+
+

कक्षाकोठा व्यवस्थापन नगरी बालबालिका सार्न रत्ननगर नगरपालिकाको दबाब

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते २०:५०

२५ कात्तिक, काठमाडौं । चितवनको रत्ननगर नगरपालिकाको वडा-१मा रहेको बकुलहर माध्यामिक विद्यालयले उपभोग गर्दै आएको जग्गा प्रादेशिक आर्युवेदिक अस्पताललाई दिने सहमति जुटेपनि नगरपालिकाले सहमति अनुसार कक्षा कोठा व्यवस्थापन नगरी सार्न दबाब दिइरहेको पाइएको छ ।

विद्यालय अहिले सडकको पूर्वपट्टिको भवनमा कक्षा पाँचदेखि १० कक्षासम्म र पश्चिमपट्टिको भवनमा नर्सरी, केजी देखि चारकक्षासम्म सञ्चालित छ ।

पश्चिमपट्टि नर्सरी, केजीदेखि चारकक्षासम्म सञ्चालित स्थानमा प्रादेशिक आर्युवेदिक अस्पताल निर्माणको लागि खाली गराउने र सडकको पूर्वपट्टि कक्षा व्यवस्थापन नगरपालिकाले नै गरिदिने विद्यालय, विद्यालय व्यवस्थापन समिति, वडा कार्यलय र नगरपालिकाबीच सम्झौता भए पनि विद्यालय सार्न नमानिरहेको नगरपालिकाको मेयर प्रल्हाद सापकोटाले बताए ।

उनले भने, ‘अहिले कक्षा निर्माण भइरहेको छ, पार्टेसनहरु भइरहेको छ उताको भवन तत्काल खाली गराइ भत्काउनुपर्ने छ । त्यत्ति नगरे हाम्रो बजेट फ्रिज हुने खतरा भएकोले तत्काल सार्न खोजेको हो । तर मानिरहनुभएको छैन ।’

भएको भवन भत्काएर मात्रै नयाँ भवन निर्माणको लागि टेन्डर खुलाउनुपर्ने भएकोले तत्काल भवन खाली गर्नुपर्ने बताउँछन् । प्रादेशिक आर्युवेदिक अस्पतालको लागि चार करोड आएको उनले बताए ।

नगरपालिकालाई प्रादेशिक आर्युवेदिक अस्पताल जरुरी रहेको र विद्यालयमा विद्यार्थी संख्या पनि कम भएकोले व्यवस्थापन गरेर लाने कोशिस गरेको जिकिर गर्छन् । विद्यार्थी सार्ने भनिएको वडा कार्यलयमाथि दुई वटा कोठा रहेको, अर्को दुई वटा कोठाको लागि ट्रस हालिएकोमा पार्टेसन गर्न मात्रै बाँकी रहेको र माथिल्लो कक्षा पढाई भईरहेको भवनमा तीन वटा कोठा खाली भएको उनको जिकिर छ ।

यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम गौत्तमले विद्यालयको कक्षा कोठा भएको जग्गा आर्युवेदिक अस्पताललाई दिएर पुर्वपट्टि सर्दा पनि असर नपर्ने भएकोले नगरपालिका, वडा कार्यालय, विद्यालय व्यवस्थापन समिति, आर्युवेदिक अस्पतालबीच सहमति भएको जिकिर गरे । उनले तत्काल दुई वटा कक्षा वडा कार्यलयमाथि तयार भएको र विद्यालयको भवनमा पनि तीन वटा कक्षा भएको त्यहाँ सार्न जोड गरेको बताए ।

उनले भने ‘अहिले वडा कार्यलय माथि दुई वटा कक्षा रहेको र भवनमा नै तीन वटा कक्षा भएकोले अहिलेलाई त्यहा अटाउने जत्ति सारौं र बाँकी निर्माण भईसकेपछि सारौं भनेर हामीले चाँहि जोड गरेको हो तर प्रधानाध्यापक एकैचोटी सार्ने पक्षमा हुनुहुन्छ । नसार्ने भन्ने उहाँको पनि होइन ।’

