+

धेरै नुन खान्छन् नेपाली : स्वास्थ्यका लागि कति मात्रा जरुरी ?

२०७९ भदौ  १३ गते १६:१० २०७९ भदौ १३ गते १६:१०
धेरै नुन खान्छन् नेपाली : स्वास्थ्यका लागि कति मात्रा जरुरी ?

नुन नहुँदो हो त हाम्रो हरेक गाँस खल्लो हुन्छ । र, यस्तो खल्लो खानपानलाई हाम्रो जिब्रोले सोझै अस्वीकार गरिदिन्छ । यसको सोझो अर्थ हो, नुनले हाम्रो जिब्रोलाई लोभ्याइसकेको छ ।

दालमा, सागसब्जीमा, मासुमा, अचारमा नुनको उपस्थिति अनिवार्य मानिन्छ । हामी दैनिक कति मात्रामा नुन खाइरहेका हुन्छौं ? सायदैले यसको लेखाजोखा गर्लान् । किनभने हरेक गाँसमा ‘स्वाद अनुसार’ नुन खाइरहेकै हुन्छौं ।

साँझ-बिहानको दालभात, दिउँसोको मःम, चाउमिन, चाउचाउ, समोसा, चाट, बेलाबखतको सितन । सबै खानपानमा नुनको मात्रा हुने नै भयो । चिकित्सकहरुको चेतावनी छ, ‘नुनको मात्रा बढी भयो भने स्वास्थ्यमा हानि गर्छ ।’

त्यसो भए नुनको सही मात्रा कति हो ?

यससँगै उठ्ने अर्को प्रश्न हो, नुन शरीरका लागि जरुरी छ वा छैन ? नुन चटक्कै छाड्दा के हुन्छ ?

नुन कति जरुरी छ ?

अहिलेको आधुनिक स्वास्थ्य विज्ञानलाई हेर्ने हो भने नुन हाम्रो शरीरको लागि अत्यन्त आवश्यक छ । हामीलाई २४ घण्टाभित्र ५ ग्राम नुन चाहिन्छ । यद्यपि, आयुर्वेदिक र पूर्वीय विज्ञानले भने नुन हामीले विभिन्न प्राकृतिक आहारबाट पनि पाउने गर्छौं । तथापि शरीरको लागि केही मात्रामा नुन आवश्यक रहेको छ ।

दुई वर्षअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षण अनुसार नेपालीहरुले आवश्यकता भन्दा बढी नुन खाने गरेका छन् । १५ देखि ६९ वर्ष उमेर समूहका पाँच हजार बढी व्यक्तिमाथि सर्वेक्षण गरिएको थियो ।

नुनमा कुन पोषकतत्व हुन्छ ?

नुन एक प्रकारको रासायनिक तत्व हो । यसमा केही सूक्ष्म तत्वहरु हुन्छन् । नुनमा सोडियम, कोलोराइड मुख्य रुपले हुन्छ ।

नुन हामीले बढी नै प्रयोग गर्छौं । यसले शरीरमा सोडियमको मात्रा कायम राख्छ । मांसपेशी, तन्त्रिका, तरल पदार्थ आदिलाई सन्तुलनमा राख्न पनि नुनमा पाइने तत्वले विशेष भूमिका खेलिरहेको हुन्छ ।

रक्तचापको प्रवाहलाई नियन्त्रण गर्न केही न केही मात्रामा आवश्यक हुन्छ । त्यस्तै, स्नायु र मांसपेशीलाई सक्रिय राख्न मद्दत गर्छ । शरीरका अंगसम्म सूचना आदानप्रदान गर्नका लागि सोडियमको महत्वपूर्ण भूमिका हुन्छ ।

नुन चटक्कै छाड्दा के हुन्छ ?

हामी बढी नै नुनमा निर्भर भएका छौं । एक-दुई छाक छोड्दा गाह्रो हुने, एक-दुई दिन छोड्दा रक्तचाप घट्ने र त्यसपछि अझै केही दिन छोड्दा शरीरको तागत नै ओइलाएर जाने र लगातार छोडिरहँदा पछि बेहोस नै हुने स्थिति हुन्छ ।

तर जनावरले नुन नखाए पनि हृष्टपुष्ट नै देखिन्छन् । यसको कारण उनीहरु प्राकृतिक  खानेकुराबाट नै नुनको परिपूर्ति गर्छन् । प्रायः सबै फलफूलमा चिनी र सागसब्जीमा नुनको मात्रा हुन्छ । पकाउँदाखेरि त्यसमा थप नुन हालेर खाने गर्छौं । प्राकृतिक तवरमै प्राप्त हुने नुनलाई पनि थप पकाएर हानिकारक बनाउने गर्छौं ।

