+
+

‘जब आकाश गर्जिन्छ, अनि मन तर्सिन्छ’ 

रासस रासस
२०७९ साउन ११ गते १३:३६

११ साउन, रुपन्देही । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर निवासी विनबहादुर बिटालु राम्रोसँग ननिदाएको धरै दिन भयो । पहिराका कारण श्रवनडाँडाको माथिल्लो भू–भाग नै बगेर सिधै बुटवल बजारतर्फ सोझिएपछि पहिराले च्याप्ने डरले उनी निदाउन सक्दैनन् । पानी पर्ने बित्तिकै घर छोडेर हिँड्ने बिटालु दम्पती बेलवास आफन्तको घरमा बास बस्न पुग्छन् ।

गत वर्ष चार कोठा पहिराले पुरिएको उनको घरमा अहिले पनि असारको पहिलो हप्ता पहिरो पसेको छ । घरको पछाडिबाट ढुङ्गा माटोसहितको पहिरोभित्र पसेपछि उनीहरुले एउटा कोठामा खाने बस्ने गर्दै आएका छन् । ‘आकाश गर्जिन थाल्यो कि मन तर्सिन्छ दिउँसोमा त बरु देखिन्छ तर रातिमा आयो भने गुहार नपाई मरिन्छ कि भन्ने डर लाग्छ’, आँखाभरि आँशु पार्दै बिटालु दुःखेसो पोख्छन् ।

घरअगाडि सानो टङ्की पसल गरेर गुजारा गर्दै आएका बिटालु दम्पती पहिराका कारण व्यापार पनि नभएको गुनासो गर्छन् । यो क्षेत्रमा ४१ वर्षदेखि बसोबास गर्दै आएका बिटालुको परिवारले गतवर्ष पहिरो घरभित्रै पस्दा पनि अहिलेसम्म कुनै राहत तथा सहयोग भने पाएका छैनन् ।

स्थानीय तहको निर्वाचनमा हामीले पहिराबाट बचाउँछौ भनी राजनीतिक दलका प्रतिनिधिहरु घरदैलोमा भोट माग्न पुगे तर कुनै सहयोग तथा पहिरो नियन्त्रणका लागि पहल नगरेको बिटालुकी श्रीमती उजेली गुनासो गर्छिन् । ‘पानी पर्ने बित्तिकै माटोको लेदोसहितको खोलो बग्न थाल्छ, हामी घर बाहिर रुझेर बस्छौँ । यसरी कति दिन चल्छ ? त्यसैले सरकारले हामीलाई अन्यत्रै बस्ने व्यवस्था मिलाउनुपर्छ’, उजेली भन्छिन् ।

बुटवल–३ कै सति कुमारी श्रेष्ठ पनि आकाश गजिर्ने बित्तिकै घर छाडेर हिँड्छन् । चुरे पहिराका कारण घर जोखिममा रहेकाले पहिराले च्याप्ने डरले उनी रातिमा घरमा सुत्न सक्दिनन् । गतवर्षको पहिराले घरको भूईँतला पुरेपछि लामो समय सरसफाइ गर्दा श्रेष्ठलाई धेरै पैसा खर्चिनुपरेको थियो । ‘गतवर्षको पहिरो बल्लबल्ल सफा गरे अहिले पनि पानी पर्ने वित्तिकै घरभित्र लेदोसहितको माटो पस्छ, रातिमा थाहै नपाई मरिन्छ कि भनेर अरुको घरमा गएर बस्छु’ श्रेष्ठ दुःखेसो गर्छिन् ।

श्रीमान र छोराको मृत्युपछि घरमा एक्लै बस्दै आएकी श्रेष्ठको सहारा कोही छैन । सरकारले पनि अहिलेसम्म कुनै सहयोग नगरेको उनको गुनासो छ । ‘पहिरोका कारण गत वर्षदेखि घरमै बस्न नसक्ने अवस्था भइसक्यो तर कसैले केही गर्दैन, कसैले हेर्दैन’, गहभरि आँशु झार्दै श्रेष्ठले भने ।

अहिले पानी पर्नासाथ उपमहानगरको वडा नं ३ र ४ मा पर्ने चुरे क्षेत्रमा लेदोसहितको माटो र पानी बग्न शुरु हुन्छ । यसले गर्दा यहाँका स्थानीयबासी घर छोडेर हिँड्न बाध्य हुन्छन् । बुटवल उपमहानगरपालिकाको तिनाउ नदी वारि र पारि पहिरोका कारण छियाछिया परेका चुरे क्षेत्रबाट पहिरो जान थाल्छ, अनि स्थानीयबासी आत्तिन थाल्छन् । गतवर्षदेखि पानी पर्ने वित्तिकै घर छोडेर हिँड्नुपर्ने वाध्यता यहाँका वासिन्दालाई छ । खासगरी बुटवलको लक्ष्मीनगर र ज्योतिनगर क्षेत्रका बासिन्दा चुरेको पहिरोबाट प्रभावित छन् ।

