+
+

स्याङ्जामा धनराजलाई धरमर

स्याङ्जामा नेता गोपालमान श्रेष्ठ कमजोर भएका बेला त्यसबाट लाभ लिने अवसर उपसभापति धनराज गुरुङलाई थियो । तर गुरुङले पकड बलियो बनाउन नसकेको जिल्लाका नेताहरु बताउँछन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ असोज १४ गते २०:०४

१४ असोज, काठमाडौं । नेपाली कांग्रेस, स्याङ्जाको राजनीतिमा गोपालमान श्रेष्ठले लामो समयसम्म आधिपत्य जमाए ।

श्रेष्ठ आफू उठ्न चाहेको जुनसुकै क्षेत्रमा पनि उम्मेदवार हुने अवस्था लामो समयसम्म रह्यो । जिल्लाभित्र आन्तरिक चुनावमा कसलाई जिताउनेदेखि संसदीय चुनावमा कसलाई टिकट दिने भन्नेसम्मको निर्णयमा उनी हावी भए ।

२०४८ मा स्याङ्जा १ बाट जितेका श्रेष्ठ २०७० बाहेक हरेक चुनावमा स्याङ्जा २ मा उम्मेदवार रहँदै आएका छन् । २०७० मा समानुपातिक प्रणलीबाट सांसद बनेका उनी २०७४ मा प्रत्यक्ष चुनाव लडेका थिए, तर एमालेकी पद्‍मा अर्यालसँग पराजित भए ।

१४ औं महाधिवेशनमा आइपुग्दा श्रेष्ठ जिल्लाको राजनीतिमा पनि कमजोर बनेका छन् । केन्द्रमा संस्थापन पक्ष निकट रहेका राजु थापा जिल्लामा शेखर कोइराला निकटसँग साँठगाँठ गरे र जिल्ला सभापतिमा चुनिए । जिल्लाको नेतृत्व आफ्नो अनुकुल नभएकै कारण प्रत्यक्षमा आफ्नो उम्मेदवारी स्वीकार्य हुने नदेखेसँगै श्रेष्ठ समानुपातिक तर्फको सूचीमा बसेका छन् ।

श्रेष्ठ कमजोर भएका बेला त्यसबाट लाभ लिने अवसर उपसभापति धनराज गुरुङलाई थियो । तर गुरुङले पकड बलियो बनाउन नसकेको नेताहरु बताउँछन् ।

परिणामतः गुरुङले आफ्नो लागि निर्वाचनमा प्रतिस्पर्धा गर्ने क्षेत्र निश्चित गर्न सकेका छैनन् । गृह क्षेत्र स्याङ्जा १ रहेका गुरुङ २ मा उम्मेदवार हुन चाहन्छन् । आफू निकटवर्तीहरुलाई स्याङ्जा २ बाट प्रतिस्पर्धा गर्ने संकेत गरेका छन्, तर सार्वजनिक रुपमा यसबारे केही बोलेका छैनन् ।

नेता गोपालमान श्रेष्ठले पनि स्याङ्जा १ मा जित्न कठिन देखेर २ मा उम्मेदवार हुन गएका थिए । गुरुङले पनि स्याङ्जा २ सहज ठानेको कतिपयको विश्लेषण छ । तर श्रेष्ठलाई जस्तो सहजता गुरुङलाई नहुने जिल्ला तहका नेताहरु दाबी गर्छन् ।

निर्वाचन क्षेत्रबारे सोध्दा उनले भने, ‘निर्णय भएपछि थाहा पाइहाल्नु हुन्छ नि ! स्याङ्जा १ र २ मध्ये एउटा हुन्छ ।’

जिल्लामा भने उपसभापति गुरुङ स्याङ्जामा १ वा २ मा उठ्दा हुने अनुकूलता र प्रतिकुलताबारे बहस सुरु भइसकेको छ । जिल्लाका नेताहरुका अनुसार गुरुङ जुन क्षेत्रमा उम्मेदवार भए पनि आन्तरिक र बाह्य दुबै कारण सहज छैन ।

क्षेत्र नम्बर १ मा जिल्लामा पकड जमाएका सभापति राजु थापाको दाबी छ । उनले स्याङ्जा १ मा अर्को व्यक्तिलाई छोड्न नसक्ने बताएका छन् । ‘स्याङ्जा १ मा मेरो नै उम्मेदवारी हुन्छ, उपसभापति २ मा जानुहोला’, थापाले अनलाइनखबरसँग भने ।

अर्थात थापाको सहमति विना क्षेत्र नम्बर १ मा उम्मेदवार बन्न गाह्रो छ, बनिहाले पनि जित्न सहज हुने छैन । त्यसलाई बुझेर होला, उपसभापति गुरुङ पनि २ मा जान चाहन्छन् ।

नेता गोपालमान श्रेष्ठले पनि स्याङ्जा १ मा जित्न कठिन देखेर २ मा उम्मेदवार हुन गएका थिए । गुरुङले पनि स्याङ्जा २ सहज ठानेको कतिपयको विश्लेषण छ । तर श्रेष्ठलाई जस्तो सहजता गुरुङलाई नहुने जिल्ला तहका नेताहरु दाबी गर्छन् ।

‘गोपालमानका लागि सांगठनिक बल थियो । जिल्ला राजनीतिमा हाबी थिए । पार्टी संरचनाले साथ दिने अवस्था थियो’ जिल्लाका एक कांग्रेस नेता भन्छन्, ‘धनराजजीको अवस्था फरक छ । नेता र कार्यकर्ताको वीचमा ग्याप छ । संस्थापन समूह हामी भएको पार्टी संरचनाले सहयोग नगर्न सक्छ ।’