नुनको मात्रा

औसतमा हामीले न्यूनतममा पनि एक छाकमा दाल, तरकारी र अचार मात्र समावेश गरेर  २-३ वटा तरकारी खाँदा  १० ग्राम जति नुन खपत गरिरहेका हुन्छौं । किनभने हामीले एक भन्दा बढी तरकारी र अचार गरेर विभिन्न प्रकारका खानेकुरा खान्छौं, जुनमा स्वादअनुसारको नुनको प्रयोग गरिएको हुन्छ ।

अलि चर्को खानेहरुले दुई छाकमा २० ग्रामसम्म नुन प्रयोग गरिरहेको देखिन्छ । ज्यादा नुन सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

हिजोआज खाजाको रुपमा जंकफुड प्रयोग गर्ने क्रम बढेकाले यसमा थप नुन खाइरहेका हुन्छौं । विश्व स्वास्थ्य संगठनका अनुसार झण्डै ३५ लाख मानिसको अत्यधिक नुन प्रयोगका कारण अल्पायुमै मृत्यु हुने गरेको छ ।

नुनको अत्यधिक प्रयोगले मिर्गौला, मुटु, पाचनप्रणाली, शरीरको चापदेखि हड्डीलाई हानि गर्छ । त्यसबाहेक छालालाई पनि नुनले हानि पुर्‍याउँछ । स्किनको चमक घटाउने, संक्रमण बढाउने, छालाको प्रतिरोधात्मक क्षमता कम गर्ने, एलर्जी हुने जस्ता समस्या आउन सक्छन्  ।

शरीरलाई कति नुन आवश्यक ?

विश्व स्वास्थ्य संगठनले दैनिक पाँच ग्राम भन्दामुनि नुन मानव शरीरका लागि आवश्यक हुन्छ भनेको छ । त्यसभन्दा बढी भएमा स्वास्थ्यलाई हानि पुर्‍याउँछ ।

नुनलाई अनिवार्य नै मान्न पनि सकिन्न । किनकि, योग, ध्यान तथा साधना गर्नेहरु लामो समयदेखि नुन नखाइकन पनि स्वस्थ छन् ।

जंकफुड लगायत अत्यधिक नुन प्रयोग भएका खानेकुरा सकेसम्म नखानु नै राम्रो हुन्छ । नुन कति मात्रामा खाने भन्ने विषयमा विभिन्न अध्ययनहरु भइरहेका छन् । तर चिकित्सकहरुले भने स्वास्थ्यका लागि बढी नुन हानिकारक भएको बताउने गरेका छन् । नुनले दिने पोषणका लागि प्राकृतिक खानेकुराबाट नै प्राप्त हुने भएकाले नुनको धेरै प्रयोग गर्नु आवश्यक देखिंदैन ।

नेपालीहरुले सामान्यतः तोकिएको भन्दा ६ गुणा बढी नुन खाने गरेका छन् । त्यसैले यसको नियन्त्रणका लागि एउटा तरकारीमा आवश्यक नुन राख्ने र अर्कोमा कम वा राख्दै नराख्ने गर्न सकिन्छ ।

नुन खाँदै नखाँदा के हुन्छ ?

शरीरलाई नुन चाहिने हुँदा खाँदै नखाने त गर्नुहुँदैन । कम खाने तर चटक्कै छाड्नु विकल्प हुन सक्दैन । नुनको प्रयोगको सट्टा सागसब्जीबाट प्राप्त हुने प्राकृतिक नुनमै बढी जोड दिनुपर्छ ।

तर मुटुरोग र उच्च रक्तचापका बिरामीले नुन थपेर खाने गर्नुहुँदैन । प्रेसरको औषधिमा पिसाबको औषधि राखिएको हुँदा नुन बढी जाने हुन्छ । शरीरले चाहिएको खण्डमा मागिरहेको हुन्छ । शरीरलाई नुन कति चाहिन्छ भनेर शरीरमै निर्भर रहन्छ ।

नुनको अत्यधिक प्रयोगले के हुन्छ ?

