+
+

माधवकुमार नेपाल : दोस्रो यात्राको पहिलो परीक्षामा

सइन्द्र राई सइन्द्र राई
२०७९ कात्तिक २४ गते १९:५२

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग यो चुनावमा आफैंले बनाएको पार्टी नेकपा (एमाले) र चुनाव चिहृन सूर्य छैन । २ भदौ २०७८ मा नेकपा (एकीकृत समाजवादी) गठन गरेका उनी यसपटक रौतहट-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । उनको चुनाव चिहृन कलम छ ।

रौतहट-१ मा १७ उम्मेदवार रहे पनि अजयकुमार गुप्ता नेपालको मुख्य प्रतिस्पर्धी रहने देखिन्छ । गुप्ता यसपटक एमालेको सूर्य चिहृन लिएर उठेका छन् । यसअघि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि नेपालसँग हारेका थिए गुप्ता । त्यसयता उनले तीन वटा पार्टी फेरेका छन् ।

२०७० मा फोरम लोकतान्त्रिकबाट उठेका गुप्ता २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट गौर नगरपालिकाको मेयरमा विजयी बनेका थिए । गत वैशाखको स्थानीय चुनावमा भने उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मेयरमा उठेर पराजित भए । उनै गुप्तालाई एमालेले पार्टी प्रवेश गराएर नेपालविरुद्ध उम्मेदवार बनाएको छ ।

नेपालले अब विजयको लागि आफैंले बनाएको एमाले पार्टी र आम पंक्तिमा स्थापित चिहृन सूर्यलाई पराजित गर्नुपर्ने भएको छ । उनका निम्ति एमाले र सूर्य चिहृन शक्तिको स्रोत थियो । छिन्नभिन्न कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने अभियानअन्तर्गत २०३२ सालदेखि उनले गरेको संघर्षको प्रतीक थियो, सूर्य र एमाले ।

त्यो संकल्प र संघर्ष

२०४८ सालयता एमाले र सूर्यलाई बलियो गरी स्थापित गराउने अगुवा नेतामध्ये एक हुन्, माधवकुमार नेपाल । एमाले निर्माणको जग भने २०३२ मा गठित अखिल नेपाल को-अर्डिनेसन केन्द्र (कोके) हो, जसका संस्थापकमध्ये एक हुन्, नेपाल । कोकेकै प्रयासस्वरुप २०३५ सालमा नेकपा (माले) बनेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक पुष्पलाल श्रेष्ठको लिगेसी बोकेको नेकपा (मार्क्सवादी)सँगको एकताबाट २०४७ मा एमाले बन्यो । कोके, माले र एमालेको एकछत्र नेतृत्वमा रहे नेपाल । २०३९ मा सीपी मैनाली संकटमा पर्दा होस् या २०५४ मा वामदेव गौतमसहितका नेताहरूले पार्टी छोड्दा, नेपाल शक्तिमा रहिरहे ।

मैनाली, मदन भण्डारी र झलनाथ खनाल पार्टी नेतृत्वमा रहँदा पनि निर्णयमा माधवकुमार नेपालको प्रभाव रहृयो । २०५१ सालमा मदन भण्डारीको मृत्यु भएपछि लगातार १४ वर्ष महासचिव रहे, नेपाल । २०६४ को पहिलो संविधानसभा चुनावमा भएको एमालेको पराजयको नैतिक जिम्मेवारी लिंदै उनले नेतृत्वबाट राजिनामा दिए ।

त्यसपछि झलनाथ खनाल महासचिव भए पनि एमालेमा नेपालको प्रभाव निणर्ायक रहृयो । उनी एमालेको शक्तिमा रहँदै पञ्चायत र राजतन्त्र अन्त्य जस्तो ऐतिहासिक परिवर्तन भयो ।

२०७१ को नवौं महाधिवेशनमा भने उनी केपी शर्मा ओलीसँग पराजित भए । त्यसपछि पार्टीभित्रको शक्ति-संघर्षकै क्रममा ओलीले संविधान बाहिर गएर ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गरे । त्यसपछिको जोरजबर्जस्तीको क्रममा नेपालले नेकपा -एमाले) छाडे, जुन उनको ४५ वर्षदेखिको संकल्प र निर्माण थियो ।

त्योसँगै सूर्य चिहृनसँग उनको ३१ वर्षे सम्बन्ध पनि तोडियो । अघिल्लो संसदीय निर्वाचनसम्म सूर्य चिहृनमा कम मत पर्नुको अर्थ माधवकुमार नेपालको शक्ति घट्नु थियो । राष्ट्रिय सभा सदस्य रहेकाले २०४८ र २०५१ को चुनाव नलड्दा पनि उनी सूर्य चिहृनवाहक पार्टीका नेता थिए ।

