+
+

माओवादीबाट एमाले बनिन्, प्रचण्डकी मन्त्री भइन्

एमाले र माओवादी केन्द्रको गठबन्धन सरकारमा साह ओलीको रोजाइमा परेकी छन् । प्रभुबाट धोका हुँदा पनि उनले एमालेलाई साथ दिएका कारण अध्यक्ष ओलीले उनलाई मन्त्रीको जिम्मेवारीमा सुम्पिएको एमाले नेताहरूको बुझाइ छ ।

दिपेश शाही दिपेश शाही
२०७९ पुष ११ गते १९:२५

११ पुस, काठमाडौं । ज्वालाकुमारी साह मधेसमा माओवादी आन्दोलनको चिरपरिचित नाम हो । तर, अहिले साहको परिचय बदलिएको छ । नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि उनी एमालेमै रहिन् । घुम्दैफिर्दै उनी अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् सदस्य बन्न पुगेकी छन् ।

माओवादी केन्द्रमा रहँदा साह पार्टी अध्यक्ष प्रचण्ड निकट थिइन् । मधेसमा प्रचण्डसँग निकट रहेका नेता प्रभु साहसँग पनि उनको राम्रो सम्बन्ध थियो । पार्टी विभाजनपछि प्रभुसँगै एमालेमै बसेकी साहले माओवादी छाड्लिन् भनेर कसैले सोचेको थिएन । त्यसो त, प्रभुले एमाले छाड्दा पनि उनले प्रभुको साथ छोड्लिन् भनेर अनुमान गर्न गाह्रो थियो ।

तर, जनता समाजवादी पार्टी (जसपा)सँगको तालमेलमा असन्तुष्ट हुँदै प्रभुले एमालेको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिए । उनले आफ्ना समर्थकहरूलाई आफूसँगै मधेसका धेरै क्षेत्रमा त्यसरी स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए । तर ज्वालाले प्रभुलाई साथ दिइनन् ।

एमालेकै टिकटमा चुनाव लडेकी उनले बारा क्षेत्र नम्बर ३ मा चुनाव जितिन् । अहिले एमाले र माओवादी केन्द्रको गठबन्धन सरकारमा साह ओलीको रोजाइमा परेकी छन् । प्रभुबाट धोका हुँदा पनि उनले एमालेलाई साथ दिएका कारण अध्यक्ष ओलीले उनलाई मन्त्रीको जिम्मेवारीमा सुम्पिएको एमाले नेताहरूको बुझाइ छ ।

नेकपा विभाजनका बेला उनी एमालेमा लागेपछि माओवादी केन्द्रले उनलाई प्रदेशसभा सदस्यको जिम्मेवारीबाट मुक्त गरेको थियो । उनी २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा बारा ३ (क) बाट निर्वाचित भएकी थिइन् ।

प्रदेशसभाबाट पदमुक्त भए पनि एमाले रोजेका कारण तत्कालीन प्रधानमन्त्री ओलीले उनलाई केन्द्रमा संघीय मन्त्री बनाएका थिए । तर कृषि तथा पशुपन्छी मन्त्री बनेकी उनी १३ दिन मात्रै पदमा बस्न पाइन् ।

उनले एमालेको आन्तरिक राजनीतिमा पनि निरन्तर नेतृत्वको साथ पाइरहेकी छन् । एमालेको मधेस प्रदेश कमिटी गठन गर्दा उनलाई अध्यक्षको जिम्मेवारी दिने पार्टी निर्णय विवादमा पर्‍यो । विवादका बीच पनि उनले जिम्मेवारी पाइन् र सम्हालिन् पनि । एमालेको चितवनमा सम्पन्न महाधिवेशनमा अध्यक्ष ओलीले तयार पारेको केन्द्रीय सदस्यको सूचीमा परेर निर्वाचित भएकी उनले पार्टीको पोलिटब्यूरो सदस्य पनि बनिन् ।

गत चुनावमा एमालेले लोकतान्त्रिक–वाम गठबन्धनविरुद्ध मधेसमा जसपासँग तालमेल गरेर चुनाव लडेको थियो । यही तालमेलकै कारण एमाले आफ्नो बिग्रेको छवि सुधार्दै मधेस प्रदेशमा पहिलो दल बन्यो ।

माओवादीबाट एमाले प्रवेश गरेका प्रभु साह लगायतको स्वतन्त्र उम्मेदवारीले केही धक्का दिए पनि एमालेले आफ्नो आकार बढाउन सफल भयो । यो नतिजाका लागि प्रतिकूल अवस्थामा निर्धक्क उभिएकी ज्वालाको भूमिका कम रहेन ।

एमाले एक नेताका अनुसार कामप्रतिको लगनशीलता र नेतृत्वलाई विश्वास दिलाउन सक्ने खुबीका कारण उनलाई ओलीले मन्त्री बनाएका हुन् । ‘नेकपा विभाजनदेखि नै उहाँले अध्यक्ष ओलीलाई दिनुभएको साथ र निभाउनु भएको जिम्मेवारीका कारण मन्त्री बन्ने अवसर प्राप्त गर्नुभयो,’ ती नेताले भने, ‘क्षमताका हिसाबमा पनि अब्बल उहाँ आफूले पाएको मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्न सक्नुहुन्छ ।’

राजनीतिक पृष्ठभूमि

मओवादी जनयुद्धमा भूमिगत भएर राजनीति गरेकी साह विद्यार्थी र महिला संगठन हुँदै पोलिटब्यूरो सदस्यको जिम्मेवारीमा पुगिन् । हाल उनी एमालेको मधेस प्रदेश अध्यक्ष र पोलिटब्यूरो सदस्यको जिम्मेवारीमा छन् ।

२०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनबाट समानुपातिकतर्फ सदस्य बनेकी उनी एकपटक भूमिसुधार राज्यमन्त्री र एकपटक पर्यटन राज्यमन्त्री रहिन् । २०७० सालमा उनी माओवादीको केन्द्रीय सदस्य र पर्सा जिल्ला इन्चार्ज समेत थिइन् । २०७१ सालमा पार्टी पोल्टब्यूरो सदस्य रहेकी उनले बारा जिल्ला इन्चार्जको जिम्मेवारी पाइन् । उनी २०७२ सालमा पार्टीको महिला संगठनमा केन्द्रीय उपाध्यक्ष समेत बनिन् ।

एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपामा साह केन्द्रीय सदस्य र पार्टीको बारा जिल्ला सह–इन्चार्ज भइन् । नेकपाको विभाजनपछि एमालेमै रहेकी केन्द्रीय कमिटी सदस्य बनेकी उनी बाराको जिल्ला ईन्चार्ज बनिन् । अहिले उनी एमाले प्रदेश नं. २ को अध्यक्ष हुन् ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?