+
+
विचार :

नयाँलाई टिकट दिन ‘पावर होलिडे’ गरौं

डा. दामोदर भुसाल डा. दामोदर भुसाल
२०७९ असोज १४ गते १७:४५

हाम्रो लोकतन्त्रले राजनीतिक दलको भूमिकालाई उच्च स्थानमा राखेको छ । नेपालले अभ्यास गरेको लोकतन्त्र ‘वेस्ट मिनिस्टेरियल पार्लियामेन्टरी सिस्टम’ अर्थात् बेलायतको संसदीय प्रणालीको मिल्दोजुल्दो संसदीय प्रणालीको स्वरूप हो ।

जहाँ, मुलुकको प्रधानमन्त्री हुनका लागि दलको नेता हुनुपर्दछ । राजनीतिक दलका गतिविधि व्यवस्थित गर्न संविधानमै वार्षिक लेखा परीक्षणदेखि नेतृत्व छनोटमा आवधिक निर्वाचनको बाध्यकारी व्यवस्था रहेको छ ।

दलको आन्तरिक जीवनले नै राष्ट्रको जीवनको दिशानिर्देश गर्ने गर्दछ । अवसरको समान वितरण, पछाडि परेको वर्ग र समुदायलाई राजनैतिक मूलप्रवाहमा ल्याउने समावेशी र समानुपातिक प्रणाली जस्ता अभ्यासहरू दलहरूले आफ्नो आन्तरिक जीवनमा पनि कार्यान्वयन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

राजनैतिक दलहरूले देशलाई सबल र सक्षम सरकार कसरी दिनसक्छन् भन्ने कुराको प्रत्याभूति दलहरूभित्रको लोकतान्त्रिक अभ्यासले प्रतिबिम्बित गर्दछ । जुन दलमा आन्तरिक लोकतन्त्र मजबुत छ, त्यो दलले मात्र सरकार निर्माणमा नागरिकको विश्वास प्राप्त गर्न सक्छ । साथै त्यस्तो पार्टीले मात्र सबल र सक्षम सरकार दिनसक्छ ।

विगतमा नेपालले जसरी राजनैतिक अस्थिरताको सामना गर्नुपर्‍यो, त्यो सब दलहरूले आन्तरिक लोकतन्त्रको राम्रोसँग अभ्यास नगर्नुको परिणाम हो । तसर्थ एक प्रमुख राजनीतिक पार्टीमा देखिएको अलोकतान्त्रिक अभ्यास अरू पार्टीमा देखिंदै जानु विडम्बनापूर्ण छ ।

राजनीतिक दलहरूका केही निश्चित नेताहरूको तजबिजमा आफ्नो राजनीतिक भविष्यसँग सिंगो पार्टी र यसका कार्यकर्ताको भविष्यलाई गठबन्धनको नाममा खेलबाड गर्नु लोकतन्त्रको लागि लडेका दलहरूका लागि सुहाउने कुरा होइन ।

लामो संघर्ष र बलिदानीको जगमा स्थापना गरिएको नेपालको लोकतान्त्रिक व्यवस्था र सोको सञ्चालनका लागि दुई–दुई पटक संविधानसभाको निर्वाचन गरेर, निकै लामो समय र पूँजीको लगानीमा निर्माण गरिएको वर्तमान नेपालको संविधानको पूर्ण कार्यान्वयन नगर्दै यसको विकल्पका पक्षमा बहस हुन थालेका छन् । यो अवस्थाको सिर्जना हुनु नै नेपालका प्रमुख राजनैतिक दलका लागि प्रमुख चुनौती हो ।

विगतमा राजनैतिक दलले तत्कालीन राजनैतिक प्रणाली नै समग्र समस्याको जड रहेको निष्कर्ष निकाल्दै नागरिकलाई आन्दोलनका लागि तयार गरे । यति मात्र होइन, नागरिकमा नयाँ नेपाल निर्माणको सपना देखाएर अभिमत लिन सफल भए पनि प्राप्त अवसरलाई सदुपयोग गर्न सकेनन् । नेपाली जनतालाई सुशासन दिन सकेनन् । यसले नागरिकमा वर्तमान राजनैतिक प्रणाली र प्रमुख राजनैतिक दलहरूप्रति चरम असन्तुष्टि प्रकट भयो ।

स्वतन्त्र व्यक्तिका रूपमा नागरिकले निर्वाचन जित्नु एवम् वैकल्पिक शक्तिको खोजी हुनु यसको एक नतिजा हो । दलहरूले लोकतन्त्रको शाश्वत सिद्धान्त तथा आफैंले निर्माण गरेको संविधानको व्यवस्था र भावनालाई आत्मसात् गर्न सकेनन् । यो नै नेपालको राजनैतिक अस्थिरताको प्रमुख कारण हो भन्न सकिन्छ ।

