+
+

भरतपुर महानगरको नीति तथा कार्यक्रम : मुख्य शहरी सडकमा अनिवार्य ढल, परियोजना बैंक

सुवास पण्डित सुवास पण्डित
२०७९ असार १० गते १४:१६

१० असार, चितवन । चितवनको भरतपुर महानगरपालिकाले मुख्य शहरी क्षेत्रमा सडकमा ढल निर्माण गरेपछि मात्र सडक पिच बनाउने नीतिलाई अनिवार्य गर्ने भएको छ ।

महानगरका धेरै सहरी क्षेत्रमा सडक पिच नभएको तर ढल नहुँदा धेरै ठाँउ बर्खामा डुवानमा परेको भन्दै महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पेश गरेको नीति तथा कार्यक्रममा सडक बनाउन ढल निर्माणलाई प्राथमिकतामा राखेको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरको नीति तथा कार्यक्रम पेश गर्दै महानगरपालिका निर्मित पूर्वाधारहरूको मर्मत–सम्भार, ग्रावेल, खाल्टाखुल्टी जस्ता स–साना मर्मत कार्यहरू तत्काल कार्यान्वयन गर्न प्राविधिकसहितको टिम बनाउने उल्लेख गरेकी छन् । यो काठमाण्डौं महानगरपालिकाले पूर्वाधार एम्बुलेन्स बनाउने निर्णयसँग मिल्दोजुल्दो छ । महानगरपालिकाले व्यस्त र मुख्य चोकहरु शहीद चोक, हाकिमचोक र मालपोत चोकजस्ता ठाउँहरुमा आकाशे पुल बनाउने कार्यक्रममा समेटेको छ ।

महानगरभित्र तीनवटा रूटमा विद्युतीय बसहरूसहित गुणस्तरीय र सुरक्षित सार्वजनिक यातायात सेवाको प्रारम्भ गर्ने, जेष्ठ तीर्थयात्रीका लागि पवित्र धाम देवघाटसम्म जाने र आउने निशुल्क विद्युतीय बसको सुविधा प्रदान गर्ने कार्यक्रम नगर प्रमुख दाहालले ल्याएकी छिन् ।

महानगरपालिकामा गएको पाँच बर्षमा सार्वजनिक शौचालय नबनेको भनेर आलोचित बनेको महानगरपालिकाले यसपटक भने महानगर भित्र अत्यावश्यक स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने कार्यक्रम ल्याएको छ ।

महानगरपालिको कोर क्षेत्रमा जनघनत्व बढी हुँदै गएको र बजारसमेत केन्द्रीत हुन थालेकोले भरतपुरको कोर सिटीलाई विकेन्द्रीकरण गर्ने उद्देश्यले स्याटेलाइट टाउनको सम्भाव्यता अध्ययन गर्ने नीति महानगरले ल्याएको छ ।

नेपाल बिद्युत प्राधिकरणसँग सहकार्य गरेर महानगरका मुख्य सडक तथा बजार क्षेत्रहरूमा स्मार्ट सडक बत्ती एबम् हाई मास्ट वत्ति जडान र विस्तारको कार्यलाई निरन्तरता दिने, विद्युत प्राधिकरणसँगको सहकार्यमा भरतपुर केन्द्रीय बस टर्मिनलमा निर्माण शुरू भएको विद्युतीय सबारी साधनका लागि चार्जिङ्ग स्टेसन सम्पन्न गरी अन्य स्थानमा समेत क्रमशः विस्तार गर्ने कार्यक्रममा उल्लेख गरिएको छ ।

जीआईएसको प्रयोग गरी वडा सीमाना, सडक संजाल एवम् सडक अधिकार क्षेत्र वर्गिकरण खुलेको महानगर यातायात गुरूयोजना तयार गर्ने कार्य आगामी आर्थिक बर्षमा सम्पन्न गरेर जीपीएस सिस्टम कार्यान्वयन गरी सवारी साधनहरूमा नेभिगेसन जडान प्रविधि लागु गर्ने नगर प्रमुख दाहालले पेश गरेको नीति तथा कार्यक्रममा राखिएका छन् । महानगपालिकाले पूर्वाधार विकासको कार्यलाई व्यवस्थित गर्न आगामी वर्ष सञ्चालन गरिने सम्भावित ठूला आयोजनाहरूको परियोजना बैंक तयार गर्ने जनाएको छ ।

