+
+

जनार्दनको जवाफ : बजेट राष्ट्रको स्वार्थमा छ, परिणामले देखाउने छ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १४ गते १७:३४

१४ साउन, काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई बोलाएर करका दर हेरफेर गरेको भन्ने आरोप संसदीय समितिले गरेको छानबिनबाट पुष्टि हुन सकेन ।

संसदमा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गरिएको भन्ने आरोप लागेपछि उनले छानबिनलाई सघाउन भन्दै राजीनामा दिएका थिए । उनले आफूमाथि लगाइएका आरोप मित्थ्या भन्दै पहिल्यै खण्डन गरेका थिए । हुन पनि १७ दिन लगाएर गरिएको संसदीय छानबिन विशेष समितिले पनि आरोप पुष्टि गर्न सकेन

छानबिन प्रतिवेदन तयार पार्ने क्रममा समितिले शर्मासँग सोधपुछसमेत गरेको थियो । शुक्रबार सभामुख अग्नि सापकोटालाई बुझाएको प्रतिवेदनमा समितिका सदस्यका प्रश्न र शर्माले दिएका उत्तर जस्ताको त्यस्तै समावेश छ ।

सुरुमा बजेट निर्माणको प्रक्रियागत कुराहरुबारे भनेका शर्माले सरोकारवाला र जनस्तरसम्म पनि छलफल गरेर बजेट तयार पारिएको भन्दै आफूले तयार पारेको बजेट राष्ट्रको हितमा रहेको दाबी गरेका छन् । त्यसको परिणाम देखिंदै जाने उनको ठोकुवा छ ।