यसका साथै विकासमा देखिएको पछौटेपनको दोष राजनीतिक दलहरूले कर्मचारी प्रशासन र कर्मचारीले राजनीतिक दलहरूमा तेर्स्याइरहेका छन् । यस्तो आरोप–प्रत्यारोपले नागरिकको विकासप्रतिको अभिलाषालाई लामो समयसम्म आश्वासनमै सीमित राख्यो । आफ्ना घोषणापत्रमा उल्लेखित प्रतिबद्धताहरू आफैंले तिलाञ्जली दिएका कारण नागरिकहरूमा दलहरूको विकल्पमा स्वतन्त्र उम्मेदवारहरूको लहर आएको देखिन्छ ।

राजनीतिक दलहरूका केही निश्चित नेताहरूको तजबिजमा आफ्नो राजनीतिक भविष्यसँग सिंगो पार्टी र यसका कार्यकर्ताको भविष्यलाई गठबन्धनको नाममा खेलबाड गर्नु लोकतन्त्रको लागि लडेका दलहरूका लागि सुहाउने कुरा होइन ।

नेपालका प्रमुख राजनैतिक दलहरू अहिले पनि सत्ता राजनीतिभन्दा पर गएर परिस्थितिको आकलन गर्न सक्ने अवस्थामा छैनन् । आफ्नो कर्मको स्वतन्त्र मूल्याङ्कनका लागि तयार देखिएका छैनन् । यसको प्रमाण यही मंसिर ४ गते हुने निर्वाचनलाई लिएर दलहरूभित्र उम्मेदवार छनोटको क्रममा बढेको गर्मा–गर्मी तथा दलको आन्तरिक छलफलमा भएका असहमतिका स्वरहरू हुन् । दलभित्रको विवाद अहिले छताछुल्ल भएर सतहमा पोखिएको छ ।

परिस्थिति सुधार्ने हो भने दलको आन्तरिक जीवनलाई लोकतन्त्रीकरण गर्नुको विकल्प छैन । यसका लागि लामो समयसम्म निरन्तर अभ्यासको जरूरी हुन्छ । दलका नेताले लोकतन्त्रलाई व्यक्तिगत एवम् पार्टीको जीवन पद्धतिका रूपमा अभ्यास गर्नुपर्छ ।

दलहरूले टिकटका आकांक्षीहरूको बढ्दो दबावलाई यथोचित व्यवस्थापन गर्न सकेनन् भने खासगरी कांग्रेस र अन्य दलहरूमा विद्रोह हुने तथा दल विभाजन हुनेसम्मको खतरा देखिन्छ । यसो हुँदा दल मात्र कमजोर हुने छैनन्, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको भविष्यप्रति पनि प्रश्नचिह्न खडा हुने निश्चित छ ।

यतिखेर वर्तमान राजनैतिक प्रणालीका सर्जक एवम् नेपालको संविधान २०७२ का निर्माता प्रमुख राजनीतिक दल एवम् मुख्य नेताहरूसामु युगीन चुनौती र अवसर उपस्थित भएका छन् ।

नेता त्यस्तो व्यक्ति हो जसले अरूले नदेख्ने विषय देख्छ, वर्तमानको क्षणिक र व्यक्तिगत लाभभन्दा माथि उठेर देश र नागरिकको साथै आफू सम्बद्ध संस्थाको बृहत्तर हित हुने गरी निर्णय लिन सक्छ । हामी एकांगी भएर अमूक व्यक्तिमा त्यो विशिष्ट क्षमता हुनैपर्छ भन्दै गर्दा आफैंप्रति प्रश्नचिह्न खडा हुनु हाम्रो विडम्बना हो ।

यतिखेर हामीसँग भविष्य देख्न सक्ने व्यक्तिगत स्वार्थमाथि उठेको नेतृत्व सायदै छन् । उपलब्ध सूचना र तथ्यको विश्लेषण गरेर मात्र अधिकतम रूपमा सही निर्णय सम्पादन गर्न सहज हुन्छ ।

दलहरूले टिकट वितरणको पूर्वसन्ध्यामा दलका कार्यालय, नेताका घरहरूमा भीडभाड देखिएको छ । त्यस्तै समानुपातिक निर्वाचनका लागि प्रस्तावित गरिएका व्यक्तिको नाम हेर्दा लाग्छ, दलले परिवर्तित सन्दर्भ र अवस्थालाई राम्ररी विश्लेषण गर्न सकेको देखिंदैन । सबैभन्दा समस्या कांग्रेसभित्रै देखिन्छ । पार्टीहरूले आसन्न निर्वाचनका लागि उम्मेदवार चयनको निर्णय गर्दा जिम्मेवारीमा रहेका सीमित व्यक्तिले विवेक पुर्‍याएको देखिंदैन ।

दलका सामु निर्वाचन जित्ने चुनौती त छँदैछ, साथै निर्वाचनपछि आत्मनिर्भर नेपाली, समृद्ध नेपालको लक्ष्य हासिल गर्नुछ । यसका लागि सक्षम, अनुभवी, इमानदार र सिर्जनशील व्यक्तिको चयन गर्नु त्यत्तिकै आवश्यक छ । आजका मतदाताहरू आफ्नै जीवनकालमा समृद्ध र विकसित भएको नेपाल हेर्न चाहन्छन् ।