महानगरपालिका क्षेत्रभित्रका विद्युत, टेलिफोन, केबुल लाइन र इन्टरनेटका तारलाई चरणवद्ध रूपमा भूमिगत गर्दै लैजाने, नारायणी नदी किनारामा निर्माणाधीन सी बिच मोडेलसहितको मनोरञ्जन पार्क निर्माण गर्ने कार्यलाई संघ एवं प्रदेश सरकारसँगको साझेदारीमा निरन्तरता दिने कार्यक्रममा समेटिएका छन् ।

महानगरको वडा नम्बर २९ मा निजी क्षेत्रसँग सहकार्य गरी एक राष्ट्रियस्तरको औद्योगिक शिक्षालय निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, महानगरपालिका भित्र एक सडकमा एउटै रंग भएका भवन तथा एक सडक, एक विद्युत स्वीच जडान विधि कार्यान्वयन गर्ने नीति लिने, ट्राफिक ब्यबस्थापन कार्ययोजना र ट्राफिक सिग्नलको गुरूयोजना तयार गरी प्रभावकारी कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा राखिएको छ ।

७ हजार लिटरसम्मको खानेपानी शुल्क महानगरले तिर्ने

महानगरपालिका भित्र मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको खानेपानी शुल्क महानगरपालिकाले भुक्तानी दिनेछ ।

महानगरको फोहर व्यवस्थापनका लागि कोरियन सरकारको सहयोगमा महानगरपालिकामा स्थापना हुन गइरहेको दीगो फोहर ब्यवस्थापन सम्बन्धी परियोजनालाई चाँडै नै कार्यान्वयनमा लैजाने नगर प्रमुख दाहालले पेश गरेको कार्यक्रममा राखिएका छन् ।

निजी क्षेत्रसँगको साझेदारीमा फोहरको स्रोतमानै वर्गिकरण गरी दीगो व्यवस्थापनका लागि महानगरपालिकाको उपयुक्त स्थानहरूमा सेग्रिगेसन सेन्टर निर्माण गरी सोही स्थानमा नै अर्गानिक र नन् अर्गानिक फोहरको प्रकृति बमोजिमको प्रविधि प्रयोग गरेर एएए मोडेलमा व्यवस्थापन गर्ने उल्लेख छ । आफ्नै वडामा ल्याण्डफिल साइटको व्यवस्थापन गर्ने वडालाई विशेष प्रोत्साहन गर्ने नीति महानगरले लिएको छ ।

दियालो बंगला तल रहेको जोरकुसुम क्षेत्रलाइ विस्तार गरी वागेश्वरीसम्म विस्तार गरी आकर्षक पार्क बनाउने योजना महानगरको छ ।

प्रत्येक महिनाको अन्तिम शुक्रबार दिनको तीन बजे प्रेस रिलिज गर्ने, त्रैमासिक रूपमा मेयरसँग जनता कार्यक्रम सञ्चालन गरी जनताका गुनासाहरू सुन्ने पद्दतीको विकास गर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीहरूको आर्थिक सुरक्षाका लागि कर्मचारीको पनि योगदान रहने गरी कर्मचारी कल्याण कोषको स्थापना गर्ने विषय कार्यक्रममा राखिएका छन् ।

सबै सामुदायिक विद्यालयका बालबालिकाहरूको वर्षको एक पटक विद्यालयमै निशुल्क स्वास्थ्य परीक्षण (आँखा, दाँत लगायत)को व्यवस्था मिलाउने नगर प्रमुख दाहालले पेश गरेको कार्यक्रममा उल्लेख गरिएको छ ।