बालबालिकालाई जोखिममा राखेर सर्दैनौं : विद्यालय

विद्यालयका प्रधानाध्यापक कमला ढकाल भने सम्झौता अनुरुप निर्माण नभएसम्म बालबालिका नसार्ने अडान लिएको बताइन् । उनले विद्यालय, विद्यालय व्यवस्थापन समिति, वडा कार्यलय र आर्युवेदिक अस्पतालबीच नगरपालिकाले बालबालिका अट्ने गरी कक्षा कोठा, शौचालय, निर्माण गरिदिने, प्रयोगविहीन हुलाक कार्यलयको भवन विद्यालयलाई दिने लगायत १३ बुँदे सहमति भएको बताइन् । तर उक्त सहमति अनुसार कक्षा कोठा तथा शौचालय निर्माण नभईसकेकाले नसरेको जिकिर गरिन् ।

उनले भनिन् ‘उहाँहरुले वडा कार्यलय माथि भएको दुई वटा कोठा देखाईरहनुभएको छ जसको झ्याल पनि रेलिङ पनि छैन । त्यस्तो ठाउँमा मसिनो बालबालिका सार्न जोखिम भएकोले हामी नमानेका हौं । सर्नै नमानेको होईन सम्झौता अनुसार भए हामी तत्काल सर्छौं भनेका हौं ।’ साना कक्षाका ६ वटा कक्षा अर्को व्यवस्थापन नभई सार्न सकिने अवस्था नभएको उनको जिकिर छ ।

यस्तै शिक्षक बेदेन्द्र लामिछानेले अहिले सार्नको लागि पर्याप्त कक्षा कोठा नभएको र वडा कार्यलयमाथि भएको कोठाहरुमा पनि झ्याल, बाहिर रेलिङ नभएकोले जोखिम हुने भएकोले बालबालिका सार्न नसकिने बताए । उनले भने, ‘ठूला कक्षाको भए सार्न सकिने सम्भावना हुन्थ्यो होला । तर ४ कक्षा मुनिका बच्चालाई राख्न सकिने अवस्था छैन । त्यहाँबाट बच्चा लड्यो भने को जिम्मेवार हुने ?’

विद्यालयले सर्ने भनेर नै सम्झौता गरेको तर कक्षा व्यवस्थापन नभएकाले नसरेको र बालबालिकालाई पर्याप्त कक्षा कोठा भए बालबालिका तत्काल सार्न तयार रहेको उनले बताए ।

विद्यालयमा अध्‍यापन गराउँदै आएका अर्का शिक्षकले भने, ‘बालबालिका सार्ने अवस्था छैन भन्ने सबैलाई थाह हुँदा हुँदै जबरजस्ति गर्न खोजिरहनुभएको छ । तर हाम्रो हेडमिसको अडानले गर्दा सरेको छैन ।’ नगरपालिकाले भने विद्यालयको हलमा पार्टेसन गरेर बालबालिका राख्न, झ्याल, रेलिङ नभएको कक्षामा राख्न दबाब दिईरहेको उनको भनाइ छ ।

विद्यालयमा अध्ययनरत बालबालिकाको वास्तविक अभिभावक नभएकाले यत्ति कै भए पनि फरक पर्दैन भन्ने सोँचको कारण तत्काल सार्न दबाब दिएको उनको जिकिर छ । ‘यहाँ पढ्न बालबालिकाको वास्तविक अभिभावक छैनन् त्यसैले व्यवस्थित नभए पनि हुँछ भन्ने सोँचले दबाब दिईरहने भएको मैले बुझेको छु ।’ उनले भने, ‘‘तर उहाँहरुले जस्तो विद्यालयले पनि त सोँच्न भएन नि । हामी कहाँ आईसकेपछि हामी उनीहरुको अभिभावक हौं हामीले उनीहरुको सुरक्षाको कुरा ख्याल गर्नुपर्छ र त्यहि गर्न खोजिरहेका हौं ।’

अहिले बालबालिका सार्दा कक्षाकोठा मात्रै नभएर शौचालयको समेत समस्या हुने उनको भनाइ छ । नगरपालिकाले १८ लाख विनियोजन गरेपनि काम नभइरहेको उनको दाबी छ ।

उनले माथिल्लो कक्षा पढाई भईरहेको भवनमा ‘हल रुम’ मात्रै खाली रहेको र त्यसैलाई तीन वटा कोठामा पार्टेसन गर्न दबाब आइरहेको उनले बताए । मावि तहको विद्यालयमा विभिन्न कार्यक्रमको लागि विद्यालय, शिक्षकलाई हल आवश्यक पर्ने भएकोले पार्टेसन गर्न नहुने शिक्षकहरुको एकमत रहेको उनले जिकीर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?