संसदीय समितिको प्रतिवेदनमा समावेश शर्माले भनेका कुराहरुको सार संक्षेप यस्तो छ-

  • सुरुमा बजेट निर्माणका केही प्रक्रियागत कुरा राख्न चाहन्छु । बजेटमा आम सरोकारवालाका चासोका विषय हुँदा रहेछन् । ४० भन्दा बढी सरोकारवाला समूहहरूसँग छलफल गरियो । जनस्तरमा पनि व्यापक छलफल गरियो । मधेसका अत्यन्त गरिब समुदायदेखि कर्णालीका दलित समुदायसँग पनि छलफल गरियो । विभिन्न क्षेत्रका अर्थविद्हरूसँग पनि छलफल गरियो । पूर्व अर्थमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पूर्व सदस्यहरूसँग छलफल गरियो । मन्त्रालयमा आएका सरोकारवालाका मागहरूको अध्ययन गरियो । सचिवले विभागीय प्रमुखहरूलाई प्रारम्भिक रूपमा निर्देशन दिनुभयो । विभागहरूले आफ्नो तयारी गरे । वक्तव्यको खाका तयार हुन थाल्यो । अन्तिम सातामा मात्र ती सबैको बि्रफिङ सुनें । जेठ १४ गतेका दिन मन्त्रालयका विभिन्न महाशाखाहरूमा अत्यन्त व्यस्तताका साथ काम हुँदै थिए । त्यसलाई ”कारखाना” भनिँदो रहेछ । १४ गते साँझ २ जना सचिव र २ जना महानिर्देशकलाई राखेर मैले नीतिगत निर्देशन दिएँ । निर्देशन दिइसकेर साढे ११ बजे तिर निवास गएको थिएँ । बिहान लगभग ६ बजेतिर फर्कें ।
  • गरिबी अन्त्य गर्न सघाउ पुर्‍याउने, व्यापार घाटा कम गर्ने, अति आवश्यक नहुने वस्तुमा दर बढाउने, तस्करी हुने वस्तुमा तस्करी हुन नसक्ने गरी बढाउने नीति लिएका थियौं । निकासी हुन सक्ने, विद्युत खपत गर्ने उद्योगलाई प्राथमिकता दिने पनि नीति थियो । आयातमा आधारित अर्थतन्त्रबाट उत्पादनमा आधारित अर्थतन्त्रतर्फ जाने लक्ष्य लिइएको थियो । यसपटक विदेशी मुद्रा सञ्चितिलाई पनि विशेष ध्यान दिनपर्ने आवश्यकता थियो । कच्चा पदार्थ, अर्धतयारी र तयारी वस्तुमा तहगत फरक हुनुपर्ने नीति लिइयो ।
  • मन्त्रालयमा भित्र बाहिर जाने बाटोमा लक गरिएको थियो । सुरक्षाकर्मी पनि खटिएका थिए । मन्त्रालयको परिचयपत्र भएका व्यक्तिबाहेक कोही आउन जान सक्दैन । कोही बाहिरी मान्छे, अनधिकृत मान्छे आउन सक्ने सम्भावना नै हुँदैन ।
  • सीसीटिभी सम्बन्धी कार्यविधि मलाई पनि थाहा थिएन । क्षमता कति छ भनेर प्राविधिक कुरा थाहा थिएन । म मन्त्री हुँदै एउटा संस्थाबाट माग भएको थियो । सचिवले यस्तो आएको छ भनेर देखाउनुभएको थियो । प्रक्रिया पुर्‍याएर दिनुहोस् भनेर निर्देशन दिएको थिएँ । समितिले माग गरेको र त्यसमा मन्त्रालयले जबाफ दिएको सम्बन्धमा मैले राजीनामा दिइसकेपछि मन्त्रालयबाट भएका कुराहरूको विषयमा मलाई जानकारी छैन ।
  • सरकारले बजेटमार्फत स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने र आयात निरुत्साहन गर्ने नीति लिएको हो । सेनिटरी प्याड चाहिँ अपवाद नै हो । महिला सरोकारवालाहरूको लामो समयदेखिको माग थियो । महिला माननीयज्यूहरूले सदनमा पनि कुरा उठाउनुभएकै हो । ”रातो कर माफ गर” भनेर महिनौं आन्दोलन भएको हो । प्याडमा लगाउँदै आइएको भन्सारले महिलाहरूलाई साँच्चै नै अन्याय भएको रहेछ जस्तो महसुस भयो । यसबाट कति राजस्व आउँदो रहेछ भनेर सचिवलाई सोधेँ, १२-१४ करोड आउँछ भन्ने तथ्यांक पेस गर्नुभयो । त्यसोभए त्यति राजस्व अरू स्रोतबाट make up गरेर यसमा हटाइदिनुहोस् भनेर निर्देशन दिएको हुँ । तर स्वदेशी उद्योगलाई पनि मार पर्न दिएको छैन । स्वदेशी उत्पादकले कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार १ प्रतिशतमा सीमित गरिएको छ । आयकरमा पनि छुट दिइएको छ । अहिले १ अर्ब २४ करोडको व्यापार भएका स्वदेशी उत्पादकलाई सरकारी खरिदमा स्वदेशी नै किन्नुपर्ने प्रावधानबाट २ अर्बको बजार सुनिश्चित गरिदिएका छौं ।
  • Sponge iron वातावरणका केही प्रश्न उठेका छन् तर नयाँ प्रविधिले त्यसलाई समाधान गर्दै आएका पनि छन् ।  Billet मा भन्दा Sponge iron मा डलर कम बाहिरिन्छ । विद्युत खपत पनि यसले बढाउने रहेछ । नेपालको फलाम खानीबाट उत्पादन सुरु भएपछि त्यसैको कच्चा पदार्थ उपयोग हुन सक्छ । सिमेन्टमा हामी आत्मनिर्भर भइसक्यौं, ढुंगा पनि हामीसँगै छ । फलाममा आत्मनिर्भर हुन सक्यौं भने हामी निर्माणमा आत्मनिर्भर हुन्छौं । विस्तृत अध्ययन गरौं, म जिम्मेवारीका साथ भन्न सक्छु, देशलाई फाइदा नै पुग्ने नीति छ ।
  • विद्युतीय गाडीमा तह निर्धारण गर्‍यौं । बाइकहरूमा CC भनेजस्तो केका आधारमा गर्नेभन्दा विद्युतीय गाडीमा किलोवाटको आधारमा हुँदो रहेछ । १०० किलोवाटसम्म वृद्धि गरिएन । त्योभन्दा माथिको गाडीमा कर वृद्धि गरियो । महँगो गाडीमा पनि एकदम कम राजस्व उठ्ने अवस्था थियो । अहिले डलर सञ्चिति कम भएको समयमा सस्ता नै आउन् भनेर हो । नेपालमा कारोबार गर्ने कम्पनीहरूले एक किसिमको मात्रै ल्याउँदैनन्, सबै किसिमको ल्याउँछन् । कुनै कम्पनीलाई मर्का परेको छैन ।
  • Palm Oil र Palmoline oil को पनि धेरै कुरा उठेको छ । पहिला जति नेपाल भित्रिन्छ, सबै भारततिर जाँदो रहेछ, यहाँका उद्योगले नपाउने रहेछन् । त्यही भएर यहाँका उद्योगहरूका लागि भनेर सहुलियत दिइएको हो । अहिले भारतले नेपालबाट नलिने नीति लियो, त्यसपछि यी विषयहरू उठ्न थालेका हुन् । चाउचाउ र बिस्कुट उद्योग धेरै छन् नेपालमा, फाइदा सबैलाई पुगेको छ ।

