+
+

चीनले बनायो प्लास्टिक खाने रोबोट माछा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १२:५७

काठमाडौं । चीनका वैज्ञानिकहरुले एउटा यस्तो माछा तयार पारेका छन् जसले सुक्ष्म प्लास्टिक अर्थात् माइक्रो प्लास्टिक खाएर आफ्नो पेट भर्दछ । योसँगै अब समुद्रबाट माइक्रोप्लास्टिकको समस्या समाधान हुने आशा जागेको छ ।

चीनको दक्षिण पश्चिमस्थित सिचुआन विश्वविद्यालयका वैज्ञानिकहरुले उक्त विशेष रोबोटिक माछा तयार गरेका हुन् । यो रोबोटिक माछाले माइक्रोप्लास्टिक खाने गर्दछ । यो रोबोटिक माछाको विकाससँगै अब भविष्यमा समुद्रमा माइक्रोप्लास्टिक प्रदूषणको समस्या हट्ने अपेक्षा गरिएको छ ।

उक्त रोबोटिक माछाको विकास गर्ने वैज्ञानिक वांग युयानका अनुसार यो माछा देख्दा र छुँदा ठ्याक्कै वास्तविक माछा जस्तै अनुभूति हुन्छ  । यसको लम्बाइ १.३ सेन्टिमिटर अर्थात् आधा इन्च मात्रै छ । यो रोबोटिक माछाले पानीमा रहेको माइक्रोप्लास्टिकलाई खाने गर्दछ ।

हालका लागि यो रोबोटिक माछाले कम गहिरो पानीका स्रोतमा मात्र काम गर्न सक्दछ । त्यसैले यसलाई समुद्रको पिँधसम्मै जानसक्ने गरी विकास गर्नेतर्फ वैज्ञानिकहरु जुटिरहेका छन् । यदि त्यो प्रयास सफल भएमा सामुद्रिक प्रदूषण कम गर्न सहयोग पुग्नेछ ।

वांगका अनुसार यो सानो र हलुका रोबोट माछालाई विभिन्न तरिकाले उपयोग गर्न सकिन्छ । यो माछा वायोमेडिकल तथा घातक शल्यक्रियाहरुमा पनि काम लाग्न सक्दछ । उक्त माछालाई भविष्यमा मानिसको शरीरका जुनसुकै भागमा पनि गएर रोगको उपचार गर्न सक्ने गरी सानो आकारमा विकसित गर्ने वांग बताउँछन् ।

वैज्ञानिकहरुले यो माछालाई प्रकाशको आधारमा चल्नसक्ने बनाएका छन् । हाल यो रोबोटिक माछा नियर इन्फ्रारेड लाइट (ल्क्ष्च्) को दिशामा अगाडि बढ्दछ । अर्थात् यो प्रकाश पछ्याउँदै अगाडि बढ्दछ । प्रकाशलाई घटबढ गर्दै यसको दिशा तथा गति नियन्त्रण गर्न सकिन्छ ।

समुद्रमा रहँदा कुनै ठूलो माछाले यसलाई सिकार सम्झेर निल्यो भनेपनि समस्या छैन । यसले ठूलो माछाको पेटमा कुनै हानी गर्दैन । किनकी यसको शरीर पोलियुरिथेनबाट बनेको हुन्छ, जुन जैविक तरिकाबाट गल्दछ ।

यो रोबोटिक माछा आफ्नो शरीरको आकारको करीब पौने ३ गुणा धेरै दूरी प्रतिसेकेण्डको गतिमा दौडिन सक्दछ । यो विश्वमा हालसम्म निर्मित नरम रोबोटमध्ये सबैभन्दा तीव्र गतिको रोबोट भएको बताइएको छ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?