+
+

दुम्कीबासमा दुई प्रसारण टावर बनाउन बाटो खुल्यो   

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १८:२२

१२ असार, काठमाडौं । सर्वोच्च अदालतले भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारणलाइनको मुआब्जासम्बन्धी मुद्दा टुंगो लगाएको छ । स्थानीयबासीले प्रसारणलाइन आयोजना अन्तरगतको टावर राख्न अवरोध गर्दै दायर गरेको रिट सर्वोच्चले खारेज गरेको छ ।

अन्तिम चरणमा पुगेको आयोजनाको दुई वटा टावर रहने जग्गाबारे विवाद छ । सर्वोच्च अदालतले सो मुद्दाको पेशी तोक्दै सार्दै आएकोमा आइतबार निर्देशनात्मक आदेश सहित उत्प्रषणमार्फत रिट खारेज गरेको हो ।

न्यायधीशहरु ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढंगनाको संयुक्त इजलासले गरेको फैसलाले डेढ वर्षदेखि रोएकिो आयोजनाले पूर्णता पाउने बाटो खुलेको छ ।

यो आयोजनाको निर्माण २०७७ चैतबाट ठप्प छ । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले स्थानीयको माग बमोजिम गत २५ चैतमा अन्तरिम आदेश जारी गरेका कारण काम रोकिएको थियो ।

सर्वोच्चमा मुद्दा विचाराधीन भएकाले प्राधिकरणले तत्काल स्थानीयसँग सहमति गरेर काम अघि बढाउनसक्ने अवस्था पनि थिएन । विद्युत् प्राधिकरणका अनुसार ७४ किलोमिटर प्रसारणलाइनमा पर्ने २४६ टावरमध्ये २४४ वटा खडा भइसकेका छन् । दुम्कीबासमा २ वटा टावर निर्माण रोकिँदा अन्तिम चरणमा पुगेको काम पूरा हुन सकेको छैन ।

यो आयोजना छिटो नसकिए राष्ट्रिय विद्युत प्रसारणको मुख्य प्रणाली नै प्रभावित हुने जोखिम रहेको प्राधिकरणले बताउँदै आएको छ । देशभर विद्युत उत्पादन र खपत बढिरहँदा उत्पादित विद्युत बजारसम्म लैजान र प्रणालीलाई सहज तथा भरपर्दो रुपमा सञ्चालन गर्न प्राधिरकणलाई यो आयोजनाको विशिष्ट महत्व छ ।

यो आयोजना समयमै नबन्दा ४५६ मेगावाटको माथिल्लो तामाकोशी र मर्स्याङ्दी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत भरतपुर पश्चिम पठाउन नसकिएको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

अहिले भरतपुर-बर्दघाट १३२ केभी प्रसारणलाइन सिंगल सर्किट मात्रै सञ्चालनमा छ । त्यसैकारण भरतपुरबाट पश्चिमतर्फ थप विद्युत पठाउन सकिँदैन । पश्चिम नेपालका भैरहवा, नेपालगञ्ज लगायतका क्षेत्रमा ठूला उद्योग खुल्ने क्रम बढेकाले यो प्रसारणलाइन अपरिहार्य बनिसकेको छ ।

यो लाइन बनेपछि होङ्सी सिमेन्टलाई थप विद्युत दिन पनि सहज हुनेछ । तर भरतपुर-बर्दघाट प्रसारण लाइन निर्माण नबन्दा दिन समस्या परिरहेको प्राधिकरणको भनाइ छ ।

यो प्रसारणलाइनमा अवरोध गरेका स्थानीयले अदालतको मुद्दालाई कारण देखाएर प्राधिकरणको टोलीलाई सो क्षेत्रमा जान नै दिएको छैन ।

‘सावधान ! यस क्षेत्रमा निर्माण कार्य यथास्थितिमा राख्न सर्वोच्च अदालतबाट आदेश भएको हुँदा कुनै गतिविधि गर्न/गराउन सख्त मनाही छ,’ नवलपरासीको दुम्कीबास क्षेत्रमा निर्माणाधीन भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारणलाइनको टावरमा स्थानीयबासीन्दाले टाँसेको सूचनामा भनिएको छ ।

सोही स्थानकै अर्को टावर छेउमा फ्लेक्स बोर्ड नै टाँगेर प्रसारणलाइन निर्माणको काम अघि नबढाउन स्थानीयले चेतावनी दिँदै आएका छन् । देशभर निर्माणको चरणमा रहेका विभिन्न महत्वपूर्ण प्रसारणलाइन यस्तै समस्यामा फसिरहेका छन् । कतिपय क्षेत्रमा ठेकदारको लापरवाही र ढिलाइ छ । राम्रो काम भइरहेको ठाउँमा स्थानीयबासीको अवरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?