त्यहाँ पनि आकांक्षी पनि धेरै छन् । भागवत प्रकाश मल्ल, मोहन पाण्डे, भोजराज अर्याल लगायतका नेताहरु टिकटको आकांक्षी छन् । मल्ल संस्थापन पक्षका जिल्ला नेता हुन् । उनी झिनो मतले जिल्ला सभापतिमा पराजित भएका थिए । पाण्डे नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । अर्याल संस्थापइतरका जिल्ला नेता हुन् । पार्टी भित्रका फरक फरक समूहको मन जितेर स्याङ्जा २ को टिकट पाउन गुरुङलाई सहज छैन ।

‘उपसभापति भएको व्यक्ति हाम्रो क्षेत्रको उम्मेदवार बनिदिए हुन्थ्यो भनेर माग हुनुपर्ने हो । कार्यकर्ता तथा मतदाता दुबैतर्फबाट त्यस्तो सुनिन्न’ जिल्लाका कांग्रेसका पुराना एक नेता भन्छन्, ‘स्याङ्जा १ मा राजु थापालाई मनाउन सके उहाँको लागि बाटो खुल्छ । २ मा व्यवस्थापन गर्नुपर्ने नेताहरु धेरै छन् ।’

स्याङ्जा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङ उम्मेदवार बन्दैछन् । जनजाति समुदायको बाहुल्य रहेको सो क्षेत्रमा उनको पनि प्रभाव राम्रो छ । उनको उम्मेदवारी पनि धनराजलाई चुनौती हुने कतिपय नेता बताउँछन् ।

जिल्ला तहका नेताहरुले गुरुङका लागि अर्को विकल्प पनि सुझाएका छन्, प्रदेश सभामा प्रतिस्पर्धा गरेर मुख्यमन्त्री बन्ने । गुरुङ निकटका जिल्लास्तरका नेताहरु भने यो विकल्प पनि उचित रहेकको बताउँछन् । कांग्रेसको वालिङ नगर सभापति नेत्र पाण्डे भने प्रदेशसभामा झरेर मुख्यमन्त्री हुने विकल्प पनि उचित रहेको बताउँछन् ।

‘उहाँ गण्डकी प्रदेशको मुख्यमन्त्री बन्दा पनि स्याङ्जा जिल्लाको गौरव बढ्ने नै छ । धनराज दाइले त्यसो गर्नु भयो भने जिल्लाका नेताहरुको व्यवस्थापन पनि हुने र दुइटै क्षेत्र कांग्रेसले जित्ने अवस्था पनि रहन्छ’ उनले भने, ‘समानुपातिक पनि उहाँको लागि विकल्प छ । समग्र स्याङ्जाको व्यवस्थापन गर्ने जिम्मेवारी उहाँमा छ । उहाँको व्यवस्थापकीय भूमिकाले ५र७ जना स्याङ्जाबाट सांसद हुने अवस्था पनि आउनसक्छ ।’

विगतको चुनावी अंक गणित

स्याङ्जाका दुबै क्षेत्रमा बलियो शक्ति कांग्रेस र एमाले हुन् । गठबन्धनमा आवद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीको मत न्यून छ ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्याङ्जा १ मा कांग्रेसले मत बढाएको छ । पहिलो दल बनेको कांग्रेसले ३७ हजार ५१० मत ल्याउँदा एमालेको पक्षमा ३६ हजार ८४५ मत खसेको थियो । माओवादी केन्द्र १ हजार ९८४ मत ल्याउँदा एकीकृत समाजवादीले स्याङ्जा १ क्षेत्र भरिमा १४६ मत प्राप्त गरेको थियो ।

पुतलीबजार नगरपालिका, अर्जुनचौपारी, आँधीखोला, फेदीखोला, विरुवा हरिनास गाउँपालिका र भीरकोट नपाको १ देखि ४ सम्मका वडा र वालिङ नपाको ३ र ४ वडा स्याङ्जा १ मा पर्दछन् ।

पुतलीबजार, भिरकोट, अर्जुनचौपारीमा कांग्रेसले जितेको छ । आँधीखोला, फेदीखोला, विरुवा, हरिनासमा एमाले विजयी भएको छ । एमालेले जितेको फेदीखोला, विरुवा, हरिनासमा कांग्रेस झिनो मतान्तरले हारेको थियो ।

२०७४ को निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनबाट एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनी विजयी भएका थिए । मरासिनीले ३९ हजार २२६ मत पाउँदा कांग्रेसका राजु थापा २८ हजार ६६२ मत ल्याएका थिए ।

स्याङ्जा २ कांग्रेसको पक्षमा गत स्थानीय तहको निर्वाचनमा ३६ हजार ८०६ मत खसेको थियो । एमालेले ३४ हजार ८०९, माओवादी केन्द्रले १ हजार ४४७, एकीकृत समाजवादी २३३ मत पाएका थिए ।

यस क्षेत्रमा वालिङ नगरपालिकाका ३ र ४ बाहेकका अरु १२ वटा वडा सहित गल्याङ र चापाकोट नगरपालिका, भिरकोट नगरपालिकाको ५ देखि ९ सम्मका वडा र कालिगण्डकी गाउँपालिका पर्दछ । वालिङ र कालीगण्डकीमा एमाले विजयी भएको छ । गल्याङ, भिरकोट, चापाकोटमा कांग्रेसले जितेको छ ।

२०७४ सालको निर्वाचनमा एमाले सचिव पदमा अर्यालले यस क्षेत्रमा कांग्रेसका गोपालमान श्रेष्ठलाई हराएकी थिइन् । पद्‍माले ३५ हजार १४२ मत पाउँदा श्रेष्ठले ३१ हजार ४३६ मत ल्याई पराजय भोगेका थिए ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?