नेपालले पहिलो पटक २०५६ सालमा रौतहट-४ बाट प्रतिनिधिसभा निर्वाचन लडेर जितेका थिए । माओवादीको लहर चलेको २०६४ मा भने एमालेसँगै आफू पनि पराजित भएर पार्टी नेतृत्व छाडेका थिए । त्यसबेला उनी रौतहट-६ मा देवेन्द्रप्रसाद पटेल र काठमाडौं-२ मा झक्कुप्रसाद सुवेदीसँग हारे । विजयी दुवै माओवादीका उम्मेदवार थिए ।

त्यसपछि राष्ट्रिय राजनीतिक शक्ति-सन्तुलन मिलाउन नेपाललाई समानुपातिक सांसदमा मनोनीत गरियो । उनी संविधानको मस्यौदा बनाउने संवैधानिक-राजनीतिक समितिका सभापति चुनिए । त्यही क्रममा नेपाली कांग्रेससहित दलहरूको समर्थनमा २०६६ मा प्रधानमन्त्री भए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपालले रौतहट-१ र काठमाडौं-२ दुवै क्षेत्रबाट जिते । २०७२ को संविधानले एक क्षेत्रबाट मात्र उम्मेदवार बन्न पाउने व्यवस्था गरेपछि उनले काठमाडौं-२ रोजेर २०७४ को चुनावमा कांग्रेसका दीपक कुइँकेललाई पराजित गरे ।

यति लामो इतिहास बोकेको नेकपा -एमाले)सँगको सम्बन्ध तोडेर अलग बाटोमा हिंडेका नेपाल अहिले नयाँ यात्राको पहिलो चुनावी स्पर्धामा छन् ।

सहज पृष्ठभूमि

जीवनको उत्तरार्द्धमा नयाँ पार्टी खोलेर जोखिम उठाएका माधवकुमार नेपालका लागि रौतहट-१ को चुनावी प्रतिस्पर्धा तुलनात्मक रूपमा सहज देखिन्छ । स्थानीय चुनावमा दलहरूले पाएको मतको मात्र नभएर राजनीतिक सन्देशका हिसाबले पनि अजय गुप्ताविरुद्ध उनको प्रतिस्पर्धा कठिन छैन ।

गत वैशाखको स्थानीय चुनावमा रौतहट-१ मा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतमा एकीकृत समाजवादी सबभन्दा अगाडि छ । समाजवादीले १९ हजार ६९८, कांग्रेसले १६ हजार ९२८, लोसपाले १२ हजार ६२, जसपाले ८ हजार २४१ र माओवादी केन्द्रले ८ हजार १९१ मत पाएको छ । त्यस्तै, एमालेले ७ हजार ३८५ र स्वतन्त्र उम्मेदवारहरूले ३ हजार १४३ मत पाएका छन् ।

माधवकुमार नेपाललाई कांग्रेस, माओवादी र लोसपाको समर्थन रहेकाले उनको पक्षमा ५६ हजार ९२९ मत रहेको देखिन्छ । एमालेलाई भने जसपाको मात्रै साथ रहेकाले गुप्ताको पक्षमा १५ हजार ६२६ मत छ । व्यक्तित्व र राजनीतिक सन्देशको हिसाबले पनि अजय गुप्तामाथि नेपाल हाबी देखिन्छन् ।

२०७४ मा यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य जितेका अनिल झा यसपटक धनुषा-३ मा गएका छन् । त्यसबेला झाले २१ हजार ८५ र निकटतम प्रतिद्वन्द्वी बनेका कांग्रेसका कृष्णप्रसाद यादवले १५ हजार ४८४ मत पाएका थिए । अहिले झा र यादव दुवैको उम्मेदवार नेपाल बनेका छन् ।

एमालेको उम्मेदवार बनेर नेपाललाई चुनौती दिएका गुप्ता गत स्थानीय चुनावमा एकीकृत समाजवादीकै शम्भु यादवसँग पराजित भएका थिए, त्यो पनि करिब दोब्बर मतले । गौर नगरपालिकाको मेयरमा यादवले ६ हजार ३८१ मत पाउँदा गुप्ताले ३ हजार ७५५ मत पाएका थिए । एमालेबाट मेयरमा उठेका अनिलकुमार मिश्र ८१७ मतमा सीमित भएका थिए ।

चुनाव भनेको जनताले अभिमत बदल्ने समय पनि हो । २०६४ सालमा पटेल र सुवेदीसँग माधवकुमार नेपाल पराजित हुनुले नै त्यो पुष्टि गर्छ । नेपाल हिंडेको दोस्रो बाटोको पहिलो परीक्षाका लागि उनी अहिले मतदाताको घरदैलो चहारिरहेका छन् । जनताले निर्णय दिने दिन पनि धेरै पर छैन ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष सम्वाददाता राई राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?