प्रतिवेदनमा समितिका सदस्य र निवर्तमान अर्थमन्त्री शर्माबीचको प्रश्नोत्तर पनि समावेश छ । प्रश्नोत्तर यसप्रकार छ –

प्रश्न : सभामुखज्यूको रोहवरमा सरकार पक्ष र प्रतिपक्षबाट एक-एक जना बसेर फुटेज हेरौं भनेर प्रतिपक्षले पहिले नै प्रस्ताव गरेको थियो । यसलाई किन गम्भिर रुपमा लिइएन ?

उत्तर : सभामुखसहित त्यसरी आउनु भएको भए हेर्न नदिने भन्ने कुरै हुँदैनथ्यो । आउनु भएन ।

प्रश्न : दरको हेरफेरको औचित्य पुष्टि गर्ने कागजातहरु छन् ?

उत्तर : के गर्दा राजस्वमा कस्तो असर पर्छ भन्ने विश्लेषण सचिव र महानिर्देशकहरुले presentation बनाएर Screen मा देखाउनु हुन्थ्यो । छलफल हुन्थ्यो, परिमार्जन गर्नुपरे त्यहीँ गर्नुहुन्थ्यो ।

प्रश्न : नीतिगत निर्देशन गरेर बाहिरिएँ भन्नुभएको छ । तपाईंको अनुपस्थितिमा दर कसले अन्तिम गर्‍यो ? तपाईंको अनुपस्थितिमा अनाधिकृत व्यक्तिको प्रवेश भएन भनेर कसरी विश्वस्त हुने ?

उत्तर : मैले अन्तिम निर्णय गर्नुपर्ने कुराहरू सकिएपछि इन्ट्री गर्ने मात्र काम बाँकी हुँदा निस्किएको हुँ । भोलिपल्ट संसदमा बजेट वक्तव्य पनि पढ्नुपर्ने भएकोले रातभरि बस्दा गाह्रो हुन्छ, केही आराम चाहिन्छ भनेर सबैको सल्लाह अनुसार नै निस्केको हुँ । बाहिरी मान्छे प्रवेश गर्न सक्ने सम्भावना नै हुँदैन । कोही आएको भन्ने कुरा झुट हो ।

प्रश्न : निर्णय प्रक्रियाका हस्ताक्षर सहितका लिखतहरू के-के छन् ?