महानगरपालिकाभित्र छरिएर रहेका उद्योगहरूलाई व्यवस्थित गर्नेगरी बागमती प्रदेशको आर्थिक सहयोगमा वडा नं. २० मा ५ विघा क्षेत्रफलमा बनाउदै गरेका उद्योग ग्राम निर्माणलाई छिटो सम्पन्न गर्न आवश्यक पहल गर्ने, नियमित रूपमा कर तिर्ने र ५० जना भन्दा धेरै रोजगारी दिने उद्योगीलाई महानगरबाट सम्मान गर्ने नीति लिइने छ ।

कम्तीमा १० वटा उद्योगहरूलाई केन्द्रीकृत गरी व्यवस्थित गर्ने गरी निजी क्षेत्रबाट औद्योगिक ग्राम स्थापना गर्न चाहेमा प्रोत्साहनका लागि महानगरपालिकाले पूर्वाधार निर्माण (बाटो, बिजुली, कम्पाउण्ड, ढल निकास, खानेपानी आदि) को लागि सहयोग र समन्वय गर्ने, कोभिड १९ र त्यसका नयाँ भेरियन्टको प्रभावलाई मध्यनजर गरी आगामी आर्थिक वर्षमा करदाताले बुझाउनु पर्ने करमा कुनै पनि जरिवाना नलगाउने र समयमा कर असुल गर्न करदातालाई छुट दिने नीति महानगरले अख्तियार गर्ने उल्लेख छ ।

भरतपुर महानगरपालिका भित्र बसोबास गर्ने सम्पूर्ण भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई राष्ट्रिय भूमि आयोगसंग समन्वय गरी जग्गा धनी प्रमाण पूर्जा वितरण गर्ने नगर प्रमुख दाहालले पेश गरेको नीति तथा कार्यक्रममा राखिएको छ ।

रंगशालालाई प्राथमिकता, खेलकुद एकेडेमी स्थापनाको अध्ययन

भरतपुर महानगरपालिका वडा नं. १५ मा निर्माण भएर आर्थिक अभावमा रोकिएको गौतमवुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यक्रमलाई सम्पन्न गर्न महानगरपालिकाले विषेश तदारुकता देखाउने, सहयोग गर्ने नीतिलाई महानगरले प्राथमकितामा राखेको छ ।

क्रिकेट रंगशाला निर्माण कार्य सम्पन्न गर्न केन्द्रीय सरकार, बागमती प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय र पहल गर्ने उल्लेख गरिएको छ ।

चित्रवन फुटवल रंगशालालाई पूर्णता दिने, क्याम्पाचौरमा मिनि स्टेडियम बनाउने, खेलकुद क्षेत्रको विकासका लागि खेलकुद एकेडेमी स्थापनाका लागि आवश्यक अध्ययन अगाडि बढाउने नगर प्रमुख दाहालले जनाएकी छिन् । उनले भरतपुर महानगरपालिकालाइ खेलकुद सिटीका रूपमा विकास गर्ने कार्यक्रममा समेटेको जनाएकी छिन् ।

छोरीको निशुल्क जीवन बीमा, ज्येष्ठ नागरिक विश्रामस्थल

भरतपुर महानगरपालिका भित्र रहेका छोरीहरूको स्वास्थ्य तथा सुरक्षाका लागि महानगरभित्र स्थायी बसोवास गर्ने महिलाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मेका छोरीहरूलाई निशुल्क एकलाख बराबरको ‘छोरी जीवन बीमा’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयनमा गर्ने नगर प्रमुख दाहालले पेश गरेको नीति तथा कार्यक्रममा राखिएको छ ।

उनले दोस्रो कार्यकालमा मेयरको पदभार ग्रहण गरेपछि यहीँ नै पहिलो निर्णय गरेकी थिइन् ।

महिला तथा जोखिममा रहेका समुदायसँग ‘मेयर कार्यक्रम’ अन्तर्गत विद्यालय शिक्षामा अति विपन्न किशोरीहरूको पहुँचविस्तार गर्न साईकल वितरणको कार्यक्रमलाई निरन्तरता दिने, ‘एक वडा एक ज्येष्ठ नागरिक विश्रामस्थल’ लाई यथावत राख्ने, महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई भरतपुर अस्पतालबाट प्रदान गरिदैँ आएको निशूल्क ओपीडी टिकट अनुदानलाई निरन्तरता दिइने छ ।