अहिले वर्षा शुरु भएसँगै यो क्षेत्रका वासिन्दाहरु रातिमा घर छाड्न बाध्य छन् । वडा नं ३ का स्थानीय केशवराज पन्थीका अनुसार चुरे पहिराको जोखिमका कारण यो क्षेत्रका बासिन्दा अन्यत्रै कोठा भाडामा लिएका छन् । पानी पर्ने बित्तिकै यो क्षेत्र छोडेर भाडाको कोठामा बस्न जाने गरेको उनको भनाइ छ । असारको पहिलो हप्ता परेको वर्षापछि आएको चुरोको पहिरो केही स्थानीयको घरमा पस्यो । पहिरोबाट बगेर र आएको लेदोसहितको पानी आधा दर्जन स्थानीयबासीको घरमा पसेपछि उनीहरु घर छोडेर हिँडेका थिए ।

गतवर्ष पहिरोका कारण करीब दुई दर्जन दर्जन स्थानीय वासिन्दाका घरमा क्षति पुगेपछि विज्ञको टोलीले चुरे पहिरोको अध्ययन गर्‍यो । चुरे क्षेत्रमा पहिरोका कारण थप जोखिम बढेपछि विज्ञको टोलीले अध्ययन गरेर पानीको अव्यवस्थित सतही बहाब नै बुटवल पहिरोको मुख्य कारण हो भन्ने ठहर गरे ।

यहाँको पहिरालाई रोकथाम गर्ने पहिलो उपाय सतही र भूमिगत पानीको सही व्यवस्थापन भएको निष्कर्ष निकालेर राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम कार्यान्वयन इकाइ कार्यालय बुटवललाई प्रतिवेदन बुझाइएको थियो । पहिरो नियन्त्रणका लागि श्रवनडाँडा (पहिरो गएको डाँडो) को मध्यभागमा रहेका मूलहरुबाट बगेको पानीलाई पाइपमार्फत एकैठाउँ जम्मा गरेर पुराना वा नयाँ नालीहरुहरुमा मिसाउनु उपयुक्त हुने राय विज्ञले दिए । एक वर्षमा भएका अनुगमन, वुक्षरोपण र सामान्य पर्खाल लगाउने कामले पहिरो नियन्त्रण हुने देखिँदैन ।

गत वर्षको भदौ १३ र १४ गते बुटवल उपमहानगरपालिकाको ज्योतिनगर र लक्ष्मीनगर माथिको भागस्थित चुरे क्षेत्रमा गएको ठूलो पहिरोका कारण बुटवल बजार नै जोखिममा परेपछि विज्ञको टोलीले अध्ययन गरेको थियो ।

गतवर्ष पहिरो र दोस्रो चरणमा गरेर विज्ञको टोलीले चुरे पहिरो क्षेत्रको अवलोकन गरी दिएको सुझावका आधारमा ज्योतिनगर र लक्ष्मीनगरमा वृक्षरोपण गर्ने, तारजाली लगाउने र पर्खाल लगाउने काम गरिएको सो कार्यालयका सूचना अधिकारी निर्मल थापा भन्छन्, ‘हामीले गत आर्थिक वर्षमा दुई करोड ३५ लाख रुपैयाँको काम गरेका छौँ तर, प्राकृतिक प्रकोपसँग कस्को कसैको केही लाग्दैन ।’

गतवर्ष उपमहानगरको वडा नं ३ मा पर्ने ज्योतिनगर क्षेत्रमा मात्रै करीब ७० हेक्टर क्षेत्रमा पहिरो गएको थियो । ‘जुनसुकै समयमा खस्न सक्ने गरी ढुङ्गा माटो झुण्डिएर बसेकाले उक्त क्षेत्र निकै जोखिममा गतवर्षको पहिराका कारण घर वरिपरि ढुङ्गा माटोसहितको पहिराले लथालिङ्ग अवस्था छ, अहिले त झन पहिराले बाँच्न दिँदैन कि जस्तो लाग्छ’, स्थानीयबासी तुलसा सुवेदी दुःखेसो पोख्छिन् ।

वर्षभरि नै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएकाले यो वर्ष पनि समस्या झेल्नुपर्ने अवस्था आएको चुरे–तिनाउ संरक्षण समितिका संयोजक कमल गौतम बताउँछन् । अझै पनि चुरेको पहिरो नियन्त्रणका लागि पहल नगर्ने हो बुटवलमा ठूलो क्षति हुने खतरा रहेको उनको भनाइ छ ।

चुरे–तिनाउ संरक्षण समितिका संयोजक गौतमका अनुसार यसअघि पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको पहलमा रु दुई करोड ३० लाख, बुटवल उपमहानगरपालिकाका तत्कालीन प्रमुख शिवराज सुवेदीको पहलमा एक करोड १५ लाख रुपैयाँ स्थानीय युवा परिचालन गरी पहिरो नियन्त्रणका लागि खर्चिएको भएपनि यो वर्ष पहिराको खतरा टरेको छैन ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?