+

लामो समय वैदेशिक रोजगारीमा रहेका महिलामा किन देखिंदैछ बाँझोपनको समस्या ?

२०७९ असार  १० गते १५:४३ २०७९ असार १० गते १५:४३
लामो समय वैदेशिक रोजगारीमा रहेका महिलामा किन देखिंदैछ बाँझोपनको समस्या ?

काठमाडौं । नुवाकोट घर भएकी शर्मिला बागदास आत्मनिर्भर हुने सपनाले २० वर्षको उमेरमा वैदेशिक रोजगारीका लागि कतार उडिन् । तीन वर्षको कतार बसाइपछि उनी बिदामा घर आइन् । बिदा सकियो, तीन वर्षका लागि फेरि कतार फर्किन् ।

केही पैसा कमाएपछि विवाह गर्ने योजनाका साथ तीन वर्षको कतार बसाइलाई बिट मार्दै उनी नेपाल आइन् । विवाह गरिन्, जीवन राम्रैगरी चल्यो । सन्तान जन्माइहाल्ने पतिपत्नीले योजना बनाए, तर विवाहको तीन महिनासम्म गर्भ नै बसेन । एक वर्षसम्म गर्भ नबस्नु सामान्य नै भनेर उनी बसिन् ।

वर्ष बढ्दै गए, उनको सामान्य समस्या अब जटिल बन्न लागेको उनले महसुस गरिन् । घरमा पनि उनलाई हेर्ने दृष्टिकोण बदलिंदै जान थाल्यो । गर्भवती हुने चाहनाले उनले औषधि उपचार मात्र होइन झारफुकसम्म पनि गरेर हेरिन्, तर गर्भ बस्न सकेन । उपचारकै लागि पैसाको अभावले निराश हुँदै गत वर्षको मंसिरमा उनी पुनः कतार नै गइन् ।

‘कति पटक प्रयास गर्दा पनि गर्भ बस्न सकेन, पैसा पनि सकियो । अब पैसा जम्मा गरेर राम्रो अस्पातलमा देखाउँछु त्यसैले फर्किएँ,’ उनी भन्छिन् ।

नवलपरासीकी ३३ वर्षीया सीता गुरुङ (नाम परिवर्तन)ले घरको आर्थिक स्थिति कमजोर भएकाले माध्यमिक तहसम्मको नै पढाइ पूरा गर्न पाइनन् । कमजोर आर्थिक अवस्थाले उनले वैदेशिक रोजगारीको बाटो समाइन् । २०६४ सालमा उनले वास्तविक उमेर भन्दा केही उमेर बढाएर नागरिकता बनाइन् । धन कमाउने सपना बोक्दै उनी खाडी मुलुक ओमान उडिन् । त्यहाँ तीन वर्ष काम गरेपछि नेपाल फर्किइन् ।

घर फर्केको एक वर्षपछि कमाएको पैसा सकिंदै गयो । बढ्दो महंगीले खर्च धान्न हम्मे परेपछि उनले फेरि विदेश जाने निर्णय गरिन् । तीन वर्षको भिसामा उनी कतार गइन् । कतारको कमाइ राम्रोे थियो । भिसाको अवधि सकिएपछि उनी घर फर्किइन्, त्यसपछि विदेश नजाने सोच बनाइन् । विवाह गरेर घर बसाउने निर्णय गरिन्, विवाह गरिन् । तर विवाह गरेको पाँच वर्ष भइसके पनि सन्तान हुन सकेको छैन । उनी यो समस्याको उपचारमा दौडधुप गरिरहेकी छन् ।

यी प्रतिनिधि पात्र मात्र हुन् । वैदेशिक रोजगारले अधिकांश नेपालीको गर्जो टरेको छ । नेपाली महिला वैधानिक तवरले वैदेशिक रोजगारीमा जान थालेको एक दशक भन्दा बढी भइसक्यो । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा ११ हजार ४५६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । पछिल्लो समय भने कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा महिलाको संख्या केही घटेको देखिन्छ । साथै, सरकारले २०७२ सालदेखि घरेलु कामका लागि विदेश जान निषेध गरेकाले पनि वैदेशिक रोजगारीमा जाने महिलाको संख्यामा कमी आएको हुनसक्छ ।