यस्तै, भरतपुर अस्पतलामा महानगरपालिकाको सहायता कक्ष निर्माण गरी छोरी बीमा र ओपिडी टिकट ब्यवस्थापनमा सहजीकरण गर्ने, सम्पूर्ण किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्गको अभियान सञ्चालन गर्ने नीति तथा कार्यक्रममा राखिएका छन्।

कृषि र पशु : कृषि र गैरकृषि जग्गाको वर्गीकरण, विज्ञसहित कृषि एम्बुलेन्स

भरतपुर महानगरको नीति तथा कार्यक्रममा भू उपयोग ऐन तथा नियमावलीको कार्यान्वयन गर्न छ महीनाभित्र कृषि र गैरकृषि जग्गाको वर्गीकरण गरी कृषियोग्य जग्गाको चक्लाबन्दी तथा कन्ट्राक्ट फर्मिङका लागि महानगरपालिकाले समन्वय गर्ने उल्लेख गरिएको छ ।

कृषकहरूलाई तत्कालै प्राविधिक सहायता पुर्‍याउन कृषि विज्ञहरूसहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने, महानगरपालिकालाई उन्नत विउ (खाद्यान्न) उत्पादनको हवको रूपमा विकास गर्ने, कृषकलाई प्रोत्सहित गर्न उत्पादन परिमाणको आधारमा अनुदान दिने व्यवस्था मिलाउने, बीउको गुणस्तर परिक्षण गरी महानगरले प्रमाणित गर्ने ब्यवस्था मिलाउने कार्यक्रम ल्याउने महानगरले जनाएको छ ।

जीर्ण अवस्थामा रहेको नारायणी लिफ्ट सिँचाई आयोजनालाई नियमित सञ्चालन गर्न संघीय सरकारसंग समन्वय गर्ने, वैदेशिक रोजगारबाट फर्केका तथा बेरोजगार युवाहरूलाई कृषि पेशा तर्फ आकर्षित गर्नका लागि व्यवसायिक खेति गर्न चाहेमा अनुदान दिने व्यवस्था गर्ने, भरतपुर कृषकमैत्री ऋण कार्यक्रम अन्तर्गत कृषकलाई २५ लाखसम्म लिँदा २ प्रतिशत ब्याज महानगरपालिकाले व्यहोर्ने नीति लिइने महानगरले पेश गरेको नीति तथा कार्यक्रममा राखिएका छन् ।

कृषि विमा कार्यक्रमलाई निरन्तरता दिँदै अहिले किसानलाई दूध उत्पादनमा दिइएको प्रति लिटर तीन रुपैया अनुदानलाई यथावत राखिएको छ ।

एक वडा एक पशु सेवा प्राविधिक कार्यक्रमलाई प्रथमिकताका साथ कार्यान्वयन गरिने महानगरले जनाएको छ ।

पर्यटन तथा संस्कृति : भरतपुर भ्रमण वर्ष २०८०

भरतपुर महानगरपालिकाले विक्रम सम्वत २०८० लाई भरतपुर भ्रमण बर्षका रुपमा मनाउने जनाएको छ । महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा भरतपुर भ्रमण वर्ष २०८० घोषणा गरी ‘घुमौं भरतपुर’ अभियान सञ्चालन गर्ने जनाएको छ ।

महानगरपालिकाले पहिचान गरेका ३० वटा प्रमुख पर्यटकीय गन्तब्यहरूको प्रर्वद्धन र विकास गरी भ्रमण बर्ष मनाउने जनाएको छ ।

महानगरको पहाडी क्षेत्र चौकिडाँडालाई स्थानीय उपभोक्ताहरूको साझेदारीमा माइस टुरिजमको विकास गर्ने, पर्यटन सूचना नक्शा तयार गरी जारी गर्ने नीति तथा कार्यक्रममा राखिएको छ । महानगरले उर्पयुक्त जमिनको पहिचान गरेर भरतपुर महानगरपालिका पर्यटकीय स्तम्भ निर्माण गर्ने उल्लेख गरेको छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?