+
+

वीरगञ्ज महानगरको डेढ महिनाको आय ७ करोड

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १४:४६

१९ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले डेढ महिनामा ७ करोड भन्दा बढी आन्तरिक आय संकलन गरेको छ । आर्थिक वर्ष २०७९/८० को साउन १ गतेदेखि भदौ १७ गतेसम्म महानगरले ७ करोड ४३ लाख ३० हजार ७ सय ९४ रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको हो ।

महानगरपालिकाले सम्पत्ति कर, घर जग्गा रजिष्ट्रेसन दस्तुर, घर बहाल कर, सवारी साधन कर, पूर्वाधार उपयोगमा लाग्ने कर, आखेटोपहारमा लाग्ने कर, न्यायिक, नक्सापास, सिफारिस तथा नाता प्रमाणित दस्तुर, व्यक्तिगत घटना दर्ता लगायतका शीर्षकमा आन्तरिक आम्दानी गर्दै आएको छ ।

चालु आर्थिक वर्षमा आन्तरिक आय ९८ करोड २१ लाख रुपैयाँ पुर्‍याउने लक्ष्य महानगरले राखेको छ । महानगर बन्नका लागि आन्तरिक आम्दानी १ अर्ब रुपैयाँभन्दा माथि हुनुपर्ने उल्लेख छ । तर स्थानीय सरकार गठन भई एक कार्यकाल वितिसक्दा समेत वीरगञ्ज महानगरपालिकाले १ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सेकेको छैन ।

सम्पत्ति कर लगायत केहि राजस्व शीर्षकको दर घटाए पनि लक्ष्य अनुसार राजस्व संकलन हुने राजस्व शाखाका अधिकृत मनोज कर्णको दावी छ । ‘कवाडी कर नै साढे ६ करोडमा ठेक्का लागेको छ, मालपोत रजिष्ट्रेसनको पैसा पनि आउँछ । सम्पत्ति करमा ठूला करदाताको नै करोडौं बक्यौता छ’, उनले भने, ‘सम्पत्ति करको लक्ष्य जम्मा १६ करोड रुपैयाँ राखिएकोमा डेढ महिनामा २ करोड रुपैयाँ आइसकेको छ । त्यसैले लक्ष्य अनुसारकै राजस्व संकलन हुने विश्वास छ ।’

दशैं तिहारपछि वडाबाटै १ हजार रुपैयाँसम्मको राजस्व अनलाइन सिस्टमबाट संकलन गर्र्ने तयारी समेत भइरहेको उनले बताए । वडाबाट अनलाइन कर दस्तुर संकलन गर्ने उद्देश्यले महानगरले गत साउनमै वडामा खट्ने कम्प्युटर अपरेटरहरुलाई तालिम दिएको थियो ।

तालिम लिए पनि उनीहरुले प्रभावकारी काम गर्न सकिरहेका छैनन् । १६ वटा ग्रामीण वडाबाट पनि कर तिर्नका लागि महानगरपालिका नै आउनुपर्ने बाध्यता छ । त्यसैले पहिलो चरणमा वडा नं २८, २९, ३०, ३१ र ३२ नम्बर वडामा राजस्व शाखा कै टोली गएर कर संकलन गर्न सिकाउने र पछि बाँकी ९ वटा वडामा पनि पुगेर कम्प्युटर अपरेटरलाई दक्ष बनाउने राजस्व व्यवस्थापन महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?