+

दमरोगबारे धेरै भ्रम छ, बिरामीले खानेकुरा बार्नु पर्दैन  

२०७९ कात्तिक  २७ गते १६:२२ २०७९ कात्तिक २७ गते १६:२२
दमरोगबारे धेरै भ्रम छ, बिरामीले खानेकुरा बार्नु पर्दैन  

दम श्वासप्रश्वाससँग सम्बन्धित समस्या हो । दमलाई रोग भन्दा पनि एउटा लक्षणको रूपमा लिन सकिन्छ । श्वासप्रश्वासमा दीर्घकालीन समस्या आयो भने दम हुने सम्भावना हुन्छ । श्वासप्रश्वासको समस्याबाट मुख्यतः दुई प्रकारको दम हुन्छ, सीओपीडी (दीर्घ दमरोग) र ब्रोन्कियल आस्थामा (दम–खोकी) ।

श्वासनलीमा एलर्जी भएर सास फेर्न गाह्रो हुने अवस्थामा दम–खोकी अर्थात् ब्रोन्कियल आस्थामा भनिन्छ । यस्तो अवस्थामा श्वासनली साँघुरो हुने गर्छ । धुम्रपान गर्ने र धुँवा–धुलोमा लामो समय सम्पर्कमा आएका व्यक्तिमा भने कालान्तरमा सीओपीडी दम हुनसक्छ । यो धेरै मात्रामा देखिने दमको प्रकार हो ।

दमको कारण पनि फरक–फरक हुन्छ । सबैभन्दा बढी मात्रामा देखिने सीओपीडी दमको कारण धुम्रपान र वायु प्रदूषण हो । लामो समय धुम्रपान गरेका मान्छे वा धुम्रपान गर्ने व्यक्तिको नजिक बसेका मान्छे र धेरै वायु प्रदूषणको सम्पर्कमा आउने व्यक्तिमा यो दम हुन्छ । केही व्यक्तिमा वंशाणुगत कारणले पनि दमको जोखिम हुन्छ ।

वातावरणीय प्रदूषण, धुँवा धुलो, चिसो र विभिन्न प्रकारको एलर्जीको कारण दम–खोकी हुन्छ । धेरै धुँवा–धुलोमा काम गर्नुपर्ने व्यक्तिमा पेसागत जोखिमले पनि यसको जोखिम बढी हुन्छ । पहिले टीभी भएर वा निमोनिया भएर फोक्सोमा दाग भएका व्यक्तिमा पनि दम हुन्छ । केही व्यक्तिमा बाथको कारण फोक्सोमा समस्या भएर पनि दम हुन सक्छ । मुटु, किड्नी र रक्तअल्पता भएका बिरामीमा स्याँ स्याँ हुने र दमको समस्या हुन सक्छ ।

कसलाई बढी हुन्छ दम ?

सीओपीडी दम प्रायजसो ५० वर्ष उमेरमाथिका व्यक्तिमा देखिन्छ । लामो समयदेखि धुँवा–धुलोको सम्पर्कमा बसेका वा लामो समयदेखि धुम्रपान गर्ने व्यक्तिमा यो प्रकारको दम देखिन्छ ।

बालबालिकालाई पनि दमको समस्या देखिन्छ । उनीहरुमा मुख्यतः वंशाणुगत कारणले दमको समस्या देखिन्छ । पटक–पटक फोक्सोमा संक्रमण हुने बालबालिकालाई पनि दम हुन सक्छ । यस्तै धेरै धुँवा–धुलोको सम्पर्कमा आउने बालबालिकामा पनि दमको जोखिम हुन्छ ।

डा. अशेष ढुंगाना

दमको बिरामीले खाना बार्नुपर्छ ?

दमको बिरामीले यो खान हुँदैन, त्यो खान हुँदैन भनेको धेरै सुनिन्छ । तर ती सब मिथ्या कुरा हुन् । दमको कारक खानेकुरा नभएकाले खासै बार्न आवश्यक हुँदैन । दमका बिरामीले सन्तुलित भोजन र व्यायाममा भने विशेष ध्यान दिनुपर्छ । एन्टिअक्सिडेन्ट भएका सागपात फलफूल बढी मात्रामा खानुपर्छ ।

सुन्तला, केरा लगायत फलफूल पनि दमका बिरामीले धेरै खान हुँदैन भनेको सुनिन्छ । यसमा पनि कुनै वैैज्ञानिक आधार छैन । सुन्तला जस्ता फलफूलमा नै झन् एन्टिअक्सिडेन्टको मात्रा धेरै हुन्छ । त्यसैले दमका बिरामीले कुनै पनि फलफूल बार्नु पर्दैन ।

दमका बिरामीले धुम्रपान गर्नु हुँदैन र धेरै चिसो खानेकुरा भने खानु हुँदैन ।

बच्ने उपाय

दमको जोखिमबाट बच्न धुम्रपान गर्दै नगर्ने, धुलो, धुँवाबाट सकेसम्म बच्ने, घरबाहिर निस्कन परे अनिवार्य मास्क लगाउने, धुँवा आउने चुलोको प्रयोग कम गर्ने, दैनिक व्यायाम गर्ने, एलर्जी हुने वस्तुबाट टाढा रहने र प्रदूषित हावाबाट बच्नुपर्छ ।

उपचार

दम उमेर ढल्किएपछि देखिने एउटा सामान्य समस्या हो, उपचार गरिरहनु पर्दैन भनेर धेरैले हेलचेक्राइँ गरेको देखिन्छ । तर लामो समयदेखि श्वासप्रश्वासमा समस्या छ, खोकी लागिरहन्छ । छाती दुख्छ, घ्यारघ्यार हुन्छ भने अस्पताल गएर दम हो कि होइन जाँच गर्नुपर्छ ।

समयमै चिकित्सकको सल्लाह लिएर यसको उपचार गरियो भने यसबाट हुन सक्ने जटिलतालाई रोक्न सकिन्छ । दमको बिरामीलाई ‘इनहेलर’ भन्ने तान्ने औषधि दिइन्छ । यसको मुख्य उपचार भनेको ‘इनहेलर’ नै हो ।

दीर्घरोग भएकाले मधुमेह र उच्च रक्तचाप जस्तै दमको औषधि पनि लामो समयसम्म प्रयोग गर्नुपर्ने हुन्छ ।

जटिलता

दमको समयमा उपचार गरिएन भने शरीरमा अक्सिजनको मात्रा कम हुने कार्बनडाइअक्साइडको मात्रा धेरै हुने र घरमा नै अक्सिजन लगाएर बस्नुपर्ने समेत हुन सक्छ ।

त्यसैले शरीरमा कार्बनडाइअक्साइडको मात्रा बढी भयो भने ‘बिपाप’ भन्ने मेसिन लगाएर बस्नुपर्ने हुन सक्छ । दम बढ्दै गयो भने यसले मुटुको दायाँपट्टिको भागलाई समेत असर गर्न सक्छ, जसले हृदयघात पनि गराउन सक्छ ।

दम निकै बढ्यो भने दम बिग्रिएर अस्पताल नै भर्ना हुनुपर्ने अवस्था पनि आउँछ । दम बढेकै कारण खुट्टामा रगत जम्ने समस्या, हेमोग्लोबिन बढी हुने जस्ता जटिलता पनि आउन सक्छ ।

जान्नैपर्ने कुरा

दमको बिरामीलाई मुखबाट तान्ने औषधि इनहेलर दिइन्छ । तर कतिपयमा यसले खराबी गर्छ, प्रयोग गर्नु हुँदैन भन्ने पनि भ्रम छ । तर दमको सबैभन्दा प्रभावकारी र कम साइड इफेक्ट भएको औषधि इनहेलर नै हो ।

धेरैले चिकित्सकको सल्लाह बिना नै औषधि सेवन गर्न छाड्छन् । यसो गर्दा समस्या झन् जटिल हुन सक्छ । त्यसैले चिकित्सकको परामर्शमा औषधि निश्चित अवधिसम्म सेवन गर्नुपर्छ ।

दमका बिरामीले व्यायाम गर्नु हुँदैन व्यायाम गर्दा दम बढ्छ भन्ने कुरा पनि हामीले सुन्छौं । यो पनि गलत अवधारणा हो । दमको समस्या भएकाले आफूले गर्न सक्ने व्यायाम सफा हावामा गर्नुहुन्छ र यसले फाइदा पनि गर्छ । दूषित हावामा भने मर्निङवाकमा जानु हुँदैन । त्यसको साटो घरभित्र नै प्राणायाम र हल्का व्यायाम गर्नुपर्छ ।

लामो समयदेखि दम भएर इनहेलर प्रयोग गरिरहेकाहरूले जीवनभर नै त्यसको प्रयो गर्नुपर्ने हुन्छ ।

युवा र बालबालिकामा देखिने दम–खोकीमा भने केही वर्ष नियमित औषधिको प्रयोग गरेपछि रोक्नुपर्ने पनि हुनसक्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ ।

(डा. ढुंगाना वीर अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ हुन् ।)

सुमित्रा लुइटेलसँगको कुराकानीमा आधारित

दम स्वास्थ्य
डा. अशेष ढुंगाना
लेखक
डा. अशेष ढुंगाना
छातीरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७०२० अध्ययन : एमडी (मेडिसिन), डीएम (पल्मोनरी, क्रिटिकल केयर एण्ड स्लिप मेडिसिन) हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डिन तथा वीर अस्पतालमा छातीरोग विशेषज्ञका रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

सिड्नीमा दोस्रो पटक चक्कु प्रहारको घटना, प्रहरीले भन्यो ‘आतंकवादी’ हमला

सिड्नीमा दोस्रो पटक चक्कु प्रहारको घटना, प्रहरीले भन्यो ‘आतंकवादी’ हमला