
६ असोज, रौतहट । दुर्घटनामा घाइते भएका रौतहटका सञ्चारकर्मी रवीन्द्र मण्डलको उपचारका क्रममा मृत्यु भएको छ ।
दुर्गाभगवती गाउँपालिका–३ निवासी सञ्चारकर्मी मण्डल काठमाडौंबाट गौर फर्किने क्रममा उनी चढेको बस ३१ साउनमा दुर्घटनामा परेको थियो । माधवनारायण नगरपालिकाका कर्मचारीसमेत रहेका उनी नगरपालिकामा भारतीय दूतावासको सहयोगमा आएको एम्बुलेन्स बुझेर फर्किँदै थिए ।
काठमाडौंबाट गौरका लागि छुटेको माँ कल्याणी रात्रि बस दुर्घटना हुदा घाइते भएका मण्डलको ढाडको शल्यक्रिया गरिएको थियो र उनी ओछ्यानबाट उठन नसक्ने अवस्थामा पुगेका थिए । दुर्घटनापछि नेपाल र भारतका विभिन्न अस्पतालहरुमा उपचार गराएका मण्डल आर्थिक अभावका कारण निको हुन सकेका थिएनन् ।
नेशनल मेडिकल कलेज वीरगंजमा उपचार सम्भव नभए पछि घर फर्किएका मण्डल तीन दिन देखी गौर अस्पतालमा रहेका थिए । उनको बुधबार राति निधन भएको हो । मण्डलका एक श्रीमती दुई छोरा र तीन छोरी रहेकी छिन् ।
सञ्चारकर्मी मण्डल नेपाल पत्रकार महासंघको दोस्रो जिल्ला अधिवेशनबाट सचिव पदमा निर्वाचित भएका थिए । विभिन्न पत्रिकाका साथै उनी लामो समय गौरमा सञ्चालनमा रहेको राजदेवी एफएमको समाचार सम्पादकको जिम्मेवारीमा समेत रहेका थिए ।
उनको बिहीबार बिहान मत्सरीको बाग्मती किनारमा दाहसंस्कार गरिएको छ । सञ्चारकर्मी मण्डलको मृत्युप्रति नेपाल पत्रकार महासंघ रौतहट शाखाले शोक विज्ञप्ति जारी गरेको छ भने माधवनारायण नगरपालिकाले शोकमा एक दिन बिदा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4