+
+

जबरा काममा फर्कन मिल्दैन : वरिष्ठ अधिवक्ता श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १३:३८

२ असोज, काठमाडौं । वरिष्ठ अधिवक्ता एवम् नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाले महाअभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने बताएका छन् ।

प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै जबराले काममा फर्कने तयारी गरेका बेला आइतबार सर्वोच्च अदालतको मूलगेटमा पुगेका उनले संविधान र कानुन अनुसार प्रतिनिधिसभाले सो महाअभियोगको टुंगो नलगाएसम्म महाअभियुक्तको रुपमा रहेका जबराले सर्वोच्च अदालतको काममा फर्कन नमिल्ने तर्क गरे ।

वरिष्ठ अधिवक्ता श्रेष्ठले महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यसको टुंगो नलागेसम्म निलम्बित प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने व्यवस्था संविधानको धारा १०१ को उपधारा ६ मा प्रष्ट उल्लेख गरिएको दावी समेत गरे ।

‘संविधान र कानुनले महाअभियुक्तलाई कारबाही सुरुवात भइसकेपछि जबसम्म त्यसको टुंगो लाग्दैन । तबसम्म त्यो महाअभियुक्त महाअभियोगको प्रस्तावमा छलफल चलेर टुंगोमा पुग्दैन । तबसम्म उसले काम गर्न नपाउने कुरा संविधानले नै भनेको छ’, उनले भने ।

वरिष्ठ अधिवक्ता श्रेष्ठले प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले संसदमा बुझाएको जबरामाथि लगाएको महाअभियोगको छानबिनको प्रतिवेदन नयाँ आउने प्रतिनिधिसभाले टुंगो लगाउने व्यवस्था रहेको बताए । आफूहरुले न्यायालयको विकृति, विसंगति र भ्रष्टाचारविरुद्धको आन्दोलनलाई निरन्तर अघि बढाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?