुसूची प्रस्तुत गर्दै कोशी प्रदेशभित्र बसोबास गर्ने सबै जनताको साझा थलो भएको उल्लेख गर्नुपर्दछ । यसो भएमा आफूलाई बेवास्ता गरिएको वा छोडिएको भन्ने मनोवैज्ञानिक असुरक्षाको भावना कसैलाई हुने छैन ।

(लेखक मानवशास्त्रका विद्यार्थी एवं भाषा विज्ञान विषयका अनुसन्धाता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?