लोकतन्त्रको करिब ३४ वर्षसम्म दलहरूले गरेका प्रयासले नागरिकलाई विश्वस्त पार्न सकेको देखिंदैन । यसर्थ दलहरूले उम्मेदवार चयन गर्दा खुल्ला दिमाग र बृहत् हृदयका साथ स्पष्ट मापदण्ड निर्माण गर्न जरूरी छ । मापदण्ड निर्माण गर्दा मेरो साधारण दिमागले देखेको एउटा विकल्प प्रस्तुत गर्नका लागि यो आलेख तयार गरिएको छ ।

प्रमुख दलका बीचमा, चुनाव लक्षित गठबन्धन आफंैमा लोकतान्त्रिक मान्यताको प्रतिकूल हो । यदि गठबन्धनले विशिष्ट परिस्थितिको सामना गर्न दलका बीचमा सहकार्य गर्नु नै पर्ने बाध्यता महसुस गर्‍यो भने सोको आधारहरू आम नागरिकले बुझ्ने गरी प्रस्तुत गर्नुपर्छ ।

यसो हुँदा लोकतान्त्रिक प्रणाली र नेपालको संविधानलाई केन्द्रमा राखेर यसको स्थायित्व प्रधान विषय हो भने नागरिकको सहयोग गठबन्धनलाई प्राप्त हुन सक्छ । तर यसको अनुभूति दलहरूले गर्ने निर्णय र कार्यशैलीमा मुखरित हुनुपर्दछ ।

नेपालका प्रमुख दलहरूको पछाडि सचेत एवम् अनुभवी कार्यकर्ताको विशाल पंक्ति रहेको छ । उक्त जागरूक कार्यकर्ताको पंक्ति सम्मानजनक व्यवस्थापनको पर्खाइमा रहेको छ । यो हरेक दलका लागि आफैंमा चुनौतीपूर्ण छ, सबैभन्दा बढी कांग्रेसमा ।

यसका लागि कांग्रेस र अन्य पार्टीले पार्टीलाई आन्तरिक कलहको भुमरीबाट बचाउने हो भने यसपटक दुईपटक सांसद भएका वा दुई पटक निर्वाचनमा परीक्षण भई उपविजेता भएका सबै नेतालाई ‘पावर होलिडे’मा राखेर युवा, अवसर नपाएका, इमानदार, उच्च नैतिक र शैक्षिक योग्यता भएका सृजनशील व्यक्तिलाई उम्मेदवार प्रस्तावित गर्नुपर्छ । यो विधि अपनाउँदा दलभित्रको असन्तुष्टि पनि व्यवस्थापन हुन्छ । दलहरूप्रति नागरिकको आशा तथा भरोसा पनि जीवित हुन्छ र दलहरूको भविष्य सुरक्षित हुन्छ ।

यसका लागि नयाँ पुस्तालाई सहयोग र साथ दिन ५–७ प्रतिशत सिनियर सक्षम व्यक्तिहरूलाई पनि लिन सकिन्छ । टिकटका लागि देखिएको लुछाचुँडी र मारामार रोक्न यो व्यवस्था गर्नु अनिवार्य छ । अन्यथा पुराना राजनैतिक दलहरूसँगै शिशु गणतन्त्रको भविष्य समेत संकटमा पर्ने निश्चित छ ।

परिवर्तनका उपलब्धि जोगाउने हो भने यसका अभियन्ताहरूले शिशु गणतन्त्रको भरणपोषणका लागि सबै त्याग गर्न तयार हुनुपर्छ । आफू सत्तामा रहँदा र यसको लाभ लिंदासम्म लोकतन्त्र र वर्तमान संवैधानिक व्यवस्थाको वकालत गर्ने र सत्ता बाहिर रहँदा वर्तमान राजनीतिक प्रणालीलाई दोषी देख्ने प्रमुख राजनीतिक दलहरूको गम्भीर विचलन र बेइमानी हो ।

देशका वर्तमान र भविष्यका चुनौतीको सामना गर्न एउटै घोषणापत्रमार्फत न्यूनतम साझा कार्यक्रम बनाउनुपर्छ । पाँच वर्षको योजना लिएर सक्षम कार्यकर्तालाई उम्मेदवार बनाई नागरिकहरूको घरदैलोमा जानुपर्छ ।

आगामी चुनावमा गठबन्धन गर्दैमा बहुमत आउँछ र सरकारको बागडोर आफ्नै हातमा रहन्छ भन्ने सोच लिनु दलहरूको गम्भीर भुल हुनेछ । शिक्षित नागरिकहरूमा दलहरूप्रति विश्वास कम हुनु लोकतन्त्रको लागि घातक छ । सबैलाई चेतना भया !

(लेखक लुम्बिनी प्रदेश योजना आयोगका सदस्य हुन् । उनी नेपाली कांग्रेस गुल्मी–२ बाट उम्मेदवार सिफारिस भएका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?