उत्तर : मन्त्रिपरिषद् लाने प्रस्तावमा मात्र मेरो हस्ताक्षर छ ।

प्रश्न : अर्थ मन्त्रालयको लामो अनुभव भएका शोभाकान्त पौडेल जस्ता कर्मचारीहरूलाई बाहिर पठाई कम अनुभव भएका किन ल्याउनुभयो ? अहिलेका धेरै सहसचिव अर्थमा कम र अरू मन्त्रालयमा बढी अनुभव भएका हुनुहुन्छ ।

उत्तर : सचिवमा बढुवा हुने बेला हुन लागेका सहसचिवलाई प्रदेशमा सचिवका रूपमा खटाइने हुँदो रहेछ । त्यही कारण पुरानाहरू प्रदेशमा सरुवा हुनुभयो । नियमित प्रक्रिया अनुसार नै सरुवा भएको हो । उपसचिवसम्म अर्थ मन्त्रालयकै विशिष्टकृत कर्मचारी हुने भएकोले त्यसमा समस्या हुँदैन ।

प्रश्न : सरकारको उच्च नेतृत्वमा भएका पदाधिकारीका परिवारका सदस्य संलग्न भई सेनिटरी प्याड आयात गर्ने कम्पनी खुल्नु र आयातमा भन्सार ९० प्रतिशत छुट हुनुबीच केही सम्बन्ध छ ? एक किसिमका फलाम उद्योग बन्द नै हुने अवस्थामा पुग्ने गरी कर बढाएर अर्को किसिममा छुट दिइएको छ । १५० किलोवाट सम्मका विद्युतीय गाडीलाई न्यूनतम दर लिने गरेकोमा १०० किलोवाट बनाइएको छ । निश्चित व्यक्ति र समूहको फाइदाको लागि दर हेरफेर गरिएको जस्तो देखिन्छ ।

उत्तर : नीतिले के गरे भन्ने विषय महत्वपूर्ण हो । उत्पादनलाई जोड दिएको छ । कसैलाई लक्षित गरिएको छैन । रोजगारी र उत्पादन वृद्धि भएको छ । राष्ट्रको स्वार्थमा छ । भोलि परिणामले यो देखाउने नै छ । सेनिटरी प्याडमा स्वदेशी उत्पादकमा मागहरू पनि सम्बोधन भएका छन् । एउटा कच्चा पदार्थ packing material उहाँहरूले माग्नुभएको छुट दिइएको छैन, ३० प्रतिशत भन्सार दर छ । त्यसको कारण के हो भने packing material नेपालमै पर्याप्त उत्पादन हुने हुँदा नेपालकै किन्नुहोस् भनेर हो । विद्युतीय गाडीमा अहिले अलि धेरै तहमा वर्गीकरण गरिएको हो । त्यति गर्दा पनि यसबाट समान मूल्यका पेट्रोलियम गाडीको तुलनामा एक तिहाई मात्र राजस्व असुल हुन्छ । अन्तिम निर्णयको जिम्मेवार म हुँ । बजेटका विषयहरू संसदमा प्रस्तुत हुनु अघि कतै लिक भएको छैन । मन्त्रालयले संस्थागत मान्यताभित्रै बसेर काम गरेको छ ।

प्रश्न : अनाधिकृत व्यक्ति भनेर रघुनाथ घिमिरेको नाम आएको छ पत्रपत्रिकामा। रघुनाथ घिमिरेलाई चिन्नुहुन्छ ?

उत्तर : पुराना कर्मचारीहरूलाई पनि कहिलेकाहीं विभागहरूले केही काममा लगाउँदा रहेछन् । मन्त्रालय आउनेजाने क्रममा सामान्य चिनजान छ । नजिकबाट चिन्दिन, व्यक्तिगत सम्पर्क छैन ।

प्रश्न : तपाईंले काम गर्दा team spirit कस्तो थियो ? अर्थ सचिव त तपाईंसँग काम गर्न नसक्ने भनेर बिदा बस्नुभयो अनि राजीनामा पछि फर्कनुभयो ।

उत्तर : team spirit मा मैले त केही समस्या अनुभूति गरेको थिइनँ । अरूले गर्नुभएको भए थाहा भएन । मैले राजीनामा दिँदैछु भन्ने सचिवलाई थाहा पनि थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?