+
+
विचार :

आजको पूँजीवादका नयाँ प्रवृत्ति, बुझ्नैपर्ने पाँच विशेषता

डीपी ढकाल डीपी ढकाल
२०७९ साउन १९ गते १३:४३

औद्योगिक पूँजीमाथि बैंक तथा वित्तीय संस्थाको पूँजी हावी हुन थालेको अवस्था नै वित्तीय पूँजीवादको चरण हो । सन् १८८० को वरिपरिबाट सुरु भएको पूँजीवादको यो चरण अहिलेसम्म कायमै रहेको छ । सन् १९९० को वरिपरिबाट पूँजीवादका केही नयाँ प्रवृत्तिहरू पनि देखापरिरहेका छन् । जसलाई आजको पूँजीवादको विशेषताको रूपमा लिन सकिन्छ ।

राजकीय नोकरशाही दलाल पूँजीको भूमण्डलीकरण

आजको दुनियाँको मूल प्रवृत्ति वित्तीय पूँजीको भूमण्डलीकरणको युग हो भन्ने निष्कर्ष अब पुरानो हँुदैछ । वित्तीय पूँजीको नाममा अहिले वित्तीय पूँजी नै भूमण्डलीकृत भइरहेको छ कि अन्य प्रकृतिको पूँजीको भूमण्डलीकरण हुँदैछ, यसबारे चर्चा गरौं । पूँजीको चरित्रको अध्ययन गर्दा वित्तीय पूँजीको नाममा राजकीय नोकरशाही दलाल पूँजीको भूमण्डलीकरण भएको देखिन्छ ।

कुनै देशको राजनीतिक र प्रशासनिक सत्ताको दुरुपयोगको जगमा जन्मिएको पूँजी नै नोकरशाही पूँजी हो । यस्तो प्रकारको पूँजीको जन्म नै नोकरशाही संयन्त्रको दुरुपयोगबाट हुने भएकाले यसलाई ‘नोकरशाही पूँजी’ भनिएको हो ।

राजकीय सत्ताको दुरुपयोगमार्फत अप्राकृतिक रूपमा जन्मिएको यस्तो नोकरशाही पूँजी फेरि पनि राजकीय सत्ताकै दुरुपयोग गरी दलाल पूँजीसँग मिलेर वित्तीय पूँजी एवम् औद्यागिक पूँजीका रूपमा बदलिन्छ ।

यसरी बदलिएको पूँजीलाई ‘राजकीय नोकरशाही दलाल पूँजी’ भन्नु उपयुक्त हुन्छ । यस्तो पूँजीलाई देशभित्रका तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्न सबैभन्दा सजिलो हुने गर्दछ । अर्कोतर्फ, राजनीतिक संरक्षण प्राप्त हुने भएकाले यस्तो पूँजीको पूँजीगत मूल्य यसको वास्तविक मूल्यभन्दा निकै बढी समेत हुने गर्दछ ।

चरित्रका हिसाबले सबैभन्दा छिटो, सबैभन्दा सरल र सबै हत्कण्डा अपनाएर नाफा कमाउनु यस्तो पूँजीको मुख्य चरित्र एवम् ध्येय हुने गरेको छ । सबैभन्दा बढी क्रूरता र अनैतिकता यस्तो पूँजीको मुख्य विशेषता रहने गरेको छ ।

राजकीय नोकरशाही दलाल पूँजीको जन्म नै अनैतिक धरातलमा हुने भएकाले यसमा वित्तीय पूँजीमा भन्दा पनि अत्यधिक बढी नाफाखोर प्रवृत्ति हुने गर्दछ । आफ्नो उत्पत्तिको अनैतिक धरातलकै कारण यो पूँजी छुट्टै र स्वतन्त्र अस्तित्वमा रहँदैन । यसले कि औद्योगिक पूँजीसँग कि त वित्तीय पूँजीसँग टाँसिएर आफ्नो स्वतन्त्र अस्तित्वलाई लुकाएरै राख्दछ र जब तुलनात्मक लाभका सीमापारका क्षेत्र देख्दछ, त्यसबेला यो प्रत्यक्ष वैदेशिक लगानीका रूपमा बाहिरिन्छ ।

तुलनात्मक लाभका क्षेत्रहरूको पहिचानमा यस्तो पूँजी औद्योगिक र वित्तीय पूँजीभन्दा अब्बल रहने गर्दछ । किनभने, यस्तो पूँजीसँग व्यापारिक र राजनीतिक दुवै सम्भावना नजिकबाट चिन्ने क्षमता विकास भएको हुन्छ ।

निर्यात भएर गएको देशमा पनि यसको सम्पर्कको प्राथमिकता राजकीय नोकरशाही दलाल पूँजीसँग नै हुन्छ । यदि त्यसो हुन सकेन भने त्यसले निर्यात भई पुगेको देशमा पनि राजकीय नोकरशाही पूँजीको सङ्केन्द्रणको वातावरण तयार पार्न सहयोग पुर्‍याउँछ ।