नुनको अत्यधिक प्रयोगले मिर्गौला, मुटु, पाचनप्रणाली, शरीरको चापदेखि हड्डीलाई हानि गर्छ । त्यसबाहेक छालालाई पनि नुनले हानि पुर्‍याउँछ । स्किनको चमक घटाउने, संक्रमण बढाउने, छालाको प्रतिरोधात्मक क्षमता कम गर्ने, एलर्जी हुने जस्ता समस्या आउन सक्छन्  ।

किड्नी, फोक्सो र कलेजोले रगतलाई छान्ने काम गर्छन् । नुन सिधै रगतमा जाने हुँदा बढी हुँदा तीनवटै अंग थाक्छन् । जसकारण शरीरले चाहिने भन्दा बढी पानी माग्छ । त्यही अनुसारको पानी खाने र पिसाबबाट जाने हुँदा शरीरले आराम गर्न पाइरहेको हुँदैन ।

नुन खाँदा सकेसम्म हिमाली क्षेत्रमा बनेको खानुपर्छ, जसलाई बीरेनुन, सीधेनुन भनिन्छ । यस्ता नुन खाने बानी गर्दा शरीरलाई फाइदा पुग्छ ।

धेरै नुनले मुटुमा समस्या हुन्छ : एमके पिया, मुटुरोग विशेषज्ञ

नुनको मात्रा व्यक्ति हुर्केको वातावारण, पहिलेदेखि खाइरहेको खानपानमा भर पर्छ । शरीरलाई दैनिक नुन यति आवश्यक छ भने पनि शरीरको माग अनुसार खाने हो । नुन थपेर भने खानु हुँदैन । नुनको सट्टामा हामीले अन्य स्रोतबाट पनि पाउन सक्छौं । धेरै कसरत गर्ने व्यक्ति, खेतमा काम गर्ने व्यक्तिको लागि काम अनुसार नै नुन आवश्यक पर्छ । शारीरिक कसरत कम हुने व्यक्तिको लागि कम नुनको आवश्यक पर्छ ।

हामीले प्राकृतिक खानेकुरा तरुल, आलु, सागसब्जीबाट नुन प्राप्त गरिरहेका हुन्छौं भने बजारमा पाइने पाकेटजन्य खानेकुरामा पनि केही मात्रामा नुन राखिएको जसले सेवनले स्वास्थ्यलाई हानि गर्छ ।

नुन हाम्रो स्वास्थ्यका लागि अतिआवश्यक भएको कारण स्वास्थ्यका लागि सन्तुलनमा खाँदा हानिकारक हुँदैन । यसको अत्यधिक मात्रामा प्रयोगले मात्र शरीरलाई हानि गर्छ । उच्च रक्तचाप, मुटुरोग भएका व्यक्तिले नुन कम खानुपर्छ ।

उच्च रत्तचापका बिरामीले नुन सकेसम्म एकपटक तरकारी खान बसेपछि नुन थप्नु हुँदैन । नुन थपेर खानु स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिन्छ । उच्च रक्तचाप भएकाले सकेसम्म एकपटक तरकारी खान बसेपछि नुन थपेर खानु हुँदैन ।

नुन खाइरहने व्यक्तिले नुन नखाँदा शरीरमा बल नहुने, बेहोस हुने, वाकवाकी लाग्ने सम्भावना हुन्छ भने धेरै नुन सेवनले रक्तचाप, मुटुरोगको समस्या निम्त्याउँछ ।

धेरै नुन खानुले उच्च रक्तचाप, हृदयघात, मिर्गौला समस्या निम्त्याउने गर्छ । यसको मतलब नुनलाई पूर्ण रूपमा छाड्नपर्छ भन्ने होइन, तर नुन वास्तवमा मानव शरीरको लागि महत्वपूर्ण पोषक तत्व हो ।

विश्व स्वास्थ्य संगठनको मापदण्डमा के छ ?

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भर्खर जन्मेका शिशुदेखि ६ वर्षका बालबालिकालाई दैनिक ९० माइक्रोग्राम, ६ देखि १२ वर्षसम्मका बालबालिकालाई १२० माइक्रोग्राम, गर्भवती तथा दूध खुवाउने आमालाई दैनिक २५० माइक्रोग्राम तथा किशोरकिशोरी र वयस्कलाई १५० माइक्रोग्राम आयोडिन दैनिक आवश्यक पर्छ ।

नुन स्वास्थ्य
डा. राजु अधिकारी
लेखक
डा. राजु अधिकारी
आहारविद् एवं जीवनशैली तथा योग प्रशिक्षक

अध्ययन : मानव चेतना एवं योग विज्ञानमा स्नातकोत्तर र पीएचडी अखिल विश्व गायत्री परिवार, नेपालका स्वयंसेवक, विभिन्न स्कुल, बैंक तथा कलेजहरुमा जीवनशैली र योग प्रशिक्षकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय