+
+

साना जहाज, हेलिकप्टर र अल्ट्रालाइटबाहेक पोखराका सबै उडान नयाँ विमानस्थलमा सारिंदै

अच्युत पुरी अच्युत पुरी
२०७९ पुष ५ गते १७:०५
फाइल तस्वीर

५ पुस, काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रुपमा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले यो विमानस्थललाई १ जनवरी २०२३ देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोही दिनदेखि सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट हुने विमानस्थल कार्यालयका प्रवक्ता अनुप जोशीले जानकारी दिए ।

जोशीका अनुसार छोटो धावनमार्ग भएका विमानस्थल(स्टल)मा उड्ने साना जहाज, अल्ट्रालाइट र हेलिकप्टर भने तत्कालका लागि पुरानै विमानस्थलबाट सञ्चालन हुनेछन् । ‘यो विमानस्थल तत्कालका लागि भीएफआर प्रविधिबाट सञ्चालनमा आउँछ, यसको मतलब घाम उदाएपछि नअस्ताएसम्म यहाँ उडान/अवतरण हुनेछन्’ उनले भने । पोखराबाट जोमसोममा साना जहाज उड्ने गर्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस विमानस्थलमा गरिएको क्यालिब्रेसन उडानको प्रारम्भिक प्रतिवेदन आएपनि पूर्ण विवरण आइसकेको छैन । यहाँ एरोथाइ कम्पनीले क्यालिब्रेसन उडान गरेको थियो । पूर्ण प्रतिवेदन आएपछि भने पोखराको प्याराग्लाइडिङसहित अन्य विषयहरुबारे निर्णय हुने जोशीले जानकारी दिए ।

‘पूर्ण प्रतिवेदन नआएसम्म अन्य अवस्थाबारे भन्न सक्ने अवस्था भने रहन्न,’ उनले भने । पोखरामा निर्माण भएको नयाँ विमानस्थलमा यसैसाता एटीआर ७२ जहाजबाट परीक्षण उडान गर्ने तयारी छ । सो उडानपछि आन्तरिक उडानका लागि भने बाटो खुल्नेछ ।

अन्तर्राष्ट्रिय उडानको भने छैन टुंगो

विमानस्थल सञ्चालनको मिति सरकारले यसअघि नै तोकेको हो । सोही अनुसार अहिले पूर्वतयारीका काम धमाधम भइरहेको प्राधिकरणले जनाएको छ । १ जनवरीदेखि उडान हुने भनिए पनि यसै दिनदेखि अन्तर्राष्ट्रिय व्यावसायिक उडानको भने टुंगो छैन ।

क्यालिब्रेसन फ्लाइटको पूर्ण विवरण नआएका कारण तत्काल अन्तर्राष्ट्रिय कम्पनीहरुले उडानको तयारी गर्न सक्ने छैनन् । सो प्रतिवेदन प्राधिकरणले प्रकाशित गरेपछि सोही प्रतिवेदनमा आधारित रहेर जहाजहरुले पोखरामा उडान गर्न सक्छन् । सोही कारण तत्काल पोखराबाट अन्तर्राष्ट्रिय उडान हुने सम्भावना भने कम छ । अहिले यो विमानस्थलको पूर्वी सीमामा १.३५ टाढा रहेको रिट्ठेपानी डाँडा कटानको काम समेत भइरहेको छ ।

१ वैशाख २०७३ सालमा शिलान्यास भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २७ असार २०७४ देखि काम थालिएको हो । काम थालिएको साढे ५ वर्षमा निर्माण सम्पन्न भएको छ । पोखरा विमानस्थलको निर्माण चिनियाँ निर्माण कम्पनी सीएएमसी इन्जिनियरिङले गरेको हो । सुरुको सम्झौता अनुसार १० जुलाई २०२१ (२६ असोज २०७८) मा सकिनु पर्ने आयोजना कोरोना भाइरसको महामारीका कारण उपकरण ढुवानी हुन नसक्नु र चिनियाँ कामदार समेत रोकिएपछि एक वर्ष पर धकेलिएको थियो ।

१२ चैत २०७८ मा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको अवसर पारी विमानस्थलको चाबी नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । सोही दिन नेपाल सरकारले चिनियाँ निर्माण कम्पनीलाई प्रसंशापत्र समेत हस्तान्तरण गरेको थियो । चीनबाट भएको पछिल्लो सबैभन्दा उच्चस्तरीय भ्रमणको अवसर पारी चाबी हस्तान्तरण भएको नेपाल सरकारले बताएको थियो ।

२१ करोड २९ लाख डलर लागत

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न नेपाल सरकार र चिनियाँ सरकारको एक्जिम बैंकबीच २१ करोड २९ लाख अमेरिकी डलरमा सम्झौता भएको हो । २१ मार्च २०१६ (८ चैत २०७२)मा ऋण सम्झौता भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबीच मे २२ २०१४ मा (८ जेठ २०७१) विमानस्थल निर्माण सम्बन्धी ठेक्का सम्झौता भएको थियो ।

तर, ऋण सम्झौतामा ढिलाइ भएपछि निर्माण केही पर धकेलिएको थियो । २१ मार्च २०१६ (८ चैत २०७२) मा नेपाल सरकार चीनको एक्जिम बैंकबीच ऋण सम्झौता भयो । ५ जुन २०१६ (२३ जेठ २०७३) मा नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच अनुदान सम्झौता भयो । एक्जिम बैंकले ३१ मे २०१७ (१७ जेठ २०७४)बाट ऋण प्रवाह थालेपछि ११ जुलाई २०१७ (२७ असार २०७४)बाट पोखरा विमानस्थलमा निर्माणको काम थालिएको हो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?