आज तेस्रो विश्वका मुलुकहरूमा राष्ट्रिय पूँजीको विकासमा राजकीय नोकरशाही दलाल पूँजीले निकै ठूलो अवरोध सिर्जना गरिरहेको छ । अहिलेको विश्वको नयाँ प्रवृत्ति वित्तीय पूँजीको भूमण्डलीकरण होइन, त्यसको नाममा राजकीय नोकरशाही दलाल पूँजीको भूमण्डलीकरण हुन थालेको छ ।

उत्पादनको विशिष्टीकरण र अन्तरनिर्भरता

उत्पादनको लागत घटाउन र बढी मुनाफा केन्द्रित गर्न पूँजीवादले ठूलो परिमाणमा उत्पादन गर्ने र खास वस्तुको खास उत्पादनमा केन्द्रित हुने नीति लियो । जसले गर्दा उत्पादनमा विशिष्टीकरण पैदा भएको छ ।

उत्पादनको विशिष्टीकरणले एउटा वस्तुको उत्पादन गर्न अन्य थुप्रै वस्तु उत्पादकसँग निर्भर हुनुपर्ने परिस्थिति सिर्जना गरेको छ । यसले वस्तुको उत्पादनमा विशिष्टता र उत्पादन प्रणालीको सामाजिक तथा अन्तरदेशीय साङ्लो निर्माण गरेको छ । जसले पूँजीपतिहरूमा बजार र मुनाफाको बाँडफाँट गर्न सजिलो बनाइदिएको छ ।

उत्पादनको विशिष्टीकरणले उत्पादनको अन्तरनिर्भरताको साङ्लो निर्माण गरेको छ । यसकारण पूँजीपतिहरू बीच मुनाफाको बाँडफाँट र साम्राज्यवादी शक्तिहरूबीचको अन्तर्विरोधलाई एउटा सीमाभित्र सीमित राख्न मद्दत पुगेको छ ।

उत्पादनको विशिष्टीकरणका कारण पैदा भएको उत्पादनको अन्तरनिर्भरताले पूँजीवादी शक्तिहरूबीचको अन्तर्विरोधलाई समेत एउटा लक्ष्मणरेखाभित्र सीमित पारिदिएको छ । उदाहरणका निम्ति एउटा मोबाइल उत्पादनको विशिष्टीकरण र अन्तरनिर्भरताको साङ्लोलाई नै हेरौं ।

मोबाइलको ‘सफ्टवेयर’ एउटा देशको कुनै उत्पादकले बनाउँछ, अर्को देशको कुनै उत्पादकले मोबाइलको ‘बडी’ बनाइदिन्छ र अझ अर्काे देशको कुनै उत्पादनले ब्याट्री बनाउँछ । अर्को कुनै देशको उत्पादकले एसेम्बल गर्दछ ।

यसरी उत्पादनको विशिष्टीकरणले उत्पादनको अन्तरनिर्भरताको साङ्लो निर्माण गरेको छ । यसकारण पूँजीपतिहरूबीच मुनाफाको बाँडफाँट र साम्राज्यवादी शक्तिहरूबीचको अन्तर्विरोधलाई एउटा सीमाभित्र सीमित राख्न मद्दत पुगेको छ ।

अदृश्य राज्यको निर्माण र राज्यमाथि दबाव

अदृश्य राज्यहरूको निर्माण अर्थ–राजनीतिमा विकास भएको अर्को नयाँ प्रवृत्ति हो । एकाधिकारी वित्तीय पूँजीवादले पूँजीको केन्द्रीकरण यो हदसम्म गरेको छ कि विश्वका थुप्रै देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा निश्चित पूँजीपतिसँग धेरै सम्पत्ति छ ।

विश्वका कमजोर देशहरूको त कुरै छोडौं, कतिपय शक्तिशाली भनिने देशहरूमा पनि आर्थिक तथा राजनैतिक एजेण्डा तय गर्ने काम पूँजीपतिहरूले नै गरिदिने र राजनीतिकर्मीहरू कर्पोरेट हाउसहरूको निरीह खेतालामा परिणत हुने प्रवृत्ति बढिरहेको छ । राज्यभन्दा पूँजीपति शक्तिशाली हुने र यिनीहरूले राज्यभन्दा माथि रहेर अदृश्य रूपमा राज्य सञ्चालन गर्ने प्रवृत्ति हावी हुँदै गइरहेको छ ।

डरको सन्तुलन र बहुध्रुवीय विश्व

परमाणु अस्त्रको विकासका कारण विश्वमा एक प्रकारको डरको सन्तुलन कायम भएको छ । परमाणु अस्त्र नभएका देशहरूलाई अकारण आक्रमण गरिहाल्ने साम्राज्यवादी शक्ति परमाणु अस्त्र भएका देशहरूमा भने आक्रमण गर्न डराउने स्थिति बनेको छ । यसले डरको सन्तुलन पैदा भएको देखिन्छ । सन् १९९० पछिको एकल ध्रुवीय विश्व चीनको उदय तथा चीन र रसियाको सहकार्यबाट फेरि बहुध्रुवीय हुँदै गइरहेको छ ।

अर्थतन्त्रमा सूचनाप्रविधिको प्रभुत्व

सूचनाप्रविधिमा भएको विकासले मानिसहरूको बारेमा अनेकौं सूचना खास–खास सामाजिक सञ्जालका सञ्चालकहरूमा केन्द्रित हुँदै गइरहेको छ । जोसँग महत्वपूर्ण र बढी सूचना छ, त्यही शक्तिशाली र धनी हुने आर्थिक प्रवृत्तिको विकास पनि भइरहेको छ । आज सूचनाप्रविधिमाथि प्रभुत्व नहुने शक्ति कमजोर हुँदै जाने र पहुँच हुने शक्ति थप शक्तिशाली हुँदै जाने नयाँ आर्थिक प्रवृत्तिको पनि विकास भइरहेको छ ।

जर्मनीका इन्जिनियर तथा अर्थशास्त्री क्लाउस मार्टिन स्वाबले सन् २०१६ मा स्विट्जरल्यान्डको डाभोसमा भएको विश्व आर्थिक सम्मेलनमा चौथो औद्योगिक क्रान्ति आरम्भ भएको उल्लेख गरे । उनले चौथो औद्योगिक क्रान्ति विगतका सबै औद्योगिक क्रान्तिभन्दा आधारभूत रूपले भिन्न हुने बताए ।

लन्डनस्थित बजार विश्लेषक कम्पनी आईएचएसको प्रक्षेपणका अनुसार सन् २०३० सम्म पुग्दा आईओटीको प्रयोगबाट विश्वको कुल गार्हस्थ्य उत्पादनमा ११ प्रतिशत वृद्धि हुनेछ, अर्थात् १४ ट्रिलियन अमेरिकी डलर विश्व अर्थतन्त्रमा थपिनेछ । सूचनाप्रविधिको प्रयोग व्यापक रूपमा बढिरहेको छ । डाटा स्टोरेज प्रणालीको उपयोग पनि ज्यामितीय रूपमा बढिरहेको छ ।

विश्व अर्थतन्त्रको मूल हिस्सा डाटा बेच्ने र डाटा ओहोरदोहोर गराउने तथा सञ्चारप्रविधिमा लगानी गर्नेहरूकै हातमा केन्द्रित हुँदै गएको छ । सन् २०१५ पछि चिनियाँ कम्पनीहरू हुवावे, डीडी, जेडटीई र बाइट डान्स तथा विश्वस्तरका सामसुङ, इन्टेल, सिस्को र ओरेकल उदीयमान ‘टेक जाइन्ट’ का रूपमा रहेका छन् ।

ती ‘टेक जाइन्ट’ कम्पनीहरूको सन् २०२० को पूँजीकरणको तथ्याङ्क हेर्दा एप्पलको १५७६, अमेजनको १४३३, अल्फाबेट (गुगल) को ९८०, फेसबुकको ६७६, टेन्सेन्टको ६२१ र अलिबाबाको ५८० अर्ब अमेरिकी डलर थियो ।

यी कम्पनीहरू विश्वको एकदेखि क्रमशः सातौं धनी हुन् र कैयौं देशको कुल गार्हस्थ्य उत्पादन भन्दा यिनीहरूको सम्पत्ति पनि धेरै थियो । यस्ता डाटा वा प्रविधिका भीमकाय कम्पनीहरूले ऊर्जा वा तेल निगमहरूदेखि मिडियालगायतका सबै क्षेत्रलाई उछिनिसकेका छन् ।

सूचनाप्रविधिमा निरन्तर विकास, उत्पादन र बजारीकरणमा यसको प्रयोगले एकातिर उत्पादकत्व वृद्धि भइरहेको छ भने अर्काेतर्फ तथ्यांकमा पहुँच हुनेहरू नै विश्वका नवधनाढ्य बनिरहेका छन् । प्रविधिको प्रयोगले उत्पादन लागत घटाएको छ ।

आर्टिफिसियल इन्जिनियरले मानवीय श्रमको क्षेत्र साँघुर्‍याउँदै लगेको छ । यस्तो परिस्थितिमा समाजवादीहरूले उत्पादनका निम्ति गरिने कार्यदिनलाई ८ घण्टाबाट घटाएर ६ घण्टामा सीमित गर्न सक्ने भौतिक आधार निर्माण भएको छ ।

(लेखक नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा केन्द्रीय अर्थ तथा योजना विभागका सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?