नेपाली महिलाको मुख्य रोजगार गन्तव्य खाडी मुलुक नै हुन् । जहाँको जीवनशैली र हावापानी नेपालको भन्दा निकै भिन्न छ । जसका कारण विभिन्न स्वास्थ्य समस्या पनि देखिइरहेका छन् । जसमध्ये एउटा बाँझोपन अर्थात् प्रजनन् क्षमतामा कमीको समस्या पनि हुनसक्ने स्त्रीरोग विशेषज्ञ डा. श्वेता सिंह बताउँछिन् ।

डा. श्वेता सिंह । फाइल तस्वीर

‘वैदेशिक रोजगारीमा सबैको काम एकनासको हुँदैन । मौसम पनि भिन्न । जलवायु परिवर्तनले पनि यस्तो समस्या हुनसक्छ,’ उनी भन्छिन्, ‘वैदेशिक रोजगारीमा गएका महिलाले कडा परिश्रम गर्नुपर्छ, काम गर्ने अवधि पनि लामो हुन्छ । शरीरको क्षमता भन्दा बढी समयसम्म काम र तनावले गर्दा यो समस्या देखिन सक्छ ।’

आधुनिकतालाई पछ्याउने नाममा शरीरलाई बेफाइदा गर्ने कुराको प्रयोगले पनि प्रजनन् सम्बन्धी समस्या निम्त्याइरहेको डा. सिंहको बुझाइ छ । आधुनिक बन्ने लहडमा रक्सी– चुरोट सेवन गर्ने, अबेर रातिसम्म मोबाइल वा कम्प्युटरमा झुण्डिने लगायतका समस्याले पनि प्रजनन् क्षमतालाई कमजोर बनाउँदै लगेको छ ।

वैदेशिक रोजगारीमा जाने महिलमा प्रजनन् क्षमताको समस्या आउनुमा उमेर पनि कारण हुनसक्ने डा. सिंह बताउँछिन् । ‘उमेर रहुञ्जेल कमाउने र आर्थिक अवस्था सृदृढ बनाउने योजनाले पनि महिलाले ढिलो विवाह गर्ने चलन बढेको छ । वैदेशिक रोजगारीमा जाने महिलामा यस्तो अझ बढी देखिन्छ,’ उनी भन्छिन्, ‘सामान्यतया महिलाको पहिलो गर्भधारणका लागि उपयुक्त समय ३० वर्षमुनि हो । तर यसलाई ख्यालमा राखेको पाइँदैन ।’

३५ वर्षको उमेरपछि डिम्बासयमा अण्डाको गुणस्तर कम हुँदै जाने भएकाले प्रजनन् क्षमतामा असर गर्ने देखिएको छ ।

डा. सिंह भन्छिन्, ‘जुन कारणले भए पनि समस्या त सिर्जना भइहाल्यो । पछिल्लो समय नयाँ–नयाँ प्रविधि भित्रिएका छन्, कतिपय अवस्था प्राकृतिक विधिबाट गर्भ रहन नसक्ने अवस्था हुँदा ती विकल्पहरुमा जान सकिन्छ ।’

प्रजनन् महिला वैदेशिक रोजगारी
डा. श्वेता सिंह
लेखक
डा. श्वेता सिंह
प्रसूति तथा स्त्रीरोग एवं नि:सन्तानपन विशेषज्ञ

डा. सिंह हाल ललितपुर जावलाखेलस्थित अल्का अस्पतालमा कार्यरत छिन् । उनले प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी छन् । नि:सन्तानपन तथा प्रजनन् स्वास्थ्यमा फेलोसिप गरेकी छन् ।  उनको मेडिकल काउन्सिल दर्ता नम्बर ७८९५ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय