+
+

‘फोहोर उठाउने कम्पनीको योगदानको बेवास्ता नहोस्’

महानगरले काम गर्न नसकेको बेला फोहोर व्यवस्थापनमा सघाएका हौं । २० वर्ष हामीले सहयोग गरेको याद गरेर महानगरपालिकाले हामीलाई पनि सुरक्षित राख्नुपर्छ । हामी फोहोर व्यवस्थापन रोक्न चलखेल गर्ने कम्पनी होइनौं ।

रामकुमार घिमिरे रामकुमार घिमिरे
२०७९ असार १० गते १०:३५

निजी क्षेत्रले करिब २० वर्षदेखि काठमाडौंको फोहोर व्यवस्थापनको क्षेत्रमा काम गरिरहेको छ । हामी घर–घरमै पुगेर फोहोर संकलन गर्छौं । तर, थोरै मात्रामा मात्रै फोहोर वर्गीकरण हुन्छ । अरू फोहोर ‘ल्यान्डफिल साइट’ मै जान्छ । एक दुई कम्पनीले कम्पोष्ट प्लान्ट पनि चलाउनुभएको छ ।

हामी कम्पनीमार्फत नै सबै काम गरिरहेका छौं । अहिले सञ्चारमाध्यममा आएजस्तो गैरसरकारी संस्था यसमा संलग्न छैनन् । केही कम्पनीहरूले श्रमिकलाई आउने सरसहयोग लिनका लागि संस्थाको नाम राख्नुभएको हो । तर, बिल त कम्पनी मार्फत नै काट्छौं र कम्पनीबाटै शुल्क उठाउँछौं ।

काठमाडौं जिल्लामा मात्रै ३२/३५ वटा कम्पनी सक्रिय छन् । फोहोर उठाएबापत केही शुल्क पनि लिन्छौं । घरवाला र हामीबीचको आपसी समझदारीमा शुल्क निर्धारण हुन्छ । अहिले कतिपयले फोहोर नउठ्दा पनि शुल्क लिएको गुनासो गरेको सुनेका छौं । तर, १५ दिन उठेन भने पनि १६औं दिनमा गएर हामीले नै उठाउने हो । त्यसैले हामीले फोहोर नउठेको समयको शुल्क पनि उठाउनै पर्छ ।

अहिले कम्पनीहरूले डिजलमा भएको मूल्यवृद्धि र लागत खर्च वृद्धिले गर्दा फोहोरको शुल्क बढाउनुपर्ने माग गरेका छन् । हामी फोहोरमैला व्यवस्थापन संघ नेपालको बैठक बसेर यसबारे छलफल गर्ने तयारी गरिरहेका छौं । विगतमा पनि महानगरपालिकासँग छलफल गरेरै शुल्क तोकेका थियौं । अब पनि छलफल हुन्छ ।

उठेको शुल्कबाट हाम्रो कार्यालय, कर्मचारी, गाडी, इन्धन लगायतको खर्च व्यवस्थापन गर्छौं । हामीलाई कसैले अनुदान पनि दिंदैन, कसैले सहयोग पनि गर्दैन । जनताबाट उठ्ने पैसा नै सबै हो ।

फोहोर छुट्याएर बिक्री गर्न काठमाडौंमा जग्गा पर्याप्त छैन । एक दुई वटा कम्पनीले मात्रै जग्गा भाडामा लिएर प्लान्ट बनाएका छन् । त्यसैले धेरैले त फोहोर संकलन गरेर सोझै ‘ल्यान्डफिल साइट’ ल्याउँछन् । फोहोर राख्न भाडामा जग्गा लिन पनि सकिंदैन ।

हामीले महानगरले काम गर्न नसकेको बेला फोहोर व्यवस्थापनमा सघाएका हौं । २० वर्ष हामीले सहयोग गरेको याद गरेर महानगरपालिकाले जो–जसलाई जुन प्रक्रियाबाट ल्याए पनि भोलि हामीलाई पनि त्यसभित्र सुरक्षित राख्नुपर्छ ।

अहिले फोहोर व्यवस्थामा विदेशी लगानी र प्रविधिसहितको कम्पनी आउने कुरा पनि छ । सन् २०११ मा तत्कालीन फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले फोहोरमैला व्यवस्थापनमा विदेशी लगानी ल्याउन काम थालेको थियो । अहिले सो प्रक्रिया अनुसार लगानी बोर्डले कम्पनी छनोट गरेर परियोजना विकास सम्झौताका लागि काठमाडौं महानगरपालिकालाई जिम्मा लगाएको छ । यसअनुसार काठमाडौं जिल्लाका नगरहरूको फोहोर व्यवस्थापनमा विदेशी लगानी आउने हो । अब उसैलाई यसको जिम्मा दिन नै सही हुन्छ होला ।

