+
+

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाको विरोधमा आन्दोलन

मुक्त टुँडिखेलको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते १२:२५

१८ पुस, काठमाडौं । खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाको विरोधमा स्थानीयवासी र संरक्षण अभियन्ताहरु आन्दोलित भएका छन् । टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबाबमूलक अभियान चलाइरहेका स्थानीयले आज काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

सोमबार खुलामञ्चमा भूमिगत पार्किङ नबनाउन र त्यसलाई खुला पहुँचमा राख्न माग गर्दै  स्थानीयहरु महानगरपालिकाको गेटमा धर्ना दिन पुगेका हुन् ।

सम्पदाप्रेमीहरुले नागरिकस्तरबाट ‘अकुपाई टुँडिखेल’ अभियान चलाउँदै आएका छन् ।

सोही अभियान अन्तर्गत आज बिहान महानगरपालिका कार्यालय अगाडि मानव साङ्लो बनाएर प्रदर्शन गरिएको हो ।

टुँडिखेललाई पूर्ववत् अवस्थामा फर्काउन माग गर्दै यसअघि तीन महिनासम्म ‘अकुपाई टुँडिखेल’ अभियान चलाइएको थियो । सो अभियानमा ऐक्यबद्धता जनाउन आज विश्व स्वतन्त्रता दिवसको अवसर पारेर प्रदर्शन गरिएको अभियन्ताहरुले बताएका छन् ।

स्थानीयहरूले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोललाई भेटेर ज्ञापनपत्र पनि दिंदैछन् । यसअघि उनीहरुले सार्वजनिक रुपमा नै योजनामा अघि नबढ्न महानगरपालिकालाई चेतावनी दिंदै आएका थिए । तर, महानगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन बनाइछाड्ने बताएपछि आन्दोलन सुरु भएको हो ।

काठमाडौं महानगरपालिका काठमाडौंकै ‘फोक्सो’ भनिने टुँडिखेलको खुलामञ्चभित्र तीनतले भूमिगत पार्किङ बनाउने योजनामा अगाडि बढेको छ । नगरविकास कोषलाई अध्ययनको जिम्मेवारी दिएको महानगरपालिकाले यो योजनाबारे स्थानीयस्तरमा कुनै छलफल चलाएको छैन ।

महानगरपालिकाको यो योजनाले भित्री शहरका जनताले सास फेर्न, कुलपूजा र भोज तथा आम जनताले राजनीतिक कार्यक्रम गर्न जनताले नै जोगाएको खुलामञ्चको अस्तित्वलाई नै जोखिममा पारेको छ ।

महानगरले गुपचुप रूपमा योजना अगाडि बढाएपछि शहरी यातायात विज्ञहरूले यसबारे स्पष्टीकरण मागेका छन् । तर, मेयर साहले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

तस्वीर : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?