कतिपयले फोहोर व्यवस्थापनको समस्या हामीले नै खडा गरिदिएको सम्म आरोप लगाउँछन् । जिम्मेवार पदमा बसेकाहरूले पनि कुरा नबुझी हचुवाका भरमा सञ्चारमाध्यममा यस्ता विषयमा बोल्ने गरेको सुनेका छौं ।

हामी निरन्तर यही पेशामा लागेका छौं। उपत्यका सफा राख्न हामीले ठूलो योगदान दिएका छौं । हामीले त सरकारसँग सम्झौता गरेर दिनुस्, हामी कर पनि तिर्न तयार छौं, भनेका छौं । अहिले अनौपचारिक रूपमा काम गरिरहँदा ठूलो मात्रामा लगानी गर्न पनि जोखिम छ । हामीले लगानी बढाएर प्रविधिको प्रयोग गर्न नचाहेको हैन, तर राज्यको नीति के आउने हो स्पष्ट छैन ।

सरकारले फोहोर व्यवस्थापनमा विदेशी लगानी ल्याउन ‘नेप वेस्ट’ भन्ने कम्पनी छानिसकेको छ । भोलि ‘नेप वेस्ट’ सँग एग्रिमेन्ट भएपछि त हामीले गरेको लगानी संकटमा पर्ने जोखिम हुन्छ । त्यसलाई मध्यनजर गरेर निजी क्षेत्रले ठूलो उत्साहका साथ लगानी गरेको छैन । अहिले हरेकले निश्चित क्षेत्र भित्र बसेर काम गरिरहेका छौं ।

यदि ‘नेप वेस्ट’ फोहोरमैला व्यवस्थापनमा आयो भने ऊसँग अहिलेका कम्पनीहरू प्राविधिक पक्षमा जोडिएर काम गर्ने समझदारी पनि छ । उसले काम पायो भने पनि हामी त्यसभित्र अटाउने कुरा छ । लगानी, स्रोतसाधनको हिसाबमा हामी पनि सरोकारवाला भएरै काम गर्ने गरी एक खालको सहमति भइसकेको छ । अब महानगरले चाह्यो भने ‘नेप वेस्ट’ सँग सम्झौता गर्न सक्छ ।

तर, हामीले महानगरले काम गर्न नसकेको बेला फोहोर व्यवस्थापनमा सघाएका हौं । २० वर्ष हामीले सहयोग गरेको याद गरेर महानगरपालिकाले जो–जसलाई जुन प्रक्रियाबाट ल्याए पनि भोलि हामीलाई पनि त्यसभित्र सुरक्षित राख्नुपर्छ । हामी फोहोर व्यवस्थापन रोक्न कुनै चलखेल गर्ने कम्पनी होइनौं । नबुझ्ने मान्छेले कहिलेकाहीं बोल्छन्, भविष्यमा जानकारी भएपछि पक्कै सच्याउलान् ।

हामीले गरेका काममा कमी–कमजोरी होलान्, त्यसलाई सुधार्न हामीले प्रयत्न गरेका छौं । तर, जुनसुकै हालतमा पनि अहिले काम गरिरहेका कम्पनीहरू, मजदुर र स्रोतसाधन अटाउन सक्ने गरी मात्रै नयाँ नीति, नियम, कानुन बनोस् र सम्झौता होस् भन्ने हाम्रो चाहना हो । लगानीको संरक्षण र अहिलेसम्म हामीले गरेको सामाजिक योगदानलाई सरकारले बेवास्ता नगरोस् ।

काठमाडौंको फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि सबैभन्दा पहिला त वर्गीकरण नै गर्नुपर्छ । घर–घरबाटै जैविक र अजैविक फोहोर छुट्याएर काम गर्नुपर्छ । हालसालै प्रयोग सुरु गरेको बन्चरेडाँडा ल्यान्डफिल साइटको आयुको लागि भए पनि यो काम गर्नैपर्छ । सिसडोलकै शैलीमा सबै खालको फोहोर विसर्जन गरियो भने नयाँ ल्यान्डफिल साइटको आयु पनि कम हुन्छ । शहरमा संकलन भएको जैविक फोहोरबाट कम्पोस्ट मल उत्पादन भएर मात्रै बाँकी फोहोर ल्यान्डफिल साइटमा लैजानुपर्छ ।

(फोहोर–मैला व्यवस्थापन संघ नेपालका वरिष्ठ उपाध्यक्ष घिमिरेसँग अनलाइनखबरकर्मी रवीन्द्र घिमिरेले गरेको कुराकानीको सम्पादित अंश ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?